17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चर्चाको करिडोर र धुलोको स्वागत

नियात्रा रेजिना गौतम May 23, 2024, 7:07 pm
रेजिना गौतम
रेजिना गौतम

भर्खरै परेको पानीले अलि अलि भएका रुख विरुवाले शितल महशुस गरे होला । ओइलाएका पातहरु हरिया फर्किए होला । बाटोबाट उडेर टाँसिएको धुलो पखालेर हलुङ्गो हुने गरी त बर्षात हुनै सकेको छैन । शरीरमा उबेला दिनभर धुलो गरेको स्वागत अझैं पखालिएको छैनकि जस्तो आभास हुन्छ–त्योे यात्राको सम्झना गर्दा । यात्राको दुईमहिना वितिसक्दा पनि त्यहाँको धुलोको धङधङी अझै कतै कतै रहे जस्तो लाग्छ । त्यसैले केही दिन अघि परेको पानीले पाखा पखेरा, भीर र पहरा फोरेर उम्रेका र विकासका नाममा पहरा खोप्दा बाँच्न सफल भएका प्रकृति प्रदत्त सृष्टि उपजहरुले शितलता प्राप्त गरे भन्ने विश्वासका साथ त्यो अविस्मरणीय यात्रालाई लिपीवद्ध गर्न उद्दत भए ।
हाम्रा बा आमाले भोगेर भनेका कतिपय कुराहरु किंवदन्ती झैं लाग्छन् । उहाँहरुले भोग्नुभयो, हामीले सुन्यौं, हाम्रा सन्तती बा आमाको भोगाई उहाँहरुकै मुखबाट सुन्न पाइरहेका छन् । ती भोगाईलाई उनीहरु कथा झैं मान्छन् । यो समय पनि अब धेरै लामो रहँदैन । अब न सुन्ने समय धेरै छ, न त सुनेर आजको पुस्ताले विश्वास नै गर्छ ! हो त्यही अवस्थामा छ कुनै समय पूर्वी पहाडका कुना कन्दराले भोगेको आत्मकथा ।
विश्व परिवेशमा दु्रत विकासले झपक्कै छोपेको छ । यसो भनिरहँदा अविकसित सूचीमा रहेको नेपालमा पनि केही नभएको भने अवश्य होइन । कुरा यतिमात्र हो अपेक्षित हुन सकेन् । त्यसो हुनुमा कारणहरु धेरै होलान् । त्यतातिरको बहस अलग्गै छ ।
धरानदेखि ताप्लेजुङसम्म ढाकरमा नुन बोकेको किंवदन्ती झैं लाग्ने बा आमाको भोगाईको कथाले डोहोरिएको हाम्रो यात्रा पनि कम सकसपूर्ण रहेन् । संयोगले जुराएको संयुक्त यात्रा साँच्चिकै अविस्मणीय र भावी पुस्तालाई सुनाउँदा उही किंवदन्तीकै रुपमा पुग्ने निश्चित छ । किनकी अबको १५÷२० वर्षपछि हामीले यात्रा गरेको मार्गले बेग्लै रुप लिइसकेको हुनेछ । बुङबुङ उड्ने धुलोमाथि अलकत्राले रंग भरिसक्नेछ । अनि कालो चिल्लो बाटोको रुपमा परिणत हुनेछ । बाटो छेउमा बस्तीहरु भरिनेछन् । चोकैपिच्छे विभिन्न प्रकारका खाना, खाजा लगायत खाद्यान्नका पसलहरुले भरिभराउ हुनेछन् । त्यो बेलासम्म वातावरणीय स्वच्छता कायम गर्ने रुख विरुवाको हविगत भने के हुन्छ ? अनुमान लगाउन कठिन छ । यद्यपी अहिलेको जस्तै सुख्खा हुने हो भने भिर, पाखा, पखेरा उजाड हुनेछन् । खोला किनारका केही निश्चित ठाउँहरुले आँखामा शितलता भर्लान् कि भन्ने आशा गर्न सकिन्छ ।
ताप्लेजुङदेखि काठमाडौंसम्मै तमोर करिडोरको चर्चा थियो र छ । अघिल्लो साल ठिक यसैबेला उही करिडोरको बाटो हुँदै ताप्लेजुङ जान ठूलो बुबाले इच्छा गर्नुभएपछि टिकट गर्नका लागि सम्पर्क शुत्र निकै बढाउनु पर्यो । एनकेन प्रकारेण ७ ठाउँ सम्पर्क गर्दा दमकदेखि गाढी चढ्ने गरी टिकट गर्न सफल भएँ । ८८ वर्षको उमेरमा ठूलोबुबा (लेखनाथ)ले त्यो बाटोको यात्रा गर्न चाहनुको कारण पनि त्यही थियो तमोर करिडोरको बाटो छिटो छ । अर्को थियो बाटो कताबाट कता निस्कँदो रहेछ ? कि आफूले पहिले ढाकरमा नुन बोकेको ठाउँ पनि पो पुगिन्छ की ! । जसरी बुबालाई हल्लाले करिडोर हिडायो, हामी हिड्नुको कारण पनि उही थियो । फरक यति थियो बुबाले सार्वजनिक ट्याक्सीबाट यात्रा गर्नुभयो हामी मोटरसाइकलमा ।
बिहान ६ बजेर १० मिनेट जाँदा फुङलिङ नगरपालिका वडा नं.–७ स्थित चिहानडाँडाबाट सामुहिक यात्रामा सहभागी हुँदा चिसो मौसमले स्पर्श गरिरहेको थियो । मलाई पुर्याउन आएको भाई कृष्णलाई बिदा गर्दै दाजुको मोटरसाइकलमा चढेंसंगै ओरालो हुँइकियौं । दुईवटा मोटरसाइकलमा सवार तीनदाजुहरु (चेतनाथ, काजी, दुर्गा दाजु) र म थियौं । जहाँबाट यात्रा प्रारम्भ गर्यौ त्यो ठाउँ तीन जना दाजुहरुको लागि पूख्र्यौली थाकथलो थियो भने मेरो जन्मस्थल । यसको मतलब त्यो ठाउँको बारेमा दाजुहरु भन्दा म अलि बढी जानकार थिए । काबेलीसम्मको यात्रामा पारिवारिकदेखि ठाउँ विशेष, वारीपारीका डाँडा,पाखाको चर्चामै बित्यो ।
काबेलीबाट उकालो चढेपछि तुलनात्मक रुपमा कम क्षमता भएको हाम्रो सवारीलाई विस्तारै अघि बढाउनु भयो दाजुले । दुई दाजुहरु हामीभन्दा केही अघि नै हुनुहुन्थ्यो सवारी साधनको क्षमताका कारण । चिहानडाँडाबाट हिडेका हामी एकैचोटी गोपेटारमा रोकियौं । चिसो निकै थियो । त्यहाँ चिया पिउने मन भएपनि त्यसलाई धकेलेर जोरपोखरी पुर्यायौं । अचानोको पिर खुकुरीले जान्दैन भने झैं सवारी चलाउनेलाई कति कठिन भएको थियो होला, तर दाजुहरुलाई जोरपोखरी देखाउने ध्येयले काजी दाजुसंग जोरपोखरीमा खान चिया प्रस्ताव गरें । ल हुन्छ भन्दै चेतनाथ दाजुलाई जोरपोखरीमा रोकियौं भन्दै मोटरसाइकल अघि बढाउनु भयो ।
जोरपोखरी प्रवेश गर्नै लाग्दा बाटैमा देखिएको विश्रामालय र मन्दिरको हविगत देख्दा दुःख लागेर आयो । ती संरचना मुनि पानीबिनाको पोखरी । अल्मलिनु नै व्यर्थ थियो । केही अघि बढ्दा घेराबारा गरेर लङ्दुर टागिएको पोखरीको एकछेउबाट माथि जाने सिंढीको बाटो । सिंढी शुरु हुने विन्दुमा दुईवटा ठूल्ठूला त्रिशुल त्यसअघि प्रवेशद्वार । दुई त्रिशुलका बीचमा काजी दाजुको तस्विर लिएपछि अगाडि बढ्यौं । भोक लागिसकेको थियो । जोरपोखरी परिषरमा अवस्थित घिमिरे बन्धुको खाजा पसलमा बसेर, चिया विस्कुट र चाउचाउको सुपको स्वाद लिएपछि पुनः यात्राले निरन्तरता पायो ।
भारपाको ओरालो झर्ने क्रममा दाजुहरुको आँखा लक्षीमा कोशेली घरमा परेछ । जहाँ ग्राहकको आँखा अगाडि घिउ बनाएर दिइंदोरहेछ । बिशेषता बुझ्नका लागि घिउ किन्यौं र दृष्यावलोकन गर्यौं । झण्डै २० मिनेटमा ३ केजी घिउ बनाएर दिए कोशेली घरका साहुजीले । फेरी अगाडि बढ्यौं । जोरसाल आइपुग्दा पौने ११ भइसकेको थियो । बाटो मोडिने भएपछि दुई दाजुहरु साधनको खान्की व्यवस्थापन गर्न केही माथिरहेको पेट्रोलपम्पतर्फ लाग्नुभयो । म र दुर्गा दाजु त्यही जोरसालमा राखिएको पहिचानयुक्त स्ट्याचु ... मा फोटो कैद गर्दै रह्यौं ।
लगभग ११ बजेदेखि शुरु भयो हाम्रो नयाँ बाटोको यात्रा । तमोर खोलासम्म मेरालागि पुरानै भएपनि दाजुहरुका लागि बिल्कुल नयाँ थियो । झण्डै १० किलोमिटर तल झरेपछि लोकेसनयुक्त बोर्ड राखिएको ठाउँमा पुग्यौं । त्यहीबाट शुरु भएछ हाम्रो कष्टपूर्ण यात्रा । ‘कि आफू जान्नु कि भनेको मान्नु’ यी दुवै नमानेर अघि बढेका हामीले तमोर पुल नपुग्दैदेखि ‘जसले गर्छ रहर उसैको जान्छ गोठको बहर’ भन्ने उखान चरितार्थ लाग्न थालिसकेको थियो । खोलामा पुगुञ्जेल असजिलो बाटो छ भन्ने कुरामा जानकार थिए । किनकी तीनवर्ष अघि मैले खोलासम्मको यात्रा गरेकी थिए । त्यहाँबाट तेह्रथुम हिंडेका हामी ड्राइभरले कताबाट गाढी मोडे र कता पुर्याए पत्तै पाएकी थिइन् । तर, त्यो यात्रामा पनि आजै अन्तिम रहेछ भन्ने तहसम्म पुगेका थियौं ।
करिडोरको यात्रा रहरको थियो । बोर्डको लोकेशन हेर्यौं र कच्चीबाटोबाट यात्रा शुरु गर्यौं । त्यही बाटो हो भनेर ढुक्क हुनका लागि सडक किनारामा निर्माण कार्य गरिरहेका मजदुरलाई सोध्यौं । उनीहरुले बाटो यही हो भनेपछि ढुक्क भएर अघि बढ्यौं ।
जसोतसो खोलासम्म पुगियो । पुल तरेपछि त केही राम्रो बाटो होला भन्ने मनमनमा लाग्दै थियो । तर, मनको कुरा मनमै रह्यो । पुलदेखि एकघुम्ती पार गर्दागर्दै विपरित दिशाबाट आएको ट्याक्सीको धुलो हिउँदमा भित्री मधेशमा लागेको कालो बाक्लो हुस्सु भन्दा डर लाग्दो थियो । एकातिर बुङ्बुङ्ती उढेको धुलोले आँखाले देखिने भागसम्म धमिलो बनाइदियो । भुँईतर्फको कुरा गर्ने हो भने मोटरसाइकलको चक्का झपक्कै छोप्ने धुलो । जसरी बर्खामा बाढी आउँदा बाटो, हिलो, खाल्डा, पैनी केही देखिंदैन बुङ्बुङ्गे धुलोको राज त्यस्तै थियो । फरक यती हो–बाढीमा हिलो, मैलो पानी उछिट्टिएर भिजाउँछ यहाँ धुलो उछिट्टिएर छपक्कै छोपिएका हाम्रा बस्त्र र रुप रंग पनि उस्तै उस्तै । जति उकालो उक्लिंदै गयो–डरको भारी बढ्दै थियो । यति अप्ठ्यारो बाटोमा कथंकदाचित साधन नियन्त्रण हुन नसके के होला ? सवारी बिग्रिए के गरौंला ?
अघि जोरसालसम्मको यात्रामा हामी भन्दा निकै अघि दौडिने दाजुहरु यहाँ हामी भन्दा निक्कै पछि नै हुनुहुन्थ्यो । बेला बेला काजी दाजु भन्दै गर्नुहुन्थ्यो–‘बहिनी दाजुहरु फर्किनु त भएन नी !’ छैन दाजु जवाफ फर्काउँथे । फर्कन बास्तवमै संभावना थिएन । त्यसैले पनि निर्धक्क भनिदिएँ मनमा अनेक तर्कना खेलाउँदै भएपनि । माथि डाँडाबाट हेर्दा कतै नदेखिएसंगै मनमा अनेक तर्कनाहरु मडारिन थाले । मन तुल्बुल तुल्बुल भयो । तर, यो बेला हामी सवार सवारीका चालक काजी दाजुलाई ड्राइभमै सहजता प्रदान गर्नुपथ्र्यो । सकेसम्म प्रयास गरे । पुल तरेर अलि माथि उक्लिएसंगै दाजुले भनिसक्नु भएको थियो–‘अचानक खुट्टा टेक्नुपर्ने हुनसक्छ, सचेत भएर बस्नु है । कारणबस गाडी तलमाथि भयो र भार थेग्न सकिएन भने खुट्टा भाँच्चिने जोखिम हुन्छ ।’ यसरी अघि बढेका हामीले गाडी रोकेर पर्खन सक्ने स्थिति नै थिएन । दाजुहरु नदेखिंदा मनभरी औडाहा भयो–किन पछि रहनु भयो ? कतै समस्या पो भयो कि ! प्रश्न दोहोरिरह्यो । यद्यपी, कुनै अप्रिय घटना भयो भने हामी फर्केर जान सक्ने संभावना पनि थिएन । यी यावत कुरा खेल्दा खेल्दै हामी निकै माथि पुगिसकेका थियौं । सामान्य स्कूटर आफैं ड्राइभ गर्ने म प्रायः पछाडि बस्नै परेको थिएन । यदाकदा बस्नु परेपनि लामो दुरीको त थिदैथिएन । अझ भन्नुपर्दा पहाडी भेगमा मोटरसाइकलको यात्रा त यो नै पहिलो थियो । दाजुले सचेत रहनु भनेसंगै हस भन्नुको विकल्प थिएन् । लागिरह्यो परिआएको खण्डमा झट्ट खुट्टा टेकेर गाडी लड्न वा ढल्किनबाट बचाउन सक्दिन होला ! मलाई लाग्छ यो यात्रामा दाजु र म दुवै डराएका थियौं । तर, हामी दुवैले डरको छनक कसैलाई दिएनांै ताकी यात्रा सहज होस् ।’ लगभग सभा १२ बजे अबको यात्रा केही सहज होलाकी जस्तो लाग्याथ्यो । ठाउँ भन्न सक्ने कुरै भएन । अग्लो डाँडोमा पुग्दा युद्ध नै जिते झंै अनुभव भयो । करिडोरको बाटो आउँदैछौं भन्ने थाहा पाएसंगै काजी दाजुलाई आमाले निरन्तर फोन गर्दा यात्रा जतिसुकै सकसपूर्ण रहेपनि बाटो छिटो छ रे आइपुगिहाल्छौं भन्दै दाजु आमालाई आश्वस्त पार्नुहुन्थ्यो । दुई दाजुहरुको पत्तो थिएन् । बाटो सहज हो कि जस्तो लागेपछि गाडी रोकर पर्खिने बहानामा बाटो छेउबाट देखिनेसम्म दृष्य नियाल्यौंं । तल सुख्खा र खडेरीले सुसाउन पनि नसक्ने अवस्थामा पुगेको तमोर नदी लमतन्न सुतेको, पारीपट्टि भिर–पाखा बीचबाट निकालिएको बाटो अलिअलि गाउँ नियाल्यौं । केहीपछि दाजुहरु आइपुग्नु भयो । यतिञ्जेल हामीले आफैंलाई नियाल्न भ्याएका रहेनछौं । जब चेतनाथ र दुर्गा दाजुलाई देखें र उहाँहरुले एकछिनको यात्राको भोगाई सुन्दा धन्न हामी सकुशल त्यहाँ सम्म पुगेछौं भन्ने लाग्यो । अघि कमजोर मानिएको हाम्रो सवारी यो बाटोमा भने ठिक ठहरियो । धुलो झार्नका लागि छेउमा कतै स्याउला भेटिन्छ की भनेर यताउता आँखा डुलाएँ । तर त्यो खैराते पाखामा केही उपाय चलेन । सकेसम्म बुङबुङे धुलो टाँसिएका आ–आफ्ना सल र गल्फनले धुलो टक्टक्ए झैं गर्यौं र चित्त बुझायौं ।
सास छउञ्जेल आस भने झैं यो बाटोभरी सहज बाटोको आशा मारेनौं । तर, मुलघाट आइनपुञ्जेल ज्यानलाई जोखिममा राखेर यात्रा गरिरह्यौं । खुट्टा टेक्न सचेत गराएपनि मैले त्यो जोखिम मोल्नु परेको थिएन । दुईजना दाजुहरु त कति लड्यौं भन्ने हिसाब नै बिर्सियो भन्दै हुनुहुन्थ्यो ।
खडेरीले भएका बोटविरुवा पनि सुकेर खैराते पाखोमात्रै देखिने, धुवासरीको धुलो अब त पुगिएलाकी भन्ने आशैआशमा भुल्के आइपुग्यौं । दिनको २ बजिसकेको थियो । भोक उस्तै लागेको । कतै पानी किनेर खानेसम्म ठाउँ नभएको बाटोको यात्रा साँच्चै स्मरणीय थियो । पेट्रोलपम्प खोल्नका लागि इटहरीका राई दाईले निकै ठूलो संरचना निर्माण गर्दैरछन् भुल्केमा । खाना पनि खुवाउने गरेको बुझेपछि हामीले पनि त्यही खायौं । बाटोको धुलोको राज भान्सासम्मै देखिन्थ्यो । कुरैकुरामा खाना खानु की ! धुलो खानु दाई भनेपछि सटर लगाएर खाना खुवाए । खानासंगै दुर्गा दाजुले कान समातेर कसम खाँदै भन्नुभयो–अबदेखि यो बाटो हिड्दिन । त्यसो भन्नुमा उहाँको आफ्नै पीडा थियो बाटोमा धुलोमा लड्दाको पीडा उहाँलाई नै बढि भयो । हामी सकुसल आयौं तर, दुई दाजुहरुको धुलोमाथिको लडाई निकै बढी नै रहेछ ।
२० वर्ष पछिको व्यापारलाई हेरेर उनले पेट्रोलपम्मसहितका संरचना बनाएका रहेछन् । सुख्खाग्रस्त गाउँ भएकोले धेरैले गाउँबस्ती छोडेर बसाईँ सरेर गाउँ नै रित्तै हुने अवस्थामा पुगेको समाचार लेखियो र पढियो पनि । यो यात्राले पाँचथरको त्यो गाउँमै पुर्याइदियो । पाँचथर जिल्लामा पर्ने झुल्केमा तमोरको पानी लिफ्टिीङ गरेर लगिएको रहेछ ।
छोटो बाटो भन्ने सुनेका हामीमा अझै पनि घरमा छिटै पुग्ने आशा जिवितै थियो । तर, अब राई दाईले अब अगाडिको बाटोको बारेमा भने अब ती सबै गौण भए । पुनः यात्राले निरन्तरता पायो । अनकन्टार न गाउँ छ, गाउँ नै नभएपछि बस्ती हुने कुरै भएन । अक्करेभिर र पहरा खोपेर खरबौं खर्चेर बर्षौं लगाएर किन र के प्रयोजनका लागि भन्ने खुट्याउन सकिएन । झुल्के यता लागेपछि ठाउँ ठाउँमा भित्तो खोप्ने यन्त्र (जेसीवी) र त्यसका चालक देखिन्थे । यो यात्राभरी विश्लेषण गर्दा लगानी र उपयोगीताको पुष्ठ्याई गर्ने भरपर्दो आधार नपाएपछि कसले सेक्यो स्वार्थको रोटी भन्ने प्रश्न जिवितै छ ।
कानेपोखरीसम्म हाम्रो संगै यात्रा थियो । त्यसपछि दाजुहरुलाई छोडेर मैले अर्को कुनै सवारी समात्नै पथ्र्यो घर आइपुग्नलाई । भुल्केबाट अघि बढेका हामी दाजु बहिनीको फेरी भेट पछाडि रहनु भएका दाजुहरुसंग भएन । एनकेन प्रकारेण साढे ४ बजे मुलघाट पुग्दा एउटा ठूलो युद्ध जितेर फर्केको सिपाहींको झैं छाती गर्वले फुल्यो । भगवानलाई धन्य भनिरहे ।
झुल्केबाट छुटेका हामी चारजनाको फेरी भेट हुन सकेन । मलाई जसरी पनि घर पुग्नुपर्ने । भेडेटारमा आएर एक÷एककप चिया पियौं र ओरालो हुँकियौं । मुलघाट निस्किएपछि सहज यात्राको अनुभूति हुन थालेसंगै बाटोमा पर्ने पर्यटकीय क्षेत्रको कुरा हुन थाल्यो । चर्चामा रहेको नमस्ते झरनालाई बाटैबाट बाईबाई भन्दै अघि बढेका थियौं । धरान झर्दै गर्दा म नपुगेको ठाउँ बुढासुब्बा र दक्षिणकाली परिषर पुर्याएर यसो दर्शन गरेर आउनु भन्दै दाजु बाइकलाई तयारी अवस्थामा राख्नुहुन्थ्यो । म पनि आज्ञाकारी दाजुले भने नै गरियो किनकी दाजुको भन्दा मैले अण्डै डेढ÷दुई घण्टाको लामो यात्रा पूरा गर्नुथियो । पिन्डेश्वर विद्यापीठलाई बाहिरैबाट दृष्यावलोकन गरेपछि अघि बढ्दै गर्दा बुढासुब्बा, दक्षिणकालीका बारेमा आफ्नो अनुभव र विश्वासबारे दाजुले सुनाउनु भयो । यो बाटो कटनीको मेलो पनि थियो । यो यात्रामा दाजु बहिनीबीच धेरै कुराहरु भए । पारिवारिक, राजनीति, सामाजिक, तथा मलाई मन छोएको एउटा विषय । नेपालीले विकसित देख्ने चीन र चिनका युवाले कम आयश्रोत भएका कारण अमेरिका, जापान र बेलायत जान चाहेको कारण ।छोटो समय चीनमा पुगेका बेला त्यहाँका युवाको प्रत्यक्ष चाहना बुझ्दा खुशी र सन्तुष्टि कहिं नहुने रहेछ भन्ने स्पष्ट भए । हामीले चीनलाई विकसित र धनाढ्य देख्छौं । तर, त्यहाँको आयश्रोतले युवाको मन छुन नसकेको कुरा सुनेपछि लाग्यो आकांक्षा जति भएपनि जीवित रहन्छ । असन्तुष्टि सबैतिर हुन्छ ।
त्यहाँबाट हुँइकिएका हामी एकैचोटी इटहरीको पूर्व स्टेनमा रोकियौं । म धरानदेखि नै काँकरभिट्टा जाने गाडीको चासोमा थिए । इटहरी आइपुग्दा विराटनगरबाट आएको बस रहेछ । हतार हतार मोटरसाइकलबाट झरे र दाजुलाई म यसैमा जान्छु भन्दै बस चढें । खुट्टा टेक्न नपाउने गरी मान्छे कोचरेको बसको घिस्रिरहेको थियो । दाजुले कानेपोखरीसम्म पीछा गर्नुभयो । त्यो पछि हाम्रो यात्रा आ–आफ्नो रह्यो । बिर्तामोड आइपुग्दा साढे नौ बजिसकेको थियो । दाजुहरुलाई आफू पुगेको जानकारी दिनुका साथै उहाँहरुको पनि अवस्था बुझ्ने हेतुले फोन गरें । हामी तिनैजनाका दाजु चेतनाथ दाई त्यतिबेला भन्दैहुनुहुन्थ्यो भर्खर आइपुग्यौं । जसरी काजी दाजु र म आयौं, चेतनाथ र दुर्गा दाजुलाई यो यात्रा अझ सकसपूर्ण रहेको उहाँहरुको बोलीबाट स्पष्ट हुन्थ्यो ।
भदैनी यमुनाको विहेले जुराएको यो संयोगमा तमोर करिडोरको यात्रा नगर्न मलाई धनपती भिनाजुले सुझाउनु भएको थियो भने दाजुहरुलाई पनि सुरेस दाईले भन्नुभएको रहेछ । नयाँ बाटोको यात्रा गर्ने रहर म र दुर्गा दाजुभन्दा बढी काजी दाई र चेतनाथ दाईको थियो । यात्राका हामी सारथी । बाटोको अवस्था देख्दा लाग्यो सरकारले तत्काल यो बाटो हिड्न रोक लगाएर चाँडाँ बनाइ सक्नुपर्छ । तबमात्र यात्रा अनुमति दिनु श्रेयस्कर छ । अन्यथा दुर्घटनाको जोखिम जुनसुकै समय हुन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।