17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ठुलो मन

लघुकथा नन्दलाल आचार्य May 29, 2024, 5:51 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

सडकको नाराबाजीलाई अनदेखा गर्दै प्रहरी भ्यान मेरो दैलोमा उभियो र प्रहरी प्रमुखले भन्यो, “तपाईंको छोरो कुहिएर गन्हाएको छ, तपाईंलाई थाहा छैन ?”
जवाफमा मैले आँखीभौँ खुम्च्याएर प्रमुखको अनुहार हेरेँ, उसको अनुहारमा त्रासको बादल मडारिएको थियो । मुखमा भने घृणाको पहाड थुप्रिएको थियो । उता सडकको भुईं कालाम्मे थियो, सडकमाथि भने ध्वजापताकाले राताम्मे थियो । सडकका मानिसहरुको अनुहारमा भने क्रोधको आगो सल्केको थियो । उनीहरुको मुखबाट दुई कुरा मात्र निस्किरहेको थियोे– गणतन्त्र जिन्दावाद र निरंकुशता मुर्दावाद ।
प्रमुखले फेरि सोध्यो, “तपाईंको छोरो लहैलहैको शिकार भएको छ । अब त्यसको अमनचयन तपाईंको हातमा छ ।”
“म सत्तरी सेरोफेरोमा पुगेकी नारीलाई पखेटा लागेको छोराका बारेमा केही नभन्नुस् । जे गर्छ उसैले सुझबुझले गर्छ । नानाभाँती सोच्ने मेरो मन पत्थर भइसक्यो ।” मैले थोरै शब्द चुहाएँ ।
प्रमुखले खुलस्त पार्दै कुरा राख्यो, “जनआन्दोलनका नाममा केही उरन्ठेउला मान्छेको बिचमा उभिएर तपाईंको छोरो आलोकाँचो कुरा गर्दै छ । सम्झाउनुस् । नत्र बुढेसकालमा आँसु खसाल्नुपर्ला ।”
त्यही छोरालाई हुर्काउन, उत्तम संस्कार दिन र दिलाउन साथै सानो मन बढाउन मैले ठुलो कष्ट गरेकी थिएँ । यत्तिखेर प्रहरीका मुखबाट खबरदारी सुन्न पाउँदा मलाई दुःख हैन आनन्द लागिरहेको थियो ।
विगतदेखि वर्तमानसम्मको अनुभूतिले मेरो मन दुई हात उफ्रेको थियो । मैले प्रमुखलाई भनिदिएँ, “मेरो लगानी ठिक ठाउँमा परेछ र ब्याज प्राप्त भइरहेको छ ।”

एनेलकुटी, सिरहा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।