18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देशीय र वैश्विक स्थानहरूको ऐतिहासिक र तथ्यगत विवरणः घुमन्तेको सेरोफेरो

कृति/समीक्षा अमू शाक्य May 29, 2024, 6:03 pm

प्रा.डा. रविलाल अधिकारीद्वारा लिखित ‘घुमन्तेको सेरोफेरो’ एक पठनीय नियात्रासङ्ग्रह हो । यो पुस्तक वि.स. २०७१ साल जेठमा प्रकाशित पुस्तक हो । यो पुस्तक पुँजीवाद, सामन्तवाद र साम्राज्यवादका विरोधी जनकवि गोकुलप्रसाद जोशीप्रति समर्पित छ । यस नियात्रा–सँगालामा १५ वटा नियात्रा रहेका छन् । यस पुस्तकमा सङ्गृहीत नियात्राहरू भिन्नभिन्न स्थान र त्यहाँबाट प्राप्त लेखकका भिन्नभिन्न अनुभव र अनुभूतिमा आधारित छन् । ती नियात्राका शीर्षकहरू– मनकामनाको न्यूः केवलकारमा क्यू, कलकत्ताको रहरः प्रतीक्षाको कहर, बन्दीपुरे यात्रा, गाउँसहरमा लमजुङ दरबार, दार्जिलिङदेखि देउघाटसम्म, यो पनि साहित्यिक यात्रा हो, सिलिगुडीसम्मको साहित्यिक यात्रा, फेरि पनि मूर्खताकै कुरो, धादिङबेसीको साहित्यिक यात्रा, भानु जन्मस्थलको यात्रा, पुष्पकमलको स्मृति दिवस मनाउन जाँदा, प्रलेसको नवौँ सम्मेलनमा जाँदा, पटनाको पुनर्यात्रा, सहिद दशरथ चन्द स्मृति पुरस्कार लिन जाँदा र मिर्मिमुनि काली थुनेको रहेका छन् ।
नियात्राका विषयवस्तुहरूलाई सामाजिक, वैज्ञानिक एवम् राजनीतिक विषयसित जोड्न सक्नु लेखकको विशिष्ट गुण हो । यसको वैशिष्ट्य सङ्ग्रहको पहिलो नियात्रा ‘मनकामनाको न्यूः केवलकारमा क्यू’ मा देख्न सकिन्छ । यो संस्मरणमा लेखकले उनको मनकामनाको भ्रमण मात्र उल्लेख नगरेर धार्मिक स्थानहरूमा हुने राजनीतिक धाँधलीका यथार्थ कुरालाई पनि प्रस्तुत गरेका छन् । साथै प्रारम्भिक अनुच्छेदमा चर्चा गरिएको वैज्ञानिक कुराले पनि नियात्रामा शोभा थपेको छ । अतः यस नियात्रालाई विज्ञान, धर्म र यथार्थपरक राजनीतिक धाँधलीको त्रिवेणी भन्दा अतिशयोक्तिपूर्ण अभिव्यक्ति नहोला ।
अर्को नियात्रा ‘बन्दीपुरे यात्रा’ मा पनि यात्राको वर्णन मात्र नगरी बन्दीपुरको सदरमुकामको ऐतिहासिक वर्णन र वर्तमान अवस्था, बन्दीपुरका साहित्यकार–कविहरूसित भएका साक्षात्कार र उनीहरूका बारे जानकारी लेखकले दिएका छन् । यो यात्रा नियात्राकारको आफ्नो घरबाट नजिकैको भएर पनि अति सुन्दर र मनमोहक छ ।
‘यो पनि साहित्यिक यात्रा हो’ नामक अर्को नियात्रामा भानुभक्त आचार्यका नाति मुक्तिनाथ आचार्यसँग साक्षात्कार गराइएको छ । यस नियात्रामा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानको कार्यक्रम मात्र नभई व्यास गुफामा रहेको पञ्चमन्दिरको पनि थोरै कुरा गरिएको छ र उक्त प्रतिष्ठानमा रहेको कार्यक्रमलाई नै विशेष रूपमा महत्व दिइएको छ ।
‘फेरि पनि मूर्खताकै कुरा’ नामक अर्को नियात्रामा नेपाल र भारतको द्विपक्षीय नियात्रा वर्णन समाविष्ट छ । भारतका पुस्तकालय, त्यहाँको भाषा, संस्कृति एवम् भारतीय मानिसहरूको आचरण, रवैयालाई सूक्ष्म रूपमा केलाइएको छ । प्रारम्भिक अनुच्छेदमा आफ्नै मूर्खताको कुरा समावेश गरी नियात्रालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
प्ुस्तकमा रहेको ‘धादिङ बेसीको साहित्यिक यात्रा’ अर्को उत्कृष्ट नियात्रा हो । यस नियात्रामा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानमा भएको कार्यक्रमलाई प्रस्तुत गर्नुका साथै धादिङको रोचक यात्रालाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । लेखकका आफ्ना गुरुहरूसित भएका कुराकानी यहाँ समाविष्ट छन् । विशेष गरी उक्त यात्राका स्मरणीय पक्षलाई संस्मरणमा चित्रण गरिएको छ ।
यो भन्दा अघि मैले अनेक विधाका पुस्तकहरू अध्ययन गरें र धेरै कुराहरू सिकें । ती विधाहरू काव्य, आख्यान, गैर–आख्यान, हाँस्यव्यङ्ग्य निबन्ध आदि हुन् । मैले नियात्रा केवल पाठ्यपुस्तकमा मात्र पढ्को थिएँ र नियात्राको लेखनशैलीबारे राम्रो ज्ञान थिएन । त्यही ज्ञान नभएको स्थितिमा यस ‘घुमन्तेको सेरोफेरो’ नियात्रा हातमा प¥यो र पहिलो नियात्रा सँगालो प्राप्त गर्दा निकै खुशी भएँ । यस किताबको लेखकीयमा लेखकले नियात्रा साहित्यका बारे यसको परिचय, इतिहास र सुरुवात पनि उल्लेख गरेका छन् । अर्थात् नियात्राकारले नेपालमा नियात्रा लेखनको विकासक्रमलाई पनि सङ्क्षेपमा उल्लेख गरेका रहेछन् । यसको अध्ययनबाट पनि नियात्राप्रति मेरो रुचि अझ प्रबल बन्यो । खाली समयमा म यही नियात्रा अध्ययन गर्थें र नयाँनयाँ नियात्रा लेखनशैली सिक्थें । यो नियात्रासङ्ग्रहले मलाई नियात्रा लेख्न अभिप्रेरित गरेको छ । नयाँनयाँ कुरा सिकेर र जानेर त्यसलाई प्रयोगमा ल्याउँदा त्यसले समाजमा सकारात्मक योगदान नै पु¥याउँछ भन्ने मलाई लाग्छ ।
यस नियात्रा सङ्ग्रहमा प्रयोग भएको भाषा सरल छ । उखानटुुक्काको समुचित प्रयोग गरिएको छ । एक वस्तु वा परिवेशलाई अन्य विषयवस्तु र सन्दर्भसँग तुलना गर्न मिल्ने गरी जोड्न सक्नु लेखक रविलाल अधिकारीको विशिष्ट गुण हो । म आपैंmले यो नियात्रा सङ्ग्रहलाई परिभाषित गर्नुपर्दा तथ्य, भाषाशैली र स्थान एवम् स्थानीय परिवेशको संयोजन गरिएको त्रिकोणात्मक सामञ्जस्यमूलक नियात्रा सङ्ग्रह भनेर परिभाषित गर्छु । यो पुस्तक, स्थानीय परिवेश, तथ्य, संस्कृति, इतिहास र स्रोतको पञ्चाङ्ग मार्ग हो र देशीय एवम् वैश्विक परिवेशको ज्ञानको भण्डार पनि हो ।
आफ्ना प्रगतिवादी र समालोचनात्मक कृतिबाट पाठक वर्गलाई मुग्ध पार्ने प्रा.डा. रविलाल अधिकारी आज हामी सामु छैनन् । आज हामीमाझ रहेको भए आउँदो कृतिहरूमा म आशातीत हुन्थें, आउँदा उनका कृतिका लागि एक पाठकको हिसाबले सुझाव दिने थिएँ । तर बिडम्बना, अनित्यको स्मरण गर्नु यस प्रकृतिको नियम हो । देहास्तित्व मेटिए पनि प्रकाशित कृति, समालोचना, नियात्रा आदि सदा अमर रहनेछन् । यस किताबको अन्त्यमा रहेको लेखकको परिचयमा उनका दर्जनौँभन्दा बढी कृतिको सूची दिइएको छ । उनका ती कृति एवम् समालोचनाहरू अध्ययन गरी समीक्षा गर्न म निकै उत्सुक छु ।
यस पुस्तकको सरलता, विषयवस्तुको ज्ञानको प्रस्फुटन तथा सांस्कृतिक एवम् ऐतिहासिक विषयको बिम्बलाई मध्यनजर गर्दै ५ पूर्णाङ्कमा ४.५ दिने छु । यो पुस्तकको सम्पूर्ण विशेषतालाई सूक्ष्म दृष्टिमा अवलोकन गर्दै र पुस्तक पढिसकेपछिको प्रह्लादानुभूतिको आस्वादन गर्दै यो पुस्तक म सबै उमेर समूहका व्यक्तिहरूमाझ अध्ययनका लागि सिफारिस गर्दछु । मुख्यतः म जस्तै नवपुस्ता नियात्रासङ्ग्रहमा इच्छुक र यो विधामा अनविज्ञ व्यक्तिहरूलाई यो पुस्तक अध्ययन गर्न सिफारिस गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।