वि.सं. २०२७ सालतिरको कुरो हो– रविलाल र म बनारसबाट संस्कृत साहित्यमा ‘शास्त्री’ परीक्षा दिएर बिदामा घर आएका थियौँ । गाउँमा त्यतिखेर पञ्चायती व्यवस्थाको रजगज थियो । कास्की, स्याङ्जा र पर्वतका सिमानामा पर्ने पञ्चासेमा शिक्षादीक्षा लिएर फर्केका व्यक्ति गाउँका प्रधानपञ्च थिए । सुरुमा पुराना सामन्ती चरित्रका ठूलाठालुका केही जनविरोधी काम–कारबाहीको पर्दाफास गर्दै उनीहरूको विरोध गरेका हुनाले गाउँमा उनी लोकप्रिय पनि बनेका थिए । उनी पञ्चासेमा आश्रम सञ्चालन गरेर पनि केही वर्ष बसेका रहेछन् । त्यहाँबाट गाउँमा आउँदा त्यसै आश्रममा बसेकी एक जना जोगिनी पनि उनीसँगै आएकी थिइन् । गुरुकुल आश्रम खोल्ने भनेर गाउँलेहरूको सहयोगमा मादी नदीका किनारमा आश्रम बनाएका थिए र कहिलेकाहीँ घर पनि आउने गर्थे । ती जोगिनी त्यही आश्रममै बस्थिन् । काठमाडौँतिरकी हुँ भन्थिन् । सामान्य लेखपढ पनि भएकी टाठी महिला थिइन् । थुम्को परेको ठाउँमा आश्रम बनेको र त्यहीँ बस्ने हुनाले उनलाई वरपरका गाउँलेहरुले ‘थुम्काकी माई आँबोई’ भन्थे । केही सम्पन्न परिवारकै जस्ती थिइन् । त्यस आश्रमको आन्तरिक व्यवस्थापनमा सायद् धेरै लगानी उनको थियो । गाउँलेहरूको चन्दा र श्रमदानमा यज्ञशाला, धर्मशाला, मन्दिर आदि भौतिक संरचनाहरू बनेका थिए । त्यहाँ केही समय गुरुकुल शिक्षा चलेको र केही बटुकहरुले शिक्षा लिएका पनि हुन् । आजकल त्यो कुन हालतमा छ ? थाहा छैन ।
केही समयदेखि उनीहरुबीच विवाद र मनमुटाब चलिरहेको रहेछ । रविलाल र म सँगै कतै जान हिँडिरहेका बेला प्रधानपञ्चकै तगारामा माई आँबोई भेटिइन् । भर्खरै प्रधानसँग झगडा गरेर निस्केकी रछिन् कि क्या हो, अनुहार पनि रातोरातो र आँखा भर्खरै आँसु पुछेजस्ता देखिन्थे । हामीलाई देख्नासाथ दुवैका हात समातेर ‘गुहार ! बाबुहरु !’ भनिन् र रुँदै उनी पञ्चासे कसरी आइपुगिन्, त्यहाँ कति बसेर के के गरिन्, गोर्जेको थुम्कामा कसरी के के गर्ने भनेर लिएर आएका थिए, त्यस आश्रममा उनको लगानी के कति भयो, आश्रमलाई प्रधानले कसरी आफ्नो व्यक्तिगत सम्पत्ति बनाउन खोज्दै छन् र उनलाई के कसरी त्यहाँबाट बेदखल गर्न खोजिँदै छ लगायतका कुरा विस्तारपूर्वक केही क्षणमै बताइन् । उनलाई न्याय दिलाउने कुरा त एकातिर छँदै छ । हामीलाई ‘आश्रमलाई कसरी व्यक्तिगत सम्पत्ति बनाइँदै छ’ भन्ने कुराले बढी छोयो । हामी प्रधानकहाँ तत्कालै गयौँ । गाँजा खाने दुई जना साथीसँग प्रधान पनि आवेगकै स्थितिमा पिँढीमा रहेछन् । हामीले केही कुरा राखेका मात्र के थियौँ पिँढीबाट आँगनमा ओर्लेर नाडी मिच्दै हामीलाई थर्काउन थालिहाले । चर्कै भनाभन भयो । भनाभनकै क्रममा रविलालजीका मुखबाट केही अशिष्ट शब्द फुत्किहालेछन् । प्रधानले त्यही निहुँ बनाएर ‘मेरै घर–कम्पाउन्डभित्र आएर यिनीहरुले यस्ता कुरा गर्ने ? यिनीहरू मेरो घर लुट्न आएका हुन् । म यस गाउँको मुखिया पनि हुँ, प्रधानपञ्च पनि हुँ । यिनीहरूलाई मेरै घरमा बन्दी बनाउँछु’ भनिहाले । प्रधानले त्यसो भन्नासाथ उनका दुईजना गँजडी साथीहरुले हामी दुवै जनालाई च्याप्प हात समातेर घिसार्दै पिँडीमा थ्याच्च बसाले । हामी बन्दी बनाइयौँ । बेलुका ५ बजेतिर गाउँका दुई–चार जना गन्यमान्यहरु आएर छुटाए । यसरी एक दिन प्रधानपञ्चको बन्दी भइयो ।
कतिपय माई आँबोईबाट र कतिपय गाउँलेहरूबाट पाइएका सूचनाबाट पनि प्रधानका ज्यादतीका बारेमा जानकारी पाइरहेकै थियौँ । त्यसैले गाउँमा दुई–चार जना भेला भएका ठाउँमा ती कुराको विरोध गर्दै गइरहेका थियौँ । सँगै समाजमा रहेका कतिपय अन्धविश्वासहरूका बारेमा पनि कुरा गर्ने वा परिआउँदा विरोध पनि गर्दै गइरहेका थियौँ । यसै सन्दर्भमा गाउँमा चलेको ‘ओली पाथी’ प्रथाको पनि विरोध ग¥यौँ । गाउँलेले ओली पाथी दिन बन्द गरे । गाउँका सिरानमा रहेको एउटा डाँडामा बाँस वा निगालाको लिङ्गो र कपडाका धजाहरु देखिन्थे । त्यस ठाउँलाई ओली बस्ने ठाउँ भनिन्थ्यो । त्यहाँ एकजना लामा अन्नबालीको सुरक्षा गर्ने हेतुले विशेष गरी धान बालीमा असिना नपरुन् भनेर ओली बस्थे । त्यस बापत मङ्सिरमा प्रत्येक घरबाट ती लामाले एक पाथी धान लैजान्थे । त्यसैलाई ओली पाथी भनिन्थ्यो । हाम्रामा गुरुङ लामा थिए ।
माथिको घटनापछि भने हामीलाई राम्रै मसला मिल्यो र त्यसलाई तत्कालीन पञ्चायती व्यवस्थासँग जोडेर त्यस व्यवस्थाका प्रतिनिधिले गरेको कृत्यका रूपमा परिभाषित एवं व्याख्या गाउँलेसँगका सामान्य भेटघाटमा मात्रै गरेर भएन, अब चाहिँ अलिकति सङ्गठित रुपमा केही गर्नुपर्यो भन्ने सल्लाह गरियो र गाउँका युवा साथीहरु रातिराति भेट गर्न थाल्याँै । ती भेटघाटमा सामान्य रुपमा मार्क्सवाद र कम्युनिस्ट पार्टीका बारेमा चर्चा पनि हुन्थ्यो । युवा साथीहरु सबै त्यत्तिकै जिज्ञासु, उत्साहित पनि हुनुहुन्थ्यो ।
दिउँसो आफ्ना–आफ्ना काममा जाने र बेलुका आफ्ना क्षेत्रमा पाएका सूचना सबैले भन्ने अनि त्यसबारे छलफल गर्ने गर्दै जाँदा बेलुका जमघट हुने साथीहरुको सङ्ख्या पनि बढ्दै गयो । अब यी सूचना हामीबीच छलफल गरेर मात्र हुँदैन बाहिर निकाल्नुपर्छ भनेर एउटा हस्तलिखित पत्रिकामार्फत भन्ने निर्णय भयो । पत्रिकाको नाम ‘भण्डाफोर’ राखियो । सम्पादक–प्रकाशकमा गुप्त नाम राखियो । बर्खाको खेतीपातीको समय थियो । दिनभरि कोही कोदालो खनेर, कोही घाँस काटेर र कोही मकै भाँचेर बेलुका जम्मा हुन्थ्यौँ । आफ्ना क्षेत्रका खबर ल्याउँथ्यौँ । ती खबरसँगै प्रधानपञ्चका ज्यादतीका कुरालाई बढी जोड दिएर अलिअलि तत्कालीन व्यवस्थाको विरोध झल्किने कुराहरु समेत राखी राति १२–१ बजे सम्ममा लेखेर तयार पारिसक्थ्यौँ र आ–आफ्ना क्षेत्रका सार्वजनिक स्थलहरु कहीँ रुखमा, कहीँ चौतारीमा र कहीँ चौतारीका रूखमा टाँसिसक्थ्यौँ । सकभर धेरैका आँखा पर्ने ठाउँ छानेर टाँसेका हुन्थ्यौँ । बिहानै उठेर आ–आफ्ना कामकाजमा निस्केकाहरूले अचम्म मान्दै पढ्थे र त्यसबारे आफ्ना प्रतिक्रिया पनि कसैकसैले दिन्थे । ती प्रतिक्रिया समेत राखेर भोलिपल्ट पनि त्यसरी नै तिनैतिनै ठाउँमा पत्रिका टाँसिएका हुन्थे । पछि केही दिनमा पनि निकाल्यौँ । त्यसले गाउँभरि केही खुलदुली, केही आशङ्का र केही समर्थन–विरोधको वातावरण पैदा गरायो । कामकाजको माँचो भएको बेला भएकाले मेलापातमै चर्चा–परिचर्चा भए । सायद् तीन वा चार अङ्क निस्के । १०–१२ जना साथीबीचमै यस कुरालाई सीमित राख्ने हाम्रो मतो भएको थियो । त्यस पत्रिकाका बारेमा कसैले कुरा गरे हामीले पनि थाहा नभएको कुरा गर्थ्यौं र उनीहरु जस्तै जिज्ञासु भएर कुरा सुन्थ्यौँ । समर्थन र विरोधका कुरा सुनेपछि हाम्रा पक्षको जनमत तयार पार्ने काम त्यसले गर्यो ।
प्रधानपक्षकाहरूले भित्रभित्रै कुरा जिल्लासम्म पुर्याएछन् । बर्खाको रोपाइँ सकिएको थियो । एकदिन घाँस काट्न भनी दुई–तीन जना साथीहरू वनतिर जाँदै थियौँ । बाटामा दुई जना पुलिस भेट भए । उनीहरुले हाम्रो घर सोधे । हामीले बतायौँ– हाम्रो घर माथिल्लो गाउँ गोर्जे हो । ‘त्यहाँका रविलाल अधिकारी र रघुनाथ अधिकारीलाई चिन्छौ ?’ भनेर सोधे । हामीले ‘खै, नाम त सुनेको हो । हाम्रो घर गाउँको पुछारमा पर्छ । त्यसैले राम्ररी चिन्दैनौँ’ भन्यौँ । ‘तिनीहरु त बनारसबाट पढेर आएका हुन् अरे । गाउँमा व्यवस्थाको विरोध गर्ने र कम्युनिष्ट पार्टीको प्रचार गर्ने गर्छन् अरे । हातैले लेखेर पत्रिका निकाल्छन् अरे’ भने उनीहरुले । ‘हामी त पढेलेखेका छैनौं । त्यस्ता कुरा हामीलाई कसैले भनेका पनि छैनन् त्यसैले केही थाहा छैन’ हामीले भन्यौँ । उनीहरुले प्रधानको घर र गाउँ जाने बाटो सोधे । हामीले मूल बाटो र प्रधानको घर बताइदियौं । उनीहरु बाटो लागे ।
प्रधानले रविलाललाई बढी आँखो बनाएका थिए र पुलिसले पनि पहिले रविलालकै नाम लिए । उनीहरुले नाम लिएका मध्ये एक जना त मै थिएँ । मैले त पुलिस आएको खबर पाएँ तर रविलाललाई त थाहा छैन । गाउँमा गएर समातिने हुन् कि भन्ने लाग्यो र सँगै गएका साथीलाई घाँस काट्न जान छोडेर म अर्कै बाटो गाउँतिर लागेँ । गाउँ गएर एक जनालाई रविलाललाई खबर पुर्याउन र गाउँतिर ननिस्कन भन्नु भनेर पठाएँ । त्यसपछि अरु साथीहरुलाई खबर पु¥याएर सरसल्लाह गर्यौँ । हाम्रा शुभचिन्तकहरूको सामान्य सूची पनि बनाएर तिनीहरु सबैलाई खबर गर्ने कुरा भयो । यतिकैमा प्रधानले एक प्रकारको गाउँले भेला बोलाउने भएको कुरा थाहा भयो । रातभरिमा सबै हाम्रा सूचना गर्ने काम ग¥यौँ ।
भोलिपल्ट गाउँको भेला हुने ठाउँ बुच्चे चौतारामा भेला भयो । भेलामा बर्खा याम भए पनि हाम्रा शुभेच्छुकहरूको राम्रै उपस्थिति भयो । हाम्रा अरु साथीहरु मौन बस्ने सल्लाह भएको थियो । मौन बसे । हामी दुई जनाका नाममा मात्रै उजुरी परेको रहेछ । रविलाल र मलाई एकातिर र गाउँले भद्रभलाद्मीहरुलाई अर्कातिर राखेर पुलिसले हामीलाई हामीले निकालेको पत्रिका नै देखाएर ‘यिनीहरुले यस्तो पत्रिका निकालेर व्यवस्थाको विरोध गर्ने र कम्युनिष्टको प्रचार गर्ने गर्छन् भन्ने हाम्राँ रिपोर्ट परेको छ । तपाइँहरुलाई थाहा छ ?’ भनेर सोधे । उपस्थितमध्ये धेरै हाम्रा शुभेच्छुक, दुईचार जना प्रधानका पक्षका तर मुख पर्न नचाहने र दुईचार जना बीचका थिए । सबै मुखामुख गर्दै थिए, एक्कासि प्रधानका गँजडी साथीहरु जसले हामीलाई पाखुरामा समाएर पिँढीमा पछारेका थिए तिनीहरु ‘यिनीहरु कम्युनिष्टै हुन् । यिनीहरुले नै निकालेका हुन् । यिनलाई कारबाही अर्नै पर्च’ भन्दै पाखुरा सुर्कंदै अगाडि आएका थिए । गाउँलेले समातेर लगी बसाले । पुलिसले फेरि गाउँलेतिर फर्किएर सोधे– ‘के भन्नुन्च तपैँहरू ?’ ‘अरु कुरा थाहा छैन, यिनीहरुले यस्तो काम गरेका छैनन्’ भनेर गाउँलेले भने । हामीलाई पनि सोधे । हामीले पनि त्यस्तो काम हामीले गरेका छैनौं । त्यो पत्रिका पनि हामीले निकालेको होइन भन्यौँ । प्रधानले ‘हस्ताक्षर जाँच्नुपर्छ, त्यसै कहाँ हुन्छ ?’ भन्दै थिए । गाउँलेहरुले त्यति चासो दिएनन् र पुलिसले पनि त्यसमा खासै वास्ता गरेनन् । त्यतातिर लागेका भए हामी सबै त्यहीँ थियौँ । कसै न कसैको त हस्ताक्षर मिल्थ्यो नै । त्यसो हुन पाएन । पुलिसले गाउँलेहरूको बयान लिएर एउटा मुचुल्का जस्तो तयार पारे । गाउँलेहरुले बयान हामीले भनेजस्तै दिएका थिए । हामीलाई पनि त्यसैमा सही गर्न भने । गर्यौँ । पुलिस फर्किए । यो यतिमै सकियो ।
यो नै गोर्जे गाउँमा कम्युनिष्ट पार्टीका बारेमा चर्चा भएको पहिलोपटक हो । यसअघि २०१५ सालको आम निर्वाचनमा तत्कालीन भाषा पाठशालाका गुरु अर्घौं कालिकाथानका हेमराज अधिकारी निर्वाचन आयोगको कर्मचारीका रूपमा गएपछि वहाँका सट्टामा आउनुभएका गोरखाका रामेश्वर भट्टराईले मार्क्सवाद र कम्युनिष्ट पार्टीका बारेमा चर्चा गर्ने गरेको र त्यसबाट आफू पनि प्रभावित भएको हाम्रा दाइहरुले भन्नुहुन्थ्यो । हाम्रो यो कार्यक्रम त्यहीँका युवा साथीहरूको पहलमा स्वतःस्फूर्त रुपमा गरिएको थियो । रविलाल र मैले बनारसमै कम्युनिष्ट पार्टीको सदस्यता लिएका थियाँै । त्यति मात्रै हो । यसपछि मात्रै गोर्जेमा कम्युनिष्ट पार्टीको सङ्गठन पसेको हो ।
वि.सं. २०२१ सालदेखि २०३५ सम्म परासी–गोर्जे–काठमाडौँ चक्कर काट्दै थिएँ । यसैबीच एकपटक गोर्जे गएको बेला एक जनाले रविलाललाई विद्यालयमै गएर अपमानजनक व्यवहार गरे भन्ने गाउँभरि हल्ला चलेको रहेछ । मैले पनि सुनेँ । आफूूलाई काङ्ग्रेसी भनेर कम्युनिष्टको विरोध गर्ने गाउँमा तिनै एक जना थिए । केही बसाइपछि थाहा भयो– हाम्रै साथीमध्येका एक जना अर्का साथीको दावी रहेछ । एकदुई बसाइ त्यसैका बारेमा भए । कुनै ठोस निर्णय भएन । आफ्ना खानदानको धमास दिँदै ‘हाम्रा छोराले नपाउने, फलाना (तुच्छ सम्बोधन)का छोरा जावाले पाउने’ भन्दै उनी हिँडिरहेका थिए । यस्तैमा एकदिन त्यतैका साथीले उनीहरूको वनभोजमा मलाई निम्ता गरे । उनीहरुका सबै भाइको पारिवारिक वनभोज रहेछ । बाहिरको म मात्रै रहेछु । खानपिनका क्रममा कुरो त्यही प्रधानाध्यापकको उठ्यो । मैले शैक्षिक योग्यतामा रविलाल नै माथि भएकाले उनले पाउनु स्वाभाविकै हो मात्र के भनेको थिएँ उनै व्यक्ति उस्तै तुच्छ लबजका साथ ममाथि झम्टिन आइपुगे । यताउता हेरेँ, हाम्रै पक्षका साथीको बाहुल्य थियो । मैले उनलाई पनि पहिलेकै कुरा दोहो¥याएर भनेँ । त्यो सुनेपछि अरु पनि मेरा विपक्षमा देखिन थाले । सबै एकमुख लागेर उनकै भनाइ दोहो¥याउन थाले । म एक्लो भएँ । सबै ममाथि आक्रोशका साथ खनिन थाले । म निरीह भएँ । गराका कान्लामा निसास्सिँदै अडेस लाग्न पुगेँ । बलिया सिकारीका अगाडिको निरीह सिकार जस्तै भएँ । ओठमुख सुके । म अवर्णनीय त्रासको स्थितिमा पुगेँ । उनीहरुमध्येकै कसैले उनीहरूलाई शान्त पारे । शायद म त्यो कहरबाट फुत्केँ । त्यसपछि के के खाएँ र कतिखेर हिँडेँ, पत्तै पाइन । उनीहरुको इलाका कटेपछि मात्रै मलाई थाहा भयो– म खानदानी एकताको सिकार बन्न पुगेको रहेछु । मेरै विचारका साथीहरूको बाहुल्य रहेको ठाउँमा ममाथि उनीहरूकै आक्रमण त्यसैको परिणाम त होला नि ! अहिलेसम्म पनि त्यस अवर्णनीय त्रासका स्थितिको सम्झना बेलाबखत आइरहन्छ ।
खानदानी रबाफका आधारमा समाजमा रजगज गरेर बस्नेहरूले आफूभन्दा तल्लो खानदानी तहका वा खानदानी टालो नमिलेकाहरूले समाजमा प्रतिष्ठा पाएको वा प्रतिष्ठित पद पाएको देख्न नसक्ने सामन्ती सोचकै कारण रविलाललाई प्रधान अध्यापक हुनका लागि अयोग्य ठहर्याउन खोजिएको थियो । कुनै खानदानी टालो नभिरेका रविलालको प्रधान अध्यापकले त्यस प्रवृत्तिसँग केही समय सङ्घर्ष गर्नुपरेको थियो । म त केही समयपछि काठमाडौं वा परासीतिर लागेँ । रविलालको प्रधानाध्यापक पनि थामिएको पछि थाहा भयो किनभने उनी क्याम्पस पढाउन आउने बेलासम्म सोही पदमा थिए । प्रधानाध्यापकले आफू थामिन शिक्षक साथीहरू र शुभेच्छुक गाउँलेहरूको मात्र सहयोग लियो वा अन्यत्र कतैबाट पनि पायो, त्यति थाहा भएन ।
अग्रज मित्र रविलालप्रति हार्दिक श्रद्धाञ्जली !
पोखरा– ४, कास्की