17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो माटो

कथा विश्वराज अधिकारी May 29, 2024, 6:18 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

सुनिलले महेश अंकललको कथा मलाई यसरी सुनाएका थिए-
“आइतबारको दिन थियो। हामी, म र महेश अंकल, ओक्लहोमा सिटी जादै थियौ। ओक्लहोमा सिटी अर्थात अमेरिकाको ओक्लहोमा राज्यको राजधानी। हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामाग्रीहरु त्यस शहरका केही पसलहरुमा पाइने हुनाले ती खाद्य सामाग्रीहरु खरिद गर्न हामी एक वा दुई महिनामा एक पटक त्यस शहरमा जाने गर्थैउ। म अमेरिका आएको केवंल छ महिना मात्र भएको थियो। तर महेश अंकल आएको पच्चिस वर्ष जति भइसकेको थियो। उहाँको बसाइ लामो भइ सकेकोले सबैथोकको व्यवस्था मिलाइ सक्नु भएको थियो। राम्रो जागिर, आफ्नै घर अनि बैंकमा केही बचत पनि। करीब करीब सबै थोक। म भने भरखर गृहस्थी बसाउने तरखरमा थिएँ। आँउदा आँउदै शुरुको अवस्थामा यहाँ आउनेहरुले खोल्नु पर्ने पीडा, समस्या, चुनौति, औसर, उमङ्ग आदि मिसिएको परिस्थितिको पोकोलाई बिस्तारै खोल्दै थिएँ। प्रवासमा बस्दा मनमा उठ्ने आशा र निराशाको ज्वार भाटाहरुको लेखाजोखा गर्ने प्रार्म्भिक अवस्थामा म थिएँ।”
“म बस्ने शहर, नोरमेनमा आफ्नो निजी गाडी नभएमा अति नै समस्या हुने रहेछ। यहाँसम्म की सामान्य खाद्य सामाग्रीहरु खरीद गर्न समेत पनि आफ्नो गाडी चाहिने रहेछ। वा भनौ आफ्नो गाडी भए पछि निकै सजिलो हुने रहेछ। मसँग गाडी नभएकोले कहिले यो सँग कहिले ऊसँग राइड मागेर काम चलाइरहेको थिएँ। यस्तो अवस्थामा, म बसेको शहरदेखि ओक्लोहोमा सिटी २०। २५ माइल टाढा भएकोले त्यहाँसम्म पुग्न महेश अंकलसँग मैले राइड मागेको थिएँ। उहाँ पनि सपिंग गर्न त्यतै जाँदै हुनु हुन्थ्यो र मलाइ पनि केही सामान ल्याउनु थियो, खास गरी दाल, चामल, जिरा, धनिया, परबल, करैला, भुजिया, पापड, सुपारी आदि आदि। यी सामानहरु प्राय: इण्डियन स्टोरहरुमा मात्र पाइन्छन्।”
“सपिंग गरेर नोरमेन फर्किनका लागि हामीले ओक्लहोमा सिटीबाट बाहिर निस्केर आइ ३५ हाइवेमा प्रवेश गर्नु थियो। अनि त्यसपछि आइ ३५ हाइवेबाट हाइवे ७७ मा प्रवेश गरेर केही क्षण ड्राइभ गरे पछि नोरमेनमा प्रवेश गर्नु थियो। हामीले सोही अनुरुप गरौ। नोरमेन पुगेपछि भने रबिन्सन स्ट्रीट क्रस गर्दै बोएड स्ट्रीट र १२ रौं स्ट्रीटको क्रसिङ्ग नजीकको एक ठाउँमा हामीले जानु थियो। त्यहाँ नै महेश अंकलको घर थियो। तर त्यता नगएर अंकल १२ रौं स्ट्रीटमै हिँडिरहनु भयो। उहाँ अप्रत्यासित रुपमा त्यता गएको देखेर मलाई आश्चर्य लाग्यो। त्यसरी किन गएको होला भनी मैले अनुमान समेत पनि गर्न सकिन।”
“कारमा म महेश अंकलको छेउमै बसेको थिएँ। त्यसरी अनपेक्षित दिशातिर लाग्नु भएकोले म उहाँलाई आश्चर्यचकित मुद्राले हेर्दै थिएँ। मेरो त्यो हेराईको उहाँले तत्काल अर्थ निकाल्नु भयो र भन्नु भयो- कसैको घरतिर जान थालेको होइन। कसैलाई भेट्नु पर्ने पनि छैन। त्यसैले कता हो कता जान थालेको हो भनि आश्चर्य न मान्नु भए हुन्छ।”
“मैले आफूलाई रोक्न सकिन र झ्वाट प्रश्न गरे- अनि, कता जान थाल्नु भएको त? केही सामान किन्नु छ कि? कि भ्यालु फुड (ग्रोसरी पसल) तिर पस्ने हो, हँ अंकल?”
“महेश अंकलले जवाफ दिनु भयो- छैन छैन, केही पनि किन्नु छैन। न त कसैलाई भेट्नु नै छ। न त कुनै ग्रोसरी स्टोरमा पसेर केही किन्नु छ। कुनै ग्यास स्टेशनमा पसेर यो गाडीमा ग्यास हाल्नु पर्ने पनि छैन्।”
“यति भनेर उहाँले हामी हिँडिरहेको १२ रौं स्ट्रीट छाड्नु भयो र राइट टर्न लिएर लिन्सी स्ट्रीटमा प्रवेश गर्नु भयो। लिन्सी स्ट्रीटमा केही क्षण हिँडेपछि फेरि लेफ्ट टर्न लिनु भयो अनि ह्युस्टन एभेन्युतिर लाग्नु भयो। यो ठाउँमा आएको देखेर उहाँले मलाई ह्युस्टन एभेन्युको छेउमा रहेको स्प्रिङ्ग फिल्ड अपार्टमेन्टमा बस्ने एक नेपाली मित्र कहाँ लगेर सरप्राइज दिन थालेको हो कि भनी मैले अनुमान गरे। मलाई एक नेपाली त्यहाँ बसेको पट्टकै थाहा नै नभएको र आज त्यहाँ लगी उनीसँग भेट गराएर ठूलो सरप्राइज दिने बिचार महेश अंकलले गरको हो कि भन्ने तर्कना पनि मेरो दिमागमा आयो। तर एक नेपाली परिवार त्यहाँ बस्ने भनी मलाई थाहा थियो केवल त्यो परिवारसँग मेरो भेटघाट मात्र भएको थिएन। तैपनि म चुप लागिनै रहेँ। महेश अंकलले भने मेरो मुहारमा एकै छिन घोरिएर हेर्नु भयो।”
“ह्युस्टन एभेन्युमा केही क्षण हिंडेपछि त्यसलाई छाडेर उहाँ ड्रेक ड्राइभतिर लाग्नु भयो तर स्प्रिङ्गफिल्ड अपार्टमेन्टतिर भने लाग्नु भएन बरु स्प्रिङ्गफिल्ड अपार्टमेन्ट पस्ने बाटो भन्दा केही पर लाग्नु भयो। स्प्रिङ्गफिल्ड अपार्टमेन्ट पस्ने बाटो भन्दा केही पर पुगेर गाडीलाई एकैछिन रोक्नु भयो अनि मेरो मुहारतिर हेर्दै भन्नु भयो- सुनिलजी, तपाइँलाई थाहा छ मानिसले मानिससँग मात्र होइन भूगोलसँग पनि प्रेम गर्दो रहेछ। कुनै ठाउँ, त्यो ठाउँका छेउ छाउका सडकहरु, घरहरु, रुखहरु, पसलहरु सँग प्रेम गर्दो रहेछ। त्यहाँको आकास, मौसम, वातावरण समेतसँग प्रेम गर्दो रहेछ। एक किसिमको साइनो गाँस्सिदो रहेछ, मानिस र ती कुराहरुको बीचमा। त्यो मानिस त्यो ठाउँमा पुग्दा ती कुराहरु सजीव भएर आउँदा रहेछन्, तिनले कुरा गर्न खोज्छन्। मलाई त्यस्तो लाग्छ। ती कुराहरुसँग मानिसको सम्झना गाँस्सिदो रहेछ, अतीत समेत पनि गाँस्सिदो रहेछ।”
“यति भनेर उहाँ केही क्षण घोरिनु भयो त्यसपछि केही सम्झेझै गरेर मलाई प्रश्न गर्नु भयो- तपाइँ नोरमेन आउनु भएको छ महिनाभन्दा बढी भयो, होइन त सुनिलजी?”
“उहाँको त्यो प्रश्नको मैले केवल हो मात्र भनेर उत्तर दिएँ। बोल्ने क्रमलाई जारि राख्दै उहाँले नै पुन: भन्नु भयो- तपाइँ कुनै खास ठाउँमा बस्नु हुन्छ, त्यो ठाउँमा तपाइँको घर होस वा डेरा, प्रत्येक दिन तपाइँ त्यस घरमा पस्दा निस्कदा, त्यहाँका छेउछाउका दृश्य परिदृश्यहरुलाई घरि घरि हेर्दा वा नियाल्दा वा आँखा अगडि ती दृश्य परिदृश्यहरु पर्दा तपाइँको अचेत मस्तिष्कले ती कुराहरुसँग सम्बन्ध गाँस्दो रहेछ, तपाइँको सचेत मस्तिष्कले थाहा नै नपाउने गरी। पछि ती दृश्य परिदृश्यहरुहरुको सम्बन्ध तपाइँको जीवनका घटनाहरुसँग गाँस्सिन गइ तिनले अनेक कालखण्डका विभिन्न घटनाहरुको स्मरण गराउँदा रहेछन्। यसै गरी नै कुनै खास भूगोलमाथि मान्छेको प्रेम बस्दो रहेछ पनि।”
“यति भनेर उहाँले मलाई प्रश्न गर्नु भयो- तपाइँलाई कस्तो लाग्छ नि? अनि, तपाइँको के सोंचाई छ, कुनै खास भूगोलमाथि मान्छेको प्रेम बस्ने बारे, हँ, सुनिलजी?”
“मैले छोटो उत्तर दिएँ- खोइ अंकल, म त परे साइन्सको स्टुडेन्ट। यहाँको युनिभर्सिटी, युनिभरसिटी अफ ओक्लहोमा, बाट कम्प्युटर साइन्समा इन्जिनियरिंग गर्दैछु। यस्ता कुराहरुमा त सोँच्नेसम्म पनि कहिले मलाई फुर्सत भएन। काठमाडौमा हुँदा सत्र ठाउँमा डेरा सरियो। कहाँ बसिनएन? भैसेपाटीदेखि जोरपाटीसम्म मैले बस्न भ्याएँ। सायद ती ठाउँहरु छोडेको लामो काल बितेपछि मलाई पनि त्यस्तो बोध हुने हो कि? अब काठमाडौ फर्केर म ती ठाउँहरुमा पुग्दा मलाई अंकलले भनेझै बोध हुने हो कि? हेरौ त्यस्तो हुन्छ कि?”
“मेरो त्यस्तो उत्तर सुनेपछि उहाँ निकै बेरसम्म हाँस्नु भयो। म तिर केही बेरसम्म हेरेको हेरै गर्नु भयो पनि। एकै छिन पछि केही सम्झेझै गरेर भन्नु भयो- सुनिलजी, म यहाँ आएको कारण भने ऊ त्यो घर हो, देख्नु भयो। ऊ त्यो घर, ऊ त्यो रातो घर। ऊ त्यो क्या, त्यो अगाडिको, घर अघिलतिर सानो चौर अनि पछाडी ठूलो बारी भएको घर। हो, त्यो घरमा म पाँच वर्षसम्म डेरा गरेर बसें। त्यो घरको मलाई अति याद आउँछ। त्यो घरको मात्र होइन त्यसका वरिपरिका दृश्यहरु पनि अति याद आउँछन्। यहाँको समग्र वातावरणको नै याद आउँछ। यिनको माया पनि उत्तिकै लाग्छ। अहिले म यहाँ नबसे तापनि यो ठाउँलाई मैले बिर्सिन सकेको छैन्। लिन्सी स्ट्रीट वा १२ रौं स्ट्रीटबाट कतै जाँदा वा कतै बाट यी स्ट्रिटहरुमा आउँदा यो ड्रेक ड्राइभमा आएर, यो ठाउँलाई एकचोटी हेरि हालौ लाग्छ। यो ठाउँको नजिकबाट जाँदा यो ठाउँले मेरो कार सहित मलाई जहिले पनि आफूतिर तानेझै लाग्छ। जब म पहिलो चोटी अमेरिका आए यो नोरमेन शहरमा नै आए। सुरुमै, यो स्ट्रिटको यो घरमा बसेँ। त्यति बेला मेरो छोरा जुनियर हाईस्कूलमा पढ्थ्यो। अहिले हाम्रो कार जहाँ रोकिएको छ, हो यै ठाउँमा मेरो छोराको स्कूल बस उसलाई लिन आउँथ्यो। बिहान छोरा स्कूल जानेबेलामा उसलाई यहाँसम्म पुर्याउन म आउँथे। उसको स्कूलको बस यो ड्रेक ड्राइभ हुदै यहीँ आइपुग्थ्यो। त्यतिखेर म एक ग्रोसरी स्टोरमा काम गर्थे। मेरो बिहानको ड्युटी हुन्थ्यो। मैले अहिले नाम बिर्से त्यो देशको, पूर्व युगोस्लाभियाबाट छुट्टिएको कुनै देश थियो क्यारे, हो, त्यहाँका एक व्यक्ति मेरो अपार्टमेन्ट (घर) को छेउमा बस्थ्ये। पछि उनीसँग परिचय भएर राम्रो मित्रता पनि भयो। ती मित्रका छोरा र मेरो छोरा एउटै स्कूलको एउटै ग्रेडमा पढ्थे। दुवै जना साथी थिए। उनी पनि आफ्नो छोरालाई स्कूल बसमा चढाउन यहीँ आउने गर्थै। वाल मार्टमा ग्रोसरी किन्न उनले मलाई धेरै पटक त्यहाँ पुर्याएका थिए। त्यतिखेर मसँग आफ्नै गाडी थिएन। नोरमेन आएको लगभग एक वर्ष पछि मात्र मैले गाडी किने। अहिले यो ठाउँलाई हेर्दा ती दिनहरु, ती घटनाहरु झलझली मेरो आँखका अगाडि आउँछन्। यो ठाउँलाई हेर्दा सिनेमाको रिलझै ती दिनहरु चल्न थाल्छन्। कस्तो अचम्म, है!”
“यति भनेर महेश अंकल एकै छिन चुप लाग्नु भयो। उहाँ सम्झनाको संसारमा हराउनु भए झै मलाई लाग्यो। उहाँको भनाईबाट प्रेरित र सम्मोहित भएर म पनि सम्झनाको घोडा चढेर विभिन्न स्थानहरुमा पुगे। वायुको गतिमा ती स्थानहरुमा पुगेर तिनलाई स्पर्श गरे। तर लामो समयसम्म कल्पनाको यात्रा मैले गर्न सकिन। महेश अंकल भने चुपचाप हुनु हुन्थ्यो। उहाँ चुप लागेको देखेर कुराको सिलसिलालाई अगाडि बढाउन मैले नै पहल गरे। मैले वहाँको मुहारतिर हेर्दै भने- होइन अंकल, केही वर्ष मात्र बस्नु भएको यो ठाउँको तपाइँलाई यति धेरै र पटक पटक याद आउँछ। आफू जन्मे, हुर्के, खेले, कुदेको ठाउँको याद त झन तपाइँलाई कति बढी आउँदो हो, हैन त?”
“उहाँले तत्काल उत्तर दिनु भयो- ओहो, नसोध्नुस, कति आउँछ, कति। कति भनौ, कति कति, अति, अति नै। दिनको दसौ चोटी पुग्छु म त्यहाँ मनको हवाइ जहाज चढेर। कहिले भानुचौक पुग्छु, कहिले पिडारीचौक। कहिले रामानन्दचौक त कहिले राममन्दिर। कहिले ब्रह्मपुरी त कहिले बारबिघा। कहिले जनकचौक त कहिले जानकी मन्दिर। त कहिले संकटमोचन त कहिले रेल्वेस्टेशन। कहिले परिक्रमाका सडकहरु। कहिले ………। कहाँ कहाँ भनौ…………?”
“उहाँको बोल्ने क्रम रोकिएन। बोलिनै रहनु भयो। त्यो क्रमलाई तोडदै मैले प्रश्न गरें- अंकलको घर नेपालमा कहाँ नि………?” अंकलले भन्नु भयो- जनकपुर। जनकपुरधाम। मेरो प्यारो जनकपुर।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।