17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आफैं पात्र आफैं कथा

कथा भाउपन्थी May 29, 2024, 6:29 pm
भाउपन्थी
भाउपन्थी

आफैं कथा भइयो । कथाको अभाव थियो । घरबाट निस्कँदा दुई पेग लगाइएछ । राम्रो कुरा त होइन दारु खाएको कथा लेख्नु । कथा मात्र लेख्नु नराम्रो कहाँ हो र ? साथमा छोरी पनि थिई, त्यो पनि नराम्रो होइन तर छोरीलाई म थाहा दिन चाहँदैनथेँ, मैले बिहानै दारु खाएको छु भनेर । छोरीले मैले दारु खाउँ त्यो पनि बिहानै भनेपछि त्यो नराम्रो हुने थियो । भइसकेको थियो नराम्रो । छोरीले मलाई झन् घृणा गर्न सक्थी, मैले दारु खाएको थाहा पाई भने, घृणा नगरिहाले पनि वितृष्णा देखाउन सक्थी आफ्नै पिताप्रति, जन्म दिने पिताप्रति । दारु खाएपछि मेरो मनको बोझ बन्थ्यो दारु र मन उदास हुन्थ्यो, लेख्ने नाममा दारुको सहारा लिन्छु भनेर । छोरीको अनुहार सम्ँझन्थेँ र झन् उदास हुन्थेँ ।

छोरीकै किनमेलका लागि नयाँ सडकतिर लाग्नु थियो । अरू ठाउँ किन्दा सामान चयन गर्ने विकल्प कमै हुन्थ्यो । त्यसैले नयाँ सडकतिर निस्कनु थियो र छोरी पनि खुस हुन्थी । डेराबाट थोरै हिँडेपछि बस भेटिन्थ्यो । बस आउँथ्यो कीर्तिपुरबाट । छोरीले थाहा पाएकी थिई मैले सुटुक्क दुई पेग लगाइसकेको । पेगको नाप पनि एक्युरेट थिएन । भन्नलाई दुई पेग भनेँ तर आधाआधा गिलास दुई पटक स्वाट्टस्वाट्ट निलेँ । बढी हालेजस्तो थियो गिलासमा । स्टिलको गिलासमा लुकाएर खाएको थिएँ हतारमा, बुढीले देखी भने बाहिर निस्कन बन्देज लगाएर कोठामा थुन्ने थिई । कथाको कुरो पनि थियो । कोठामा थुनिएपछि सबै समाप्त हुन्थ्यो, कथा पनि दारु पनि । तर पेग लगाउनुअगि बुढीको डरले भन्दा कथाले लखेटिरहेको थियो । कथा लेख्नै सकिएको थिएन । फुरिरहेको थिएन । कथा ननिस्केकोमा नैराश्य र कुण्ठा भइरहेको थियो । यस्तो लाग्थ्यो दिमाग जाम भएको छ । दारुको मातले केही राहत दिइरहेको थियो, कथा नफुरेको कुण्ठा र नैराश्यबाट, शान्त दहमा एउटा सानो कङ्कड फालेजस्तो, थोरै तरङ्ग उठेर फेरि तुरुन्तै शान्त ।

बस स्टपमा हामी दुई जना अघि र पछि भएर पुग्यौँ, छोरी र म । छोरी मेरो औँलो समातेर झुल्दै हिँड्न रमाउँथी । आज दारुका कारण त्यसो हुन सकिरहेको थिएन । छोरी मभन्दा अलि टाढा भएर हिँड्न रुचाइरहेकी थिई । मैले यो मार्क गरेको थिएँ । ‘छोरी यता आऊ, मेरो बराबरीमा, मेरो हात समातेर हिँड ।’ मैले उसलाई अनुरोध गरे पनि उसले नाइँमा टाउको हल्लाई, मानिरहेकी थिइन । टाउको हल्लाएर नाइँ भनिरहेकी त थिईथिई अनुहार अँध्यारो बनाएकी थिई । मभन्दा पछि वा अगिअगि मबाट तर्केर दगुरिरहेकी थिई ।

बस पनि समयमा आउने भए पो । ‘बस आएको छैन,’ छोरीको वाचालता फर्कोस् न त भनेर मैले भनेको थिएँ । बस त आएकै थिएन । छोरी मभन्दा अलि पर अपरिचितदेखि झैँ असंलग्न उभिन खोज्दै थिई । हामी स्टपमा पुग्दा नपुग्दै एउटा बस उम्किसकेको थियो । राहत यो थियो, त्यसमा मान्छे खचाखच थिए । तर छोरी बिस्तारै मेरै छेउमा टाँसिएर उभिई । पिताको आश्रय चाहेजस्तो गर्दै । म पश्चात्तापमा थिएँ, आजै बिहान त्यत्ति दारु नखाएको भए के हुने थियो ? छोरी हाँस्ने थिई, पुतलीझैँ पखेटा फरफराएर हिँड्ने थिई, रमाएर ।

स्टपमा अलि पर सरिता पनि उभिएकी थिई । सरिता कुनै विचारमा डुबेजस्ती देखिन्थी । छोरीले भनी, ‘उ सरिता आन्टी !’ उसले मैले सुन्ने गरी भनेकी थिई तर सरिताले पनि सुनी । ऊ हामीलाई हेरेर मुस्कुराई । सरिता उमेरकै थिई । छेउको दिनेश साहुको घरमा काम गर्थी । मैले मुखलार्य हातले ढाक्दै भनेँ, ‘सरिता तिमी कता जान लागेकी ?’ मैले सरिताभन्दा टाढै रहेर प्रश्न गर्नुपर्ने थियो । मुखबाट हस्को उडेर ऊसम्म पुग्ने डर थियो र उसले अरू केही नभए पनि फर्केर मेरी बुढी अर्थात् उसकी उमा आन्टीलाई भनिदिने डर थियो । त्यस कारण दारुको रमरम मातलाई मैले थिचेर होसमा भएको असफल अभिनय गर्न बाध्य थिएँ ।

छोरी सरिताको छेउमा उभिएर मसँगै बस पर्खिन लागी । म पनि छोरीको भावना बुझेर एक अपरिचित बनेँ, अलि टाढै उभिएर बस पर्खिरहेँ । मनमा अनेक कुरा खेलिरहे । तर यसो भन्न सकिन्छ दारुको झोमलोमा थिएँ म र मनमा धेरै कुरा खेलाउन सकिरहेको थिइनँ । कथा मेरो यही भइदियो, आफ्नै कथा, दारु खाएको लुकाउन आपूmले चिनेकाहरूसँग पनि अपरिचितको अभिनय गरिरहनुको कथा । कथा त्यतिमै थिएन । बस स्टप हामी बस्ने टोलको मुख्य अड्डा थियो । वरिपरि पसलहरू झुरुप्प थिए । भेट हुनेजतिमा मलाई नचिन्ने कमै हुन्थे । छोरीलाई र सरितालाई चिन्नेहरू बढी थिए । दारु खाएको मैले, लुकाउन असफल–सफल जे भए पनि उनीहरूलाई मेरो बारे प्रश्नात्मक आँखाले हेर्ने धेरै थिए । यो उनीहरूका लागि महासङ्कट भइरहेको थियो ।

मनमा आयो, दारु नखाएको भए सज्जन तरिकाले सबैसँग बात मार्न पाइन्थ्यो । मैले सरितासँग टाँसिएर उभिएकी छोरीलाई हेरेँ । ऊ मसँग आएको भन्दा सरिता आन्टीसँग सपिङमा हिँडेकी बढी देखिन चाहन्थी । सरिताप्रति छोरीको व्यवहारका कारण मेरो मनमा ईष्र्या जाग्यो । सरिताबारे छरछिमेकमा हल्ला थियो, ऊ मिलनसार छे । अरूको घरमा नोकर बसेर काम गर्ने महिला मिलनसार नभए गर्ने पनि के ? यद्यपि ऊ मेरै छिमेकको दिनेश साहुकोमा काम गर्थी तसर्थ त्यो मिलनसार छे भन्ने हल्ला मात्र मैले सुनेको होइन ऊसँग अपरिचित पनि थिइनँ ।

सरिता बैँसकी थिई तर एउटा छोरो थियो । बैँसकै देखिन्थी भन्नुपर्ने किनभने सानै उमेरमा उसको बिहे भइदिएकाले ऊ चाँडै आमा बनेकी हो । त्यो कुरो मैले सरितासँग सोध्न सकेको थिइन, तर छोरो जो थियो खाडीको मुलुकमा काम गर्न गएको थियो । सरिता एक्लै थिई । साहु दिनेश सज्जन थियो । सरिता बेलाबेलामा मेरी बुढी अर्थात् उमासँग एकान्तमा दुखसुखका कुरा गरेको म सुन्थेँ । कान लगाएर सुन्नुपर्ने थिएन तर सरिता छोराको कुरा निकाल्थी र सुँक्कसुँक्क रुन थाल्थी । त्यो सुँक्कसुँक्क यति टाठो हुन्थ्यो, घरभरि लुक्दैनथ्यो । मैले पनि सुन्थेँ । कुरा प्रायः उसकै छोराका गन्थन हुन्थे । खाडीमा कमाएको पैसा ऊ आमालाई दिँदैनथ्यो रे । कसलाई दिन्थ्यो त ? त्यो सरितालाई पनि थाहा थिएन । खाडीमा फिलिपिन्सका केटीहरूले यताकालाई फसाएर पैसा र पुरुषलाई वशमा लिन्थे रे । सरिताको छोरोले पनि एउटी फिलिपिने केटीलाई साथमा राखेर अर्थात् फिलिपिने केटीले सरिताको छोरोलाई वशमा गरेर चुसिरहेकी छे रे । चुस्नुको दुइटै अर्थ लाग्थ्यो, एक, पैसाको शोषण र अर्को यौनको । विदेशको मरुभूमिजस्तो सपाट र उखरमाउलो गर्मी ठाउँमा एउटी केटीको छायामा ओत लाग्न पाउनु जीवनको महत्तम उपलब्धि मान्न सक्थे यहाँबाट गएका तन्नेरीहरूले । त्यै भइरहेको थियो कि सरिताको छोरोसित ? रेका कुरा हुन् असत्य होस् भन्ने चाहन्थी केटाकी आमा सरिता ।

अर्को एउटा शङ्का यो पनि थियो, सरिताको छोरोले गाउँमा एउटी केटी फसाएको छ रे । छोरोले केटी फसाएको होइन केटीले उसलाई फसाएकी हो र पैसाजति छोरोले उसको खातामा पठाउँछ, सरिता भन्थी । केटीले मोहनी लगाएकी छ भन्थी सरिता । हप्तामा एकदुई चोटि ऊ छोरालाई कब्जामा राखेको मोहनी छुटाउन गुभाजु वा पशुपतितिरका माताहरू भएठाउँ भक्तिपूर्वक जान्थी । उसको आधा तलब तिनै काममा खर्च हुन्थ्यो । सरिता तर मोहनी भङ्ग गराउनमा सफल भइरहेकी थिइन । त्यसैले ऊ सधैँ निन्याउरो अनुहार लगाएकी देखिन्थी । उसको बुढो गाउँमा थियो र त्यहाँबाट कसै गरे पनि सहर आउन मान्दैनथ्यो । गाउँमा सरिता बस्ून चाहँदैनथी । गाउँमा कुरा काट्ने धेरै छन्, उसको छोराको हर्कतका बारेमा । छोरोको निन्दा सरितालाई सह्य हुँदैनथ्यो ।
बस आयो र म पहिले चढेँ र हामी सबै एकएक गरी त्यसमा चढ्यौँ । सरिताले छोरीलाई बसमा उक्लन सघाई । छोरी मसँग आइन । सामान किन्न ऊ मसँग नआई धर थिएन तर अहिले सरितासँगै बसेकी थिई मानौँ ऊ सरिताकै छोरी हो । छोरी उसको कानमा मुख टाँसेर केके भनिरहेकी थिई । सरिता बेलाबेला शङ्कालु आँखाले मलाई नियाल्थी । मलाई थाहा थियो, ती दुईबीच मेरो दारुको लतबारे खासखुस भइरेहछ । बस जामा पनि पररहेथ्यो । पछि बस सुनधारामा अडियो र नयाँ सडकका लागि हाम्रो यात्रा त्यही टुङ्गियो । अब भने सरिता एकातिर र म र छोरी अर्कातिर हुनेछौँ । हामी छुट्टिएपछि कथाको मेसो पनि अर्कै हुनेछ ।

अहिले त कथामा सरिताको उपस्थिति पनि छ । छोरी उसलाई छोडिरहेकी छैन । यसबाहेक सरिताको छोराको कथा पनि यसमा मिसिएको छ । बसबाट ओर्लेपछि हामी सबैका व्यथाकथा एकाएकातिर हुनेछन् । म छोरीको हात छुट्न नदिन व्यस्त हुनेछु । सरिता मेरो ध्यानबाट ओर्लिनेछे र छोरीले पनि आफ्नो बाबाको हात समातेर नयाँ सडकको भीडमा नहराउने प्रयत्न गर्नेछे । तर म दारुको मातमा छु, मात रमरमको छ, नथामिएर नघटेर बढ्दै छ । म दारु नखाएको भए हुने भन्ने पश्चात्तापमा पनि छु । तर कथाको लागि म तृषित छु र त्यसैको नैराश्यले अभिभूत भएर अगि दुई पेग निलेको हुँ । त्यो पनि स्टिलको गिलासमा लुकाएर पिउने भएकाले धेरै नै खाएँ भन्ने लागिरहेको छ । कुनै एउटा रेस्टुराँमा बसेर छोरीका लागि केही मगाएर एकछिन मात मत्थर गर्नुपर्ला । यस्तो सोच बनाएको छु मैले । यतातिरका एकदुई वटा रेस्टुराँ मैले चिनेको छु ।

ती परिचित रेस्टुराँमध्य एकमा पसेपछि म छोरीलाई उसले मन पराउने चिकेन मम एक प्लेट मगाइदिनेछु यद्यपि ऊ पूरै प्लेट चिकेन मम खान सक्दिन । तर चिकेन मम खान सधैँ रहर गर्छे, पूरै एक प्लेट उसको अगाडि राखिएको हुनुपर्छ । पछि खान नसकेमा त्यो त्यसै छाडिएको पनि हुन्छ नभए जो साथमा उसले खाइदिँदा हुन्छ । यस पल्ट पनि त्यस्तै हुने हो । दुईचार वटा मम मैले खाइदिनु पर्ने छ । छोरी आपैmँले भन्नेछे— ‘बाबा खानुस् न ।’ मैले उसको आग्रह टार्न नसकेभैmँ ‘ल ल’ भन्दै दुईचार वटा मम खाइदिनेछु । यस्तो सधैँ हुने गर्छ । पानी पनि चाहियो । एक बोतल पानी मगाइदिनु पर्नेछ । आधा बोतल खाएपछि बाँकी बोतल पानी छोरीले झोलामा राख्नेछे । छोरीप्रति म आश्वस्त छु । चीजहरू समाल्न जानेकी छे । म मात्र यस्तो भइदिएँ, दारु खाने । मम खाइसकेपछि म फकाएर उसले सरितालाई उसले र उसलाई सरिताले केके भनेका हुन् त्यो सबै सोध्नेछु ।

सरिता हामीबाट छुट्टिएपछि रेस्टुराँमा पस्ने भनेको त्यसो भएन, कारण ऊ छुट्टिइन । घटनाक्रमले क्रमभङ्ग गर्यो । छोरीले भनी, ‘सरिता आन्टी हामीसँगै जाने रे ।’ मलाई लाग्यो, आज छोरी डराई । दारु त खाएकै थिएँ, आज म अलि धङधङाएछु कि कुन्नि ? छोरीले मेरो भरोसा गर्न सकिन । तर म धङधङाएको थिइन, दारु खाएर मातेकाले सोच्ने कुरो हो पनि यही । मेरा खुट्टा लर्बराएका थिएनन् । तैपनि छोरीले भरोसा मानिन । ‘छोरी सुन त, सरिता आन्टीलाई जान देऊ । उनी अर्कै कामले आएकी हुन् । तिमी र म अर्कैतिर जानु पर्छ ।’ मेरा खुट्टा झैँ मैरो जिभ्रो पनि स्थिर थिएन । मेरो बोली सुनेपछि छोरी एकछिन अडिई । भीड थियो मिचामिचको । आवतजावतमा छोरी हराउली कि भन्ने डर पैदा भयो । तर उसले मेरो हात समातेकी थिइन । सरिताको हात बलियो गरी समातेकी थिई । कथामा यो अर्को मोड थियो । मोड वा घटनाको प्रवेश थियो । दारुको रमरम मातमा पनि मैले यो सोचेँ । म आफ्नो कथामा आफैं पात्र भइरहेको थिएँ ।

मलाई रेस्टुराँ भेट्टाउनु जरुरी थियो । दारुले अलि बढी घुमाएजस्तो लाग्यो । बिहानदेखि केही खाएको थिइन । खाली पेटमा दारुले ताण्डव मच्चाउन खोजेजस्तो लाग्यो । बान्ताको सम्भावना पनि थियो । बीचपेटीमा दारु बान्ता गरेमा मानिसहरू नाक थुनेर हिँडे पनि तिरस्कारमा के घिचेको होला बिहानबिहानै भन्ने थिए । मै पनि भन्ने थिएँ । छोरी आफ्नो बाबाको यो हालत देखेर रुने कि नरुने दोधारमा फस्ने थिई । बिचरा ! बाउलाई छोरीहरू बढी माया गर्छन् । छाडेर यत्रो ठूलो मिचामिचको हूलमा जाने पनि कता ? जँड्याहा बाउको हालत यस्तो छ !
मलाई छोरीको चिन्ता भयो । ऊ बुझ्ने भइसकेकी थिई । मेरो सङ्कट ऊ बुझ्ने भएकी थिइन अर्थात् म केका लागि किन दारु खान्छु भन्ने । तर यो बहाना एउटा फितलो बहाना थियो । केही लेख्नैलाई दारु खान्छु भनेर छोरीलाई भन्न सक्दिनथेँ । छोरी रचनाकारको सङ््कटलाई त्यसरी हेर्ने भइसकेकी थिइन । उसको छेउमा सरिता आन्टी पनि थिई जो अरूको घरमा काम गरेर जीवन धानिरहेकी थिई । उसको छोरो थियो खाडी मुलुकमा जहाँबाट मानिस तह नपरे बाकसमा लास भएर फर्किन्थ्यो ।

उसलाई जीवनयापनको सङ्कट थियो । छोराले सरिता आन्टीलाई दुख दिइरहेको थियो । सानो छउन्जेल हुर्काई बढाई तर ठूलो भएपछि त्यही छोरोले उपेक्षा गरिरहेछ र दुख दिइरहेछ । त्यति हुँदा पनि सरिता कपाल कोरीबाटी स्वच्छसफा भएर बस्थी र दिनेश साहुका छोराछोरीलाई बिहानै तयार गरी स्कुलबसमा पु¥याउने ल्याउने अनि घरको सबै काम समयमै पूरा गर्ने काम कमी नराखी गर्थी । त्यसमाथि हँसिली फरासिली थिई यद्यपि निन्यारी भएर बसेकी पनि देखिन्थी । उसलाई भित्री दुःख छ भन्न बाहिरकाले सक्दैनथे । छोरी यस्तो सरल बुझ्थी जीवनलाई सरिता आन्टीको माध्यमबाट । जीवनका अनेक हन्डरले पनि सरिता आन्टीलाई गलाएको थिएन । ऊ त्यसैले सरिताको हात बलियो गरी समातेकी थिई ।

छोरी आफ्नो बाबाले बिहानै दुई पेग लगाएको हरिरहेकी थिई, ढोकाको चरबाट । म उसबाट लुकाएर दारु खान्छु भन्दाभन्दै पनि असफल भएँ, सफल भइन । भित्र केहीले कोपरिहेको अनुभव हुन्थ्यो । एउटा केही लेखिहाल्ने हुटहुटी बेकारैमा पालिराखेको हुन्थेँ म । धैर्य गुमाउँथेँ । केही कोरकार गरेर कुनै एउटा पत्रिकामा पठाउन पाए हुन्थ्यो भन्ने रोगजस्तै थियो । छोरीले यो बुझ्दिनथी । उसलाई बुझाउनु जरुरी पनि थिएन । उसको सरल हेराइमा जीवन हाम्रो सम्पन्न थियो, चिन्तारहित । त्यसरी बिहानै दुई पेग चढाएर आफ्नो नैराश्य मेट्नुपर्ने सङ्कट केही आइलागेको थिएन । छोरीका लागि पेन्सिल, किताब र फ्रक किन्न निस्कने बाबाले त्यसरी सबै बिर्सेर दुई पेग रक्सी लुकेर किन खानु परेको होला ? के आइलाग्यो र त्यस्तो गरेको ? बाबा, यो के गरेको हजुरले भनेर ऊ सोध्न सकिरहेकी थिइन ।

सरिता मतिर हेरिरहेकी थिई । छोरीलाई हात छुटाएर मतिर पठाउन पनि सकिरहेकी थिइन ।

मैले भनेँ, ‘पहिले मम खाऊँ है छोरी । सरिता तिमी पनि हिँड ।’

मैले भन्न त भनेँ । मेरा आँखा राता भएका हुनुपर्छ । उनीहरू दुवै जना डराएर पछि सरे ।

‘अङ्कल ! अङ्कललाई आज यो के भयो ? सन्चो नभएजस्तो छ । ट्याक्सी गरेर घर फर्कौं ।’ सरिताले भनी ।

छोरीले पनि होमा टाउको हल्लाउन खोजी । बाबासित भोलि आउन पाइने हो वा होइन त्यसको भरोसा छैन उसलाई । बाबा भोलि फेरि अरू कुनै काममा व्यस्त भइहाल्ने पो हो कि ? उसले किन्नुपर्ने सामान फेरि कहिले किनिने हो ?

‘हो बाबा । हामी घर फर्कौं ।’ छोरीले भनी । छोरीले भनेपछि मैले सोच्नुपर्ने भयो । हिजोदखि नै किनमेलको तालिका बनेको हो । नयाँ सडकतिर निस्केर छोरी र बाबा सँगै किनमेल गर्ने । छोरीका आवश्यकता धेरै थिएनन् । जति थिए ती किन्दा एक घण्टा पनि लाग्दैनथ्यो । तर आज मैले बिहानै के सुरमा हो दुई पेग धोकेछु । किनमेलका लागि उसकी आमाले पनि मन्जुरी दिएकी थिई । छोरी बाबासँग किनमेल गर्न जाने इच्छा गरेकी छे । आज त्यो बिग्रने भयो । भोलिका लागि कार्यव्रmम तय गर्दा हुने हो । तर भोलि पनि यसरी नै बाबा माते भने ?
बाबा मात्नुको मूल कारण छोरीले बुझ्न चाहिन । सरिता जो वयस्क थिई, जीवनका तितामिठा अनुभवसम्पन्न थिई उसले पनि बुझ्न सक्दैनथी । उसलाई छोराको मात्र चिन्ता थियो । मलाई कुनै कुराको चिन्तापिरलो थिएन । मैले दारु खानु पनि ठीक थिएन । खासै त्यस्तो के नै भएको थियो र ? दारु खानुको कारणलाई एक विशाल परिदृश्य दिएर व्याख्या गर्नलाई ? म परेसान भइगएँ ।

‘छोरी, सरिता आन्टीलाई जान भन । म र तिमी ट्याक्सीमा घर फर्कौं । मैले नसक्ने भएँ ।’ मैले भनेँ ।
कथा लम्बिने भयो । छोरी रुन पनि सक्थी । भीडको बीचमा छोरी आँसु बगाउँदै, पराईको हात समातेर मातेको बाउलाई असहाय भएर हेरिरहेको । ऊ म नजिक आउन मानिरहेकी थिइन, म ऊनजिक गएर फकाउन पनि सक्दिनथेँ । एउटा विरोधाभासी कारुणिक चित्र त्यहाँ बन्थ्यो । तर छोरीले परिपक्वता देखाई । उसले भनी, ‘आन्टी हामीलाई ट्याक्सीमा बसालिदिनोस् ।’

सरिता पनि परिपक्व थिई, दुःखले पाकेकी, माझिएकी । बाह्य आवरणमा पाकी देखिए पनि भित्र छोरोले दिनु दुख दिएको थियो, गलेकी थिई होला । ऊ बाहिर देखाएर रुनुमा विश्वास गर्दिनथी । तर उमा आन्टीको छेउ परेपछि रुन्थी, आँसु बगाएको बगायै गरेर । छोरो नै आफ्नो हुन सकेन भनेपछि दुख पोख्ने एउटा ठाउँ त चाहियो । बाहिरी संसारभरि त्यसको प्रदर्शन गरेर फाइदा थिएन ।

घर पुगेपछि मैले सोचेको थिएँ कथाको अर्को अंश मञ्चन हुने छ । कममा पनि छोरीले आमासित मेरो जँड्याहा प्रवृत्तिको विस्तारसाथ पर्दाफास गर्नेछे । तर उसले त्यसो गरिन । आमा आश्चर्य मान्दै थिई, छोरीको किनमेल नसकी बाबुछोरी अकस्मात् किन रित्तै घर फर्के भनेर ।

छोरीले घटनालाई अर्कै मोडमा उभ्याई, भनी— ‘बाबालाई रिङटा लाग्यो । हिँड्न गारो भयो । ज्वरो आउनलाई हो कि ?’

कहिलेकाहीँ मात्र त्यस्तो भएको होइन मलाई । दारुको ह्याङओभर लुकाउन बीबीचमा म भन्थेँ, ‘आज सन्चो भएन, टाउको रिङाएजस्तो छ ।’ थकाइले हो कि भन्ने निष्कर्षमा पुग्थी पत्नी । आज पनि त्यही निष्कर्ष निकालियो । म चलाखी गर्दै थिएँ, सोभैm ऊसित कुरा गर्नबाट तर्किरहेँ । ओछ्यानमा पसेपछि भित्तातिर मुख गरेर सुतेँ र केहीबेरमै निदाएछु ।

अर्को दिन उठेपछि छोरीको अगाडि उभिन सकिन । मेरो कथा यही थियो । आफैं पात्र भइएको । लेख्नै पर्ने भयो । तर छोरीप्रति म कृतज्ञ थिएँ । सरिताबाट म धेरै दिन तर्केर हिँडेँ यद्यपि ऊ मेरी पत्नी उमा आन्टीलाई भेट्न र वेदना पोख्न धेरै पटक घर आइसकेकी थिई । मलाई देखे पनि नदेखेझैँ गर्थी । ओँठको एक कुनो मुस्काइरहेजस्तो लाग्थ्यो । मलाई लाग्यो छोरीले नै उसलाई सतर्क गराएको हुनुपर्छ नत्र कथाले फेरि अर्कै मोड लिने थियो । मतलब घरमा एउटा रडाको मच्चिने पक्का थियो । म हाँहुँमा आलटाल गरिरहेको हुने थिएँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।