17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दाम बोर्डिङ स्कुल !

हास्यव्यङ्ग्य गायत्री लम्साल June 1, 2024, 11:52 pm
गायत्री लम्साल
गायत्री लम्साल

कुरा घुमाउरो नभई सिधासाधा किसिमले गर्नुुपर्ला जस्तो छ । हामीलाई थाहा नै छ कि कुनै पनि कुरा कि परेर जानिन्छ त कि पढेर जानिन्छ । जे जसरी भए पनि जान्ने कुरा राम्रो हो, जानेको कुरा हाम्रो हो । हामीहरू भुक्तभोगी छौँ पूरा । जानिरहेका छौँ, चिनीरहेका छौँ, बोर्डिङ स्कुलका ब्रह्माशयहरूलाई । कोहीले पढेर जानेका छौँ, कोहीले परेर जानेका छौँ, त कोहीले हेरेर पनि जानेका छौँ । हामीहरूलाई लाग्छ, जुन बोर्डिङमा महङ्गो फि हुन्छ, त्यही बोर्डिङमा नै अन्तभन्दा पढाइ राम्रो हुन्छ । अन्तकोभन्दा अरु सबै कुराको गराइ राम्रो लाग्छ । यथार्थ नबुझी आदर्शको पछाडि दौडिनुको काइदा र फाइदाहरू निकै बढी हुने रैछ क्या बुझ्नु भो नि ।
कुरा अरुको काट्यो भने कानुन लाग्ला भन्ने जगजगी त्यसैले काट्नु–काट्नु कुरा आफ्नै काट्नु मनासिव देखियो । कुरा के भन्नुहुन्छ भने, म वर्गको हिसाबले सुकुम्बासी वर्गमा पर्ने भए तापनि कर्मको हिसाबले सम्भ्रान्तमा नै पर्छु जस्तो लाग्छ । महङ्गीले जतिसुकै नेटो काटे तापनि मेरो कर्मको दम्भले दुई सन्तानको नाइटो नकाटी मानेन । मजस्तै म भनाउँदाहरूको पनि मूलमर्म मेरो जस्तै हुनुपर्छ भन्ने अनुमान लगाउन सक्नुहुन्छ । अनि दुई सन्तानका बा महङ्गो बोर्डिङ धा भन्ने गर्थे मेरै सहगोत्रीया मन्त्रीहरूले । सहगोत्रीयाहरूको मन्त्रलाई टेरपुच्छर नलाउन पनि भएन । दाम चलेको र नाम चलेको राम्रो बोर्डिङ स्कुल खोज्न लगाएर छ महिनाको पेश्की रकम दिएर भर्ना जमाइहालँे । मन भित्रभित्र आनन्दको सास ओहोरदोहोर गर्नथाल्यो । यो मानेमा कि मेरो छोरो धेरै नाम कमाइसकेको दाम इन्टरनेशनल बोर्डिङ स्कुलमा पढ्छ । स्कुलमा पढाइ के कस्तो हुन्छ भन्ने कुरामा मलाई केही दुबिधा परेन किनकि स्कुलको नाममा नै शान छ क्या– दाम इन्टरनेशनल बोर्डिङ स्कुल ।
दामका कामहरू मैले जान्नै परेन किनकि छोराले आफै जान्दै गयो । दामभित्रका जाम र रामका बारेमा छोराले सिक्दै गयो । दाममा जानभन्दा अगाडिका समयमा छोराको आनी बानीका बारेमा पनि केही पोल खुलाउन मन लागिहाल्यो हजुरहामी सामु । मेरो छोराको बाजे र बराजुको कुरा गर्दा फटाइँ गर्नमा फास्टर नै थिए तर छोरो मोरो भने यति सोझो निस्कियो कि बाजे–बराजुको जिन एक प्रतिशत पनि मिसिएनछ । सा¥है सोझो । यति सोझो कि आफू हिंडिरहेको बाटोमा पैसाको बिटो देखे पनि नटिपीकन हिड्ने भनेपछाडि अरु त भन्न नै परेन । मलाई लाग्न थाल्यो, अब राम्रो बोर्डिङ स्कुलमा पढ्न थालेपछाडि मेरो छोरो पक्कै पनि बाठो हुन्छ अनि टाठो पनि । आफैभित्र विश्वास पलाएको थियो, सपनाको सागरमा, कल्पनाको सागरमा पक्कै पनि पार गर्न सकिन्छ ।
छोरो दाम स्कुलमा शानसँग जानथाल्यो । स्कुल युनिफर्म पनि महिनाभरिका दिनभन्दा धेरै सेट । क्लास ड्रेस, हाउस ड्रेस, सन्डे ड्रेस, मन्डे ड्रेस, स्काउट ड्रेस, डान्स ड्रेस, जाउस ड्रेस, आउस ड्रेस, माउस ड्रेस, खेल्ने ड्रेस, हेर्ने ड्रेस, फेर्ने ड्रेस, रकिङ ड्रेस, हकिङ डे«स, सुटिङ ड्रेस, भुटिङ डे«स, उठिङ डे«स, भ्रमण डे«स, हर्मण डे«स, पढ्ने ड्रेस, सड्ने डे«स, लर्ने डे«स आदि आदि डे«स नै डे«स बाबै चिन्नै गा¥हो, किन्नै गा¥हो । दामको नाम अनुसार र काम अनुसार छोरोले पनि शुरुबाट नै राम्रै कुराहरू सिक्न थालिहाल्यो ।
स्कुल गएकै पहिलो दिन, एउटा किताब हराएछ, दोस्रो दिन पेन हराएछ, तेस्रो दिन पुनः अर्को किताब हराएछ । एवं रीतले उसको हराउने क्रम समय तालिका जस्तै बन्दै गयो । मलाई पनि आनन्द लाग्न थाल्यो । कमसेकम छोरोले केही त सिक्यो । जिल्लाको सामान्य बोर्डिङ स्कुलमा पढ्दा यस्तो हराउने कुरो एउटा पनि सिकेको थिएन । राजधानीको मुटुमा अवस्थित नाम चलेको दाम स्कुल, अरुको भन्दा छुट्टै पहिचान हुन प¥यो, अरुको भन्दा बढी हान हुनप¥यो, अरुको भन्दा बढी भान हुनप¥यो । म पनि उसको रुटिङमा अभ्यस्त हुन थालेँ । उसले जे जे हरायो भन्छ, त्यही त्यही पुन किन्दिदै तथास्तु छोरो भन्दै गएँ । एउटै कलासका सा¥है सस्ता बोर्डिङका किताब दिन दिनै किन्न पाउँदा मलाई खर्चको हिसाबले जम्मा एउटा छोरोलाई पढाउन पाउँदा पनि आधादर्जन छोरालाई पढाउन पाएजस्तो तात्तातो अनुभवको मिठो स्वाद चाख्न पाएँ । आखिर स्वाद सबै कुराको चाख्नु भन्छन् ।
एक दिन पुनः छोरोलाई सिक्ने कुराको ठूलै सौभाग्य मिलेछ । कुरा के भएछ भन्नुहुन्छ भने क्लासमा हराउने कुराहरूको चोर को हँ भनेर अनुसन्धान शुरु भएछ । अनुसन्धानको क्रममा फैसला हुँदा मेरो छोरो र मेरो छोरो जस्तै अर्को कुनै सोझो मोरो परेछ । अनि नाम चलेको स्कुलको अप्रेसनको काम पनि सा¥है राम्रो हुँदोरहेछ । दुइटा सोझा केटालाई एउटा कोठामा लगेछन् र बोर्डिङ स्कुललाई बोरिङ बनाउने निकै ठूला मानिने कोडिनेटर र प्रिन्सिपल भएर गाईखाने भाषामा सराप्नु सम्म सरापेछन् । सजायको लागि तिमीहरूले कि त चोर को हो भन नत्र भने दुवै मिलेर आधा आधा पैसा तिर भनेर छोडेछन् । साँझ छोराको मुखमा हेर्छु त आँखा रातो रातो मात्र कहाँ हो र ? उसलाई त हनहनी ज्वरो पनि आएछ । उसलाई तातो पानी र पेन किलर दिँदै सम्झाएँ बाबु, पिर नमान यी भनेका त दामी स्कुलमा नामी काम हुन् । उसको चित्त सा¥है दुःखेछ, झन् भक्कादिँदै रुन थाल्यो । मलाई प्रश्न ग¥यो । बाबा ठूला मान्छेले कति पढेका हुन्छन् ? ठूला मान्छेले किन ठूला गल्ती गर्छन् ? ठूला मान्छेको किन बुद्धि हुँदैन ? मैले धैर्य हुँदै उत्तर दिन थालेँ । बाबु, हाम्रो देशमा ठूला मान्छे हुन पढ्नु नै पर्दैन । अनि ठूला ठूला गल्ती नगरी ठुला मान्छे नै बनिदैन । अनि पुनः अर्को प्रश्नको उत्तर, बुद्धि हुने हो भने ठूला मान्छे नै बनिदैन । उसले कुरा कति बुझ्यो कुन्नि जे होस् मुन्टो चाहिँ हल्लायो ।
छोरोले जेनतेन आफ्नो पढाइ सडाइ अगाडि बढाउँदै लग्यो । पहिलो त्रैमासिक परीक्षा पनि दियो । नतिजा प्रकाशन भयो । नाम नचलेका साना स्कुलमा त नतिजाको तत्काल समयमा पोजिसन पनि थाहा हुन्थ्यो तर नाम चलेका स्कुलमा भने नतिजा पछाडि पोजिसन थाहा पाउन अरु थप एक महिना पर्खनु पर्दोरहेछ । कारण के रहेछ भन्नुहोला भने, बोर्डिङ स्कुलका दक्ष र प्राविधिक टिचरहरूले प्रश्नपत्र निर्माण गर्दा नपढाएको पाठबाट पनि निकाल्दा रहेछन् अनि कपि चेक गरेर नम्बर काउन्ट गर्दा एड गर्न मिस्टेक हुँदोरहेछ । त्यही रहेछ, रिजल्टको दिन पोजिसन थाहा नपाइने चुरो कुरो । सोझो छोरोले पनि सबै विषयको नम्बर काउन्ट गरेछ । धेरै विषयमा एडमा फरक परेछ त कतिमा आधा आधी चेक पनि नभएको रहेछ । अनि री परीक्षणमा लगे पछाडि पहिलाको मार्कमा र पछि थपिए पछाडिको मार्कमा धेरै होइन, जम्मा दश प्रतिशत बढी आएछ र पोजिसनमा पनि प्रथम नै भएछ । मलाई निकै खुशी लाग्यो,किन भन्नुहोला भने,दाम स्कुलमा पढाउने शिक्षकले पढाएको मेरो छोरो तीन महिनामा नै शिक्षक भन्दा पनि जान्ने भएछ । मेरो खुशीले सीमा नै नाघ्यो । पढाउनु पढाउनु यस्तो स्कुलमा पो पढाउनु ।
समय बित्न बेर नै लाग्दोरहेनछ । छोरोले स्कुलमा हराएका चिजहरू किन्दाकिन्दै वार्षिक परीक्षा पनि सकियो । विद्यार्थीहरू नतिजाको प्रतीक्षामा थिए भने स्कुलहरू धमाधम विज्ञापनमा जुटेका थिए । एउटा शिक्षाविद्ले मेरो हातमा पनि एउटा स्कुलको ब्रोसर थमायो । मैले पनि ब्रोसरमा भएका महान् कुराहरू पढ्दै गएँ । वैज्ञानिक तरिकाले पठनपाठन, संगीतमा पारङ्गत, डान्समा नेपाल तारा, रक क्लाइमिङ, हर्स राइडिङ, विदेश भ्रमण, कराँतेमा ब्लाकबेल्ट, स्काउटमा दक्ष, सबै म्युजिकमा दक्ष, रेडक्रसमा सक्रिय, खेलकुदमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खालको बनाउने, कम्प्युटरमा डिप्लोमा, ..............जान्दै नजानेका, सुन्दै नसुनेका कुराहरू । दङ्ग लाग्यो मलाई उसको विज्ञापन देखेर । अनि पुनः कुन दामी स्कुलमा होला यस्तो चमत्कार भनेर यसो आँखा लगाएको त आफ्नै छोरोले पढेको दाम बोर्डिङ स्कुल । मभित्र झन् खुशीको मात्रा थपियो । मेरो छोरो माथि उल्लिखित सबै कुरामा दक्ष भैसकेछ । साँझ घरमा गएँ । अनि छोरोलाई काखमा लिएर सोध्न थालेँ । बाबु तिमीले डान्स सिक्यौ ? उसले भन्यो, अँ बाबा मेरो पालो आउनै लागेको थियो तर फाइनल परीक्षा आइहाल्यो । म्यूजिक सिकाउनु भयो ? एक दिन गितारमा चारवटै औंला राखेर बजायो भने बज्छ भन्नुभाथ्यो । कराँतेमा ब्लाकबेल्ट पायौं । अँ हँ बाबा , कराँते भनेको त रिसाउँदा मुट्ठी कस्ने होइन र ? अनि विदेश भ्रमणमा लगे त । खै थाहा भएन बाबा, एकदिन शैक्षिक भ्रमण भनेर वाग्मती रिभर सफा गर्न गएका थियौं । अँ अनि रक कलाइमिङ, हर्स राइडिङ त ग¥यौ होला नि ? के भन्नु भा’को मैले त कुरा नै बुझिन । अनि तिमीलाई स्काउट र रेडक्रसको बारेमा के थाहा छ ? अँ हँ बाबा, त्यस्तो बताउन मिल्नेगरि त केही पनि थाहा छैन । अनि खेल खेल्न के के जानेका छौ त ? स्कुलको ग्राउण्डमा त केही पनि सिकाएका छैनन् तर घरमा हुने मोबाइलमा आउने जति सबै जानेको छु । स्कुलमा कम्प्युटरको प्राक्टिकल क्लास कति हुन्छ ? अँ बाबा त्यसमा त मेरो पनि एक दिन पालो आएको थियो । मलाई आनन्द लाग्दै गयो धन्य छन्, धन्य रहून्, बोर्डिङ स्कुलका ब्रह्माशयहरू ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।