17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जुँगामुठे तस्विर

कथा चिरञ्जीवी दाहाल June 1, 2024, 11:57 pm
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

" सुधीर, तिम्रो पिताजीको फ्रेममा सजाएर राखिएका अनगिन्ती तस्विरहरू छन् । आखिर भित्तामा यही जुँगामुठे तस्विर मात्र किन राख्छौ ? परिवर्तन गर्न सक्दैनौ ?"
रुधिरको यो बेतुकको कुराले मेरो कन्सिरी तातेर आयो । म चुप लागेर बस्न सकिन । “पिता मेरा हुन्, बैठक कोठा मेरो हो, अनि यो घर पनि मेरो हो । मैले आफ्नो पिताजीको जुँगामुठे तस्विर राखौं या जुँगा बिनाको तस्विर राखौं ? तिमीलाई किन आपत्ति ? सल्लाह नै दिने हो भने बरु जीवन प्रतिको दृष्टिकोण बदल्ने सल्लाह दिनु । यस्तो जाबो कोठा परिवर्तन गर्ने कुरालाई म कसरी सल्लाह मान्न सक्छु ?" मैले भने ।

“कृपया नरिसाऊ सुधीर,मेरो आपत्ति तिम्रो पिताजीको तस्विर फेर्ने कुरामा मात्र सिमित छैन । मैले तिम्रो यो बैठक कोठा आफ्नो भनेको पनि छैन । कुरा रह्यो घरको, यो तिम्रो निजी निवास हो । यसलाई मैले आफ्नो भनेर दावी गरेको पनि होइन । तिमी र म सँगै जन्मिएका हौं, यतिका वर्षसम्म सँगै खेलेर हुर्किएका मन मिल्ने साथी त हौं नि ! होइन र ?

मैंले मात्र होइन, तिमीले पनि वर्षौदेखि यही तस्विर देखिरहेका छौं । यो तस्विर परिवर्तन गर्ने हो भने कमसेकम केही दिनलाई भएपनि यो बैठक कोठामा अलिकति भए पनि नयाँपन आउँन सक्थ्यो । यसमा मेरो केही पनि स्वार्थ लुकेको छैन् । यसै कारण तिम्रै लागि यो रायसुझाव दिने दुस्साहस गरेको हूँ । तिमीलाई अन्यथा लाग्छ भने ठिकै छ । आजदेखि यस विषयमा मैले केही पनि गुनासो गर्ने छैन, अन्यथा नमान ।"

चित्त, रुधिरले पनि दुखायो । रुधिर यति भनिसकेपछि जुरुक्क उठेर हिँड्यो । अब भने मलाई पनि उसको कुरा मनासिव जस्तै लाग्न थाल्यो । हो, कमसेकम बैठक कोठामा सामान्य परिवर्तन गर्न सकेपनि कोठामा नयाँपन अवश्य आउन सक्थ्यो । यो हाम्रो बैठक कोठा, बा छउन्जेल जस्तो थियो अहिलेसम्म पनि उस्तै छ । मैले आजसम्म पनि त्यतातिर ध्यानदिन सकेको थिइन ।

छलफल भएको भोलिपल्ट नै मैले, बैठक कोठाको दक्षिणपट्टिको भित्तामा टाँसेको बाको बडेमानको त्यही जुँगामुठे तस्विर निकालेर पूर्वपट्टिको भित्तामा सारेँ । किनकि बाको सबैभन्दा आकर्षक र ओजपूर्ण तस्विर त्यही थियो । रुधिरले भनेकै भरमा म त्यो तस्विर भने परिवर्तन गर्ने पक्षमा थिइन ।

बरु बैठक कोठाको सम्पूर्ण साजसज्जा परिवर्तन गर्छु । जब मैले बैठक कोठाको आमूल परिवर्तन गर्ने विचार गर्दै थिएँ, अचानक बैठक कोठाको पुरानो सोफामा मेरो आँखा पुग्यो । सोफा‌को अधिकांश भागमा मयलको पत्र जमेको थियो । ठाउँ ठाउँमा प्वाल परेर फाटेको देखिन्थ्यो । तत्काल मैले फर्निचर पसलमा फोन गरेर साहुजीलाई भनेँ “तयारी भए भोलिसम्म एकसेट नयाँ सोफा पठाइदिनु ।" यसै मौकामा खुइलिइ सकेको भित्ताको रङ्गसमेत परिवर्तन गरे झनै खास्सा हुन्छ जस्तो लाग्यो ।

भुइँमा ओच्छ्याइएको लिनोनियम र टि टेबल पनि परिवर्तन नगरि नहुने अवस्थामा पुगेका थिए । त्यसले पनि भोलिपल्ट नै मूर्तरूप लियो । मैले निकै राम्रोसँग बैठक कोठाको सजावट गरेँ । बैठक कोठा पहिलेभन्दा निकै सुन्दर र आकर्षक देखियो ।

जब मैले बैठक कोठाको सबै वस्तु परिवर्तन गरेँ । लाग्थ्यो, यो आफ्नो उही बैठक कोठा होइन । बैठक कोठा जीर्ण रूपबाट मुक्त भएर निकै सानदार देखिइरहेको थियो । भनिन्छ मजाले सरसफाइ गर्नुपर्छ, निकै फोहर ठाउँ पनि सुन्दर देखिन्छ ।

रुधिर पहिले यस्तो थिएन । उसले आजसम्म मलाई आफ्नै विचारले कुनैपनि निर्देशन दिदैन थियो । बरु मैले भने ऊसँग अनेक सरसल्लाह माग्ने गरेको थिएँ । उसले मैले भनेको र मैले गरेको सबै कुरामा सहमति जनाउथ्यो । मेरो एउटै पनि कुरा उल्लङ्घन गर्दैन थियो । मैले जे गरौं, जसो गरौं भने पनि तयार हुन्थ्यो । तर यसपटक तस्वीर परिवर्तनको कुरा ऊ आफैले उठायो । यथार्थमा उसले गरेको कुरा नराम्रो थिएन । म बेकारमा रिसाएँ, त्यसरी नरिसाउनु पर्ने । आखिर उसैको भनाइ उचित लागेर मैले बैठक कोठाको सजावट पनि गरेको हूँ । त्यसदिन ऊसँग गरेको व्यवहारले मलाई नराम्रोसँग चिमोटी रह्यो । म भित्र विकशित भइरहेको अहङ्कार म आफैँले स्पष्ट रूपमा देखेको थिएँ । मलाई आत्मग्लानी भयो ।

त्यसदिनको मेरो व्यवहारले रुधिरलाई मात्र होइन पातली आमाको पनि चित्त दुख्न सक्थ्यो । पातली आमा अर्थात रुधिरकी आमा । अचानक मेरो स्मृतिपटलमा रुधिरकी आमाको शान्त तस्विर अगाडि उभियो ।

उनी जवानी छँदै हाम्रो घरमा कामगर्ने कामदारको रुपमा भित्रिएकी हुन् भन्ने सुनेको हूँ । म जान्ने बुझ्ने भएपछि भने उनीहरू आमा छोरा छुट्टै घरमा बस्ने गरेका थिए । हामी उनको आँगनमा खेल्न जाने गरेपनि उनको भने हाम्रो घरमा त्यति आउजाउ थिएन ।

उनले हामीलाई औधी माया गर्छिन् । मलाई लाग्छ, पातली आमाको व्यवहार एकदम सफा छ । कहिलेपनि उनको बोली र व्यवहार फरक हुँदैन । उनी कसैको पनि रिस र डाह गर्दिनन् । पातली आमाको मात्र होइन, रुधिरको स्वभाव पनि ठ्याम्मै आमाको जस्तै छ । सायद वंशाणुगत गुण भनेको यसै भएर होला ।

साच्चिनै पातली आमा जङ्गली फूलजस्तै सिधा र पातली छन् । कसैले छोयो भने पनि पिटिक्क भाँचिएलिन् जस्ती । त्यसै भएर होला गाउँमा सबैले उनलाई "पातली" भन्ने गरेका थिए । उनको वास्तविक नाम के थियो, हामीलाई कहिलेपनि थाहा भएन । पातली आमा हाम्रो नजरमा एउटा असल छिमेकी, महान आमा र आदर्श नारी थिइन् ।

' बैंसमा उनी अत्यन्त आकर्षक थिइन् , सुन्दरी थिइन् ।' गाउँलेहरू सबै यसै भन्छन् । हुन पनि अहिले जीवनको उत्तरार्धमा आइपुग्दा त उनी धपक्क बलेको दियो जस्ति देखिन्छिन् भने, उमेर र बैंसमा झन कस्ति थिइन् होला ? यसै अनुमान गर्न सकिन्छ । सुन्दर हुनु भनेको प्रकृतिको अपूर्व वरदान प्राप्त गर्नु हो । सृष्टिमा जन्मिएका सबै मान्छेले यस्तो अवसर पाउँदैनन् । भगवानले जसलाई जस्तो जन्मदिए, व्यक्तिको अनुहार र रङ्ग त्यस्तै हुन्छ, हरेक मान्छेको बानी, ब्यहोरा पनि उस्तै हुँदैन । भगवानले कसैलाई अत्यन्त राम्रो र सुन्दर अनुहार दिन्छन् भने कसैलाई सामान्य अनुहार । फेरि कसै कसैलाई कुरुप अनुहार सहित जन्म दिएको पनि देखिएको छ । अनुहार कुरुप छ भन्दैमा यसलाई परिवर्तन गर्न पनि सकिँदैन । केही सीमित मान्छेहरूले भने अनुहार परिवर्तन गरेको चर्चा बेलाबखत चलिरहन्छ । मलाई भने यो प्रकृतिका विरुद्धको कार्य हो जस्तो लाग्छ । आखिर के छ र अनुहारमा ? विचार राम्रो भए पुगिहाल्यो नि ।

तर पातली आमा भने सुन्दरी मात्र होइनन् , उनी असाध्यै असल, मिजासिली र भलाद्मी समेत छिन् । उनले न आजसम्म कसैको कुरा काटेको थाहा पाइएको छ, न कसैलाई बिझ्ने गरि वचन वाण प्रहार गरेको सुनिएको छ । मेरो मनमा पातली आमाको सौम्य मुहार साक्षत सरस्वतीको प्रतिमूर्ति जस्तै हातमा पुस्तक लिएर ठिङ्ग उभिए झैँ लाग्थ्यो । उनको रूपलावण्यको वयान गर्दा , गाउँहरूले उनलाई पटक पटक स्वर्गका परिहरूसँग तुलना गरेको पनि मैले निकै पटक सुनेको छु । उनको इमानदारी, उनको मौनता र उनमा भएको दयालुपनका विषयमा मान्छेहरू अनेकौं कुरा गरिरहन्छन्,उनको प्रशंसा गरिरहेका हुन्छन् । गाउँको सबैभन्दा ठूलो र फराकिलो आँगन भएको घरमा उनीहरू बस्ने गरेका थिए ‌। मैले थाहा पाएदेखि उनको घरमा आमा छोरा मात्र बस्छन् । रुधिरको बाबु कस्ता थिए ? कता गए ? मरिसके अथवा जिउँदै छन् ? त्यो मलाई कहिलेपनि थाहा भएन । सायद रुधिरलाई पनि थाहा छैन होला । उनले घर किन छोडे ? यदि थाहा भएको भए रुधिरले मलाई अवश्य पनि सुनाउँथ्यो ।

लौ त भन्ने भन्ने हो भने म उनीहरूको आँगन नटेकेको दिन नै हुँदैन थियो । म मात्र होइन, हामी लगायत गाउँका प्रायः सारा केटाकेटी त्यहाँ जम्मा हुन्थे । बालबालिकाहरू नाना प्रकारका खेलहरू खेल्थे । खाजा खाने बेला पातली आमाले हामीलाई र सबै केटाकेटीलाई खाजासमेत खुवाउने गरेकी थिइन् । हरेक चाडवाडमा म उनीहरूको घरमा गएर खाना खान्थेँ ‌ । पातली आमाको माया रुधिर र मैले बराबरी पाउने गरेका थियौं । पातली आमाले बरु कहिलेकाहीँ रुधिरलाई चर्को डाँकोले टिप्थिन् तर मलाई भने कुनैदिन पनि उँचो स्वरले हकारिनन् । खै किन हो तिनीहरूले मलाई आफ्नो बाबुको विषयमा भने कहिले पनि केही भनेनन् ।

एकदिन मैले मेरी आमासँग यसबारे प्रश्नगर्दा मलाई उनले भनेकी थिइन् “ रुधिरको बाबुले घर छोडेर हिडेका हुन् या मरेका हुन् । तँलाई किन चाहियो अर्काको बाबुको कुरा ? " आमाले त्यसदिन मैले सोधेको प्रश्नको उत्तर निकै उतर्सिएर दिएकी थिइन् । यसपछि भने यही प्रश्न मैले मेरी आमालाई फेरि कहिले पनि सोध्न हिम्मत गरिन । केही वर्षअघि भएको आमाको निधनपछि यस विषयको अध्याय समाप्त भइसकेको थियो ।

जे होस् रुधिरको सुझावमुताबिक मैले बैठक कोठामा रहेको बाको तस्विरबाहेक सम्पूर्ण रूप परिवर्तन त गरें तर यो सुन्दरता कसलाई देखाउँ ? किनकि त्यसदिन देखि रुधिर मेरो घरमा आउन छोड्यो । मलाई निकै औडाहा भयो, छटपटी भयो । मानौं म कुनै ग्याँस च्याम्बरमा थुनिएको छु । मलाई के गरौं र कसो गरौं भयो । लाग्यो, रुधिरसँगै नभए म सास फेर्न पनि सक्दिन । खान र उठ्न बस्न सक्दिन । मैले आजसम्म रुधिरबाहेक कसैलाई त्यति आत्मिय साथी सम्झिएको छैन् । म जान्ने र बुझ्ने भएदेखि रुधिर नै मेरो एकमात्र मिल्ने साथी थियो । यसरी तनावै तनावमा रहनु मेरा लागि निकै कठिन र घातक समेत हुनसक्थ्यो । अत्यन्त तनावमा परेपछि एकदिन म सरासर रुधिरको घरमा गएँ ।

जब म रुधिरको घरको ढोकाबाट भित्र पस्न लागेँ पातली आमाले भित्र रुधिरसँग कुरा गरिरहेको सुनें । “बाबु तँलाई त्यो उहाँको जुँगामुठे तस्विरदेखि त्यति विघ्न घृणा किन लाग्छ ? तैंले यसरी सुधीर बाबुसँग त्यो तस्विरको विषयमा त्यस्तो कुरा गर्नु हुँदैन थियो । "

रुधिरले भन्यो “ किन घृणा लाग्दै न त आमा ! बा त्यसदिन त्यस्तै मुठे जुँगा भएको अनुहार लिएर हाम्रो घरमा आउनु भएको थियो । अनि तपाइँलाई हकार्दै उहाँले ,“ तिमी मेरो श्रीमती र यो रुधिर मेरो आफ्नै छोरा हो भन्ने कुरा कसैलाई पनि नभन्नु । जस्तै परिस्थिति सिर्जना भएपनि यो कुरा सधैँ गोप्य नै रहोस् । तिमीहरूलाई खान र बस्नका लागि मैले यति व्यवस्था गरिदिएकै छु । दुनियाँको नजरमा तिमी मेरो घरको नोकर्नी भएरै बस्नुपर्छ ।" भन्नु भएको होइन ? उहाँ मेरो बा भएपनि त्यसदिन देखि त्यो जुँगामुठे तस्विर भएको बाको अनुहार म कदापि हेर्न सक्दिन आमा ! जब म बाको त्यो तस्विर देख्छु , तिमीलाई बाले अझैसम्म पनि हप्काइ रहेको जस्तो लाग्छ । मेरी निर्दोष आमालाई बिनाकारण अन्याय गरेको कुरा त्यो तस्विरमार्फत म पटक पटक सम्झन चाहन्न आमा । "

रुधिरका आमा छोराको त्यो सम्वाद सुनेपछि मलाई आश्चर्य लाग्यो । मेरो जीवनमा त्यसदिन एउटा रहस्यले भरिएको नाटकको पर्दा उघ्रिएको थियो । त्यसदिन मैले कल्पना पनि नगरेको कुरा आफ्नै कानले सुनेको थिएँ । म ठाडो भएर उभिन पनि सकिन । फनफनि रिङ्गटा लागेपछि म थुचुक्क भुइँमा बसेर बिस्तारै पातली आमा लाई बोलाएँ “ पातली आमा, बाहिर निस्कनुस्, म सुधीर ।" पातली आमा बाहिर निस्कनासाथ मैले उनको धोतीको फेर समाएर भने " सानीआमा ! आजसम्म तपाइँले हामीलाई किन गुमराहमा राख्नु भयो ? यो सत्यलाई किन लुकाएर राख्नु भयो ? आज मैले थाहा पाएँ । तपाइँ मेरो सानी आमा हुनुहुन्छ, पातली आमा होइन । मेरो भाइ रुधिर यता आउ, दाइको काखमा बस ! "

मेरो भाइ रुधिर र मेरी सानीआमा दुवै एकछिनसम्म अक्क न बक्क भए । मैले, “अब हामी एकैठाउँमा बस्नुपर्छ । यस्तो कुरापनि लुकाएर राख्ने कुरा हो ?" भनेपछि उनले भनिन् “ बाबु मैले त बाको आज्ञा पालन गरेको मात्र हूँ । फेरि, बाँसुरीको छिद्र ढाक्दा सुमधुर स्वर निस्कन्छ भन्नेकुरा मैले राम्रोसँग बुझेको छु । कतिपय कुराहरू ढाकेर राख्दा राम्रो मानिन्छ । यस सम्बन्धी कुराको उठानले उहाँले उहिल्यै आर्जन गरेको मान प्रतिष्ठा र इज्ज्जत छिनभरमा माटोमा मिल्न सक्थ्यो । म कुनै पनि अवस्थामा उहाँको इज्जत र मान प्रतिष्ठामा आँच नआओस् भन्ने चाहन्थेँ । यसै कारण मैले आजसम्म यो कुरा गोप्य राखेको हूँ बाबु । "

भोलिपल्ट मैले मेरी सानीआमा र भाइ रुधिरलाई घर लिएर गएँ । हामी एउटै घरमा बस्न लाग्यौं । एकपटक टुहुरो बनेर अभिभावक विहिन बनिसकेको मैले आफ्नै सानीआमाको अभिभावकीय नेतृत्व पाएको थिएँ । मेरो आफ्नो भाइ पाएको थिएँ । मेरो भाइ रुधिरको इच्छा बमोजिम बाको सबै जुँगा भएका तस्विरहरू घरबाट हटाएर जुँगा सफाचट बनाएर खिचेका केही थप तस्विरहरू हामीले बैठक कोठाको भित्तोमा झुण्ड्याएर राख्यौं ।

कालिका, चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।