18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार धीरकुमार श्रेष्ठसँग भलाकुसारी

वार्ता कृष्ण बजगाईं November 17, 2008, 2:52 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं. २०१८ साल असार २५ गते सप्तरी जिल्लाको पकरी गाविस, वडा नं. ६ मा पर्ने सोनरा भन्ने दुर्गम गाउँमा आमा सुवर्णलक्षमी श्रेष्ठ र बुबा भरतबहादुर श्रेष्ठको जेठो छोरोको रूपमा भएको धीर कुमार श्रेष्ठको जन्म भएको हो । थियो । नेपाली विषयमा एम.ए. र बी.एल.सम्मको अध्ययन गरेका श्रेष्ठ २०३६ सालदेखि २०५२ सम्म निजामती, २०५२ देखि २०६४ सम्म सरकारी र २०६४ देखि हालसम्म निजामती सेवाका विभिन्न पदमा र २०५१ सालदेखि हालसम्म प्राध्यापन पनि गर्दै आउनु भएको छ । लेखन सुरुआत २०२८ सालतिर गरे ता पनि २०३८ सालतिर उहाँको पहिलो कथा प्रकाशित भएको देखिन्छ । त्यसपछि लगभग दुई दशकसम्म फाट्टफुट्ट रचना मात्र प्रकाशित भए पनि २०५७ सालदेखि निरन्तर रुपमा लेखीरहनु भएको छ । उहाँसँग गरिएको कुराकानी ।

१. नेपालमा साहित्यिक पत्रिका प्रकाशनलाई निरन्तरता दिनु कठिन कार्य हो । कसरी थेगिरहनुभएको छ ?

नेपालमा साहित्यिक पत्रिका चलाउनु भनेको फलामको च्युरा चपाउनुसरह छ । मैले पहिलोपटक 'शब्दाङ्कुर' निकाल्न खोज्दा मेरो क्षमताभन्दा बढीको दुरुत्साहनले गर्दा सफल भइनँ । तर त्यसको केही वर्षछि जबरजस्ती निकाल्दा बहुलाउन किन रहर लागेको हो भनेर प्रायः धेरैजनाबाट खप्की खाएँ । तर निकालिसकेपछि अहिलेसम्म जसोतसो एक अङ्क नटुर्टाई लगातार आठौँ वर्षम्म निकालिरहेको छु । यसमा मैले नामै लिएर भन्नुपर्दा देवी नेपाल, भोगेन्द्र लिङदेन जस्ता मित्रहरूको सहयोग एकातिर छ । अर्कातिर एक वर्षम्म पैसा नतिर्दा पनि कहिले रिसाउँदै कहिले रिस दबाएर अनि कहिले खुसाएर भए पनि पत्रिका छापिदिने कोसी प्रेसका पदम कार्की एवं बेलाबखत अरू सहयोगी शुभचिन्तकको सहयोगले पनि पत्रिका प्रकाशन सम्भव भएको छ । यसै गरी निःशुल्क रूपमा लेखापरीक्षण गरिदिने नारायण बास्कोटा पनि 'शब्दाङ्कुर'को निरन्तरताका लागि जिम्मेवार हुनुहुन्छ । यसका साथै प्रेस काउन्सिलमा वर्गीकरणमा परेकोले त्यसवापत सूचना विभागबाट प्राप्त हुने कल्याणकारी विज्ञापनको सानो रकमले आंशिक आर्थिक सहयोग पुगेको छ । कहिलेकाहीँ त ब्याजमा ऋण लिएर भए पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिँदै आएको छु । यसबाट मेरो आर्थिक अवस्था कहिलेकाहीँ डाँवाडोल पनि हुने गरेको छ, जसले गर्दा परिवारका सदस्यहरूबाट आलोचित छु । जे भए पनि जसोतसो अहिलेसम्म चलिरहेको छ । 'शब्दाङ्कुर' निकालेर यस्तैयस्ता तीता अनुभूतिका तुलनामा मीठा अनुभूति न्यून छन् । तर निमेषभरको झिल्कोले लामो समयसम्म ऊर्जा दिन्छ र यो चलिरहेको छ ।

२. अब त लोकतन्त्र आयो । साहित्यिक पत्रिकालाई प्रोत्साहन गर्ने सरकारी नीति पनि बदलियो होला नि ?

अवश्य । पहिला वर्गीकरणमा पर्नको लागि साहित्यिक पत्रिकाले पनि समाचार पत्रिकाले जस्तै प्रावधानहरू पूरा गर्नुपथ्र्यो । यसले गर्दा कमिलाको प्रतिस्पर्धा हात्तीसँग हुन्थ्यो । यस्तो बेमेल र विडम्बनाजन्य स्थिति थियो । तर लोकतन्त्र प्राप्तिपश्चात् साहित्यिक पत्रिका र समाचार पत्रिकाका लागि छुट्टाछुट्टै मापदण्ड निर्धारण गरिएको छ । यसले गर्दा साहित्यिक पत्रिकाले साहित्यिक पत्रिकाहरूसँगै बसेर वर्गीकरणमा पर्न सक्ने अवसर प्राप्त छ । यसका साथै सम्पूर्ण पत्रपत्रिकाहरूले पाउने कल्याणकारी विज्ञापनको रकमलाई पनि दोब्बर पारिएको घोषणा गरिएको छ । यसलाई लोकतन्त्रको उपलब्धि नै मान्नुपर्छ ।

३ तपाई साहित्यका विविध विधामा कलम चलाउनुहुन्छ । आफूलाई के भनेर चिनाउन रुचाउनुहुन्छ ?

मूलतः गद्य विधा, त्यसमा पनि कथा, उपन्यास एवं व्यङ्ग्य लेखनमा सानो परिचय बनाउन सकेँ भने हुन्छ ।

४. तपाईंका प्रकाशित तथा प्रकाशोन्मुख कृतिहरू के-के छन् ?

प्रकाशित कृतिहरू हुन : 'आरम्भ अर्थात् सुरुआत' (कथासङ्ग्रह, २०६३), 'घुर' -उपन्यास, २०६४), 'तन्द्रामा अमेरिका' (हास्यव्यङ्ग्यसङ्ग्रह, २०६५), 'सरल नेपाली बालव्याकरण र रचना' (कक्षा १ देखि ५ सम्म), 'निम्नमाध्यमिक नेपाली व्याकरण र रचना' (कक्षा ६ देखि ८ सम्म) र 'जेब्रा क्रसिङ' (सचित्र बालकथा, २०६५) । प्रकाशोन्मुख कृतिहरूमा १/१ उपन्यास, कथासङ्ग्रह, समालोचनासङ्ग्रह, कवितासङ्ग्रह आदि छन् ।

५. केही समयअघि प्रकाशित तपाईंको घुर उपन्यासले निकै चर्चा बटुलेको थियो । के छ त्यसमा त्यस्तो ?

धन्यवाद । पहिलोपटक तपाईंबाट 'घुर'ले चर्चा बटुलेको सुन्न पाउँदा खुसी लाग्यो । 'घुर'ले किन चर्चा पायो भन्ने कुरा त मैलेभन्दा पनि तपाईंजस्ता शुभचिन्तकले भनिदिनुभए आत्मप्रशंसाबाट बच्ने थिएँ । तैपनि मेरै शब्दमा भन्नुपर्दा २०६३ सालमा भएको मधेस आन्दोलनको भुक्तभोगी म स्वयं पनि हुँ । त्यसले गर्दा आन्दोलनको मर्म र पीडालाई नजिकबाट प्रत्यक्षतः अनुभूत गर्ने अवसर पाएँ । यति हुँदाहुँदै पनि त्यसमा आत्मप्रवञ्चनाभन्दा पनि इमान्दार अभिव्यक्ति प्रकट गर्न सक्दो प्रयास गरेँ । धरातलीय यथार्थलाई सकेसम्म सही रूपमा प्रस्तुत गरी खिया लाग्दै गएको सद्भावलाई संरक्षण गर्ने प्रयास गरेँ । मेरातर्फाट भएको यत्ति हो ।

६. नेपालमा साहित्यक पत्रकार, सम्पादकदेखि समालोचकसम्म पक्षपात गर्छन् भन्ने आरोप मोफसलका स्रष्टादेखि लिएर स्थापित स्रष्टाहरूले लगाउने गरेका छन् । यसमा कतिको सत्यता छ ?

आंशिक सत्यता छ । यसलाई कसैले नकार्न सक्तैन । तर यस्तो पक्षपात मोफसल र सदरका बीचमा मात्रै होइन सदर सदर एवं मोफसल मोफसलका बीच पनि छ । यसै गरी साहित्यिक पत्रकारदेखि सम्पादक र समालोचकसम्म पनि छ । यी सबमा साहित्यिक गुटबन्दी प्रमुख कारकका रूपमा देखा परेको छ । एउटाले अर्काको अस्तित्वलाई स्वीकार्न अस्वीकार गर्ने प्रवृत्ति यसका लागि जिम्मेवार छ । यदि यस्तो नहुँदो त नेपाली साहित्यले पनि विश्वस्तरमा उठ्न सक्ने थियो । नेपाली साहित्यको चर्चा साँगुरिनुमा यिनै संस्कृति जिम्मेवार छन् । तर वर्तमान सञ्चार प्रविधिले तरङ्गका साथ सिर्जना गरेको विश्वसञ्जालले गर्दा अब कसैले छेकेर कोही छेकिने स्थितिको क्रमशः अन्त्य हुँदै छ । अब कसैको सिर्जनालाई केही समयका लागि छापा माध्यममा रोकेर ओझेलमा पार्न सकिएला, सधैँका लागि होइन । त्यसकारण स्रष्टाले पक्षपातको आरोप प्रत्यारोपमा समय खेर फाल्नुभन्दा उत्कृट सिर्जना गर्नमा केन्द्रित हुनु जरुरी छ ।

७. तपाईको विचारमा अबको नेपाली साहित्यले कुन दिशा पक्रेर लेख्नुपर्दछ ?

अबको नेपाली साहित्यले एकातिर नेपाली माटोको सुगन्ध आउने रचना सिर्जना गर्नु एकातिर जरुरी छ भने अर्कातिर विश्वस्तरीय रचनाको स्तर भेट्न सकिने गरी लेख्नु उपलब्धिमूलक हुन्छ । सगंकीर्णताहरू फालेर नेपाली रचनाले यथार्थलाई सकेसम्म प्रकट गर्न सक्नुपर्छ । अबका रचनाले कपोलकल्पित दिग्भ्रम सिर्जना गर्नेभन्दा पनि सत्यको प्रकटीकरण गर्न सक्नुपर्छ । अनि मात्र नेपाली रचनाले प्रभावकारिता सिर्जना गर्न सक्छ ।

८. नेपाली डायोस्पोराबाट विभिन्न साहित्यिक कार्यक्रम, गतिविधि, पुस्तक-पत्रिका प्रकाशन, साहित्यिक वेबसाइट सञ्चालन आदि भएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

नेपाली साहित्यलाई फराकिलो परिवेश प्रदान गर्नाका लागि नेपाली डायोस्पोराको योगदान सकारात्मक छ । यसकै कारण नेपाली साहित्यले विश्वस्तरीय सञ्जालमा प्रवेश पाउन सम्भव भएको हो । नेपालमा नेपाली साहित्यलाई प्रविधिको चरणमा प्रवेश गराउनुमा नेपाली डायोस्पोरा मूलतः धन्यवादको हकदार छ । नेपालमा चर्चा पाउन अर्समर्थ साहित्यले समेत नेपाली डायोस्पोराका माथि उल्लिखित प्रयासहरूले चर्चाको केन्द्र बनाउन सफलता प्राप्त गरेको छ । नेपाली डायोस्पोराकै कारण नेपाली साहित्यको केन्द्र भत्केर विकेन्द्रित छ । आज नयाँ-नयाँ केन्द्रहरू स्थापित हुँदा छन् । यो नेपाली साहित्यलाई नयाँ गति प्रदान गर्नाका लागि प्रशंसायोग्य छ । अहिले नेपालको साहित्य नेपाली डायोस्पोराप्रति आभारी हुनुपर्ने अवस्था सिर्जना भएको छ । यो सबैका लागि उत्साहप्रद सुखद समाचार हो ।

९. अन्तमा समकालीन साहित्य डट कममार्फ विश्वभरका नेपाली साहित्यका पाठकलाई केही भन्नु छ कि ?

अवश्य । किन नहुनु ! र्सवप्रथमतः यस्तो महत्त्वपुर्ण अवसर उपलब्ध गराउनुभएकोमा यस वेवसाइटका सञ्चालक तथा सम्पादक तपाईं कृष्ण बजगाईं मुरीमुरी धन्यवादका हकदार हुनुहुन्छ । देशदेखि टाढा परदेशको माटोमा बसेर पनि नेपाली साहित्यलाई तपाईंले जुन सेवा प्रदान गरिरहनुभएको छ, त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ । यस्ता साहित्यसेवी बिरलै हुने गर्दछन् । ती बिरलैमध्ये तपाईं पनि एक हुनुहुन्छ, जसको योगदानको कदर भविष्यले अवश्य गर्नेछ ।

तपाईंको वेवसाइटमार्फ नेपाली साहित्यलाई न्याय प्रदान गर्न सबैमा अनुरोध गर्दछु । पूर्वाग्रहपीडित नभई नेपाली साहित्यलाई निष्पक्ष रूपमा अगाडि बढाउन सबैमा आग्रह गर्छु अन्त्यमा तपाईंको वेवसाइटलगायत www.sabdankur.com र पो.ब.नं. १३२३९, काठमाडौँ, नेपालमा सबै उत्कृष्ट सिर्जनालाई हार्दिक आमन्त्रण गर्दछु । धन्यवाद ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।