नेपाली वीर हामी हौँ सबै अग्रगामी
अत्याचारी बगाई फेरि आओस् सुनामी
हाम्रा अग्ला गिरी छन् विश्वका रत्न खानी
प्यारो नेपाल मेरो सक्छु कैले बखानी !
हाम्रो स्वाधीनतामा बोल्न जो खोज्छ धावा
लैजा बैरी उडाई स्वाठ्ठ पारेर हावा !
कालो धन्दा गरेका बच्न कोही नपाउन्
मर्दा भोगेर पीडा नर्कमै पर्न जाऊन् ।
कञ्चञ्जङ्घा छ हाम्रो दीप पूर्वी उज्यालो
चढ्दा धौलागिरीमा दाग मेटिन्छ कालो !
रारा फेवा रमाई मन्द मुस्कान छर्छन्
कर्णाली गण्डकीले राग सङ्गीत भर्छन् !
झर्ना झर्छन् हजारौँ तालमा ताल भर्दै
नाच्छन् डाँफे जुरेली कोइली गान गर्दै !
टुक्रा हो स्वर्गको यो घाम जस्तै उज्यालो
छोडी भूस्वर्ग यस्तो जान खोज्ने कता हो??
द्यौडा रोदी र सेलोसोरठी गान गर्छन्
गाई नाची रमाई मारुनी सान भर्छन् !
खानी हो देश हाम्रो भिन्न भाषा कलाको
छोडी भूस्वर्ग यस्तो जान खोज्ने कहाँ हो?
मान्छे बस्छन् अनेकौँ धर्म संस्कार मान्ने
यौटै माला बनेको छैन कोही नजान्ने !
आफ्नै वास्ना नचिन्ने कस्तुरी बन्नु छैन
यस्तो बैकुण्ठ छोडी अन्त जानै हुँदैन ।
हामी विश्वास गर्छौँ जातिको एकतामा
आफ्नै छन् भेषभूषा चाड संस्कार नाना
हाम्री नेपाल आमा पुत्र हामी उनैका
ठूलो सौभाग्यले छौँ कोखमा जन्मिएका ।
इच्छा मेरो छ तिम्रै काखमा प्राण जाओस्
जन्मे अर्को जुनीमा यैँ पुनर्जन्म पाओस् !
आमा ! संसारमै छौ सुन्दरी दिव्य रानी !
हामी नेपालमा नै जन्मने भाग्यमानी ।।
(उग्रवासन्ती छन्द)
गुल्मी