17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्रम

लघुकथा ईश्वर पोखरेल June 8, 2024, 12:34 am
ईश्वर पोखरेल
ईश्वर पोखरेल

मोर्निङ्गवाकमा थियौं— एक हुल हामी ।
एकजना वरिष्ठ नागरिकले हतारमा सर्टको टाँक र टाँकघर नमिलाई लगाउनु भएको रहेछ— तलमाथि पारेर । नमिलेकै कुरामा जाँदोरहेछ— मानिसको दृष्टि । उहाँसंग मेरो परिचय थिएन । त्यसैले भनौ भनौ भएर पनि भन्न सकिनँ । एक मनले भन्यो— ‘जसले जसरी लगाए पनि तँलाई के खाँचो ?’

अर्को घुम्तीमा फेरि भेट भयो— हाम्रो । कसैले संकेत गरेनछ क्यार, उहाँले मिलाउनु भएको रहेनछ । यसपटक भनौं भनौंको भाव अझ मुखरित भयो; कसैगरी रोकें ।

हामी पोखरी वरिपरि घुम्दैछौं । बिहान यहाँ मोर्निङ्गवाक गर्ने महिला तथा पुरुषहरू धेरै हुन्छन् । वाकरहरू फरकफरक उमेरका छन् ः पाका पनि छन्; जवान पनि छन् र केटाकेटी उमेरका पनि छन् । उहाँ र मेरो घुम्ने दिशा फरकफरक भएकाले पटकपटक भेटघाट हुन्छ— हाम्रो ।
.
अब म कसोकसो उहाँलाई ख्याल गर्न थालेछु ः उहाँलाई भन्दा पनि उहाँको सर्टलाई; सर्टलाई भन्दा पनि त्यो टाँक लगाइको ढंगढाँचालाई ।

अलि परैबाट देखें— उहाँ आउँदै हुनुहुन्छ । यसपटक मभन्दा केही अगाडि रहेका युवतीहरूले उहाँलाई हेरेर मुख छोपेर खित्का छाडेको मैले देखें ।
यो हाँसो भने मलाई ननिको लाग्यो । उहाँ मेरो नजिकै आइपुग्नु भएछ । मभित्रको भनौं भनौंको भाव अब परिपक्क भइेको रहेछ र त्यसले अभिव्यक्त हुन बाटो खोज्दै रहेछ ।

मैले उहाँलाई रोकें; परिचय गरेंं र भूमिका बाँधेर भनें— ‘हतारमा कहिलेकाँही यस्तो हुन्छ, मेरो पनि हुन्छ ।’

उहाँले मुसुक्क हाँसेर टाँक मिलाउनु भयो र धन्यवाद दिनुभयो ।

म पनि हलौं भएँ : अब मनको भनौं भनौंको भाव बिसाइसकेको थिएँ ।

महालक्ष्मी— ३, बोझेपोखरी, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।