18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सौजन्य

कथा भाउपन्थी June 8, 2024, 12:49 am
भाउपन्थी
भाउपन्थी

उसलाई घाँस खुवाउने विचार थियो मेरो तर मैले निर्णय गर्न सकिरहेको थिइन । मेरो झोलामा एक मुठा पालुङ्गो र एक मुठा चमसुर थियो । त्यो झिकेर म उसको मुखैनिर लगेर भन्न सक्थेँ— ‘लौ खाऊ घाँस ।’ तर तह परेन । उसैलाई मात्र घाँस खुवाउने लक्ष्य किन लिनुप¥यो भन्ने सोचेँ । मलाई दुस्मनी बढाउनु थिएन किनभने म अन्तिसम्म लड्न जान्दैनथेँ । बीचैमा हारेर भाग्नुभन्दा झगडादेखि तर्के बस्नु राम्रो । म तरकारी बजार गएर फर्केको छु र यो ठाउँ पुग्दा ऊ एक्कासि एटिएमबाट पैसा झिकेर पेटीमा फुत्त निस्केको थियो । फुत्त भन्नाले एउटा सानो कायाको मानिस बाहिरिएको ध्वनित हुन सक्छ । तर ऊ खाइलाग्दो जीउको र बलियो मानिस लाग्थ्यो । त्यसैले फुत्त निस्क्यो भन्नुमा ऊ एक्कासि पेटीमा देखा प¥यो भन्न खोजिएको मात्र हो । फुत्त भनेर ऊप्रति हेय दृष्टिकोण राखिएको होयन तर रिसमा मानिस गीता पाठ गर्दैन । उसमाथि उसको अनुहार मैले देख्न सकिरहेको छैन त्यसै कारण उसले पैसा पायो वा पाएन त्यो मैले ठम्याउन सकिनँ । एटिएमबाट निस्केको भन्दैमा पैसा पाइएको भन्न गारो पर्छ किनभने सबैको खातामा भनेजति रकम नहुन पनि सक्छ ।
यो ठामको एटिएमतिर जाने काम मेरो परेको थिएन तथापि .यहाँ नयाँ स्थापित एटिएम छ भन्ने मलाई थाहा थियो ।
एटिएम कुन बैंकको हो त्यो यहाँ उल्लेख गरिरहनु आवश्यक थिएन, कुन बैङ्कको हो भन्ने मलाई थाहा थियो । बैङ्कको नाम उल्लेख गर्दा सित्तैँमा प्रचार हुने थियो । बैङ्कको विज्ञापन एजेन्सीवाल म थिइनँ । यो जानिराख्दा हुन्छ, अचेलभरि जताततै एटिएमको भरमार छ । मात्र कति भने खातामा रकम हुनु प¥यो । उसको खातामा रकम हुँदो हो र त पैसा झिक्यो होला । तर मैले माथि भनिसकेँ ‘सबैको खातामा भनेजति रकम नहुन पनि सक्छ ।’
एटिएमको कार्ड त मसित पनि थियो त्यस बेला, रकम थिएन । खल्त्मिा मेरो एउटा पाँचको नोट र एटीएमको कार्ड सँगै थिए । पाँच रुपियाँको नोटसँग एटिएम कार्ड ? यसले मेरो एटिएमको स्तर कस्तो छ भन्ने जनाउँथ्यो । पाँचको नोटले अचेल त्यति मान्यता राख्देन । तर एटिएम कार्ड ? एकदुई चोटि रकम नभए पनि पैसाको गर्जोले मेसिनमा कार्ड छिराएर यताउता चार अङ्कको नम्बर थिचेर हेरेँ तर रकम आएन । निराश भएर मेसिनले फिर्ता वाकेको कार्ड लिएर क्याबिनबाट निस्केको थिएँ ।
यी सबै विवरण अनावश्यक लाग्न सक्छन् । तर एटिएम भएको ठाउँबाट निस्केर उसलाई बीचपेटीमा उभिएर मोबाइलमा तन्मय भएर कुरा गरिरहेको देखेपछि यस्तो विवरण आयो मेरो मनमा । उसले निकै ठूलो रकम झिकेको हुनुपर्छ एटिएमबाट । साथै ऊ अझै रकम झिक्ने ताकमा भएझैँ एटिएमतिर छिर्ने गेटको अगाडि पनि उभिएको थियो । झिकेको रकमले उसलाई सन्तुष्टि दिन सकेजस्तो लागेन अर्थात् भनाइको तात्पर्य यो, रकम अझ झिक्न सक्छ ऊ, जता फोन गरिरहेछ त्यताबाट बढी पैसाको आवश्यकता देखायो भने । ऊ उभिएको छ पेटीको बीचमा । अझ स्पष्ट यो देख्न सकिन्थ्यो भित्र जाने गेटको अगाडिको पेटीको बीचमा ऊ उभिएको थियो । र भन्नु परोइन मोबाइलमा मग्न भएर कुरा गरिरहेको थियो मानौँ यस भेकमा पेटी ढाकेर उभिन सक्ने ऊभन्दा अर्को कोही छैन । शनिबार थियो वा कुन बार त्यसको मैले हेक्का राखिनँ । हुन पनि पेटीबाट ओहोरदोहोर गर्ने त्यस बेला कोही थिएन, शनिकार हुनाले हो कि ? म मात्र तरकारी बजारबाट फर्किरहेको थिएँ । मलाई ऊ त्यसरी बाटै ढाकिने गरी उभिएको देखेर टाढैबाट रिस उठिरहेको थियो । एउटा आक्रोश यो थियो, बूढा नेताहरूले कुर्सी छाडिरहेका थिएनन् र काम पनि गरिरहेका थिएनन् । यो आक्रोश थिया दिमाग ह्यामरेज हुने गरी रगत चढिरहेको थियो त्यसमाथि यसले पेटी आफ्नो अधीन राखेर बीचमा बाटो नछाडी उभिएको छ ।
तरकारी बजार म यस कारण जान्थेँ, त्यहाँ तरकारी किन्दा केही बचत हुन्थ्यो । त्यहाँ पालुङ्गाको साग एक मुठाको बीस पथ्र्यो भने म बस्ने डरा छिमेकको पसलमा ठटाएर पच्चिस लिन्थ्यो । कोठाबाट तरकारी बजार अलि टाढै पथ्र्यो र त्यता तरकारी किन्न जाँदा मर्निङ वाक पनि हुन्थ्यो । चित्त बुझाउन सकिने यो कुरो थियो— मर्निङ वाक । फेरि कममा पनि दसपन्ध्र रुपियाँको बचत पनि हुन्थ्यो, तरकारी किन्दा । अहिले परिवारमा आर्थिक अभाव थियो जसलाई अलि गम्भीरतापूर्वक भन्दा आर्थिक संकट नै भन्न सकिन्थ्यो । आर्थिक सङ्घर्ष पनि चलिरहेथ्यो । परिवारमा सदस्य सङ्ख्या धेरै थिए र आम्दानी कम । तर म तरकारी बजार पुगेर पनि एकमुस्ट धेरै तरकारी किन्न सक्दिनथेँ । स्पष्ट थियो, मसँग पैसा सीमित हुन्थ्यो । मुलुकमै मन्दी थियो । मनग्गे खर्च गर्ने हैसियत थिएन । हैसियत नहुँदा नहुदै पनि म चमसुर–पालुङ्गो परिवारलाई यस कारण खुवाउँथेँ कि सिजनल तरकारी उनीहरूले पनि चाखुन् । यस कारण हामी मनग्गे साग भातसँग खान सक्तिैनथ्यौँ । पत्नी पातलो मसुराको दालसँगै अलिअलि साग प्रत्येक सदस्यको भागमा बन्डा पर्ने गरी बाँड्थी । कहिले उसका लागि साग बाँकी रहन्थ्यो कहिले रहँदैनथ्यो । नरहनुको कारण मै हुन्थेँ ।
म भसोध्थेँ जानीजानी— ‘साग सकियो ?’ साग मैले खाइदिएँ भने पत्नीले खान पाउँदिन भन्ने मलाई थाहा थियो तर पुरुषस्वार्थले प्रेरित भएर म त्यसो लाज पचाएरै भनिटोपल्थेँ— ‘साग सकियो ?’ पत्नी मेरो मागका अगाडि नतमस्तक हुन्थी । पतिव्रता थिई । खुट्टा पखालेको जल खाएर मुखमा अन्न हाल्नेसम्म कट्टर त थिइन तर पतिको इच्छालाई हरसम्भव पूरा गर्नुलाई पत्नीधर्म मान्थी । पतिको इच्छा सर्वोपरि । आफ्नै लागि बचेको भागको सप्पै साग भाँडो ख¥याखुरुक पारेर मेरो थालमा आदरका साथ राखिदिन्थी । भन्थी— ‘मैले आफ्ना लागि अलग्गै राखेकी छु ।’ ऊ बुद्धिमत्ता थिई । यो देखाउँदैनथी— ‘मैले नखाए पनि हुन्छ तर तपाईं तृप्त हुनुहोस् ।’ पुरुष अहम्लाई चोट नलागोस् भन्नेमा ऊ सचेत थिई । उसमा श्रीमान्प्रति समर्पणको भाव पनि थियो । यो भन्न मैले दाबी गर्नै पर्दैन ।
पत्नी मेरा आवश्यकताहरूलाई आफ्नाभन्दा बढी प्राथमिकताका सूचीमा राख्थी । उसको अर्को सहारा थिएन । माइतीहरू पहाडमा थिए, गरिबहरू थिए । वर्षमा एक पटक माइत जाँदा उसले खाईनखाई बचत गरेको रकमले लुगाफाटा र जाडाका लागि ओढ्ने मोटामोटा सिरक र डसना लिएर जान्थी । फर्कने बेलामा रकम बचे केही रासनपानी पनि किनिदिन्थी । पानी त नभनूँ चामल र दाल सकेको किनेर छाडिदिन्थी । पहाडमा पनि चामल र दालका पसल खुलिसकेका थिए । पानी अभैmसम्म त पँधेरो वा धारोमा पालो कुरेर भए पनि बुढाबुढीले थापेर खाने गरेका थिए । पहाडले पनि मुहार फेरेको छ । पहिलाको पहाड छैन ।
आर्थिक पक्षका कारण ऊ माइत जान हिचकिचाउँथी । उसले महिलाहरूका ब्लाउज, कुर्तासुरुवालमा टाँक लगाउने तुर्पन गर्ने काज बनाउने कामबाट केही बचत गर्थी । बचत गरेकोलाई कमाउँथी भन्न मन लागेन मलाई । कमाउनु र बचत गर्नुमा फरक लाग्यो मलाई । तर त्यति फरक छैन तैपनि भाषाको एउटा खेल हुन सक्थ्यो यसमा । छिमेककै टेलरिङ सपसँग सम्पर्क राखेर त्यहाँबाट टाँक लगाउने र काज बनाउने तुर्पन गर्ने फुटकर काम लिएर आउँथी । काम लिएर आउँथी भन्दा सजिलो गरी हुने काम जस्तो देखिन सक्छ । तर त्यसो होइन, धेरै दुखव्यथा देखाएर काम माग्नु पथ्र्यो । दिनेको हात माथि नै हुन्थ्यो, हात थाप्ने तलै पर्नु पथ्र्यो । त्यसले माग्नेलाई हीन बनाउँथ्यो तथापि मेरी पत्नीले त्यो अपमानलाई सहजै निल्थी । बाध्यता जो थियो ।
अहिले म तरकारी बजारबाट फर्किरहेको छु । तरकारीको सन्दर्भमा यी सखुदुखका कुरा भए । सुखका कुरा कम, दुखका कुरा बढी । पालुङ्गो र चमसुरको सागको तरकारी सम्झँदा मुखै रसाएर आइरहेथ्यो । मेरी पत्नीको साग पकाउने सिप पनि त्यत्तिकै राम्रो छ । अभावको बेला सबै खाना मिठै लाग्ने भए । कंगालहरूको भोक शक्तिशाली हुन्छ । कंगालहज्ञ अभावलाई स्वीकार गर्छन् र त्यसैसँग निरन्तर संवाद गरिरहेका हुन्छन् । तर चमसुर र पालुङ्गाको स्मृतिस्थ मेरो त्यो स्वादमा खलल पु¥याउनै भनेरै त्यो मान्छे एटिएमबाट निस्केर बीच पेटीमा उभिएर मोबाइलमा कुरा गर्न लागेको होवैन । देहमुद्राले ऊ निकै बेर कुरा गर्ने छाँट देखियो । ऊ व्यापारी थियो अथवा बिचौलिया । माने यताबाट थोकमा सामान किनेर उता जिल्लामा लगेर मुनासिब नाफा राखेर बेच्ने व्यक्ति । तर त्यो पनि व्यापारी नै ठहरिन्थ्यो । जे भए पनि उसले बीच पेटीमा बाटो ढाकेर उभिएको थियो । एउटा अशिष्टता प्रतीत भइरहेको थियो मलाई । सार्वजनिक पेटीलाई निजी मानेर प्रयोग उसले प्रयोग गरिरहेको छ र अतिक्रमण भइरहेछ भनेर मलाई बिनसित्ति रिस उठिरहेथ्यो ।
मानिस मधेस वा पहाड वा अमेरिका वा पोल्यान्ड कहीँको पनि हुन सक्छ । तर ऊ मधेसतिरको देखियो । व्यापारी भए पनि हावापानी अनुकूल हुनाले फस्टाएको, डढाकको । मधेसको नभएर पहाडको पनि हुन सक्थ्यो । पहाडी मूलको मधिसे पनि हुन सक्थ्यो । अचेल यस्तो भन्ने चलन पनि ल्याएका छन् । मधेसी मूलको पहाडी भन्ने चलन ल्याइएको छैन तापनि पहाडी मूलको मधेसी भनेर गर्वका साथ चिनाउने गरिन्छ । मधेसमा नाकाबन्दी लागेको समयमा यो पहाडी मूलका मधेसी भन्ने शब्दावलीले धेरै ओत दिएको थियो । ऊ जहाँको भए पनि मानिस ढडाककै थियो ।
तर एउटा भावना मभित्र पनि जागेको थियो, पेटीको बीचमा बाटै ढाकिने गरी उभिएर यो मान्छे किन मोबाइलमा कुरा गरिरहेछ ? हाम्रो डेरा भएतिर केही मजदुरहरू बिहानैदेखि ज्यालादारी कामको खोजीमा पेटी नै ढाकिने गरी उभिएर कोही काम गराउन मजदुर खोज्दै आइहाल्छ कि भनेर टाइम पासका लागि आपसमा गफिने गरिरहेका हुन्छन् । अहिले यो पनि त्यसरी नै उभिएको छ । उसमा नागरिक चेतना नभएको देखियो । यसलाई सचेत गराउनु जरुरी छ भन्ने एक किसिमको ठालुगिरी मभित्र जाग्यो यद्यपि यसलाई ठालुपन भन्न मिल्दैनथ्यो । म तैपनि उसबाट तर्कन पेटीबाट सडकमा ओर्लेर उसलाई नाघेपछि फेरि पेटीमा उक्लेर गन्तव्यतिर जान सक्थेँ । गन्तव्य भन्नु भव्य हुने थियो तर जानु उही डेरातिर हो ।
म उसको छेउ पुगेपछि भनिहालेछु— ‘ओ महोदय ! यो बीचपेटीमा उभिएर के गरेको ?’
यति मात्र भनेको थिएँ उसले मोबाइलको कुरा रोकेर मलाई रिसले हेर्दै भनिहाल्यो—‘देख्दैनौ म के गर्दैछु ?’
‘त्यो त अन्धोले पनि देख्न सक्छ । तर बाटो नै छेकेर पेटीमा उभिनु कहाँको सभ्यता हो । उभिने नै भए बीचसडकमा उभिनु पथ्र्यो । अनि थाहा पाउँथ्यौ के गरेको भन्ने ?’ मैले कुरा नबढाएको भए हुने । खुरुखुरु आफ्नो बाटो लागेको भए हुने । तर अब बोलिसकियो । यति बोलेपछि म डरले अलि खुम्चिएँ । मनमा यो आयो, एक मुड्की बजा¥यो भने म अभावग्रस्त मानिस थचक्क पेटीमा बस्न पुग्ने छु ।
व्यक्ति युवक नै थियो । जङ्गियो र भन्यो— ‘म के घाँस खाने जनावर देखिन्छु तपाईंलाई बीचसडकमा उभिएर मोबाइलमा कुरा गर्नलाई ।’
त्यसै बेला मलाई यो विचार आएको हो कि झोलामा बोकेको दुई मुठा साग उसको अगाडि राखिदिएर भनूँ— ‘लौ घाँसै खानोस् न त । पेटीको बीचमा उभिएर आउनेजानेको. बाटो छेकेर कुरा गर्ने जनावर हुनुभएछ तपाईं ।’ तर त्यो भन्नका लागि घटनाक्रम मिलिरहेको थिएन । फेरि झोलाबाट दुई मुठा साग झिकेर उसको अगाडि राखिदिँदा ती दुवै मुठा सागलाई उसले मिल्काइदियो भने ? साग झिक्नै मन लागेन, डराएँ । घरमा सागको आसमा बसेकी पत्नी र उसले पकाएको थोरथोरै सागको भागसित भात खाने तृष्णामा बसेका अरू सदस्यहरूको अनुहार मेरा आँखामा झलझली नाच्न आए ।
युवकले एकछिन मलाई निकै घोइरिएर हे¥योे । मोबाइलमा कुरा गर्न रोकिसकेको थियो अनि उसले एक्कासि केही गल्ती गरेको सम्झेपछि झैँ फिस्स हाँस्यो र भन्यो— ‘ओ सरी अङ्कल ! साँच्चै नै मैले गल्ती पो गरेको रहेछु पेटीको बीचमा उभिएर,’ भन्दै एकछेउ लाग्यो र अभिवादनमा एउटा हात उचाल्यो र हाँसेको हाँस्यै लाज पचाउन विनम्रतापूर्वक अर्कोतिर हिँडि पनि हाल्यो । मैले चर्को गरी बोलेको हुनाले उसको आत्मसम्मानमा चोट पुगेको हुन सक्थ्यो । त्यसले उसलाई झनक्क भएको हुन सक्थ्यो नत्र ऊ त्यसरी रिसाएर बोल्दैनथ्यो होला, अहिलेको विनम्र व्यवहार हेर्दा । जे भए पनि उसले अपेक्षित सज्जनता देखाएको छ । बाटो पनि छाडिदिएको छ र त्यहाँबाट अर्कैतिर हिँसिड पनि हालेको छ । त्यसले हामीबीच सम्भावना रहेको बहस र झगडाको सम्भावना पनि समाप्त भएको छ । ऊ गएतिर मैले हेरिरहनु पर्ने खण्ड थिउन । न उसको परिचय पप्त गर्ने चेष्टा गर्नु नै अवसर अनुकूल हुन सक्थ्यो ।
मलाई लाग्यो अभावले सताइएको म्ेरो मानसिकताका लागि त्यो व्यक्तिले सज्जनतापूर्वक हाँस्दै ‘ओ अङ्कल सरी’ भन्नु पनि एउटा पर्याप्त सुखद कुरो हुन सक्थ्यो । अन्ततः ऊ गएतिर म त्यहीँ उभिएर हेरिरन सक्दिनथेँ । मात्र कति भने उसको विनम्रतायुक्त क्षमा याचनाले ऊ एक व्यवहारकुशल व्यक्ति देखियो । उसको संयमशील र मिठो विनयले मेरो आहत मानसिकता र रूखो अहम्लाई धेरै हदसम्म शान्त पारेको छ र खडेरी परेको बेला बर्खाको पहिलो पानीको थोपा गालामा पर्न आएजस्तो शीतलदायक भयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।