17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक्रोपोलिसदेखि नेक्रोपोलिससम्म

कृति/समीक्षा रत्न प्रजापति June 8, 2024, 12:54 am
रत्न प्रजापति
रत्न प्रजापति

नियात्रा पठनको आनन्द दिन खप्पिस नियात्राकार हुन्, कृष्ण बजगाईं। अवलोकनभन्दा खोजीनीतिलाई बढी प्राथमिकता दिने उनले हरेक यात्रालाई निजात्मक अनुभूतिसँगै भोगाइ र देखाइका अनुभव/अनुभूतिलाई नियात्रामा लेख्दै आएका छन्। ‘युरेसियाको स्पर्श’, ‘भाया साक्रा’, ‘दाइबुचु’ र ‘उमिहोतारु’ नियात्रा संग्रह रुचाएका उनका नियात्राकृति हुन्। ‘युङफ्राउ’ भुँडीपुराणले प्रकाशन गरेको उनको पछिल्लो नियात्राकृति हो।

बजगाईंको नियात्रा लेखनमा यात्राको वर्णनभन्दा उनको विचार र चिन्तन पक्ष सशक्त रूपमा प्रस्तुत हुन्छ। वर्णन मात्रैले भन्दा विचार र चिन्तनले नै हो लेखनलाई शक्तिशाली र प्रभावशाली बनाउने। उनका नियात्रामा यी दुवै गुण पाइन्छ। उनका विचार र चिन्तनले खारिएका भावनाहरूले यात्राको वर्णनलाई निकै ओजपूर्ण बनाएको अनुभूति हुन्छ। नियात्राको बहुआयामिक पक्षलाई उनका सुन्दर विचार, भावना र कल्पनाको जलपले निकै चम्किलो पारेको पाइन्छ। यसैले उनका नियात्राहरू पाठकीय आकर्षणभित्र पर्ने गरेका छन्। सुरुचिपूर्ण नियात्राको पठनले पाठकहरू आनन्दित र सन्तुष्ट हुने गरेका छन्।

लामो समयदेखि विदेशमा बसेर पेसागत अथवा व्यावसायिक कर्मसँगै साहित्यसाधनामा पनि निरन्तर लागिरहेका उनी डायस्पोरिक साहित्यकार हुन्। त्यसैले उनका हरेक लेखनमा डायस्पोरिक स्वादको आनन्द प्राप्त गर्न सकिन्छ। निजी तथा व्यावसायिक भ्रमणका सिलसिलामा विश्वका अनेक मुलुक पुगेका नियात्राकारले आफूले पाइला टेकेका हरेक ठाउँका भौगोलिक, आर्थिक, सामाजिक, सांंस्कृतिक र राजनीतिक सूचना र जानकारीलाई निजी अनुभूतिसँग सुन्दर सम्मिश्रण गरेर पाठकलाई साहित्यिक खुराक दिन्छन्।

अघिल्ला नियात्राकृति जस्तै ‘युङफ्राउ’ पनि त्यस्तै खुराकले भरिएको नवीनतम कृति हो। यस संग्रहमा सन् २०२१ को सेप्टेम्बरदेखि सन् २०२३ को अगस्टसम्मका विभिन्न समयमा ग्रिस, स्विट्जरल्यान्ड, पोर्चुगल र बेलायतका रमणीय एवम् विश्वप्रख्यात स्थलहरूमा यात्रा गर्दाका अनुभव र अनुभूति सँगालिएका २७ नियात्रा संग्रृहीत छन्। ग्रिसको एथेन्स र त्यस वरपरका प्रख्यात स्थानहरूको यात्रा र अवलोकनमा आधारित ११ नियात्रा छन् भने स्विट्जरल्यान्डको जेनेभा सहर, युङफ्राउ हिमाल, लाउटरब्रनेन उपत्यका, बर्नको सडक, जुरिच आदि प्रसिद्धस्थलको यात्रामा आधारित ७ नियात्रा छन्।

पोर्चुगलको लिस्बोन, टागस नदी किनारदेखि वेल्हम टावर, सिन्ट्रा, क्यास्काइस, क्रिस्टो रेई आदि स्थानको यात्रामा आधारित ५ र बेलायतका क्याम्पिङ साइट, नटिङ्घम क्यासल, वेस्टमिन्स्टर आबे र नेक्रोपोलिस आदि स्थानको यात्रामा आधारित ४ नियात्रा छन्। कृतिको नामकरण ‘स्विट्जरल्यान्डकी कुमारीसँग’ शीर्षकको नियात्राभित्रको युङफ्राउ हिमालको नामबाट गरिएको छ। जर्मन शब्द युङफ्राउको अर्थ हो कुमारी। स्विट्जरल्यान्डको हिमालको नाम जर्मन भाषामा किन राखियो भन्ने जिज्ञासा पाठकको मनमा उठ्न सक्छ। तर यो जिज्ञासा मेट्ने प्रयास भने नियात्राकारले गरेका छैनन्।

एक्लै अथवा सपरिवार र सोद्देश्य वा निरुद्देश्य कुनै ठाउँको यात्रामा जाँदाका बखत तत्काल उत्पन्न हुने विचार, भावना र कल्पनालाई सुन्दर लेखनशिल्पद्वारा लिपिबद्ध गरिएका शब्दका थुँगाहरूले नियात्रा पठनको भरपुर आनन्दसँगै विश्वप्रसिद्ध व्यक्तित्वहरूका बारेमा दिइएका जानकारीबाट पाठक यथेष्ट लाभान्वित हुनेछन्। आफू जहाँजहाँ पुग्यो, तत्तत् स्थानमा पाठकलाई पनि निकै कौतुहलसाथ पुर्याउन सक्नु अथवा पाठकलाई पनि नित्राया पठनको क्रममा नियात्राकारसँगै तत्तत् स्थानमा पुगेको अनुभूति गराउन सक्नु उनको नियात्राकारिताको प्रमुख विशेषता हो। नियात्रामा तत्तत् स्थानको भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, आर्थिक, राजनीतिक, भाषिक आदि अर्थपूर्ण बनेका छन्।

यात्राका क्रममा अनुभव र अनुभूति सँगाल्नेमात्रै होइन, त्यसलाई सकेसम्म रोचक ढंगमा पाठकलाई जानकारी गराउने ध्येय बजगाईंको छ। नियात्राको उपलब्धि आफैंमा सीमित नराखी आमपाठकलाई बाँडेर त्यस्तो उपलब्धिलाई सार्वजनिक बनाउने उनको प्रयास प्रशंसनीय छ, सराह्रनीय छ। नियात्राकारको खुसीमा पाठक पनि खुसी हुने र उनका सुस्केरामा पाठक पनि सुस्केरा हाल्ने स्थिति उत्पन्न हुनु लेखकीय उत्कृष्टता हो। नियात्राहरूमा यात्राको वर्णनसँगै यात्राका अनुभव र अनुभूतिको मिठो सम्मिश्रणले नियात्रा रोचक र पठनीय बनेको पाइन्छ। ‘यात्रामा वस्तु होइन, अनुभूति र अनुभव सँगाल्नुपर्छ’ (पृष्ठ १७) भन्ने नियात्राकारको बुझाइ उनका हरेक नियात्रामा झल्किएको पाइन्छ।

बजगाईंका नियात्रामा रमाउँदै गर्दा पाठकका मनमा त्यति धेरै तथ्य–तथ्यांकयुक्त जानकारी यात्राकै क्रममा जुटाउँछन् कि यात्रापछि खोजीनीति गर्छन् भन्ने कौतुहल अवश्य जाग्छ। पक्कै पनि यात्राकै क्रममा सबै जानकारी जुटाउन समय र परिस्थितिका कारण सम्भव हुँदैन। उल्लेख्य कुरा के हो भने पाठकप्रति इमान्दार र जिम्मेवार लेखकले मात्रै यसरी पाठकका रुचि र जिज्ञासालाई सम्बोधन गर्छन्। यात्रा गर्ने र यात्राको वर्णन मात्रै लेख्ने हो भने त्यस्तो नियात्रा पठनीय नहुन पनि सक्छ र नियात्राकार पाठकप्रति इमान्दार र जिम्मेवार नभएको देखिन्छ। यस अर्थमा उनी पाठकप्रति इमान्दार र जिम्मेवार रहेका देखिन्छ।

ऐतिहासिक ग्रिसेली थिएटर ‘द थिएटर अफ डायानाइसस’को अस्तित्वलाई नै संकटमा पारेर भइरहेको मानवीय क्रियाकलापप्रति लक्षित गर्दै उनी विचार यसरी पोख्छन्, ‘यस धरामा अनन्तकालसम्म बाँच्ने न कुनै भौतिक संरचना छन्। न त कुनै धर्म, शक्ति र सत्ता छन्। किन मानिस तिनमा घमण्ड गर्छन् ? तिनकै लागि किन मारपिट र लडाइँ गर्छन् ?’ (पृष्ठ २६)। उनका कुनै–कुनै नियात्रा निबन्धजस्ता पनि छन्। ‘जेनेभामा भाँच्चिएको कुर्सी र रोएको मन’ एउटा भावुक निबन्ध जस्तै छ। तर पनि पाठक यो पढ्दा भावुक हुन्छन्। भाँच्चिएको कुर्सीको बयानले पाठकको मनमा भावुकतासँगै मानवीय संवेदना समेत जागृत गराउँछ।

‘युङफ्राउ’ संग्रृहीत नियात्राहरूमा विश्वप्रसिद्ध व्यक्तित्वहरूको बारेमा पनि यथेष्ट जानकारी छ। सोक्रेटिस अर्थात् सुकरात, एरिस्टोटल अर्थात् अरस्तु, आइन्स्टाइन, रुसो, भास्को दा गामा, रविन हुडजस्ता चर्चित व्यक्तित्वका बारेमा यथेष्ट जानकारी दिएर थप रोचक बनाएका छन् उनले। नियात्रा संग्रहको शीर्षक चयनदेखि पुस्तकमा नियात्रालाई देशगत क्रमबद्धतामा प्रस्तुत गर्ने र सिलसिलाबद्ध एवम् लयात्मक प्रस्तुतिमा नियात्राकारले विशेष ध्यान दिएकाले पाठकीय आकर्षण थपिने पक्का छ। ‘एक्रोपोलिसमा एक बिहान’बाट सुरु भएको संग्रह ‘नेक्रोपोलिसमा एक साँझ’मा पुगेर टुंगिएको छ। सरल भाषा, सहज प्रवाह, काव्यात्मक लेखनशैली, विचार र भावनाको समायोग, पाठकीय अभिरुचिप्रतिको सचेतता आदि कारण यो कृति पठनीय बनेको छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।