17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिलाइसकेका नेपाली शब्दहरू

विचार रोमा छेत्री June 9, 2024, 11:36 am
रोमा छेत्री
रोमा छेत्री

भाषा परिवर्तनशील छ। पूर्खादेखि चलिआएको भाषा तिनका सन्तानले प्रयोग गर्दैनन्। सबै भाषा परिवर्तनशील हुँदैनन्। भानुभक्तले प्रयोग गरेको ‘गया’ (एक् दिन् नारद सत्यलोक् पुगि गया), ‘भया’ (जुन् सूनी चित्तले बुझि लिंदा नारद् पनी खुस् भया), ‘लिया’ (यस् निर्मल् रघुवंशमा प्रभुजिले जो जन्म याही लिया). ‘दिया’ (विश्वमित्र निमित्त यज्ञहरूमा राखी दया मन् दिया), ‘पऱ्या’ (देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरणमा पऱ्या), ‘गऱ्या’ (भक्तीले स्तुत् खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गऱ्या) आदि यथाक्रमले ‘गयो’, ‘भयो’, ‘लियो’, ‘दियो’, ‘पऱ्यो’, ‘गऱ्यो’ भइसकेको छ। नेपाल दरबारमा आफूभन्दा ठूला देखाउनलाई राणाहरूले ‘आइबक्सियो, ‘खाइबक्सियो, ’गइबक्सियो’, ‘होइबक्सियो’ प्रयोग गरेका पाइऩ्छ। पछि यही राजदरवारको भाषा देखासिकी गरी नेपाली सभ्य र सम्पन्न देखाउने होड़ नचलेको होइन। जस्तै, आइसियोस्, खाइसियोस्, बक्सियोस्, लाइसियोस् आदि।

समय सँगसँगै हामीले मात्र होइन विश्वमै अतितमा बोलिने भाषाको उपयोग बेग्ला बेग्लै प्रकारले भएको देखिन्छ। यो क्रम जारी नै रहनेछ। स्पष्टै भन्न सकिन्छ, विभिन्न कारणले भाषा परिवर्तन हुँदछ। भाषाले अर्थ बदलिदिन्छ। एउटा भाषा समय सँगसँगै विकसित हुँदछ, परिणामस्वरुप एउटा पीँढ़ीदेखि अर्को पीँढ़ीसम्म यसका उच्चारण, शब्दावली, व्याकरण र उपयोगमा अन्तर हुँदछ।

विशेष अङ्ग्रेजी भाषाको बढ़्दो प्रचलनले नेपाली भाषाका ठेट, झर्रा, मौलिक भाषाहरू स्मृतिको गर्भमा विलिन हुन थालेका छन्। कतिपय सज्जनले ता आफ्नो मातृभाषालाई समेत पन्छाउने गरेको देखिन्छ भने भारतका विभिन्न ठाउँमा काम गर्ने वा बसोबास गर्नेले निजी मातृभाषा नेपाली हो भन्न पनि गाह्रो मानेको देखिन्छ। हिजोआज नानीहरूलाई खाई नखाई अङ्ग्रेजी माध्यममा पढ़ाउने एउटा होड़ चलेको देखिन्छ। यो राम्रो हो तर कतिपय अभिभावकले मेरो नानु ता नेपालीमै फेल हुन्छ भनी गर्वसाथ फलाकेको सुन्दा सेतो दाँत देखाई लामो जिब्रोलाई टोक्नु बाहेक अरु उपाय नै के छ र? हाम्रो भाषा मिस्कट भएको देखिन्छ, जस्तै, क्यापटोपी, बुटजुत्ता भनेर अङ्ग्रेजी र नेपाली भाषालाई स्याण्डवीच बनाएको सुनिन्छ। खासै भन्नु हो भने, हाम्रो खाँटी, मौलिक, जैविक (अर्ग्यानिक) भाषा सँगसँगै शब्दहरू हराउन थालेका छन्।

समयको परिवर्तन सँगसँगै हामी बस्ने घरहरूको निर्माण प्रक्रिया पनि परिवर्तन भइसकेका छन्। खरको घर, काठको घर अब कहाँ देख्न पाउनु? खरको घर, काठको घरको सट्टामा अब सबै घर बेलायतीले बनेका हुन्छन्। यसकारण बेलायती घरमा लगाइने कपाट (दैलोका पन्ना/ पल्ला), खुरो (दैला, झ्याल अड़्याउने तल माथि निस्किएको डण्ठा)को ठाउँमा अचेल धातुका कब्जाहरू प्रयोग गरिन्छन्। झ्याल शब्द हाम्रो जिब्राबाट बसाइँ सरेर खिड़की शब्द झुण्डिएको पाइन्छ। हामी चुकुल लाउँदैनौं छिटकिनी लगाउँछौं। बरण्डामा उभिने बानी भएर कौसी वा बारद शब्द मिल्काइसकेका छौं।

उपर दलिनमा गौंथली बस्दा

तलतिर उसको मैला खस्ता
म उठेँ सहसा रिसले जागी
त्यो गुँड़ भत्काउनका लागि।
(लेखनाथ पौड्याल)

दलिनको शब्दकोशीय अर्थ हुन्छ काठको घरमा माथिल्लो तलामा टाँड़ छाप्न विछ्याइएका बिम वा बटम। दलिनलाई भुसुक्कै बिर्सेर बिम वा बटम भन्न थालेका छौं। त्यसैगरी छानाको सिरान भाग ‘धुरी’, पानी डोऱ्याउने नाली ‘पँधेलो’, घरको सिरानको तलामा हुने विशेष लुक्चा कोठो ‘बुइँगल’, मूल दैलो अघिको घरको खाली भाग वा पिँढ़ी ‘सिक्चा’. मूल दैलोबाहेक अर्को सानो दैलो ‘जस्केलो’, छानाको तप्केनी झर्ने ठाउँ ‘बलेसी’, घरमुन्तिर मैला फ्याँक्ने ठाउँ ‘करासो वा घुऱ्यान’, घरको मूलदैलाको ठेली वा भित्र बाहिरको बिच भाग ‘सङ्घार’ हाम्रो जिब्राबाट चरालाई ढुङ्गा हाने झैँ भएको छ।

हाम्रो घर-घरमा ग्यास चुला गजधम्म छ। हाम्रो घरबाट आगो बाल्ने चूल्हो ‘अगेनु’ मिल्काइ सक्यो। फारस मासिसके। दाउरा पाउनु गाह्रो छ अचेल। हो पनि चिर्पट (चिरेका दाउरा) ले खाना किन पकाउने? दाउराको धुँवाले घर किन कालै पार्ने? ग्यास चुलाले न घर कालो हुने डर। त्यसरी नै ओदान, चुलो-चम्को, आँटी (चुलाको माथिको सम्म भाग) चौको, सोते, घरको धुँवा बाहिर जाने प्वाल ‘जलेखो’, अगेना वा चुलामाथि दाउरा वा अन्य सामान सुकाउन बनाइएको टाँड़जस्तो ‘भार वा ‘सराङ’ शब्कोशको चेपचेपमा निस्सासिएर बस्नु बाहेक अरु कुनै उपाय नै छैन।

तपाई मेरो घरमा प्रेशर कुकुर, राइस कुकुर, फ्राइ प्यान, इण्डेक्शन, माइक्रो वेब, फ्रिज, ब्लोअर स्टिमर मिक्सि आदि छैन भने ता लाजमर्दो हुन्छ। यसैले यो लाज धपाउन हामीले तरल पदार्थ राख्ने काठको भाँड़ो ‘कठुवा वा कठोति’, दुइपट्टि समाउने करा भएको तामाको भाँड़ो ‘ख़ड़्कुँड़ो’, पानीको गाग्रो राख्ने ठाउँ ‘गग्रेटो’. दूध दुहुने काठको ढुङ्ग्रो ‘गबुवा, दुधेरो, दुनेलो’, घिउ राख्ने काठको ठेकी ‘गम्बु’, दही वा घिउ इत्यादि हाल्ने काठको सोलोडोलो भाँड़ा ‘हर्पे’, तेल हाल्ने काठको बट्टा ‘गरियो’. तेल हाल्ने काठको ठूलो भाँड़ो ‘दुवाल’, जिउमा घस्ने तेल राख्ने काठको बट्टा ‘माली’, विशेष काठको बत्ती ‘टुकी वा धिप्री’लाई आधुनिक यूटेन्सिलको घुर्कीले मिल्काइसक्यौं।

अङ्ग्रेजीको देशानले भेटेर हो वा आफ्ना लालाबालालाई वर्तमान समयको रफ्तारमा दुगुराउनु हो कुनि, नानी नर्सरीमा भर्ना भएदेखि नै घरका गार्जियनले आफ्ना लालाबाला ‘किडस्’लाई जिब्रो नलागे पनि जबरजस्ती ‘आई’, ‘माउथ’, ‘टङ्गस’, ‘लिप्स्’, ‘इयर’, ‘नोज’, ‘फिङ्गर’ भट्याउनमै व्यस्त र मस्त भएर सायद कानको पछिल्तिरको भाग ‘कञ्चट वा कन्पारो वा कन्सिरी’, खुट्टा ‘गोड़ा’, गाथ ‘शरीर’, पेट ‘घुस्यौटो’, चाक ‘जाङ’, काखीको भुत्ला ‘जाबो’, डुड़ूलो ‘हात’, नाकको प्वालभित्रको रौं ‘नाथु वा नाथे’, तुच्छ वा औँलाको रौं ‘छुसी’, खुट्टा ‘पयर वा पाउ’, पाइला ‘डेग’, शिर ‘थाप्लो’, पाखुरा ‘पौंठा’, भुड़ी ‘लाद्रो’ आँलासहितको हात ‘पौंजा’ आदि शब्दहरू शब्दकोशको लागि मात्र भए...हाम्रो जिब्रोमा टाँसिन कहिल्यै सकेन। हामीसित प्रशस्तै दैनिक जीवनसित सम्बन्धित शब्दहरू छन्। जताततै कङ्क्रीटको घर बनिसकेकोले वेलायती घर रङ्गाउन ‘कमेरो माटो’सित छुटानाम गरिसकेका छौं। बिँड़ भएको फलामेभाँड़ो ‘ताप्के’ अचेल ‘फ्राइ -पेन’ सित पोइलो गइसकेको छ। घरभित्रै पानीका सुन्दर बाथरुम फिटिङ्गस् आएपछि अब पानी राख्ने बाँसको ढुङ्ग्रो ‘धिरी’को के काम। बिहे बटुल मरौ परौमा हिजोआज बजारमा रेडिमेड पात वा गत्ताको थाल बटुका पाएपछि अब एकपाते दुनु ‘खाँची’, एक किसिमको टपरो ‘ठहर’ किन गाँसिरहनुपऱ्यो?

जति अङ्ग्रेजी भाषाले पखेटा फिजाउँदै जान्छ अनि हामी जति आधुनिकताको शिखरमा पुगेर आफूलाई आधुनिक सभ्य ठान्ने गर्छौं उति उति हाम्रा धेरै ठेट, झर्रा शब्द तथा हाम्रा पिता-पूर्खाले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने सामग्रीहरूदेखि टाढ़िने छौं। जसले गर्दा आजका पुस्ता यी सामग्रीहरूबारे अनभिज्ञ हुन्छन्। ती पुराना सामग्रीहरू देख्ने ता कुरै आएन। यसले गर्दा निकट भविष्यमा पुराना सामग्री देख्न ता के नामहरू पनि सुन्न सक्नेछैनन्। परिणाम, यी सामग्रीहरू स्मृतिको गर्भमा बिलाएर जानेछन्। ती सामग्री र तिनका नामहरू –

ढब्बु/तसला/ ताउलो - गोलो मोटो भाँड़ो
हर्पे – दही, घिउ इत्यादि हाल्ने काठको सोलोडोलो भाँड़ो
चौंठी/चौंठो – तेल हाल्ने काठको भाँड़ो
ठड़ौरो – बत्तीलाई अग्लो पारी उभ्याउने स्ट्याण्ड

नेती- मोइ पार्दा मदानी घुमाउने डोरी। गाउँबस्तीतिर नेती प्रयोग गर्दा हुन् तर शहर बजारतिर नेती कुन चरोको नाउँ हो भन्न गाह्रो पर्ने कुरा हो।

तोसक, डसना, डनलप, प्रोफाइलमा सुत्न पल्केका हामीलाई अचेल परालबाट बुनिएको मान्छे सुत्नुहुने ओछ्यान ‘गजरा’ को के वास्ता? ‘गजरा’मा कोही सुत्यो? लाज हुन्छ अचेल।

चोयाले बुनेको डोकोजस्तो सामान बोक्ने साधन ‘ढाकर’, चोयाले नै मिहिन किसिमले बुनेको छेँड़ नभएको अन्न राख्ने वा बोक्ने साधन ढोक्से/थुञ्चे/थुम्से, ढाकर बिसाउने लौरो ‘तोक्मा’, अचेलका पुस्ताहरू कतिले पो देखेका होलान् वा तिनका नाम सुनेका होलान्।

हामी हिटरमा आगो ताप्न पल्केका छौं। यो सभ्य समाजको धनाढ्यपनको विज्ञापन गर्नुपर्ने आधुनिक समाजको माग भएकोले ‘बोसी’ (आगो ताप्ने मकल) तापेर किन आफूले आफैलाई हेप्नु?

हाम्रा साइनोबोधक, नाताबोधक शब्दहरू पनि अङ्ग्रेजीको घाँटी निमोठाइँले अब अङ्कल र आण्टीको पछ्यौरीमा बाँधेको देखिन्छ।

जस्तो काका काकी, बड़ा बड़ी, फुपा फुपू, सानाबाउ, सानीआमा, ठूलोबाउ, ठूलीआमा, मामा माइज्यू आदि जस्ता जिब्रोलाई स्वाद पर्ने शब्दहरू जति सबै अङ्कल र आण्टीमै सीमित भएर फुटानी देखाइरहेछन्। अचेल कति सजिलो भएको छ, काका, मामा, बड़ा बड़ी फुपा, ठूलोबाउ जति सबै अङ्कल अनि काकी, बड़ी, फुपू, सानीआमा, ठूलीआमा, माइज्यू जति सबै आण्टी। यसबाहेक पनि हाँसउठ्दो कुरो, बाजे, हजूरबा, बज्यू हजुरआमा अचेल ग्राण्ड पा, ग्र्यानीमा परिणत भएको देखिन्छ भने जिजुबाजे, बराज्यू, जेठा, माइला साइँला काइँला अन्तरे जन्तरे, लखन्तरे पानीमन्तरे त्यसरी नै जेठी माइली, साइँली काइँली अन्तरी जन्तरी लखन्तरी, पानीमन्त्री, पनाति, खनाति, च्याप्जु (धेरै पुस्ता माथिका) जिजु (तीन पुस्ता अघिका) सबै नाताबोधक शब्दहरू शब्दकोशमा चेप्टिएर अललिरहेका छन्। हुन पनि अचेल दुइ भन्दा धेर सन्तान नजन्माएपछि यस्ता नाताबोधक शब्दहरू शब्दकोशमा नचेप्टिएर किन के को लागि जिब्रामा झुण्डियोस्!

हामी सबै अचेल पिजा, तन्दुरी, ढोसा, म-म, चाउमिन, फ्रेञ्च फ्राइ बाहेक पनि परिकार परिकारका फाष्ट फुड खान पल्केका छौं। तर परम्परागत खानेकुरा हामीले चटक्कै बिर्सिसकेका छौं। कतिले यी परम्पारगत खानेकुराको नाम सुने पनि देख्नु भने दुरी दुहाइ। जस्तै-

ओड़ालेको ढिँड़ो, अलौटो मकै, भुटेको खट्टे, पकाएको दनेउरो/ दँदेउरा (सेलको एक प्रकार) खाने ता कुरै आएऩ देख्नु पनि गाह्रै छ। कन्दमुल (तरुल भ्यागुर), गोरस (दुधबाट बन्ने परिकार), चुइँठो (मकैको चामल र पिठो मिसाएर पकाएको भात), नुवागी (हरेक वर्षको नयाँ फसल। गाउँ बस्तीमा नुवागी खाने चलन भए पनि शहरबस्तीहरूलाई नुवागी के हो के हो।) पानीरोटी (पानीमा पकाएरको पिठोका डल्ला) पुवा (चामलको पिठो घिउमा भुटेर बनाइने परिकार), फाँड़ो (पिठो, कनिका वा कलिला मकै इत्यादिको खोले), बाबर (चामलको पिठो घिउ तेलमा पकाइने रोटी), बिलौनी (घिउ खाँदा भाँड़ाका फेदमा रहने निथार, भाती (उसिनेको आलु मुछेर बनाइने खानेकुरा), मुरुङ (मकै भटमासजस्तो खानेकुरा) अब हाम्रो भाग्यमा छैन।

पिसेको मास वा दालमा अरु कुराहरू मिसाई मुछेर डल्ला बनाएर तरकारी खान सुकाएका डल्ला मसेउराको ठाउँमा अचेल निउटेला नै काफी छ हाम्रो निम्ति।

सुरुवा (पोसिलो रस) होइन सूप हामीलाई मनपर्छ। भतेर वा भोज ता खान्छौं नि बिहे बुटलमा तर भोज र भतेरलाई बुफेको पङ्क्तिमा उभ्याइदिन्छौं। सुकाएको अदुवाको ढुटो सुठो होइन हजूर हामी अचेल जिञ्जर पेष्ट हालेर टेसिलो तरकारी बनाउँछौं।

रुपियाँ पैसाकै कुरा गर्नुपर्दा, अचेल क्वाइन, हण्ड्रेड बक्सको बजारमा आधा पैसा ‘अधेलो’, आना (आरम्भमा चार पैसा अनि पछि ६ बराबर एक आना), टक्का (पुरानो चाँदीको पैसा), ढ्याक (तामाको पैसा) सुका (रुपियाँको चौथो भाग, पच्चीस पैसा), दमड़ी (एक पैसाको चौथो भाग), मोहर (पचास पैसा) जति सबै अदृश्य भएर गएका छन्। पहिले हजूर आमाहरू ‘तोड़ा’ (पैसा राख्ने थैली) पटुकामा खिलेर हाट भर्न जान्थे, अचेल हामी मनि पर्स साइड ब्यागमा हाली शपिङ गर्न जान्छौं। बूढ़ापाका भन्थे ‘पासमा दमड़ी छैन राँड़ी फकाउँछ’। अचेल दमड़ीको नाम निशान छैन, गुगल पे. पेटिएम यूपीआई नेट ब्याङ्किङ ले काम तमाम गरेको छ। भन्नु नै हो भने, आजको यो समयमा अधेला, सुका आना, दमड़ी, मोहरले केही पाइने होइन। हामीलाई त अहिले हण्ड्रेड, फाइभ हण्ड्रेड, टु थाउजेन बक्स चाहिएको छ। र नै शपिङ सेण्टर मलतिर हाँक लाएर शपिङ गर्न सकिन्छ।

त्यसरी नै नाप तौलका शब्दहरू ता दन्ते कथाजस्तै नै भएको छ। जस्तो, धार्नी (पावा बराबर ओजन भएको पुरानो तौल), नौबोड़ी ( पाँच सेर बराबरको तौल), पाथी ( आठ माना परिमाणको नाप्ने तामाको भाँड़ो), बिसौली (आधा धार्नी, ६ पावा परिमाण), मुरी (बिस पाथीको एक मुरी), सेर (पुरानो तौल, एक किलो) आदि शब्दहरू स्मृतिको गर्भमा बिलाइसकेका छन्।

शब्दकोशमा मात्र बाँचेका शब्दहरू घेवारे (घिउको व्यापारी), थुर्मे (घिउ तेलको व्यापारी), टुमौटे (तामाको व्यापारी), चुड़ारो (ढुङ्गाका भाँड़ा वा बर्तन बनाउने), घटेरो (घट्टावाला), च्यामे (सर सफाइको काम गरेर जीविका आर्जन गर्न व्यक्ति), चँदारे (काठका भाँड़ा कुँदने), डकर्मी (ढुङ्गा सिमेण्टको काम गर्ने मिस्त्री), नकर्मी (लोहारे), तमोली (पान बेच्ने), चारन (घुम्दै नाटक गर्दै हिँड़्ने). ज्यामी, नरालो (खेतीपाती देखरेख गर्ने) जस्ता हाम्रा शब्द सम्पत्तिलाई बिर्सिसकेका छौं।

हामी खसीको मासु किन्न बुचर (butcher) कहाँ जान्छौं तर बगरे (खसी पाठो काटेर मासु बेचबिखन गर्ने) शब्द भन्न सिकेनौं।

हामी हाम्रा लालाबालालाई डग, टाइगर, इलेफेण्ट, लायन, हिपोपोटोमस्, क्याट अनि डोमेष्टिक एनिमल्स र वाइल्ड एनिमल्स सिकाउन आतुरिरहेका हुन्छौं। अनि तिनका बच्चाहरूलाई पप्पी, पिगलेटस्, कब, किट्टेन, काल्फ, फन (मृगको बच्चो), डकलिङ, फोल, ल्याम्ब भनी घोकाउँछौ तर हाम्रो निजी शब्द भण्डारमा रहेका छाउरा/छाउरी (कुकुरको बच्चो), बछेड़ा/बछेड़ी (घोड़ाको बछेरो), छावा (हात्तीको बच्चो), न्याउरो (बिरालाको छाउरो), गाँड़ु वा पाजी (गधाको बच्चो) जस्ता शब्दहरूको उच्चारण सम्म गर्न छोड़िसकेका छौं।

हामीसित प्रशस्तै शब्दहरू छन्। लुगाफाटा सम्बन्धी यस्ता शब्दहरू कति छन् कति। केही उदाहरण- कठालो (कलर), कन्दनी (कम्मरमा बाँधिने धागाको डोरी), खल्ती/खोकिला (पाकिट). गल्थो (फरियाको मुजाको पोको), गाँती (जाड़ोमा कान छोप्ने लुगा), गादो ( काँधमा छड़्के भिरिने लुगा), जड़ाउरी (पुरानो लुगा), डफला/पट्टो ( नानी सुताउने मोटो थाङ्ना), तलुवा ( जुत्ताको टेक्ने भाग), थकुल्लो (थाङ्नाको सिरानी), दोफर (दोचाभित्र लगाउने मोजा), देलाई (पातलो किसिमको सिरक, नेफा (पेटिकोट सुरुवाल आदिमा इञ्जार छिराउने भाग) पछ्यौरा (खास्टो, साल, मजेत्रो), पाखी (धुसा बाक्लो ऊनीको ओड़नी), पोल्टो (गोजीका रुपमा प्रयोग गरिने पटुकाको फेर), फुङ (दौरा चोलो आदिका फेरमा गाँसिने लुगाको धर्सो) अब कसले भन्ने, कसले सुनाउने कतिले जानेका छन् वा सुनेका छन्?

अचेल घर घरमै पानीको कलको व्यवस्था भएपछि पँधेरो वा पानी थाप्ने धारो सुकिसकेको छ।

यहाँ उल्लेख गरिएका शब्दहरू यो इण्टरनेट, कम्पयुटरको जमानामा थोत्रा होलान्, पुराना होलान् वा काम नलाग्ने पनि होलान्। जे जस्तो भए पनि यी शब्दहरू हाम्रो भाषिक सम्पत्ति हुन्। यी शब्दहरूले नै हाम्रो शब्द भण्डारलाई धनी तुल्याएको छ। यस्ता शब्दहरू पछि पछि हराउँदै जानेछन्। तर यी शब्दहरू सङ्कलन गरी यस्ता शब्दहरूको संरक्षण गरिनु नितान्तै आवश्यक देखिन्छ।

बैरातीशाल जोत, भरत बस्ती, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।