नेपाल मेरो जन्मको घर विदेश कर्मस्थल
जन्मको घर मुटुमा मेरो मनमा कर्मघर
दुई हात मेरा लगाई सेवा कर्मको देशलाई
मुटुको माया जन्मेको देश, भाषा र भेषलाई ।
बुद्धको देश, शान्तिको भूमी हाम्रो गौरव हिमाल
गोर्खाली वीर चिनारी हाम्रो विश्वमा बिशाल
नेपालको हाल देखेर आज रुन्छ नि यो मन
बिरह चल्छ देखेर देश भत्केको दिन दिन ।
प्रविधि नौलो अंगाली विश्व अगाडि बढ्दै छ
चिनाउँदै नेपाल संस्कृति कला विश्वमा मिल्दैछ
चिनारी हाम्रो बहुल जाती बहुल भाषाको
चाहन्छु सँधै एकता रहोस् कामना शान्तिको ।
आमा र बाबा पुकार गर्छन् – फर्केर आऊ न !
साथी र भाइ भन्दैछन् मेरा फर्केर आऊ न !
स्वदेशी माटो टेकेर बाँच्ने मेरो नि रहर
कहिले होला आफन्तीसँग हाँसने त्यो प्रहर ?
खटेर गर्छु सानो होस ठूलो रमाउँछु काममा
तिर्दछु कर कर्तव्य सम्झि यो देशको नाममा
काटेर छाक जोगाई धन पठाउँछु स्वदेशमा
सक्थें र कैले बिर्सन नेपाल स्वर्गकै समान ।
पकवान यहाँ पाइने मीठा हजार थरिका
यो मन मेरो रमाउने खादा ढिडो र गुन्द्रुक
क्यासिनो पब डिस्को र बार डुलेर हेरे नि
नौमती बाजा, दोहोरी भाका, रुचाउँछु मारुनी ।
फर्कुंला चांडै हे मेरी आमा भनेर हिँडेथे
समय चक्र निर्दयी भयो एतै पो म अल्झेँ
बिरानो ठाउँमा देशको माया मुटुमा हरदम
जति छु टाढा, उति नै गाढा सम्झना झन् झन् ।
लिभरपुल, बेलायत