17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कोटसँगको मोह भङ्ग

संस्मरण/स्‍मृति चिरञ्जीवी दाहाल June 20, 2024, 8:18 am
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

कोट लगाउने रहर कहिलेबाट लाग्यो, ठिक यसै बेलादेखि हुनुपर्छ भनेर ठ्याक्कै सम्झना छैन । जहाँसम्म सम्झना छ, मलाई एकताका कोट लगाउने रहर अत्याधिक जागेको थियो । दुर्भाग्यवश जुनबेला कोट लगाउने रहर लागेको थियो त्यसबेला मैले कोट लगाउन पाइन । रहरमा कोट लगाउन नपाउनुको एउटा मात्र होइन धेरै कारणहरू थिए । त्यसबेलाको उमेर, अभाव, उपलब्धता र प्रचलन कोटका मुख्य वाधक थिए । एस एल सी पास नगरुन्जेल कोट त के कुरा हामीले ज्याकेट र स्वेटर पनि लगाउन पाएनौं । त्यो अवस्था मैले मात्र भोगेको थिइन, हाम्रा सहपाठी सबैको अवस्था उस्तै थियो ।
अचेल लगाउने गरेको सर्टलाई हामी सर्ट होइन 'बुस्कोट' भन्ने गर्थ्यौं । सायद “ बुसर्ट" नै हामीले भन्ने गरेको बुस्कोट हुनुपर्छ । हामीले लगाउने बुस्कोट टेरलिन, पोलिस्टर र खद्दरको कपडाबाट बनेको हुन्थ्यो । वर्षमा एउटा वा दुईवटा बुस्कोटले हामीलाई पर्याप्त हुनेगरेको थियो । निकै ठन्डी ठाउँमा हुर्कनु परेको भए न्यानो कपडाको अभावमा हामी जाडोले टाक्सिन्थ्यौं होला । हाम्रो बसोबास गर्मी ठाउँमा भएको भए पनि टेरलिन र पोलिस्टरको तातोले हाम्रो छाला खुइलिइ सकेको हुन्थ्यो । न हामी कुनैदिन जाडोका कारण टाक्सिनु पर्यो न गर्मीका कारण तातोले खुइलिनु पर्यो ! हामी निकै भाग्यमानी रहेछौं । हामी जन्मिएको गाउँमा न जाडो हुन्थ्यो न गर्मी ! त्यसैले ज्याकेट स्वेटर लगाउन नपाएकोमा हाम्रो कत्ति पनि गुनासो थिएन ।
पहाडको एउटा सानो र रमणीय डाँडामा बनेको घर, हिमालको नजिकै भएकोले गर्मी महिना लागेपछि मनास्लु, गणेश , श्रृङ्गी र हिमचुलीको चिसो हावा आँगनमै आएर ठोक्किन्थ्यो । त्यही हावाले फर्र जुल्फी लर्काइदिँदा हामी फुरुङ्ग पर्थ्यौँ । हिमाली चिसो हावाले अनुहारमा काउकुती लगाउँदा बरु गाला पटपटी फुट्न थाल्थ्यो तर गर्मी भने कहिले पनि हुँदैन थियो । उता जाडो समयमा एकाबिहानै पारी डाँडालाई स्पर्श गर्दै गाउँ प्रवेश गरेको सूर्यको किरणले हाम्रो नाकको डाँडीमा चुस्स छोएपछि जाडो हुने सम्भावना फिटिक्कै रहँदैन थियो । दिनभरी लागेको पारिलो घामले हाम्रा पाखुरा र पिँडौला कालो बनाएर डढाए पनि निकै दह्रा थिए । अन्यथा हामी उत्तिखेरै बेसी पुगेर गाई भैंसीलाई पराल पानी गरेर घर फर्कन सक्ने थिएनौं । मुरीको धोक्रो बोकेर त्यो ठाडो उकालो सहजै पार गर्न सक्ने थिएनौं ।
त्यसताका गाउँका बालीघरे सूचीकारले जाँघे र बुस्कोट बाहेक अन्य कपडा सिलाउने प्रचलन थिएन । सायद उनीहरूसँग सिपको अभाव थियो । त्यसैले गाउँमा रहुन्जेल कोट लगाउने कुरा सोच्न पनि सकिदैन थियो । बिहे गरिसकेका केही युवा र एकदुई जना प्रौढहरूले भने तिनकै बिहेमा अनेक तरिकाले जुगाड गरेर राखेको कोट लगाउने गरेका थिए । गाउँमा कसैको जन्ती जानु पर्दा कसै कसैले तिनैसँग कोट मागेर लगाउनु पर्थ्यो । कोट वालाहरू स्वयं जन्ती जानुछ भने “तोलाको बोली खोलामा" भने जस्तै हुन्थ्यो अर्थात कोट पाइँदैन थियो ।
संयोगले तिनको कोट पाइ हालियो भने पनि कोटको साइज मिल्नुपर्छ भन्ने पनि थिएन । त्यो कोट कसैलाई शरीरमा खोल हालेको जस्तो देखिन्थ्यो भने ठूला र मोटा मान्छेहरूलाई दुईवटा सिरानी एउटै खोलमा राखे जस्तै लाग्थ्यो । कोट माग्ने बेलाको सर्त बमोजिम जन्ती गएर फर्किनासाथ कोट फिर्ता गर्नुपर्थ्यो । कोट आफैले धुने हो भने बिग्रन्छ भन्ने भयले कोट धुने चलन थिएन । त्यसैले कोट धुने झन्झटबाट सबै मुक्त थिए ।
तिनले सेकेण्ड ह्याण्ड कोट प्रायः कलकत्ता, बम्बई जाँदा ल्याएका हुन्थे भने केहीले सदरमुकामबाट सिलाएर ल्याइएका हुन्थे । हामीलाई लाग्थ्यो , कोट भनेको त बिहेमा मात्र लगाउने चिज हो । “ समयमा बिहे गर्न पाइयो भने एउटा गजबको कालो कोट त जसरी पनि सिलाउनु पर्छ ।" अधिकांश युवाहरूको मनमा यही इच्छाले घर गरेको हुन्थ्यो ।
उमेरमै मेरो बिहे त भयो तर दूर्भाग्यवस बिहेमा समेत कोट लगाउने साइत जुरेन । यसको पनि छुट्टै कथा छ । बिहेको जनै सुपारी गरिसकेपछि केही दिनको लागि म जागिरमा जानुपर्ने भयो । मनमा विचार आयो, मेरो अनुपस्थितिमा सिलाउने हो भने कोटको रङ्ग र साइज भनेजस्तो नहुन सक्छ । कोट उतै सिलाएर ल्याउनु पर्ला ! तर म कार्यालय पुगेको भोलिपल्ट एक हप्ते तालिमका लागि खैरेनीटार तालिम केन्द्र जानु पर्ने भयो । कोट सिलाउने समय निकाल्न सकिएन । त्यहाँ गएर कोट सिलाउने वातावरण मिल्ने कुरै भएन । विहेको दिन नजिकिँदै गएकोले बीचमै तालिम छोडेर म विहेको अन्य तयारीका लागी घर गएँ । भोलिपल्ट जग्गे लगाउने दिन,पर्सिपल्ट दुलाहा अन्माउने दिन भइहाल्यो । अन्त्योततः एकदिनमा कोट पाइन्ट र सर्ट जसरी पनि सिलाइ सक्नुपर्थ्यो ।
घरमा जग्गे लगाउने सम्पूर्ण तयारी सकेपछि म गाउँ नजिकै रहेको बजार झरेँ । बजारका सबै सूचीकारहरूले एकदिनमा कोट सिलाउन नसक्ने बताएपछि कोट लगाएर दुलाहा बन्ने मेरो सपना एकाएक तुहियो । म बिना कोटमै दुलाहा बन्नुपर्ने भयो । हुनत गाउँमा कोट नलगाई दुलाहा बन्न लागेको म मात्र थिइन । अरु प्रसस्तै हुन्थे । प्रायः दुलाहा हुँदा सेतो नैनसुतको दौरा र सुरुवाल, कमरमा नैनसुतको पटुका बाँधेर रङ्गिन ढाकाको टोपी लगाउने प्रचलन थियो । दौरा सुरुवाल भने एकदिनमा सिलाइदिन लगभग सबै सूचीकार सहमत भए । मलाई बिना कोट, दौरा सुरुवाल लगाउन उचित लागेन । त्यसको सट्टा बरु सर्ट र पाइन्ट मात्र लगाउनु पर्ला भन्ने विचारले मैले सर्ट पाइन्ट सिलाउन दिएँ । अन्तत: एउटा खैरो सर्ट र निलो पाइन्ट तयार गरियो । पसलेले कम्तिमा एउटा ज्याकेट लगाउने सल्लाह दिएपछि हामीले एउटा कालो ज्याकेट खरिद गरेर घर फर्कियौं । दुलाहा बन्दा कि त दौरा सुरुवाल कि कोट पाइन्टको औपचारिक पोसाक बाहेक मैले पहिलो पटक सर्ट पाइन्ट र ज्याकेट लगाएर दुलाहा बन्ने निर्णय गरेँ । यो पोशाक गाउँमा बिलकुलै नौलो थियो । पोशाकको विषयलाई लिएर कतिले कुरा पनि काटे । जे होस् मेरो बिहे त भयो तर म कोट बिनाको दुलाहा बनें । मलाई लाग्छ मेरो इच्छा कटौतीको सुरुवात त्यसै बेला देखि भएको थियो ।
*******
त्यसताका मेरो कार्यालयमा ३०/ ३५ जना कर्मचारीहरू थिए । त्यस मध्ये पाँच सात जनाले प्रायः सधैंजसो कोट लगाउने गरेका थिए । बाँकीले सर्ट पाइन्ट माथि ज्याकेट र स्वेटर लगाउँथे । जसले कोट लगाएको हुन्थ्यो, झलक्क हेर्दा उनीहरूलाई कोट त्यति मिलेको देखिदैन थियो । उचित किसिमको सिलाई नभएर हो वा कोटको स्याहार नपुगेर हो ? त्यसको गहिराइमा नपुगे पनि कोट लगाउने साथीहरू भन्दा स्वेटर र ज्याकेट लगाउने साथीहरू निकै चिरिच्याट्ट र हेण्डसम जस्ता देखिन्थे । मलाई कुनै बेला लागेको कोट लगाउने रहर यी दृश्य देखेपछि अचानक मरेर गयो । त्यसपछि मलाई कहिले पनि कोट लगाउने रहर लागेन ।
जागिर खाएको दुई वर्ष पछि २०४२ सालमा अध्ययन भ्रमणका लागि म फिलिपिन्सको राजधानी मनिला जानुपर्ने भयो । केही कागजी प्रकृया मिलाउन विभाग जाँदा थाहा भयो , कोट पाइन्ट सिलाउनकै लागि, विदेश जाने कर्मचारीलाई सरकारले पोशाक भत्ता समेत दिने प्रचलन रहेछ । कपडाकै लागि भत्ता पाएपछि सबै साथीहरूको सरसल्लाहमा हामीले इन्द्रचोक पुगेर एकजोर सर्ट, पाइन्ट र कोट सिलायौं , साथमा हामीले एक-एक वटा टाइ किन्न छुटाएनौं ।
मेरोलागि त्यो कोट “भोकमा नपाएको मकै र बैंसमा नपाएको खसम " जस्तै भएको थियो । लगाउन एकदम रहर लागेको समयमा यो कोट भइदिएको भए कति गजब हुन्थ्यो होला । तर त्यो कोट भने मेरो रहरले होइन , बाध्यताले सिलाइएको थियो । जुन पोशाक भत्ता लिएपछि खरिद गर्नै पर्ने हुन्थ्यो । सायद देशको इज्जत जाने भयले सरकारले कर्मचारीहरूलाई राम्रै पोशाकमा विदेश पठाउने व्यवस्था गरेको हुनुपर्छ ।
सर्ट पाइन्ट लगाएर मनिला पुगेपछि मैले त्यो कोट त्यहाँ पुगेको तेस्रो दिन मात्र लगाएँ । जीवनमा पहिलो पटक लगाएको त्यो कोट लगाउँदा मलाई निकै असहज महशुस भएको थियो । दिउँसो कोट निकालेर लामो समय मैले हातमा बोकेर हिँडे । कोट लगाउँदा जीउ र मन भारी भए जस्तो लागेको थियो , फुकाउँदा भने हलुका । यति मात्र होइन, कताकता सास फेर्न पनि असजिलो भएजस्तो लागेको थियो । मनले भनिरहेको थियो, यो कोट कताकता मिलेको छैन । अर्कोतिर गर्मीका कारण शरीरबाट पसिनाका धारा छुटि रहेका थिए । लाग्थ्यो, मनिलाको सडकमा हिँड्ने मान्छेहरूले मलाई नै हेरिरहेका छन् । मैले लगाएको कोट देखेर सबै हाँसी रहेका छन् । जब मैले मेरो शरीरलाई त्यो कोटले छोपेँ , आफ्नो कोटलाई कार्यालयका साथीहरूले लगाएको जस्तो लागिरहेको थियो । कोट लगाएर मेरो मन खुल्न सकिरहेको थिएन ।
जीवनमा पहिलो पटक सिलाएको त्यो कोट मनिला रहुन्जेल एक दिन भन्दा बढी लगाउन सकिन । त्यो पनि पुरा एकदिन होइन , एकैछिन मात्र लगाएको थिएँ । बाँकी अन्य कुनै दिनपनि कोट लगाउने हिम्मत गर्न सकिएन ।
कालो र रातो रङ्ग मिश्रित त्यो कोट फिलिपिन्सबाट फर्किएपछि मैले कहिले पनि लगाइन । सधैं ह्याङ्गरमा झुण्डिएर बस्यो । केटाकेटीहरूले धेरैपटक कोट लगाउने सल्लाह दिए पनि किन हो मैले त्यो कोट लगाउने साहस गरिन । उपयोग विहिन त्यो कोटसँगै खरिद गरेको निलो टाइ भने मेरो गलामा एकदिन पनि झुण्डिइ पाएन । अन्ततः त्यो टाइ मेरी अर्धाङ्गिनीले घरको सिँगारी बाख्रो बाँध्ने काममा उपयोग गरिन् ।
२०४२ सालमा सिलाएको पहिलो कोट पछि दोस्रो बन्ने सौभाग्य ‌पायो एउटा कालो कोटले । २०६७ सालमा मेरो मिर्गौला प्रत्यारोपण पछि प्रत्यारोपण गर्ने डाक्टरले एकदिन फलोअपका क्रममा भने- “ एकपटक मृत्युको मुखमा पुगेर फर्किनु भयो । अब जीवन बिरामी अवस्थामा जस्तै अस्तव्यस्त र लथालिङ्ग बनाउनु हुँदैन । हरेक दिन दारी काट्नु पर्छ । सरसफाईमा उत्तिकै ध्यान दिनुपर्छ । प्रायः चिटिक्क बनेर हिँड्नु पर्छ । हरेक कुरा समय अनुसार चल्नुपर्छ । हुन्छ भने एउटा कालो कोट सिलाउनु होला , देवानन्द (भारतीय सिनेमाका नायक ) जस्तो देखिनुपर्छ । यसो हुँदा मनमा जिजीविषा बढ्दै जान्छ । मुमूर्षाले घर गर्न पाउँदैन । "
डाक्टरको कुराले मलाई किन हो, भित्रैदेखि छोयो । उनले भनेका कुरामा वास्तविकता थियो । अस्तब्यस्त जीवनलाई शारीरिक सरसफाई र सुन्दर पोशाक एवं मिठो मसिनो खानपानले पनि निकै फरक पार्नसक्छ । मैले डाक्टरको सल्लाह अनुसार चल्ने निर्णय गरें । ‌आफ्नो डेरा मनमैजुबाट म एकदिन कोट सिलाउनकै लागि बागबजार पुगेँ । श्रेष्ट टेलरिङ्ग सेन्टरमा गएर डाक्टरले दिएको सुझाव बमोजिम कालो कोट सिलाएँ । यो कोटको रङ्ग छनौटमा मेरो इच्छा होइन डाक्टरको सल्लाहले काम गरेको थियो । त्यसपछि भने मेरो मनमा कताकता देवानन्द जस्तै देखिने तिर्खा लागे जस्तै देखियो । नभन्दै कोट लगाएर मैले ऐना हेर्दै आफ्नो अनुहारमा चर्चित अभिनेता देवानन्दलाई खोज्न थालेँ । कोट लगाएपछि आफ्नो अनुहारमा देवानन्द नपाए पनि मेरो व्यक्तित्वमा भने केही परिवर्तन पक्कै पनि भएको थियो ।
एक पटक फलोअपका लागि म उनै डाक्टरसँग भेट्न पुग्दा दारी समेत सफाचट बनाएर त्यही कालो कोटमा पुगेँ । सधैँ निरिह मान्छेसँग जस्तै कुरा गर्ने डाक्टरले त्यसदिन मसँग निकै भलादमी पाराले कुरा गरे झैं लाग्यो । हुनसक्छ त्यो मेरो भ्रम थियो । एकमन भनिरहेको थियो , होइन यो यथार्थ नै हो । वास्तविकता थाहा पाउन भने सकिएन । हुनसक्छ मैले बुझ्ने कोशिस नै गरिन । आखिर बुझेर पनि के अर्थ थियो र ? डाक्टरले कोटको विषयलाई लिएर केही भन्ने कुरा पनि भएन ! तर उनले मलाई हेर्ने नजरमा भने पक्कै परिवर्तन गरेका थिए ।
बिस्तारै फागुन सकिएर चैत्र महिना सुरु भयो । काठमाण्डौंको मौसम क्रमस: चिसोबाट बिस्तारै तातो हुँदै गएको थियो । मनमैजुदेखि बीर अस्पतालसम्म जानु पर्ने भएकोले गर्मीमा कोट लगाएर जाने कुरा सम्भव थिएन । त्यसको एक महिनापछि बैशाखमा म चितवन फर्किएँ । बैशाख जेष्ठको चितवनको गर्मीमा कोट लगाउने कुरा त्यति सम्भव र पाच्य पनि हुँदैन थियो ।
क्रमस: दिनहरू बित्दै गए । चितवनबाट काठमाडौँ आउनेजाने क्रम यथावत् चलिरहेको थियो । बिस्तारै हिउँद महिनाको आरम्भ भयो । सधैँ जस्तै माघ महिना लागेपछि पुन: फलोअपका लागि काठमाडौ जानु पर्ने भयो । जाडो महिनाको समय भएकोले, कोट लगाउने मौसम पनि यही हो भन्ने सोचेर दराजबाट कोट निकालेर लगाउन खोजेँ । दुर्भाग्यबस पाखुराबाट कोटको बाहुला छिरेन । पाइन्टको तिघ्रा पनि छिरेन । अब म सधैँ लगाउने गरेको सामान्य पोशाकमा काठमाडौं पुगेँ । तौल जाँच गर्दा थाहा भयो, कोट सिलाउँदाको ४५ के जी तौल बढेर ६० के जी पुगेको रहेछ । डाक्टरले मेरो तौल अन्ठाउन्न के जी भन्दा माथि कहिले पनि जान नदिनुस् भनेर सल्लाह दिए । अहिले त्यो कोट मेरो पहिलो कोट झुण्डिने गरेको दराजमा झुण्डिरहेको छ । दूर्भाग्यपूर्ण कुरा, पहिलो र दोस्रो कोटको एक आपसमा भेट भने हुन पाएन । यसै बीच मेरो पहिलो कोटबाट अन्य थाङ्ना कपडा मिसाएर ओछ्याउने डसना बनिसकेको थियो । कपडा पेल्ने मेसिनमा च्यापिएर मेरो जेठो कोट, डसना बनेको निकै लामो समय भइसकेको थियो ।
यसैक्रममा एकदिन म गाउँको एउटा विवाह समारोहमा पाहुना बन्न पुगेँ । केही टाढा जन्ती जानु पर्ने भयो । सबै तयारी पछि कोट लगाउन पाए राम्रै होला जस्तो लागेको थियो । पहिलो कोट, डसना बनिसकेकोले मसँग जन्ती जानका लागि लगाउने कोट थिएन ।‌ जन्ती जाँदा कोट लगाउने प्रचलन कहिलेबाट सुरु भयो, त्यसको यथार्थ तिथिमिति थाहा नभएपनि यो खासै पुरानो प्रचलन भने नहुनु पर्छ । अनि कोट लगाएर जन्ती जानुपर्ने कारण पनि विशेष केही नहुनु पर्छ । तर पनि मान्छेहरू जन्ती जाँदा अनिवार्य कोटको प्रयोग किन गर्छन् ? मैले आजसम्म पनि बुझ्न सकेको छैन ।
दोस्रो कोट लगाउन नमिल्ने गरि सानो भइसकेकोले कोट लगाउने कुरा सहज हुने कुरा भएन । मसँग शरीरमा चिटिक्क मिलेको कोट थिएन । म सँधै जस्तै ज्याकेट लगाएर जन्ती गएँ । सबै जन्तीहरू अनेक रङ्गका कोट र टाइमा सजिएका थिए । म र अर्का एक जना वृद्ध काका, बिना कोटमा थियौं ।
त्यसदिन मलाई निकै असहज जस्तो लाग्यो । सबै कोटमा सजिएको देख्दा र आफू बिना कोटमा रहँदा मन खिन्न भए जस्तो लाग्यो । निकै वर्ष पछि मलाई पुन: कताकता कोट लगाउने रहरले पुनः जिस्क्याइरहेको रहेको अनुभव भयो । त्यो पनि कतै बिहेमा जन्त जानकै लागी भए पनि एउटा कोट त सिलाउनै पर्ने भयो । त्यसपछि मैले नारायणगढ पुगेर एउटा खैरो रङ्गको कोट सिलाएँ । पहिलो कुरा उलनको कोट चितवनको उखरमाउलो गर्मीमा मुस्किलले तीन चार महिना भन्दा बढी लगाउन सकिन्न । दोस्रो, म केही बढीनै कालो छाला भएको मान्छे भएकोले त्यो खैरोकोट मलाई पटक्कै सुहाएको थिएन ।
“ खैरो रङ्गको कोट लगाउनलाई त शरीरको छाला पनि त्यसै अनुरुप गोरो हुनुपर्छ । " जब श्रीमतीको यस्तो कुरा सुनें त्यस दिनबाट मलाई त्यो कोट पनि लगाउन मन लागेन । कोट लगाउने कुरा सजिलो लागेन । यो रहर पुरा गर्न विभिन्न कठिनाइको सामना गर्नुपरेकै कारण कोटसँग मेरो मोह भङ्ग भइसकेको थियो । जीवनमा सङ्गत गरेका मेरा यी तीनवटा कोटलाई भने म सितिमिति बिर्सन सक्दिन । ती कोट मैले मन परेर नबिर्सिएको भने होइन । विश्वास छ, मेरो जीवनमा कुनै पनि कोटले चौथो बन्ने अवसर पाउने छैन । बरु जन्ती जाने अवसर गुमे पनि गुमिरहोस् । कतै सभासमारोहमा भागलिन नपाए पनि केही छैन । अब म कोट भने मरिगए पनि लगाउँदिन ।
अचेल मलाई लाग्छ, औपचारिक रूपमा कोट लगाउनु पर्नेहरूले पो के नापेका छन् र ? मैले के का लागि कोट लगाउनु पर्यो ! मेरो हजुरबा भन्दा अघिल्लो पुस्ताले कोट लगाएको जस्तो लाग्दैन । सायद तिनको पोशाक अर्कै थियो । यदि लगाउने गरेको भए भित्तामा झुण्डिएका तिनका तस्विरमा कोट पनि देखिने थियो ।
तिनका तस्विरमा दौरा सुरुवाल र कम्मरमा पटुकी बाँधेको प्रष्ट देखिन्छ । यी तस्विर हेरेर के बुभिन्छ भने कोट हाम्रो पूर्वजको पोशाक हुँदै होइन । त्यसो हो भने मैले मात्र कोट लगाउने रहर किन गर्नु पर्यो ?

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।