19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आत्मबोध

कविता ईश्वर पोखरेल June 20, 2024, 12:41 am
ईश्वर पोखरेल
ईश्वर पोखरेल

चिन्दिनँ हजुर
नामैनामको यो भीडभाडमा
नाम र थर बताउने बित्तिक्कै
हजुर फलानो नै हो भनेर किटेर भन्ने सामथ्र्य
मसङ्ग कसरी हओस् ?
मैले हजुरलाई चिन्न सकिनँ ।

एउटै नाम र थर भएका
कयौं परिचित छन् मेरा आफ्नै
मोबाइलमा ‘एउटाको नम्बर डायल गर्छु’ भन्छु
नखोजेको अर्को व्यक्ति पर्छ
मोबाइलमा नाम र नम्बर छ
मैले ‘तँलाई खोजेकै होइन’ भनेर कसरी भनूँ ?
सामान्य भलाकुसारी गरेर फोन राख्छु ।
अर्काको नम्बर डायल गर्छु
नसम्झेको अर्कै व्यक्ति बोल्छ
उही क्रम फेरि दोहोरिन्छ ।
व्यक्तिको हाँटकाँट हेरेर
‘ठूलो रामलाल’ र ‘सानो रामलाल’ भन्दा नपुगेर
‘अलि ठूलो रामलाल’ र ‘साह्रै सानो रामलाल’ भनेर पनि
मोबाइलमा नम्बर सेभ गरेको छु ।
अर्को रामलाल थपियो भने
के नाममा सेभ गर्ने होला भनेर
टाउको दुखिराखेको बेला
हजुरकोले कल आयो ।
नाम र थर बताउने बित्तिक्कै
म हजुरलाई कसरी चिनूँ ?
चिन्दिनँ हजुर, मैले हजुरलाई चिन्न सकिनँ ।

सके, मान्छे जन्मिदै आत्मस्वाभिमानसहित जन्मिन्छ
सबैलाई ‘आफू ठूलै हुँ’ भन्ने लाग्छ ।
सबैले ‘आफूलाई धेरैले चिन्छिन’् भन्ने ठान्छ ।
सबैले ‘मेरै नाम भएका अरु पनि होलान्;
तर यो नाम उच्चारण गर्दा सबैसामु मेरै अनुहार आउँछ’ भन्ठान्छ ।
हरेकलाई ‘मेरो जत्तिको वजनदार नाम र थर भएको को छ र’ भन्ने लाग्छ ।
तर ठूलो को हो—
अर्थशास्त्री कि ल्याब टेक्निसियन ?
लेखक कि पत्रकार ?
इन्जिनियर कि वकिल ?
गीतकार कि संगीतकार ?
दार्शनिक कि सिकर्मी ?
खगोलवेत्ता कि चित्रकार ?
गणितज्ञ कि घटवारे ?
गायक कि तवलाबादक ?
डाक्टर कि मास्टर ?
व्यापारी कि नेता ?
चित्रकार कि नर्तक ?
उद्योगपति कि कृषक ?
वैज्ञानिक कि हिमाल आरोही ?
इतिहासकार कि भूगोलवेत्ता ?
जो छन्; सबै आफ्नै किसिमले छन्
यी क्षेत्र वा यी क्षेत्रबाहिरका अन्य विविध क्षेत्रमा
¥याङ्किङ्को सिस्टम भए
‘तपाई कुन विषय क्षेत्रको ?
कति हो– तपाईको रोलनम्बर’ भन्न हुन्थ्यो
केही सजिलो हुन्थ्यो ।
त्यो पनि छैन ।
चिन्दिनँ हजुर, मैले हजुरलाई चिन्न सकिनँ ।

हामी जुनसुकै विषय क्षेत्रका हौं
पृथ्वीको जुनसुकै क्षेत्रमा रहौं
हामीमध्ये धेरैजसो
परिवार नामको समाजको सबैभन्दा सानो एकाइलाई पनि
सकेसम्म सानो— एकल परिवार बनाएर
आफ्नो भएभरको बर्गत लगाएर
त्यसका लागि ‘दाल–भात–डुकु’को प्रक्रियामा सामेल छौं
सबैले साँझबिहान भाँडामा आआफ्नै सामल हाल्छन्
सबैका आआफ्नै योजना छन्
गुजारा र सामान्य खर्चबर्चका सबैका आआफ्नै बन्दोबस्त छन् ।
यही परिवारको सामलतुमल, योजना र बन्दोबस्तीको प्रक्रियालाई
भीषण भन्ठानेर हामी सबै आआफ्नै ठाउँमा आआफ्नै किसिमले
आसिनपासिनको अवस्थामा छौं ।
म पसिना पुछूँ कि हजुरको पहिचानमा घोत्लिऊँ ?
चिन्दिनँ हजुर, मैले हजुरलाई चिन्न सकिनँ ।

महालक्ष्मी—३, बोझेपोखरी, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।