भाविलाल लामिछाने नेपाली भाषाका एकजना विशिष्ट कविका रूपमा चिनिनुहुन्छ। 2019 सनमा चराको चिरबिर भुराको किरकिर बाल कविता संग्रहको लागि साहित्य अकादेमी बाल साहित्य पुरस्कार प्रदान गरिएको थियो। यस अतिरिक्त उहाँले देश विदेशका दर्जनौं पुरस्कारहरू पाईसक्नु भएको छ। अहिलेसम्म उहाँका बीसवटा कृतिहरू प्रकाशित भै सकेका छन भने उहाँले आफ्नो जीवनकालमा धेरै पत्र-पत्रिकाहरूको पनि सम्पादन गर्नु भएको छ। इण्डियन ऑयल कॉर्पोरेशन, डिग्बोईद्वारा संचालित ए. ओ.डी. हायर सेकेण्डारी स्कुलमा चौँतिस वर्षसम्म गणितको शिक्षकका रूपमा शिक्षकता गरी पदोन्नति हुँदै भाइस प्रिन्सिपलको पदबाट 2010 मा अवकाश लिएर हाल सालबारी, सिलगढीमा स्थायी रूपले निवास गर्दै आउनु भएको छ। श्री लामिछानेसँग गरिएको लेखकीय कुराकानी यहाँ प्रस्तुत छः
प्र. १. तपाईँको लेख्ने क्रम कहिलेबाट र कसरी सुरू गर्नुभयो? / कुनै रोचक घटना या अनुप्रेरणा थियो कि?
वैद्यनाथजी ! साह्रै असजिलो हुन्छ आफ्नो बारेमा बोल्नुपर्दा. झूठो बोल्न सकिंदैन, साँचो बोल्दा अतिरेक हुने डर रहन्छ. तर, एकजना सहृदयीले जान्न खोजेका कुरा त भन्नै पर्छ.
भन्न सक्तिनँ काव्यिक अनुभूतिको संचार मभित्र सानैदेखि कसरी थियो ! छ/सात वर्षको छँदा म गाई चराउन वन-जङ्गल, फाँटमा जान्थें. बेतजान चियाबगान. बाबा चियाबगानमा जागिरे. घरमा पाँच/सातमाउ गाई. अरू साथी-भाइहरूसँग गाई-गोरूको बथानमा म पनि मिस्सिएको हुन्थें. गाई-गोरुको ब्वाँ ब्वाँ..... , चराहरूको चिरबिर....., चारैतिरको रम्य परिवेशको नजानिंदो सुरिलो सङ्गीत.... सबैले मनलाई बिथोल्थे अनि मनभित्र शब्दहरू बज्थे विभिन्न लय र धुनमा... कति अर्थपूर्ण र कति निरर्थक अपूरा गीतहरू बन्थे. ओठहरूमा कति-कतिखेर ती गीत सुरेली खेल्थे.. म नि:शब्द गुनगुनाइरहन्थें बुझी नबुझी. धेरैजसो नबुझेर नै.......
सन् १९५९-को सेप्टेम्बर महिनामा बाबाले डिगबोई तेलकम्पनी (असम ऑयल कम्पनी)मा जागिर पाउनु भयो. हामी डिगबोई आयौं. त्यतिखेर असमभरिमै एकमात्र नेपाली माध्यमको स्कुल (एओसी नेपाली एमई स्कुल)- मा कक्षा ३-को विद्यार्थीको रूपमा सन् १९६०-मा भर्ना पाएँ. त्यसअघि असमिया माध्यममा पढेको हुनाले आरम्भमा अलिक अप्ठ्यारो परेको थियो तर त्यस कठिन स्थितिलाई सम्हाल्न मलाई साह्रो परेन.
त्यतिखेरै मलाई असमिया नेपाली साहित्यका पुरोधा अनि मेरा शिक्षागुरु कतिपय जस्तै कवि हरिभक्त कटुवाल, अग्निबहादुर क्षेत्री, जशु सुब्बा, दुर्गाधर प्रधान आदिको सान्निध्य प्राप्त भयो. पढाइमा अब्बल भएकाले उहाँहरूको माया पनि पाइरहें. संगसँगै ‘डिगबोई नेपाली छात्र-सङ्घ’ र डिगबोईको माउसंस्था ‘श्रीश्री नेपाली विष्णुमान्दिर कमिटी’-सँग पनि जडित रहें. यी संस्थाहरूका साहित्यिक, सांस्कृतिक अनि सामाजिक कार्यक्रममा निरन्तर भाग लिरहनेहुनाले मेरो साहित्यिक प्रतिभाले मौलाउने ठाउँ भेट्यो. साथी-भाइहरू निजी पुस्तकालय स्थापना गरी नेपाली, हिन्दी, असमिया र अङ्ग्रेजीका पुस्तक, पत्र-पत्रिका पढ्ने गर्थे. म पनि जडित भएर पुस्तक-अध्ययनको लाभ उठाउन थालें.
हरिभक्त कटुवाल कविहरूमा राम्रो जानिने नाउँ थियो त्यसबेला. कक्षा ४- मा उहाँ मेरा कक्षा-शिक्षक पनि हुनुहुन्थ्यो. उहाँको पहिलो कविता-सङ्ग्रह ‘भित्री मान्छे बोल्न खोज्छ’-का प्राय: जम्मै कविता मैले नै साफी गर्नु परेको हो. साफी गर्दै जाँदा र कविता पढ्दै जाँदा मभित्रको कविले मूर्त रूप पायो. सोच्ने भएँ ---‘यति राम्रा कविता मैले लेख्न सक्ने भए ?’
त्यसै लहडमा अनि एकपल्ट कति रात जागा बसेर कनी-कुथी एउटा कविता लेखें –‘बन्दी चरीप्रति’. सच्याएर मार्गदर्शनका लागि त्यो कविता एकदिन कक्षामै उहाँका हातमा दिएँ. छक्क परेर कविता हेर्दै भन्नुभो’, ‘ए ! तिमी पनि कवि भयौ ?’
मैले केही नभनी उभिरहेर उहाँको प्रतिक्रिया जान्नका लागि उभिरहें. उहाँले केही नभनी कविता लेखेको कागजको खोस्टो पट्याएर गोजीमा राख्दै भन्नुभो’, ‘हुन्छ, म सच्याएर दिन्छु. जाऊ बस.’ कक्षामा केटा-केटीका आँखाहरूले ममा केही खोजि रहेका थिए.
सरबाट सच्याएको कविता फिर्ता पाउन निकै दिन पर्खनु प-यो. सोचेको थिएँ कागजको खोस्टो कतै हरायो होला ! तर एकदिन कक्षादेखि बाहिर निस्कँदा सरले बोलाएर मलाई कविता लेखेको कागज हातमा दिंदै भन्नुभो, ‘कविता राम्रो लेखेछौ. लेख्दै जाऊ. यो साधनाको विषय हो. लगेर साफी गर अनि मलाई देऊ. म कुनै पत्रिकामा छाप्न पठाइदिउँला.’
कविता छापिने रहरले कविताको खोस्टो जेबमा राखी उफ्रिंदै घर पुगें. उत्निखेरै खोलेर हेर्ने आवश्यक पनि ठानिनँ. घर गएर कागजको खोस्टो खोलेर हेर्दा म छाँगोबाट खसे जस्तो भएँ – ‘खोइ मेरो कविता ?’
कति रात खर्चेर, कति तुक मिलाएर, शव्दकोशबाट शब्द चयन गरी लेखेको कविता कहाँ गयो ? ‘बन्दी चरीप्रति’ कविताको शीर्षकबाहेक केही थिएन मेरो भन्ने त्यहाँ. जम्मै पङ्क्ति रातो मसीले कोरेर सरले कतिपय पङ्क्ति ( १२ पङ्क्ति भए जस्तो लाग्छ) लेखि दिनु भएको रहेछ ! सरले नै त्यो कविता त्यतिबेला काठमाडौंबाट प्रकाशित हुने मासिक पत्रिका ‘रूपरेखा’-को
भारतीय नेपाली कविता विशेषाङ्कमा छापियो. सन् १९६१ थियो त्यो. म कक्षा ४ को विद्यार्थी थिएँ. त्यो कविता ‘रूपरेखा’-को भारतीय नेपाली कविता विशेषाङ्को ७७ नं. पृष्ठमा भविलाल खड्काको नाउँले छापिएको छ. त्यतिखेर म नाउँका पछि ‘खड्का’ लेख्थें.
आज मसँग न त्यो पत्रिका नै छ. कविताको एउटा धमिलो स्मृतिबाहेक केही छैन. यसप्रकार मेरो नाउँमा पहिलो प्रकाशित कवितालाई पनि मैले मेरो भन्न सकिनँ. कविता पनि स्मृतिमा छैन. पत्रिका खोज्दैछु पाएको छैनँ. यो पछितो रहिगयो.
त्यसो भए मैले मानेको ‘मेरो पहिलो कविता’ कुन हो त ? यो एउटा प्रश्न उठ्ने ठाउँ छ. त्यसपछि मलाई कविता लेख्ने र पुस्तक, पत्र-पत्रिका पढ्ने मात लाग्यो. त्यतिखेर म हिन्दी, नेपाली, असमिया पत्र-पत्रिका अनि पुस्तकहरू पढ्न थालें.
१) नेपालीमा पत्रिका :- रूपरेखा, रचना, दियालो, आमा, उदय, सुमन आदि.
२) हिन्दीमा :- धर्मयुग, बालक, पराग, सरिता आदि.
त्यसबाहेक असमिया समाचार-पत्र, रामधेनु र बुझी नबुझी अंग्रेजी साप्ताहिक इल्लस्ट्रटेड विक्ली आदि पत्रिकाहरू मेरो सङ्ग्रहमा थिए. त्यतिखेर मैले पढेका लेखकहरूमा हरिभक्त कटुवाल, भूपी शेरचन, द्वारिका श्रेष्ठ, मोहन कोइराला, विजय मल्ल, बालकृष्ण सम, लेखनाथ पौड्याल, धरणीधर शर्मा, महानन्द सापकोटा, विशेश्वर प्रसाद कोइराला, भवानी ‘भिक्षु’ लक्ष्मीप्रसाद देवकोटा........ नरबहादुर दाहाल, इन्द्रबहादुर राई, कृष्णसिंह मोक्तान, इन्द्र सुन्दास, रूपनारायण सिंह……. लीलबहादुर क्षत्री, गोपीनारायण प्रधान, कृष्णप्रसाद ज्ञवाली……मोहन राकेश, राजेन्द्र यादव, मन्नु भण्डारी, कृष्णचन्दर, गुलशन नन्दा, धर्मवीर भारती......योगेस दास, सैयद आब्दुल मालिक ..... धेरै धेरै. नाम लिनु सम्भव छैन. सबैलाई पढेर बुझ्थें त्यसो होइन. कति बुझ्थें कति बुझ्दिनथें. तर पढ्ने मात लागेको थियो, पढ्थें. पढाइले मलाई अत्यधिक प्रेरणा दियो. यसै क्रममा मैले मेरो आफ्नो पहिलो कविताको सिर्जना गर्न सकें. कविताको शीर्षक थियो ‘वसन्तको शुभागमनमा’.
सन् १९६२-को एकदिन हरिभक्त कटुवाल सरले यस कविताको पहिलो पङ्क्ति शार्दूल विक्रीडित छन्दमा दिएर मलाई १२ पङ्क्तिको समस्यापूर्ति गर्न लगाउनु भयो.
पहिलो पङ्क्ति यस प्रकार छ :
‘आयो हेर वसन्त फेरि जगमा मुस्कान मीठो छरी।‘ अनि मैले अघि जसरी नै रहल ११ पङ्क्ति यसरी लेखेछु –
‘आयो हेर वसन्त फेरि जगमा मुस्कान मीठो छरी।
नाना रङ्ग-विरङ्ग ले भुवन यो सिंगारदै बेसरी ॥
नाङ्गा रूखहरू थिए जति सबै हाले नयाँ पालुवा।
हाँस्यो हेर मुसुक्क भू-तल उडे सेता सिमलका भुवा’॥
मीठो कण्ठ झिकेर हेर वनमा त्यो कोइली गाउँछे।
क्या राम्रो सुललित कण्ठ उसको सबलाई मुग्धाउँछे॥
गाउँदैछन् सरिता रमाइ वनमा वसन्तकै गीत रे।
पैह्री वस्त्र नयाँ आहा ! प्रकृतिले पोखी नयाँ प्रीत रे॥
आए लौ ऋतुराज फेरि जगमा छर्दै सुधा सृष्टिमा।
चम्क्यो यो धरणी सजाइ सपना प्रत्येकका दृष्टिमा॥
सांसारिक जनको छ भित्री मनमा आनन्दको सागर।
गर्छु स्वागत यो वसन्त ऋतुको योझैं अरू के छ र ?
डराईडराई कविता सरलाई देखाएँ. डराएको थिएँ यसको पनि ‘बन्दी चरीप्रति’ जस्तै गति हुने हो कि ! त्यसो भएन. तत्क्षणै हेरिदिएर भन्नु भयो, ‘राम्रो भएको छ.’ अलिकति मात्रा सच्चाइदिएर खिस्स हाँस्दै मलाई कविता फर्काइदिनुभो’. त्यो कविता वाराणसीबाट कुमारी अम्बिका सिजापतिको सम्पादनमा प्रकाशित हुने मासिक पत्रिका ‘आमा’-मा झन्डै दुई वर्षपछि सन् १९६३ मा छापियो. म त्यस कवितालाई नै मेरो पहिलो कविता भनेर मानिलिन्छु. त्यसपछि मलाई कविता लेख्ने र पुस्तक पढ्ने मात लागेको थियो. सन् १९८० सम्म प्राय: २००० जति लामा छोटा कविता लेखिएछन्. उन्मादै त थियो यो ! सन् १९८३ मा मेरो पहिलो कविता सङ्ग्रह ‘अनागत’ छाप्न खोज्दा तिनीहरूबाट २०/२५ वटा कविता छानेर अरू सबै जलाइदिएको थिएँ. मेरो कविता-यात्रा म आफैलाई पत्यार नलाग्ने उत्सबाट आरम्भ भएको थियो. मेरो पहिलो कथा ‘सत्य प्रेम’ थियो जो वाराणसीको ‘आमा’ पत्रिकामा नै छापिएको हो.
प्र. २. तपाईं किन लेख्नु हुन्छ ?
म समाजभित्र बाँचिरहेछु, त्यसभित्रका मानिसहरूसँग जडित छु भने मेरो भोगाइ, अनुभव, दु:ख-सुक्ख अरूसँग साझा गर्नु मेरो कर्तव्य मात्रै होइन दायित्व पनि बन्दछ. देश र विश्व-फाँटमा दिनहुँ मानव-कल्याणकारी र विघटनवादी घटनाहरू घटित भइरहेछन्. त्यसप्रति हुनुपर्ने सचेतनतालाई बचाइराख्नु प्रत्येक मानिसको आवश्यकता हो. त्यसको निर्वहन प्रत्येकले आ-आफ्नो प्रकारले गरिरहेको हुन्छ. त्यो मैले पनि गर्छु – चेतन अवस्थामा होस् वा अचेतन रूपमा. माध्यम कुनै पनि हुनसक्छ – नाटक, आख्यान, काव्यिक वा गीति प्रस्तुति. लेखेर, बोलेर वा नाटक गरेर. म लेखेर प्रस्तुत गर्छु. दिनहुँ बद्लिंदो समाज-व्यवस्थाले मलाई लेख्न बाध्य गराउँछ. बोल्न बाध्य गराउँछ. अनि म लेख्छु. केही पनि मेरो माध्यम बन्न सक्छ – गद्य, पद्य कुनै पनि. आवश्यकता अनुसार. तर त्यो लेखन र मेरो कार्य-प्रणाली गरिमाको घेरोबाट बाहिरिनु हुँदैन अनि सर्वग्राह्य हुनुपर्छ यो कुरा जान्दछु. ‘सत्यम् शिवम् सुन्दरम्-ले मण्डित यथार्थ मानिसका लागि सुपाच्य हुन्छ. साहित्यको यसै स्वरूपमा सबै कुरो निहित छ. लेख्दा साहित्यलाई ‘गिनिपिग’ बनाएर विद्वता- प्रकाशको पक्षधर नरही सरल, सहज, सुबोध भाषा-शैलीमा लेख्दा पाठकका लागि रम्य हुन्छ. म पाठकले थाहै नपाउने गरी उसलाई समाजको विभिन्न तहका स्वादहरू लिरहेको देख्न चाहन्छु. पाठकले मैले भनेका कुरा बुझ्न ढुङ्गा चपाउन नपरोस् त्यसप्रति सजग रहनु नै लेखकको धर्म हो भनेर मानिलिन्छु. साहित्यकार कुनै मसीहा होइन. कुनै उपदेशक पनि होइन. त्यसैले म मानिसलाई समाजप्रति उसको उपयोगितताबारे अजानित तवरमा भाइ पनि सचेत गराउनका लागि लेख्छु.
३. लेखकहरूको निश्चित दिनचर्या र चरित्र हुनुपर्छ। यस बारेमा तपाईँको दृष्टीभंगी के छ?
यस कुरोमा मतैक्य नहोला. निश्चित दिनचर्यामा बस्नु भनेको एउटा नियमित घेरोभित्र आफूलाई आबद्ध पार्नु हो. सके त राम्रो हो तर मबाट सम्भव हुन सकेको छैन. त्यसैले सबै सर्जकले त्यसै गर्नु पर्छ भनेर भन्न मिल्दैन. अँ, लेखन प्रक्रियासँग अध्ययनलाई पनि नियमित पार्नु आवश्यक हुँदोरहेछ. लहड चल्दा मात्र केही लेखिटोपलेर राम्रो सिर्जना गर्न सम्भव हुँदैन. सिर्जनालाई म तपस्या भनेर मानिलिन्छु. जसरी कुनै वर प्राप्तिका लागि अघिअघि कठोर तपस्या गर्थे त्यसरी नै सफल सिर्जनाका लागि नियमित लेखनको आवश्यकता पर्दो रहेछ.
लेखकको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरो आउँदा मलाई सतर्क हुन मन लाग्छ. यसबारे सबैको एउटै मत नभएको र यो एउटा तर्कको विषय पनि रहेको छ. भनिन्छ ‘साहित्य समाजको दर्पण हो.’ लेखकले साहित्यरूपी ऐनामा समाजको सटीक रूप प्रतिफलित गर्छ. लेखक आफै समाजको एउटा सदस्य भएको नाताले ऊ पनि त्यहाँ झल्किएको हुन्छ. उसको चरित्रबाट पाठक प्रभावित भएको हुन्छ. लेखकको चरित्र अनुसार समाज-निर्माणको बाटो खुल्दछ. चरित्रहीन साहित्यकारले स्वस्थ समाज-निर्माणको आधार निर्माण गर्न सक्दैन. यसप्रति साहित्यकार सचेत रहनु पर्छ--- मेरो मान्यता छ. तर सबैले मैले भनेको कुरोलाई मानिलिन्छन् भन्ने पनि छैन. त्यसले मलाई केही फरक पनि पर्दैन.
प्र. ४. सामग्रिक रूपमा तपाईँको लेखाईको मुलभूत संदेश के छ?
---- म ‘स्वान्त सुखाय:’- का लागि मात्र लेख्दिनँ. बोधगम्य, रम्य, यथार्थको रचना-माध्यमबाट देश, जाति र समाजका विभिन्न समस्यासँग पाठकलाई जोड्नु नै मेरो लेखनको अभिप्राय: रहन्छ. क्लिष्ट लेखनले पाठकलाई उदासीन पार्छ भन्ने मेरो धारणा छ. आखिर लेखन कसका लागि – पाठकका लागि न लेखक स्वयम्-का लागि ? योँ यक्ष प्रश्न सधैं मेरा अघिल्तिर तेर्सिएको हुन्छ.
प्र. ५. पूर्वांञ्चलको नेपाली साहित्यको स्थिति के छ?
कुनै पनि विषयको मापदण्ड निर्धारण गर्न जाँदा त्यसलाई अन्य क्षेत्रसँग जोडेर सापेक्षिक दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ. साहित्य-लेखनको विकासमा पनि त्यही कुरो खट्छ.
आजको स्थिति जान्नका लागि आरम्भ-कालका केही बुँदाहरूको सामान्य आभास बुझिलिनु पनि आवश्यक पर्छ जस्तो लाग्छ. पूर्वाञ्चलमा नेपाली साहित्य लेखन को आरम्भ सन् १८९३ मा रचना गरिएको तुलाचन आलेको को ‘मणिपुरको सवाई’-बाट हुन्छ तापनि पूर्वाञ्चलमा नेपाली साहित्य-लेखनको उदय स्वातन्त्र्य कालबाट भएको आभास पाइन्छ. सन् १८९३ देखि सन् १९४७- माझको अर्धशताब्दीको अन्तराल अन्धकार मै रहेको भेटिन्छ. सामाजिक चेतनाको अभावमा मानिसहरू जीवन-निर्वाहको परिधिभित्र सीमित रहेर ‘कमाउनु अनि खानु’-मा नै आबद्ध रहेकाले सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक कुनै पनि प्रकारको मनग्गे चेतना पाउने स्रोत उनीहरूले पहिल्याउन सकेका थिएनन्. दार्जिलिङतिरबाट असममा ‘अखिल भारतीय गोर्खा लीग’ –को प्रवेश भएपछि मानिसहरूमा आफ्नो अस्तित्वको यथार्थबोध उत्पन्न हुँदै गयो. सङ्घ-संस्थाहरू खोलिन थाले. अधिकारका कुरा उठ्न थाले. सामाजिक कुसंस्कारहरूको पहिचान भयो. शिक्षाको मह्त्व बुझिन थाल्यो. सन् १९५० को दशकमा ‘डिगबोई नेपाली छात्र-सङ्घ’ र ‘दरङ नेपाली छात्र-सङ्घ’- यी दुई छात्र संस्थाले असममा साहित्यिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा ल्याएको जागरणले असमलगायत पूर्वाञ्चलको नेपाली समाजमा सचेतनताको नयाँ ढोका उघारिदियो. यस क्षेत्रमा ‘गोर्खालीग’-पछि ‘असम गोर्खा सम्मेलन’-को पनि ठुलो भूमिका छ. म आफू पढ्ने स्कुल (एओसी नेपाली एमई स्कुल, डिगबोई)-का प्रधान अध्यापक धर्मानन्द उपाध्यायलाई एकपल्ट मैले सोधेको थिएँ, ‘सर ! संस्थाहरूले वर्षेनी गरिहिंड्ने अधिवेशनहरूबाट धनको अपचयबाहेक अरू केही भएको छ र ?’
‘तैंले बुझ्दैनस्. यसबाट समाज र जातिमा ‘मोमेन्टम’ आउँछ.’ उहाँले भन्नु भएको थियो.
त्यतिखेर ‘मोमेन्टम’-को अर्थ नजान्ने मैले उहाँले भनेको बुझिनँ. कुरो सत्य थियो. समाजमा परिवर्तनको आधार निर्माण हुनथालेको थियो.
फलस्वरूप, सन् १९४८-मा गुवाहाटीबाट नरसिं थापाको सम्पादनमा पूर्वाञ्चलको पहिलो नेपाली पत्रिका ‘हिमाद्री’ प्रकाशित भयो. त्यसको दोस्रो अङ्क निस्केन तापनि पत्रिका-प्रकाशनको आधार त निर्माण भयो. डिगबोईबाट ‘डिगबोई नेपाली छात्र-सङ्घ’ को मुखपत्र ‘कोपिलो’ अनि ‘दरङ नेपाली छात्र-सङ्घ’-को ‘ब्रह्मपुत्र’ को प्रकाशनले असममा नेपाली साहित्यको क्षेत्रमा ठुलो आलोडनको सृष्टि गरेको थियो. ‘गोर्खा (हस्तलिखित)’ ‘प्रभात’, ‘मुक्ति’, ‘ऊषा’, ‘आशा’ ‘नवध्वनि’, ‘हिमालय’ जस्ता थुप्रै पत्रिकाहरूको लस्कर लाग्नुका साथै डिगबोई र गुवाहाटीमा सर्वप्रथम सन् १९५२-मा भानुजयन्ती पालन गरियो.
दार्जिलिङ, बनारस र नेपालतिरबाट पनि पुस्तक, पत्रपत्रिकाहरू असमतिर पुग्न थाले.
असममा नेपाली साहित्यको काल निर्धारण गर्न जाँदा पुष्पलाल उपाध्यायलाई. स्वाधीनतापछि नै नेपाली साहित्यको फेदीमा पाउने छन्. उनको ‘ऊषामञ्जरी’-ले साहित्य अकादमी पुरस्कार पनि प्राप्त ग-यो. पं. जगन्नाथ गुरागाञी का दुई पुस्तक ‘गुणरत्न माला’ र ‘गुणमणि माला’ लोकप्रिय छन्दोबद्ध काव्यकृति हुन् जसको रचना पचासकै दशकमा भएको थियो. पुष्पलाल उपाध्याय पनि छन्दमा नै कविता लेख्थे. यसरी असममा नेपाली साहित्यको उदय छन्दोबद्ध कविताबाट भएको छ. त्यसपछि डिगबोईबाट हरिभक्त कटुवाल, शिलाङबाट गोपीनारायण प्रधान, कृष्णप्रसाद ज्ञवाली यी त्रिमूर्तिले नेपाली साहित्यलाई दोस्रो अध्यायमा प्रवेश गराए. कृष्णप्रसाद ज्ञवाली छन्दमा कविता लेख्थे भने हरिभक्त कटुवाल अनि गोपीनारायण प्रधान मुक्त छन्दका पुरोधा थिए. असममा आख्यान-लेखनको अभाव खट्की नै रह्यो. लीलबहादुर क्षत्रीले यसको कमान सम्हालेर पचासकै दसकपछि ‘बसाइँ’ जस्तो लोकप्रिय उपन्यास लेखेर आफूलाई सफल उपन्यासकारको पङ्क्तिमा उभ्याए. तर अहिले पनि असममा आख्यान-लेखनको खडेरी मेटिएको छैन. लेखिंदै छ भने पनि नगन्य !
तेस्रो अध्यायमा बिंडो थाम्ने सर्जकहरूमा नव सापकोटा, भविलाल लामिछाने, अविनाश श्रेष्ठ आदि भेटिन्छन् भने अग्निबहादुर क्षेत्री, जशु सुब्बा, दुर्गाप्रसाद घिमिरे, द्रोण उपाध्याय, गीता उपाध्याय, खड्गबहादुर ‘अभागा’ (पछि के. बी, नेपाली), हरिप्रसाद गोर्खाराई, गोपालबहादुर नेपाली, युद्धवीर राणा, मोहन सुवेदी, श्याम लिवाङ, चन्द्रकला नेवार, माया ठकुरी, दिल साहनी, धर्मलाल भुसाल आदि सहयात्री हुन्.
सन् १९६९/७० तिर असममा नेपाली साहित्यको रूपरेखा अत्यन्त चहकिलो थियो. दार्जिलिङ, नेपालको समकक्ष पुग्ला-पुग्ला जस्तो ! स्थानीय असमिया साहित्यलाई पनि केही पाइला पछि राख्न सकिन्छ. जनजाति साहित्यको त कुरै छोडौं. एउटा आशलाग्दो स्थितिमा थियो नेपाली साहित्य.
कुनै पनि चिजको विकास हेर्दा सापेक्षिकरूपमा अर्को चिजसँग दाँजेर हेर्नुपर्ने हुन्छ. आज ठिक त्यसरी नै हाम्रो साहित्यलाई अन्य भारतीय भाषाहरूको साहित्यसँग दाँजेर हेर्न जाँदा अरू भाषाको साहित्य-लेखनले हाम्रो प्रचेष्टालाई उछिनेजस्तो छ. हाम्रो गति अत्यन्त धीमा र आलस्ययुक्त भेटिन्छ. काव्यपक्ष ठिकठाकै रहे पनि आख्यानको स्थिति उदासिन देखिन्छ. सङ्ख्यात्मक तवरमा पुस्तकहरूको प्रकाशन भइरहे तापनि गुणात्मक तवरमा हामी पछि नै छौं जस्तो लाग्छ मलाई. ‘कति पुस्तक प्रकाशित भएका छन् ?’ प्रश्नको उत्तरसँग ‘कस्ता पुस्तक प्रकाशित भएका छन् ?’ जस्ता प्रश्नको उत्तर पनि खोज्नु पर्ने हुन्छ कि. आज मोहन सुवेदी, रुद्र बराल, धर्मेन्द्र उपाध्याय, वैद्यनाथ उपाध्याय. इन्दुदेवी जस्ता सर्जक सक्रिय छन् र केही राम्रा पुस्तक पनि पढ्न पाइँदैछ तर यो गति यति धिमा छ कि प्रतिस्पर्धा को दौडमा उछिनेर अघि पुग्नु सजिलो छैन. असमेली नेपाली साहित्यका सर्जकलाई ज्यादै प्रयासको खाँचो छ. अध्ययन र लेखन बराबर चलिरहनु पर्छ. साहित्य-लेखन लहडको विषय नभएर साधनाको विषय हो भनेर मानिलिनु राम्रो हुन्छ.
प्र. ६. तपाईँले आदर्श मानेका लेखकहरू को को हुन?
आदर्शको रूपमा भित्र सधैं प्रख्यात कवि हरिभक्त कटुवाल र अग्निबहादुर क्षेत्रीलाई उपस्थित भेट्छु. उहाँहरू मेरा शिक्षागुरु पनि हुनुहुन्छ. त्यसैले नमन्य हुनुहुन्छ. तर म कसैवाट प्रभावित हुनुभन्दा आफ्नो छुट्टै फाँट निर्माण गर्न रुचाउँछु.
मैले मन पराउने सर्जकहरूको सङ्ख्या सीमित छैन. सर्जकभन्दा बढी उसको सिर्जना मन पराउने हुनाले त्यसमा घट-बढ भइरहन्छ. राम्रो लेख्ने बिभिन्न भाषी कुनै पनि क्षेत्रका सर्जकका कृति पढ्न समय निकाल्छु. सबैलाई उत्तिकै महत्व दिन्छु.
प्र. ८. तपाईँको दिनचर्या भन्नुपर्दा समयको व्यवस्थापन कसरी गर्नुहुन्छ?
सबैका आफ्नै प्रकारका दिनचर्या हुन्छन्. मेरो आफ्नै छ. तर रुटिनबद्ध पार्न सकेको छैन. घर, समाज, साथी-भाइ सबैतिर आफूलाई बाँड्नु पर्दा आफ्नो भागमा कहिलेकाहिं शून्य पर्दो रहेछ. त्यसै शून्यमाझ केही पढ्ने, केही लेख्ने गर्छु. मैले आफ्नो दायित्वलाई सबैतिर बराबरै भाग गर्छु.
प्र. ९. तपाईँलाई लेखनमा घर परिवारको सहयोग कस्तो रहेको छ?
धेरै परिवार जसरी आफ्नो परिवार पनि सिर्जनाप्रति अलिक उदासिन भइदिनु चैं अलिक कष्टकर नै हुँदोरहेछ. तर परिवारबाट कुनै बाधा उत्पन्न हुन म आफै नै दिन्नँ. लेख्न र पढ्न मलाई कसैले रोक्दैन. विशेषगरी धर्मपत्नीको सहयोगले धेरै हौसला दिन्छ. आफ्नो दायित्व पनि त मैले पूरा गर्नुपर्ने हुन्छ. साहित्य-रचनाबाहेक पनि त धेरै कुरा हुन्छन् गर्नुपर्ने !
प्र. १०. आफ्ना रचनाहरूमा श्रेष्ठ कुनलाई र किन मान्नुहुन्छ?
मेरो एउटा रोग छ – सन्तुष्ट नहुने. त्यसको निदान अझै पाएको छैन. एउटा रचना लेखेर प्रकाशित हुने बेलासम्म साह्रै राम्रो र अघिल्लो रचनाभन्दा धेरै राम्रो लेखेजस्तो लाग्छ. लेखेर प्रकाशित भएपछि च्यातेर मिल्काइदिने मन हुन्छ. त्यसैले मैले अझसम्म मलाई श्रेष्ठ लाग्ने रचना प्रस्तुत गर्न सकेको छैन. पाठक प्रतिक्रिया पाएपछि लाग्छ रचना ठिकै भएछ. मैले मेरालागि होइन, पाठकका लागि लेख्छु. त्यसैले मैले लेखेको रचनाको श्रेष्ठता जाँच्ने अधिकार पनि पाठकमाथि नै छोडिदिएको छु. म जिन्दगीभरि सिकिरहने मान्छे. श्रेष्ठ लेख्नलाई त सिकेको र जानेको हुनुपर्छ.
प्र. ११. लेखकहरूमा अध्ययन, चिन्तन र मननको खडेरी अवस्थाको विषयमा के भन्नुहुन्छ?
हिन्दीका प्रख्यात कथाकार/उपन्यासकार कमलेश्वरलाई एकपल्ट कुनै पत्रकारले सोधेछ, ‘तपाईं यति राम्रो लेख्नुहुन्छ. अध्ययन पनि गर्नुहुन्छ होला ?’ गम्भीर भएर कमलेश्वरले उत्तर दिएछन्, ‘अध्ययन त गर्नै पर्छ. म धेरै पढ्छु, थोरै लेख्छु.’
‘त्यसो भए तपाईंले ती पुस्तकहरू पढेर लेख्ने सामल भेट्नुहुन्छ ?’ पत्रकारको दोस्रो प्रश्न.
‘भेट्छु. सामल भेट्छु. म पुस्तकहरू पढ्छु र थाहा पाउँछु के के लेखिएका छन् अनि म कतै नलेखिएका कुरा पहिल्याएर लेख्न बस्छु.’
कमलेश्वरको भनाइले पत्रकार नाजवाफ भएछन्.
मेरो गुरु-मन्त्र पनि त्यही हो. मलाई लाग्छ हाम्रा धेरैजसो लेखकहरू साह्रै सीमित मात्रामा पढ्छन्. चिन्तन र मननको कुरो त पछि आउँछ. सबैलाई छिट्छिटो लेखेर रचना प्रकाश गरिहाल्नुमा जोर हुन्छ. पठन, चिन्तन र मनन नगरी लेखिएको रचना एउटा विशेष घेरोबाट बाहिरिन सक्दैन. यसको खडेरीले गर्दा पनि होला अहिले सम्म भारतेली नेपाली साहित्यमा कुनै माइलखुटी गाड्न सक्ने रचना नलेखिएका ! हाम्रा रचना आञ्चलिकताको घेरोबाट पनि बाहिरिन सक्नुपर्छ.
प्र. १२. साहित्यका पाठकहरू बढाउनमा के गर्नुपर्छ भन्ने तपाईँको विचार रहेको छ?
‘हाम्रा पाठकले पुस्तक पढ्दैनन्’ भनेर सारा दोष हामी पाठकमाथि नै खनाउँदै आएका छौं.
तर यो एउटा गहन विषय हो र यसबारे कतिपय बुँदाहरूलाई ध्यानमा राखेर सबैले मनन गर्नुपर्ने भएको छ –
(क) पाठकको चाहिदा : लेखकले सधैं यो जान्नुपर्ने हुन्छ कि पाठकलाई केको भोक छ. उसले रुच्ने पो खान्छ. नरुचे त्यसप्रति उदासिन हुनु स्वाभाविक हो. रचनाले पाठकको सान्निध्य पाउने गुण लिएको हुनुपर्छ. पाठकले सधैं रचनामा आफ्नो उपस्थिति चाहन्छ.
(ख) क्लिष्ट लेखन : पाठक सधैं सहज र बोधगम्य रचना पढ्न रुचाउँछ. पढेर त्यहाँ रम्न चाहन्छ. दाँत भाँचिने गरी चबाएर खाना किन खानु ? प्रयोगमूलक रचना पुस्तकालय र गवेषणाका लागि काम लाग्न सक्छन्. साधारण पाठकले त्यस्ता रचना पढ्न रुचाउँदैनन्
(ग) पुस्तक पसलहरू नराखिनु : पुस्तक बिक्री हुँदैनन् भनेर मानिसहरू पुस्तक पसल खोल्न मान्दैनन्. दुई चारवटा पसल क़तई छन् भने पनि बिक्री हुन्न भन्ने गुनासो सुनिन्छ. पुस्तक बेचिनु भनेको अन्य सामग्री बेचिने जस्तै व्यवसाय हो. जसरी चाहिदा छ र आवश्यकता अनुभव हुन्छ भने पुस्तक खोज्दै पसलसम्म मानिस पुगेको देखिएको छ. व्यवसायीले कडा मिहिनेत गरेर खट्न सक्छ भने पुस्तक बिक्री नहुने कुरै छैन.
आज नेपाल विशेष गरी काठमाडौं, पोखरातिर लेखकहरू अब लेखेर बाँच्न सकिने भइयो भनेको सुनिन्छ. सहरमा मनग्गे पुस्तक-पसल देख्न पाइन्छन्. बिक्री नहुने भए एउटै सहरमा चार/पाँचवटा पसल किन राखिन्थे ! त्यो पसलेको व्यावसायिक निपुणतामाथि निर्भर गर्छ. राम्रो पुस्तक खोजेर मानिस पसल-पसल भौंतारिएको पनि देख्न पाइन्छ. यसरी लेखक, प्रकाशक अनि विक्रेताको सामंजस्य मिल्न गएको खण्डमा पुस्तक बिक्री हुँदैन भनेर मिल्दैन. राम्रा पुस्तक पुस्तकालयतिर पनि जान्छन्. आवश्यकता छ राम्रो लेखन, साहसिक प्रकाशन, विशद तवरमा प्रचार-प्रसार अनि पसलेको व्यावसायिक निपुणताको जो हामीमा छैन. यसका लागि साधारण पाठक मात्र दोषी छैनन्. यी कुराहरूमा पहल र प्रयास गर्नु हो भने अरू भाषाका पुस्तकजसरी नेपाली पुस्तकको पनि बिक्री हुन्छ. सचेत पाठक मात्र होइन, लेखक, प्रकाशक, वितरक, विक्रेता सबै नै हुनुपर्छ.
प्र. १२. असममा नेपाली लेखनको स्तर कस्तो छ?
आञ्चलिकताको प्रभावमा धेरै रहेता पनि यतिखेर असममा लेखन-प्रतिभाले विकसित रूप पाइरहेको छ. पुस्तक, पत्र-पत्रिकाको अध्ययनका लागि समय दिन नसक्नु लेखन-मापद्ण्डमा विकास नपाउनुको एउटा कारना हुनसक्छ. विभिन्न चल-खेल हुँदाहुँदै पनि असमतिर राम्रो लेखनले गति पाइरहेछ यो एउटा सकरात्मक पक्ष हो. मलाई लाग्छ अब असम कसैको काँध नसमाती पनि अघि बढ्न सक्छ. आरम्भमा अलिक सुस्त हुनु स्वाभाविक हो. तर यसको भविष्य सुकिलो छ.
प्र. १३. के तपाई आफूले बाँचेको जीवनबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्टि भनेको समाप्ति हो. म कहिल्यै सन्तुष्ट रहिनँ र लाग्छ यहाँसम्म आइपुगें.
हिंडिरहनु नै जीवन हो. यसलाई म सन्तुष्टिको घुमतीमा बिसाउ चाहन्नँ. असन्तुष्ट रहेर प्राप्तिका लागि सङ्घर्ष गरिरहन रुचाउँछु.
प्र. १४. तपाईको जीवनमा अध्यात्मको के कस्तो प्रभाव छ?
मलाई नाश्तिक हुनुमा कुनै रुचि छैन. तर देवि-देउता भाकेर, पूजा-अर्चनातिर लागी कर्मविमुख अनि अन्धधर्मी हुन म कदापि चाहन्नँ. यति ठुलो ब्रह्माण्डलाई सम्यक रूपमा नियमित संचालन गर्ने कुनै न कुनै महाशक्ति हुनुपर्छ म त्यसको अस्तित्वलाई स्वीकार गर्छु. तर एउटा काल्पनिक अधार बनाएर पूजा-पाठ, तीर्थ-व्रत गरिहिंड्नु चैं मलाई पाखण्ड जस्तो लाग्छ. म भगवानका बारेमा भन्दा मानिसका बारेमा धेरै सोच्छु. लोक-कल्याणमाथि आस्था राख्छु. म नाश्तिक त हुँदै होइनँ तर अन्धो आस्तिक पनि होइन. ईश्वरकै कुरो गर्ने हो भने पनि उसले त हामीलाई उपहारमा सुन्दर सृष्टि दिएको छ. त्यसको अस्तित्व बनाइराख्नु पनि हाम्रो कर्तव्य हो. त्यस भावनालाई अध्यात्म भनिन्छ भने ममा अध्यात्मको स्वरूप होला तर धर्मान्धता पटक्कै छैन.