17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आत्मकथा बेचेर उद्योग सञ्चालन गर्ने महावीर !

कृति/समीक्षा प्रा. डा. विष्णु प्रसाद पौडेल July 8, 2024, 5:03 pm
प्रा. डा. विष्णु प्रसाद पौडेल
प्रा. डा. विष्णु प्रसाद पौडेल

विषय प्रवेश
पाठकलाई लाग्ला नेपाली समाजमा यो कस्तो अतिशयोक्तिपूर्ण शीर्षक ! तर होइन, यो पूरै यथार्थ रहेछ । हुन त नेपाली समाजमा पठन संस्कृतिको खासै विकास नभएको हुँदा लेखेर बाँच्न सजिलो छैन भन्ने भनाइ धेरै नै चलेको छ । तर यही परिवेशमा लाखौं प्रति आत्मकथा बेचेर करोडौँ रूपया आम्दानी गरी त्यसैले नेपाल सरकारले विगत ३० वर्षदेखि बन्द गरेको उद्योग सञ्चालन गर्न लागिएको कुरा सुन्दा धेरैलाई आश्चर्यमा पारेको छ ।
अहिले धेरै नै सोचविचारी लेखेको किताब पनि बिकाउन केन्द्रदेखि प्रदेशहरूमा भव्य कार्यक्रम गरी सार्वजनिक गर्ने काममा प्रकाशक र लेखकले निकै मिहिनेत गर्ने गरेको देखिन्छ । कतिले त सहरहरूमा होडिङ्बोडका विज्ञापन पनि राखेको पाइन्छ । युगै विज्ञापनको भएर होला कृतिको गुरुत्वभन्दा विज्ञापनको आकर्षणले पाठक तान्ने अनौठो संस्कृति विकास गरिएको छ । यति गर्दा पनि कतिपय कृति बर्सौसम्म हजारप्रति पनि नबिकेको गुनासो (प्रकाशक र लेखकको) सुनिन्छ । यस्तो परिवेशमा कृति सार्वजनिकको कुनै औपचारिक कार्यक्रम नै नगरी प्रेसबाट ल्याएर खुरुखुरु बेच्दा नै यो आत्मकथा पाँच महिना (२०८० असोजदेखि माघसम्म) मा पचास हजारप्रति बिकेको बुझिन्छ । त्यसपछि लेखक स्वयं काठमाडौँबाहिरका केही सहरमा गएर बेच्दा गत वैशाखसम्ममा ८८ हजार प्रति बिकिसकेको कुरा कृतिका लेखकले रूपन्देहीमा भनेको थिए । अहिलेसम्म त यसका एक लाख प्रति बिकिसकेका हुनुपर्छ । लेखकका अनुसार यो आत्मकथा एक लाख प्रति बेच्दा पाँच करोड आम्दानी हुने र यसका तीन लाख प्रति बिक्ने उनको अनुमान छ । यसबाट आउने पन्ध्र करोड रकमले विगत तिस वर्षदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा ल्याउने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षको भनाइ छ ।
ती अध्यक्षको नाम नै महावीर पुन हो र यो उनैको आत्मकथा हो । यसको नाम ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा (आत्मकथा)’ रहेको छ । यसको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र नै हो । ३०६ पृष्ठको यस आत्मकथाको मूल्य रु ७५०/ रहेको छ । यसलाई लेखकले जम्मा २८ दिन लगाएर लेखेको बुझिन्छ । यो उनको अहिलेको योजनाभित्रको लेखन थिएन । बुढेस कालमा जीवन धान्ने स्रोत नहुँदा आत्मकथा लेखेर त्यसैले धान्नुपर्ला भन्ने उनको भित्री सोच थियो (पृ. आ) तर कृषि औजार कारखाना सञ्चालनका लागि सरकारले दिने भनेको रकम नदिँदा उनीसँग भएको पोखराको निजी जग्गा र विदेशीले दिएका पुरस्कारहरू (रोमन म्यागसेसे, ओभरअल सोसल इनोभेसन् अवार्ड, इन्टरनेट हल अफ फेम पदक, जोनाथन बी. पोस्टेल सर्भिस अवार्ड, आइटियु एजे पदक, आदि) पनि नबिकेका हुँदा बाध्य भएर उनले अहिले यो काम गर्नु परेको जनाएका छन् (पृ.इ) । अवैध पैसा कमाउन आफ्नो देशका नागरिकहरूलाई नै शरणार्थी बनाएर बेच्न पनि तत्पर राज्य संयन्त्र भएको वर्तमान समयमा निजी सम्पत्ति र जीवन नै राष्ट्रका लागि समर्पित गर्ने पुनको उक्त महान् कार्यलाई शब्दले जति सम्मान गरे पनि थोरै नै हुनेछ ।
त्यसो त नेपाल सरकारबाट पनि उनलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप, गण्डकी प्रदेशबाट गण्डकी तारा, वाग्मती प्रदेशबाट नवप्रवर्तन पदक जस्ता पुरस्कारले सम्मान गरेको पाइन्छ । ती पनि उनले बेच्न चाहेका थिए तर नेपाल सरकारबाट वितरण गरिएका कुनै पदक बेच्न नपाइने सरकारले जनाएको हुँदा उनले तिनलाई बिक्रीमा राखेनन् ।
नेपालका विभिन्न संघसंस्थाहरूबाट दिएका पुरस्कारहरूको त धेरै नै लामो फेरिहिस्त छ । पछि त उनले “अबदेखि मलाई कसैले पनि सम्मान र पुरस्कार नदिनु होला” (पृ.१५५) भन्ने घोषणा नै गरेका थिए । विभिन्न सेटिङ् मिलाएर पुरस्कार हत्याउने यस युगमा पुन त्यसका विशिष्ट अपवाद हुन् ।
विषय विस्तार
महावीरका बारेमा उनकै आत्मकथाले धेरै जानकारी दिन्छ । त्यसअनुसार उनी दृढनिश्चयी स्वभावका कर्मशील मानव हुन् । आफ्नो ब्रह्मले देखेको कुरा निर्भीक भई भन्ने र त्यसैमा लागिरहने उनको निजीपन हो । म्याग्दीको पहाडी ग्रामीण क्षेत्रको अशिक्षित निम्नमध्यम वर्गीय लाहुरे परिवारमा जन्मेहुर्केका, त्यहीँको सामान्य स्कुलमा प्रारम्भिक शिक्षा हासिल गरेका, हाईस्कुल पढ्न पोखरामा सम्भव नभएपछि चितवन आफन्त कहाँ पुगेका र त्यहाँबाट दुई घन्टाको दुरीमा रहेको सरकारी स्कुलमा दैनिक धाएर निकै दुख झेली पढेका, हाईस्कुल पढ्दा बल्ल चप्पल लाउन पाएका, प्रवेशिका तह (यस् यल् सी) मा कक्षाको पहिलो नै भएका, बाबुले आफन्तीलाई काठमाडौको अमृत साइन्स कलेजमा पढ्नका लागि परिबन्द मिलाइदिन अनुनय गरेपछि उनकै सहयोगमा त्यहाँको प्रवेश परीक्षा दिन गएका र नाम निकालेर पढ्न थालेका तर अङ्ग्रेजी भाषामा मात्रै पढाइने हुँदा बुझ्न धेरै कठिन भएको र द्वितीय श्रेणीमा आइ एस्सी उत्तीर्ण गरेका, त्यसले गर्दा थप अध्ययनका लागि छात्रवृत्ति उपलब्ध हुने स्थिति नरहेको, पैसा तिरेर पढ्न सक्ने अवस्था घरको नहुँदा चितवनको घर फर्केका, त्यहीँ विभिन्न स्कुलमा २०३० देखि २०४३ सालसम्म विज्ञान विषय पढाएका तर शिक्षक आन्दोलनको निहुँमा अकारण सिडियोले दुख दिएको हुँदा जागिर छाडेर काठमाडौँ लागेका, त्यहाँ कुनै काम नपाएपछि साथीकै सूचना अनुसार अमेरिका जाने तयारीमा लागेका, लामै समय त्यसमा बितिरहेको भए पनि कुनै सम्भावना नभेटिएको, बुबा अकस्मात् गम्भीर बिरामी भएर काठमाडौँ लानु परेको, क्यान्सरले गालिसकेको हुँदा बुबाको उपचार नहुने देखिएको, त्यसैले उनलाई चितवनै फर्काइएको र केही दिनमै बुबाले सबैलाई छाडेर गएका, केही दिनपछि पुन पुनः काठमाडौँ फर्किएर अमेरिका जाने धुनमै लागिरहेका र धेरै हन्डर सहेपछि अन्ततः २०४५ सालमा पूर्ण छात्रवृत्तिमा चार वर्षका लागि अमेरिका हिँडेका तर यात्रामा र अमेरिकामा पनि नसोचेका अनेक समस्याहरू आइलागेका, तिनलाई जसरी तसरी छिचली २०४९ सालमा आफ्नो अध्ययन पूरा गरी उनी नेपाल फर्केका, फर्केपछि आफ्नो जन्मथलोमा पुगी आफूले पढेको स्कुल निर्माण र त्यसको स्थायित्वका लागि स्थानीय समुदायसँग मिलेर अनेक कार्यक्रम सञ्चालन गरेका, त्यस्तै गाउँमा स्वास्थ्य, सञ्चार (इन्टरनेट) सेवा र आय आर्जनका लागि देश विदेशमा सम्पर्क गरी स्थानीय बासिन्दा समक्ष अनेक कार्यक्रम (चौरी र भेडा पालन, पर्यटन व्यवसाय विस्तारका लागि विभिन्न टे«किङ रुटको विस्तार, सामुदायिक पर्यटक लजहरूको निर्माण, पर्यटक नहराऊन् भनी ट्राकिङ गर्ने उपकरणको जडान, स्थानीय सांस्कृतिक सङ्ग्रालय र गुराँस पार्कको निर्माणको प्रयत्न आदि) ल्याएका र समुदायकै सक्रियतामा तिनलाई बढाएका, देशकै प्रमुख सहरमा इन्टरनेट पुग्न नसकेको अवस्थामा उनको सक्रियतामा म्याग्दीको दुर्गम इलाकामा समेत वायरलेस सञ्जाल र इन्टर नेट पु¥याएका, इन्टर नेटको उपयोग स्वास्थ्योपचारमा समेत (टेली मेडिसियनका रूपमा) गरेका, त्यसपछि उनको चर्चा देशविदेशमा चुलिन थालेको, उनले निरन्तर पिछडिएको ग्रामीण समुदायको उन्नतिका लागि गरेको रचनात्मक सेवा देखेर उनलाई विदेशीहरूले अनेक अन्तर्राष्ट्रिय स्तरका पदक र सम्मान प्रदान गरेका, त्यसपछि म्याग्दीबाहिरका नेपालीले पनि उनको सामर्थ्य बुझ्न थालेका अनि सरकार र विभिन्न सङ्घसंस्थाले पनि सम्मान गर्न थालेका जस्ता कुरा यहाँ आएका छन् ।
त्यसरी देश विदेशबाट सम्मानित पुन सन्तुष्ट भएर बस्नुपर्ने हो तर समाजको अवस्था देख्दै जाँदा उनलाई सन्तोष भएन । जति नै प्रयत्न गरे पनि उनी जन्मेहुर्केको गाउँ र स्कुलमा युवाहरूको अभाव खड्किन थाल्यो । त्यो स्थिति त्यहाँ मात्रै नभई देशैभर देखियो । देशको अर्थतन्त्र दुर्बल भएपछि रोजगारी लगायत अरू धेरै कुराका सम्भावना देखिएनन् । देशमा विदेशी हस्तक्षेप पनि बढि नै रह्यो । त्यो देखेर उनी यो निष्कर्षमा पुगे “जबसम्म देश आर्थिक रूपमा समृद्ध हुँदैन (तबसम्म ?) विदेशी चलखेल र हस्तक्षेप जस्ता घटना÷दुर्घटना नेपालमा भई नै रहनेछन् र देशमा अशान्ति भइरहने छ” (पृ.१८४) । यसपछि पुन आफ्नो जन्म थलोको समस्याबाट बाहिर निस्केर राष्ट्रिय समस्याको दीर्घकालीन समाधानका लागि अग्रसर भए । त्यसैका लागि उनले विभिन्न समृद्ध राष्ट्रको समृद्धिको रहस्य अध्ययन गरेर राष्ट्रिय आविष्कार केन्द्र (नेसनल इनोभेसन सेन्टर) को निर्माण गरे । यो सिर्जनशील युवाहरूलाई वैज्ञानिक विधिबाट आविष्कार गरिएका कुराहरू खोतलखातल गरी राम्रो अध्ययन गरेपछि हाम्रो आवश्यकता अनुसार त्यसलाई नवप्रवर्तन गर्न प्रेरित गर्ने संस्था हो । नवप्रवर्तकहरू नै कालान्तरमा नव आविष्कारकको तहमा पुग्ने अपेक्षा पनि यसको छ । सिर्जनशील युवाहरूलाई जबसम्म विज्ञान र प्रविधिको नवप्रवर्तन र आविष्कारमा केन्द्रित गरिन्न तबसम्म देशको अर्थतन्त्रमा सुधार नहुने भएको र त्यो नभएसम्म न त युवा स्वदेशमा बस्ने न त देशकै अस्तित्व बचाउन सकिने देखेर अहिले उनी यस काममा अहोरात्र एकोहोरिएर लागेका छन् । राज्यले कुल गार्हस्थ्य उत्पादन (जी डी पी) को एक प्रतिशत रकम यस्तो कामका लागि छुट्याउनुपर्ने कुराका लागि उनी अनशन पनि बसेका थिए र व्यापक जनदबाब सिर्जना हुँदा राज्यले उनको मागलाई सकारेर सम्झौता पनि गरेको थियो (पृ.२९०) तर व्यहारमा भने ल्याउन अनेक आनाकानी गरेको हुँदा उनको दुखेसो रहेको छ ।
पुन नेपालको अर्थतन्त्र कमजोर हुनुमा राजनैतिक अस्थिरता, भौगोलिक विकटता, समुद्रबाट टाढा हुनु, भ्रष्टाचार, नातावाद, विदेशी शक्तिहरूको हस्तक्षेप र चलखेल जस्ता कुराभन्दा पनि आविष्कार, अनुसन्धान र नवप्रवर्तनको महत्त्व बुझेका र सुशासनका लागि दरो अडान लिन सक्ने शासक नै नहुनुलाई मूल कारण मान्दछन् । यदि दक्षिण कोरियाका पार्क चुङ्ग ही, सिङ्गापुरका ली क्वान यिउ, मलेसियाका महाथिर महम्मद र चीनका तङ सियाओ फिङ जस्ता प्रधान मन्त्री यो देशले पाउने हो भने ती देशभन्दा यो धेरै अघि जाने उनको आकलन छ । त्यसैले देश साच्चै बचाउने हो भने कुरामात्रै काटेर बस्ने स्वभाव छाडी नेपालीहरूले त्यस्तो नेतृत्व छनोट गरुन् भन्ने अपेक्षा पनि उनको देखिन्छ ।
पुनको यस आत्मकथामा उनको व्यक्तिजीवनीभन्दा पनि उनले समाजका लागि केही गर्न खोज्दा झेलेका जटिलतम समस्याहरूको बयान बढी छ । त्यसैले यो अरू आत्मकथाभन्दा निकै फरक छ । यसमा देशबाट पलायन हुँदै गएका युवाहरू र देशको झन्झन् गिर्दो अवस्थाप्रति गहिरो चिन्ता र छटपटी त छँदैछ । त्यसबाहेक त्यस्तो अवस्थामा पु¥याउनेप्रति ठाउँ ठाउँमा चेतावनी र आक्रोश पनि छ । साथै समस्या देखाएर हात बाँधेर बसिएको छैन । तिनको समाधानका प्रयत्न पनि गरिएको छ र अरूलाई पनि समस्या समाधानमा लाग्न आह्वान नै गरिएको छ । विशेषतः सिर्जनशील क्षमता भएका युवाहरूलाई विदेश पलायन नभई आफ्नै देशमा रहेर देशका लागि केही गर्ने परिवेश निर्माणमा यो लागेको छ । यसले युवाहरूलाई प्रोत्साहित गरेको छ । निजी स्वार्थभन्दा माथि उठेर नागरिकले समाज र देशका लागि केही गर्नुपर्छ भन्ने यसको सन्देश छ । सन्देशमात्रै होइन पुनको जीवन नै त्यसको सशक्त उदाहरण बनेको छ ।

विषय निष्कर्ष
नेपाली पाठक अहिले आदर्शको फलाको गर्नेहरूप्रति भन्दा आदर्श जीवन बाँचेर धरातलीय यथार्थ लेख्नेप्रति आकर्षित देखिएका छन् । नेपाली समाज गुणग्राही छैन भन्ने लेखकहरूलाई यसले दरो झापड हानेको छ । तिम्रो सिर्जनशीलता समाजका लागि हो भन्ने प्रमाणित गर्न सक्यौ भने समाज तिमीप्रति यति धेरै उदार पनि हुन सक्छ भन्ने यो उदाहरण बनेको छ । नत्र त यति छोटो समय (दश महिना) मा करिब एक लाख प्रति कृति बिकेर करोडौँको कारोबार कसरी हुन सक्थ्यो र ? निश्चय नै यस कृतिले नेपाली समाजमा दोहोरो सकारात्मक प्रभाव विस्तार गर्ने देखिएको छ । पहिलो हो यसबाट उठेको रकमले विगत तिस वर्षदेखि बन्द भएको कृषि प्रधान देशको वीरगञ्ज कृषि औजार कारखानाको सञ्चालन । दोस्रो हो नितान्त वैयक्तिक स्वार्थवश बाटो बिराउँदै गएको राजनीतिक नेतृत्व र कुटिल कर्मचारी तन्त्रका कारण निराश भई देशबाट पलायन भइरहेको युवापुस्तालाई देशमै अड्याउन छरेको आशाको किरण ।
अन्त्यमा ६९ वर्षीय महावीर पुनको यस आत्मकथाले हाम्रा सर्जकहरूलाई मात्रै होइन, राजनेता, प्रशासक, विश्वविद्यालय, प्राध्यापक, अर्थशास्त्री, समाजशास्त्री, संस्कृतिविज्ञलगायत देशका बारेमा सोच्छु भन्ने धेरैको क्षमतामा गम्भीर प्रश्न उठाएको छ । कृतिमा उठाइएका प्रश्न भन्दा अझ गम्भीर चुनौती त समाज र देशप्रति समर्पित उनको व्यावहारिक जीवन देखिएको छ । आफ्नो बोलीको ओज व्यवहारले मात्रै कायम गर्छ भन्ने कुरा यसबाट प्रमाणित भएको छ । के हाम्रो तथाकथित सभ्य समाजले यो गूढज्ञान आत्मसात् गर्दै जाला त ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।