19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यो रात

कविता ज्योति जगंल November 19, 2008, 6:38 am

अध्यारोको साङ्लोमा

लमतन्न बेहोस छ,

र निशब्द निदाएको बहाना गर्छ यो रात

हज्जारौं सपनाहरु

हज्जारौं तलाका महल उक्लन्छन्

बन्द आँखामा,

कोशौं टाढाको मित्र

सेकेण्डभर छेवैमा आइपुग्छ

टाउकाको क्षितिजमा उडेर ।

खै देवताहरु के गर्छन् ?

ड्युटीको सिपाही बन्दुक नचलाई

सपनाको हत्या गरिरहन्छ.।

कुन अनुसाशनमा उभिन्छन्

चुपचाप रुखहरु र थाम्छन् जङ्गंल

कसलाई राख्छन् अध्यारोले झपक्क बन्द गरेर

लज्जावती झारका आँखाहरु ?

अँध्यारोको पर्दामा कसरी जोगाउँदो हो ?

फूलले लोभलाग्दो रङ्ग...

कहाँ सुते ती चरा ?

त्यो सडक पेटीको अपाङ्ग भिखारी

जतापनि बोल्दै हिँड्ने त्यो पागल ।

घरहरुले ढोका लगाएपछि

ती बाटाहरु पनि सुते होलान्

कैदबाट छुटेर सपनामा

कैदीहरु घरमै पुगेहोलान् ।

पटक पटक कोल्टे फेर्दो हो र्

भर्खर प्रेम बसेको जवानी

सन्तुष्ट आमा नानीको ओड्नेले

निन्द्रा छोपिरहेकी छे

अभाव या तृष्णा

चोर्नेहरुको दाउ पर्यो कि परेन ?

एकान्त लेख्न बसेको कलम

अक्षरहरुमा सर्यो कि सरेन ?

विरामी मात्र एक्लै व्यथा सहिरहेको छ..

अँध्यारोमा आँखा देख्नेले

कुन सौर्न्दर्य हेरिरहेको छ ?

डरलाग्दा आवाज निकाल्ने

हिंस्रक अस्तित्व

भुँइभरि सल्बलाउने कीराहरु

कहिल्यै विश्राम लिदैंनन्...

निदाउनेहरुलाई मात्र

समयको गति ढाँटिरहेको यो रात

अनिदाहरुलाई

न भय बाँड्न सक्छ ?

न सपना बाँड्न सक्छ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।