19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चेसको गोटी

कविता चन्द्रबहादुर लामा July 11, 2024, 5:45 am
चन्द्रबहादुर लामा
चन्द्रबहादुर लामा

यो शताब्दी हो
एक बीस र एकको
यो शताब्दीमा
सुसज्जित छौँ हामी
पाउनुपर्ने हरेक अधिकारले
र तिनलाई जोगाउन
तैनाथ छन्
अनेक संघ र संस्थाहरू

र, हामी उभिएका छौँ
१४७५१६ वर्ग किलोमिटर भित्र
जसरी उभिएका छन्
राजा, मन्त्री र विभिन्न पदका
विभिन्न अख्तियार पाएका भारदारहरु
र सिपाहीहरू
६४ वर्गहरूको
एउटा सिङ्गो सानो वर्ग भित्र
बिर्सेर आफ्नो तार्किकतालाई
र आफ्नै चाललाई

ती अधिकारहरू
जो हाम्रा नाममा छन्
ती आफै देख्न नसक्ने छन्
आफै बोल्न नसक्ने छन्
आफै सुन्न नसक्ने छन्
र छन् आफै हिँड्नै नसक्ने
आफै उठ्नै नसक्ने
र उठाउनै नसक्ने

थुतेर हाम्रो जिब्रो
देखाएर धारा संविधानको
ऊ भन्छ
विचार र अभिव्यक्तिको स्वतन्त्रता
तिम्रो नाममा

काटेर हाम्रो पखेँटा
देखाउँदै आकाश
ऊ भन्छ
खुल्ला छ,
स्वतन्त्र छ,
र छ अनन्त।

बाँधेर कालो पट्टी
आँखामा हाम्रो
हाम्रै अघि
हामीले समाएको
न्यायको तराजु
बनाएर असन्तुलित
ऊ भन्छ
न्याय मूर्ति तिमी नै हो

छैन पटक्कै छैन
हाम्रा आफ्नै हात
हाम्रा आफ्नै खुट्टा
हाम्रा आफ्नै जिब्रो
हाम्रा आफ्नै आँखा

तय भएर अन्तै कतै
देखाइन्छ
सुनाइन्छ
बोलाइन्छ
चलाइन्छ
अरूका तर्कमा
हाम्रो चाल
चेसको गोटी जस्तै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।