18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार बिर्ख खडका डुवर्सेलीसँग कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय July 16, 2024, 6:13 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

बिर्ख खडका डुवर्सेलीको जन्म भारत-भूटानको सीमावर्ती पश्चिम बंगालको जलपाईगुडी जिला अन्तर्गत कटलगुडी चिया बगानमा सन 1954 सनमा भएको थियो। चिया बगानको प्राथमिक पाठशालाबाट हिन्दीमा शिक्षा शुरु भयो। स्थानीय आदर्श विद्या मन्दिर उच्च विद्यालयमा नौ-दश श्रेणीको विद्यार्थी जीवनबाट उन्ले हिन्दीमा लेख्न प्रारम्भ गरे। विद्यार्थी जीवनमा उनका रचनाहरू हिन्दी पत्रिका माधुरी, पराग, धर्मयुग, साप्ताहिक हिन्दुस्तान, मुक्ता, सरिता तथा कादम्बिनीमा छप्न थालेका थिए। दार्जिलिंग जिल्लाको सिलीगुडीको डॉ. आई. बी. थापा नेपाली उच्च विद्यालयमा शिक्षण कालमा उन्ले नेपालीबाट हिन्दीमा अनुवाद गर्ने र हिन्दीमा मौलिक लेखनको काम शुरु गरे। सिलिगुडीबाट प्रकाशित नेपाली दैनिक दार्जिलिंग टाइम्स, हिमाली आभा तथा सुनचरीको सम्पादन कार्यमा उहाँ संलग्न रहेका थिए। साहित्य अकादेमी द्वारा दिल्लीमा आयोजित राष्ट्रिय साहित्यिक अनुवाद कार्यशाला देखि बाहेक अरू धेरै कार्यशालाहरू तथा साहित्यिक संगोष्ठिहरूमा पनि उहाँले सहभागिता गर्नु भएको छ र साहित्य अकादेमीको लागि तीन पुस्तकहरू नेपालीबाट हिन्दीमा गर्नु भएको छ। साहित्य तथा पत्रकारिताको सेवाका लागि साहित्य सारस्वत तथा मेहरमान थापा स्मृति सम्मान एवं नेपाली साहित्य विमर्श हिन्दी पुस्तकका लागि उन्ले केंद्रीय हिंदी निदेशालयको राष्ट्रिय पुरस्कार हिन्दीतरभाषी हिन्दी लेखक पुरस्कार प्राप्त गरेका छन्। प्रस्तुत छ उहाँ सँग गरिएको साहित्यिक कुराकानीः

तपाईंको लेख्ने क्रम कहिलेबाट र कसरी सुरू गर्नुभयो? कुनै रोचक घटना या अनुप्रेरणा थियो कि?
बिर्ख खडका डुवर्सेलीः मैले कक्षा नौ-दशमा हुँदादेखि नै लेख्न शुरू गरेको थिएँ। पहिले हिन्दीमा लेखेँ अनि पछि आएर नेपालीमा पनि लेखेँ।

तपाई किन लेख्नुहुन्छ? कुनै रोचक घटना थियो कि?
बिर्ख खडका डुवर्सेलीः कुनै रोचक घटना वा अनुप्रेरणा मेरो जीवनमा छैन। केही भन्न र बुझाउन चाहने इच्छाले म लेख्ने गर्छु।

लेखकहरूको निश्चित दिनचर्या र चरित्र हुनुपर्छ। यस बारेमा तपाईँको दृष्टीभंगी के छ?
बिर्ख खडका डुवर्सेलीः आ-आफ्नो दिनचर्या अनि उद्देश्य हुन्छ होला। म मौका, विषय र समय पाए पछि लेख्ने गर्छु। कहिलेकाहीँ लेख्नै पर्ने बाध्यता पनि आउँदो रहेछ।

सामग्रिक रूपमा तपाईको लेखाईको मूलभूत संदेश के छ?
बिर्ख खडका डुवर्सेलीः सामग्रिक रूपमा मेरो लेखाईको उद्देश्य जनचेतना जगाउनु अनि राष्ट्रवादप्रति सचेत गराउनु रहेको छ।

पूर्वांचलको नेपाली साहित्यको स्थिति के छ?
बिर्ख खडका डुवर्सेलीः पूर्वांचलको नेपाली लेखन अरू भाषाहरूसँगै बढेकाले गर्दा विकसित लाग्छ।

तपाईले आदर्श मानेका लेखकहरू को को हुन?
बिर्ख खडका डुवर्सेलीः मैले आदर्श मानेका लेखकहरूमा प्रेमचंद, निराला अनि नेपालीमा आई. बी. राई हुन्।

तपाईको दिनचर्या भन्नुपर्दा समयको व्यवस्थापन कसरी गर्नुहुन्छ?
बिर्ख खडका डुवर्सेलीः समयको व्यवस्थापन निश्चित छैन, फुर्सद छ भने लेख्ने गर्छु।

तपाईको लेखनमा घर परिवारको सहयोग कस्तो रहेको छ?
बिर्ख खडका डुवर्सेलीः मेरो लेखनमा घर परिवारको कुनै सहयोग छैन।

आफ्ना रचनाहरूमा श्रेष्ठ कुनलाई र किन मान्नुहुन्छ?
बिर्ख खडका डुवर्सेलीः मेरा रचनाहरूमा नेपाली साहित्य विमर्शलाई श्रेष्ठ मान्छु।

लेखकहरूमा अध्ययन, चिन्तन र मननको खडेरी अवस्थाको विषयमा के भन्नुहुन्छ?
बिर्ख खडका डुवर्सेलीः नेपाली भाषाका लेखकहरूमा खडेरीको अवस्था बढी छ अरू भाषाका लेखकहरूभन्दा जस्तो लाग्छ।

साहित्यका पाठकहरू बढाउनमा के गर्नुपर्छ भन्ने तपाईको विचार रहेको छ?
बिर्ख खडका डुवर्सेलीः नेपालीमा साहित्यका पाठकहरू बढाउनु जटिल कुरो हो, घटदै जाँदैछन्। साहित्यिक गोष्ठीहरूमा सहभागी गराउँदा बढन सक्छन्।

असमको नेपाली लेखनको स्तर कस्तो छ?
बिर्ख खडका डुवर्सेलीः असमको नेपाली लेखनको स्तर उच्च छ भन्दा भूल हुँदैन।

के तपाई आफूले बाँचेको जीवनबाट सन्तुष्ट हुनुहुन्छ?
बिर्ख खडका डुवर्सेलीः आफूले बाँचेको जीवनबाट म सन्तुष्ट छुइन।

तपाईको जीवनमा अध्यात्मको के कस्तो प्रभाव छ?
बिर्ख खडका डुवर्सेलीः अध्यात्म मन पर्छ, पढछु, मनन चिन्तन गर्छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।