सूचना वा नवीन जानकारीप्रतिको मोह मानिसमा जहिले पनि छ । कुनै पनि विषयमा जान्न चाहनु मानिसको विशेषतै रहेछ । गाउँमा कसैको घरमा नयाँ मानिस आयो भने छरछिमेकका मानिसहरू जिज्ञासु हुन्छन्; आगन्तुकसंग चिनजान गर्न आतुर रहन्छन् । मलाई लाग्छ, छरछिमेकका मानिसहरू आगन्तुकसंग यसरी नजिक हुन खोज्नुको एउटा कारण नयाँ मानिससंग प्राप्त हुन सक्ने नयाँ जानकारीहरूप्रतिको आकर्षण हो ।
सिन्धुली जिल्लाको तीनपाटनस्थित हाम्रो घरमा २०२३ सालदेखि नै रेडियो थियो । ती दिनमा रेडियो गीतसंगीत र मनोरञ्जनको एक महत्वपूर्ण साधनका रुपमा थियो । हजुरबा र हजुरआमा धार्मिक कार्यक्रम सुन्नु हुन्थ्यो । ती दिनमा खेमराज केशव शरणका प्रवचन धेरै लोकप्रिय थिए । परिवारमा गीतसंगीतका अलावा नेपाली सैनिक कार्यक्रमका रुपक बढी सुन्ने गरिन्थ्यो । काकाबा गीतसंगीत र गीतिकथामा रत्तिनु भएको थियो । मेरो र काकाबाको रुचि मिल्थ्यो । म पनि त्यही सुन्थें । फाँटका किसानहरूकै गीत लिएर आउथें— धर्मराज थापा । यिनको स्वर खुबै रुचाइन्थ्यो । ‘ह .. ह.. तारे, ह.. ह.. माले..’ बोलको गीत तीनपाटनमा किसानहरूलाई आफ्नो गीत लाग्थ्यो । यिनको अर्को लोकप्रिय गीत थियो— ‘कान्छी रिमाई चौरी गाई...’ तारादेवी सुरिलो स्वरमा ‘कालिपारे दाइ कति राम्रो ...’ भन्दै आउँथिन् । काकाबाका प्रिय गायक थिए— नारायणगोपाल, माणिकरत्न, फत्तेमान र प्रेमध्वज प्रधान । म काकाबाकै पछि थिएँ । काकाबा समाचार जस्ता प्रसारणमा पनि ध्यान दिनु हुन्थ्यो । काकाबाका प्रिय रेडियो कार्यक्रम थिए— ‘साहित्य सन्सार’ ‘सुन्दर सुशील कार्यक्रम’, ‘सुनगाभा’ र ‘गीतिकथा’ । बा चै के सुन्नुहुन्थ्यो त ?
बा समाचार सुन्नुहुन्थ्यो । रेडियो भए पनि बाले ध्यान दिएर गीत सुन्नु भएको र गीत गुन्गुनाउनु भएको मलाई सम्झना छैन । धार्मिक प्रवचन र अन्य प्रहसनमा पनि बाले उति ध्यान दिएको मैले देखिनँ । रेडियोमा समाचार आउने बेलामा भने बा रेडियोको खोजी गर्नुहुन्थ्यो । कतै टाढा हुनुहुन्थ्यो भने बेग्लै कुरा; घर नजिकै हुनुहुन्थ्यो भने समाचार आउने बेलामा बा घरमा आउनु हुन्थ्यो । गफगाफमा हुनुहुन्थ्यो भने समयलाई सङ्केत गरेर बा भन्नु हुन्थ्यो— ‘समाचारको बेला भयो ।’
बाको सूचनाप्रतिको यस्तो आकर्षण सधै रह्यो । पछि सानो मामा शङ्कर घिमिरे र भिनाजु स्वर्गीय दामोदर काफ्ले जनकपुरबाट प्रकाशित हुने ‘नयाँ पाइलो’ साप्ताहिकको सम्पर्कमा पुग्नु भएछ । स्वर्गीय लेखनाथ शर्माले सम्पादन गर्दैआउनु भएको यस पत्रिकाको वार्षिक ग्राहक हुनुपर्छ भन्ने आग्रहलाई बाले अस्वीकार गर्नु भएन । उसै त साप्ताहिक पत्रिका, त्यसमाथि माध्यम— हुलाकको सामान्य डाक; छापिएको कयौं दिनपछि पुग्थ्यो— पत्रिका हाम्रो घरमा । तैपनि पत्रिकाले एक नयाँ रौनक सञ्चार गरेको हुन्थ्यो ।
नवीनतम् जानकारीप्रतिको बाको आकर्षणबाट हामी परिवारका सबै सदस्यहरूको व्यत्तित्व प्रभावित भएको थियो । यसको सबैभन्दा बढी सकरात्मक प्रभाव प¥यो— नारायणलाई । तीनचार कक्षामै पढ्दा नारायण सामान्य ज्ञानमा हामी कसैले पनि नसक्ने भइसकेको थियो । उसले पढ्ने माध्यमिक विद्यालयमा उसको टक्करमा आउन सक्ने कोही थिएन; जिल्लामा पनि उसको ख्याति विस्तार हुँदैथियो । तिनताका विद्यालयमा अतिरिक्त क्रियाकलापमा खासै ध्यान दिइदैनथ्यो र हाजिरजवाफ जस्ता कार्यक्रमहरू यदाकदा भए बेग्लै कुरा; नियमित हुँदैनथ्यो । यस्तो परिवेशमा बाको उत्प्रेरणा नै एक यस्तो स्रोत थियो; जसले नारायणलाई सामान्य ज्ञानका मोटामोटा किताब घोक्न र तथ्यहरू याद गर्न असामान्य रूपमा उत्प्रेरित गरेको थियो । नारायणको सामान्य ज्ञानमा पहुँच बिस्तार भएको देख्दा बा खुशी हुनुहुन्थ्यो ।
तीनपाटन छाडेर रौतहटको चन्द्रनिगाहपुर (अब चन्द्रपुर) बजारमा घर बनाएर स्थायी रूपमा बसोबास प्रारम्भ भएपछि स्थानीय दुई युवाहरू हाम्रो घरमा पुस्तक पसल राख्न कस्सिए । यी दुई युवा थिए— नेत्र थापा र यज्ञ थापा । नातामा यी सहोदर दाजुभाइ रहेछन् । यिनीहरूले साइनबोर्ड राखे— ‘नेसनल बुक हाउस ।’ नेसनल बुक हाउसबाट पुस्तकका साथसाथै दैनिक तथा साप्ताहिक पत्रिका पनि राखेर विक्री हुन थाल्यो । प्रारम्भका केही दिन बाले यस पसलबाट पत्रिकाहरू किनेर ल्याउनु भयो । पछि नेत्रले भने— ‘पत्रिका लैजानु, पढ्नु र ल्याइदिनु; किन्नु पर्दैन । ल्याउन चै पढी सकेपछि ल्याइदिनु होला; बिक्री गर्नु पर्छ ।’ बाको धेरैजसो समय अब पत्रिका पढेर बित्न थाल्यो । पहिले कुनै एक पत्रिका लैजानु हुन्थ्यो; त्यो पढी सकेपछि फिर्ता ल्याइदिनु हुन्थ्यो र अर्को लैजानु हुन्थ्यो । बालाई पत्रिका पढ्न सहज भयो ।
वीरगञ्जबाट घर फर्किने क्रममा पसाहाको पुलनेर भएको बाइक एक्सिडेन्टमा नेत्रका असामयिक निधन भएपछि नेसनल बुक हाउस छिन्नभिन्न भयो । अलिपछि वैदेशिक रोजगारबाट फर्किएर यज्ञ थापाले पुस्तक तथा पत्रपत्रिकाको बिक्रीको सिलसिलालाई फेरि गाँसे ।
भक्तपुरको कटुञ्जेमा बसोबास प्रारम्भ भएपछि घर नजिकमा पत्रपत्रिकाको पसल थिएन । अनि बाले दुई राष्ट्रिय नेपाली दैनिकको वार्षिक ग्राहक बन्ने रुचि देखाउनु भयो । बा पत्रिका मनमनै पढ्नु हुन्थ्यो र कुनै रोचक विषय फेला प¥यो भने सबैलाई सुनाउनु हुन्थ्यो । एक किसिमले पत्रपत्रिका बाका लागि समय बिताउने एक महत्वपूर्ण साधनका रूपमा स्थापित भइसकेको थियो ।
तीनपाटन छाडेर चन्द्रनिगाहपुरमा बसोबास गर्न थालेपछि बाले घरमा टिभी जोड्नु भयो । यो सूचना र मनोरञ्जनको गतिलो माध्यम बन्यो— बाका लागि । बा अब टेलिभिजनमा समाचार मात्र होइन, अन्तर्वार्ता जस्ता कार्यक्रम पनि हेर्न थाल्नु भएको थियो । विजयकुमारको ‘दिशा निर्देश’ उहाँको प्रिय कार्यक्रम बन्यो । त्यसपछि घरमा टेलिभिजन टुटेन ।
समाचारमा आएका जानकारीहरूलाई छलफलको विषय बनाउने प्रवृत्ति बाको थियो । राजनीतिक वा सामाजिक÷साँस्कृतिक विषयमा चासो राख्ने व्यक्ति वा समूहमा त्यस्ता जानकारीहरूलाई प्रस्तुत गर्नु हुन्थ्यो र त्यसका पक्ष÷विपक्षमा आएका तर्कहरू सुन्नुहुन्थ्यो र ऐनमौकामा आफ्ना तर्कहरू प्रकट गर्नुहुन्थ्यो ।
पछि बाको सामाजिक सञ्जालमा पनि पहुँच स्थापित भयो । अब बाका लागि नवीनतम् सूचना निकट र सहज पहुँचको विषय भयो । अब राजनीतिक र सामाजिक÷साँस्कृतिक विषयमा मात्र होइन; युट्युवरले निर्माण गरेका सामग्रीहरूमा पनि बाको पहुँच भयो । राजनीतिक घटनाक्रमका बारेमा तत्क्षण जानकारी पाउँदा बा खुसी हुनुहुन्थ्यो । युट्युवरले निर्माण गरेका भ्रामक र अतिरन्जित सामग्रीले भने बालाई दिक्क बनाउँथ्यो । यी दिनमा कृष्ण कणेलले निर्माण गर्ने ‘इन्द्रेणी’ कार्यक्रम बाको प्रिय कार्यक्रम थियो । वैष्णव धर्ममा आवद्ध भएपछि धार्मिक प्रवचन र आध्यात्मिक चिन्तनमा पनि बाको आकर्षण बढ्न थालेको पाइन्थ्यो ।
बाले चौरासी वर्षको हुँदासम्म कहिल्यै पावरको चस्मा लगाउनु भएन । म चस्मा लगाउँछु । पढ्ने समयमा मलाई चस्मा नभइ हुँदैन । बा पछिसम्म पनि अखबारका मसिना अक्षरहरू चस्मा नलगाईकन पढ्न सक्नु हुन्थ्यो ।
महालक्ष्मी—३, बोझेपोखरी, ललितपुर