भोलिपल्ट सबेरै हिँड्नु छ । पूर्व योजना अनुरुपको यात्रा भइदिएको भए दिउँसो पख सबै तयारी गर्न हुन्थ्यो । अप्रत्यासित यात्रा भएकोले भनेजस्तो तयारी हुन सकेन । यसमा न उसको कमिकमजोरी थियो न मेरो ! यसरी हतार हुनुमा हाम्रो असावधानी जिम्मेवार थिएन । हामीले अप्रत्याशित रुपमा साँझ मात्र खबर पायौं । जेहोस् निम्तो आइसकेपछि जसरी पनि जानुपर्छ । यदि नजाने हो भने आफन्तले निको नमान्न सक्छन् । यो कुरा मैले राम्रोसँग बुझेको छु । फेरि उनीहरूका लागि म चानचुने पाहुना पनि होइन । लागेको छ, मलाई त्यहाँ कुनै साहित्यिक कार्यक्रम सञ्चालन गर्दा राखिने प्रमुख अतिथि वा विशिष्ट अतिथिलाई जस्तै मानमनितो हुनसक्छ। किनकि म छोराको सालाको विहेमा निम्तो मान्ने क्रममा त्यसतर्फ जान लागेको हुँ । भोलि निम्तो मान्न जाने तयारी लगभग पक्कापक्की भएको छ । सम्धीलाई गरिने निम्तो सामान्य कसरी हुन सक्छ , त्यसमाथि पनि म छोरा तर्फको सम्धी हुँ । बरु भोलि हिँड्ने बेलासम्म धोएका कपडा मजाले सुकिदिए हुन्थ्यो ।
बितेको पुस महिनाभरी एकदिन पनि राम्रोसँग घाम लागेन । बिहान एघार बाह्र बजेसम्म कुहिरोले फिटिक्कै छोडेको होइन । अब त घाम लाग्छ होला भन्यो पुनः बादलले आकाश ढाकेर आउँथ्यो । पुस फासफुस भनेर त्यसै भनिएको होइन रहेछ । छोटो दिन, घाम लाग्ने आश गर्दागर्दै झमक्कै साँझ परिसकेको हुन्थ्यो । त्यसैले पुस महिनाभरि उसले एकदिन पनि कपडा धुने मौका पाइन । रनक्क घाम चर्किएर पसिना आउने समय भइदिएको भए ऊ प्रत्येक दिन कपडा धुने गर्दथी। यसरी दिनदिनै कपडा धुन थालेको लामो समय भने भएको छैन । जब छोराको बिहेमा बुहारीसँगै घरमा वासिङ्ग मेसिन भित्रिएको थियो, उसको भुइँमा खुट्टा थिएन ! नहोस पनि किन ? जब उसले परिवारका सबैको कपडा हातैले धुनु पर्थ्यो । कपडा धोएपछि ऊ केही बेर अलि असजिलोसँग हिँडडुल गर्ने गर्थी । तर उनको शारीरिक अवस्था असहज भएको कुरा कसैलाई पनि सुनाउदैन थिई। त्यसबेला पनि उसले नियमित कपडा धुन कहिले पनि छोडिन। यो वासिङ मेसिन उसका लागि निकै उपयोगी बनेको छ ।
कपडा धुने दिन शनिबार पर्यो भने यदाकदा मैले पनि सघाउ गर्ने असफल प्रयास गर्थें । तर उसले सकेसम्म शनिवार छल्ने गरेकी थिई । भन्थी, “ हाम्रो परिवारमा कुन चाहिं लोग्ने मान्छेले कपडा धोएको देखेका छौं र यसरी कपडा धुन अघि सर्छौ ? पर्दैन म छँदैछु , तिमीले घरको लुते धन्दाको चिन्ता लिनु पर्दैन । पुस्तक र कपी कलम झिकेर पढ्न लेख्न बसे हुन्छ " । जब ऊ यसो भन्थी, उसले मलाई व्यङ्ग्य गरेको हो कि जस्तो लाग्थ्यो । प्रायः चोर प्रवृत्तिको मान्छेले सबैलाई चोर नै सम्झन्छ । इमान्दार मान्छेले सबैलाई इमान्दार देख्छ । मैले उसको कुरालाई व्यङ्ग्यात्मक रूपमा सम्झिएको मात्र हुँ । वास्तवमा उसले यतिका वर्षसम्मको हाम्रो सहयात्राका क्रममा आजसम्म मलाई मात्र होइन, कसैलाई पनि व्यङ्गय गरेको थाहा पाएको छैन । ऊ मलाई जे भनिरहेकी छ विलकुल मनभित्रको कुरा भनिरहेकी छ । ऊ काम सकेर पसिना चुहाउँदै बैठक कोठामा पस्दा म कलम समाएर लेखिरहेको देखे निकै खुशी हुन्छे । त्यसबेला ऊ भित्र एकप्रकारको आत्मसन्तुष्टि देखिएको हुन्छ। त्यसको कारण भने मलाई पनि थाहा छैन । उसले यसैमा खुशी पाउँछे भने उसलाई खुशी दिन मलाई पो के आपत्ति भयो ?
उसलाई लाग्थ्यो कपडा धुने काम र भान्साको काम लोग्ने मान्छेको हुँदै होइन । यो महिलाले गर्ने काम हो । त्यसैले मैले कुनैदिन पनि भान्सामा पसेर चिया समेत बनाउन पाएको छैन । मैले दु:खका साथ “पाएको छैन" भनेर उल्लेख किन गर्नु पर्यो भने भान्सामा पसेर दाल, भात,तरकारी र मासुका परिकार बनाउन मलाई निकै रहर लाग्ने गर्छ । मसँग भान्से हुने सिप छ । तर उसले मलाई भान्साको काम गर्न दिन्न । सायद मैले दैनिकरुपमा भात पकाउने जिम्मेवारी पाएको भए म सकेसम्म त्यस जिम्मेवारीबाट उम्कने प्रयास गर्थें होला । मैले देखेको र भोगेको छु आफूले नगरेको र अरुले गरिरहेको काम मान्छेलाई निकै सहज र सरल लाग्छ । मैले प्रत्यक्ष रुपमा बेहोरेको कुरा , भैँसी दुहुन मलाई रहर होइन कहर जस्तै लाग्छ । उसले अनेकौं प्रयासका बावजुद पनि भैँसी दुहेर पार लगाउन सकिन । पटक पटकको प्रयासमा पनि उसलाई मरिगए पनि भैँसीले दुध दिएन । त्यसैले भैँसी दुहुने जिम्मेवारी स्वत: मेरो काँधमा आएको हो । हो भैँसी दुहुन मलाई रहर लाग्दैन बरु अल्छी लागेर आउँछ । उसलाई भैँसीले पत्याइ दिएको भए यो काम पनि मैले गर्नुपर्ने थिएन । दुहुने कामको जिम्मेवारी पनि ऊ खुशी भएर स्वीकार गर्थी ।
भोलि विहेको निम्तो मान्न जाने कुरा गर्दागर्दै सायद म मनका भावनासँग वहकिन थालेँ । उसले मेरो केही कपडा वासिङ्ग मेसिनमा राखेर मेसिन चालू गरी । एकआध घण्टामा मेसिनले आफ्नो जिम्माको काम फत्ते गर्यो । हुन त त्यो काम सक्ने जिम्मेवारी अचेल त्यही मेसिनलाई दिइएको छ । त्यसका पार्टपुर्जाले काम गरुन्जेल त्यसले आफ्नो जिम्माको काम पूर्ण रुपमा सम्पन्न गर्छ । अन्यथा मेसिनको आन्तरिक अङ्गले काम गर्न छोड्यो भने मेसिन शान्त रहन्छ । न मेसिनले कसैसँग गुनासो गर्छ , न त सकिनसकी काम नै गर्छ ! यथार्थ पनि त्यही नै हो , बिग्रिएपछि शान्त रहनु मेसिनको स्वभाव हो,मेसिनको धर्म हो ।
मान्छेको मात्र होइन,हरेक वस्तुको आ-आफ्नो स्वभाव हुन्छ । चिनीको गुलियो स्वभाव , खुर्सानीको पिरो स्वभाव । फरक यतिमात्र हो, कसैको स्वभाव सामान्य मानिन्छ भने कसैको अनौठो प्रकारको हुन्छ । मलाई लाग्छ ऊ र मेसिनमा केही फरक त छ नै । मेसिन भनेको निर्जीव वस्तु हो तर ऊ सजीव । लगातारको कामपछि मेसिन थाक्न सक्छ तर ऊ कहिले पनि थाकेको देखिन्न ।
लाग्छ ऊ आन्तरिक र वाह्य अङ्गले काम गरुन्जेल घरका सारा कामकालागि मरिहत्ते गरिरहन्छे । फेरि घरको काम भनेको कहिले सकिने कुरा पनि होइन ! उसले उबेला छोराछोरीलाई ढलेको सिन्को पनि उठाउन दिइन । भन्ने गर्थी “ यो यिनीहरूको पढ्ने लेख्ने र खेल्ने उमेर हो । मैले माइतीमा रहुन्जेल मरिमरि काम गरेर के पाएँ खै ? ” उसले पाउन खोजेको कुरा माइतीको धन सम्पत्ति थिएन । माइतीबाट मान मर्यादा पनि खोजेकी थिईन । उसको र मेरो लामो सहयात्रा पछि उसको स्वभाव मैले राम्रोसँग बुझेको छु । उसले अन्य भौतिक वस्तुको आशा गरेकी हुँदै होइन । भन्छे “ साँझ बिहान सजिलै पेट भर्न पाइयो र आँङ ढाक्ने एउटा टालो भयो भने पुगिहाल्यो नि ! त्यति हामीसँग पनि छ । अकुत सम्पति जोडेर के गर्नु , मर्दा सँगै लिएर जाने होइन क्यारे ! कहिलेकाहीँ उसका यस्ता दार्शनिक कुरा सुन्दा मलाई एक प्रकारले रमाइलो लाग्छ । वस्तविकता पनि यही हो । उसको त केवल एउटै अपेक्षा थियो उसको योगदान देखेकाहरूले भनिदिनु पर्थ्यो “ यो सारा उन्नति प्रगतिमा उसको आफ्नो पनि हात थियो । "
वस् उसलाई कसैले यतिमात्र भनिदिएको भए पुग्थ्यो । उसले कैंयौं पटक यस्तै कुराको अपेक्षा गरेकी थिई। दु:खको कुरा उसको मनभित्रको यो माग कसैले पनि बुझ्न सकेनन् । उसले यस्तो शब्द कसैबाट पनि सुन्न पाइन । प्रत्यक्ष रुपमा देख्ने भोग्ने बाउ आमा र एउटै पेटबाट जन्मिएका दाजुभाइले त यो कुरा बुझ्न सकेनन् भने हिजो अस्ति भित्रिएका भाउजु बुहारीले झन् कसरी बुझ्न सक्छन् ? त्यसबेला उसले गरेको योगदान न कसैले सम्झिएको छ न बुझिदिने कोही छ ! अधिकांश विवाहित महिलाको गुनासो प्रायः यस्तै हुन्छ । उसले केटाकेटी हरूलाई घरको काम गर्न फिटिक्कै नदिनुको मुख्य कारण पनि यही थियो । उसलाई लाग्थ्यो , भोलिका दिनमा तिनीहरूले पनि यस प्रकारको गुनासो गर्न नपरोस् ।
उसले मेसिनले जसरी काम गरेको आज मात्र होइन । ऊ यो घरमा भित्रिए देखिको हरेक दिनको नियमित क्रियाकलाप यही हुन्थ्यो । तर हाम्रो विहे भएको चालिस वर्ष पछि म बल्ल उसको पीडा र व्यथाहरू बुझ्दै छु । मलाई लाग्छ संसारका सबै लोग्नेहरू म जस्तै अबुझ हुन्छन् ? हुनत ऊ जस्तै सबैका श्रीमतीहरू चौविसे घण्टा खटिरहने मेसिन जस्तै पनि नहुन सक्छन् ।
उसले मेरो कपडाहरू मेसिनबाट निकाल्दा रातीको साँढे एघार बजिसकेको थियो । आजको रात पहिलो पटक मलाई निदाउन गाह्रो पर्यो । ऊ पनि निदाएको जस्तो लागेन । घरी यता घरी उता कोल्टो फर्किरहेकी थिई । म भने केही बेरमा निदाएँ । बिहान चार बजे उसले बोलाएपछि म बिउँझिएँ । आधारात बितिसक्दा पनि निदाउन नसकेकी ऊ कतिबेला निदाएर कतिबेला बिउँझिई मैले पत्तै पाइन ।
म उठेर आउँदा उसले चिया तयार गरिसकेकी थिई। भैँसीलाई कुँडोपानी, घाँसपात गरेर , भकारो सोहोरेर घर लिपपोत गर्न उसलाई कम्तिमा पनि डेढ दुई घण्टा लाग्न सक्थ्यो । उसले वास्तविक निदाउने समय हिसाब गर्दा मुस्किलले आधा घण्टाको पनि हिसाब निकाल्न सकिन । यसपछि म झसङ्ग भएँ । एउटा मेसिन पनि अविछिन्न रुपमा चलाइरहने हो भने त्यसको पार्टपुर्जा खिइन सक्छ , तातेर बिग्रन सक्छ । त्यसले काम नगर्न सक्छ । ऊ त हाड र छालाले बनेकी एउटा पूर्ण मानव, ईश्वरले सृष्टी गरेको प्राणी । ऊ लगातार चौविस घण्टा खटिरहे पनि चलिरहेपनि आजसम्म रनक्क भएर तातेको थाहा पाएको छैन । सायद थकाइको कारण मेसिन जस्तै मान्छे तात्दैन कि के हो ! जसलाई सास पनि फेरिरहनु पर्छ, भोक लागे खाना खानुपर्छ । प्यास लागे पानी पिउनुपर्छ । समय समयमा शरीरलाई आराम दिनुपर्छ । मान्छेलाई निन्द्रा चाहिन्छ । यसको व्यवस्थापन गर्न उसले पक्कै सकिरहेकी छैन तर यी यावत आवश्यकताहरू उसको शरीरले कसरी व्यवस्थित गरेको छ ? मलाई आश्चर्य लाग्यो ।
मलाई लाग्छ, शब्दकोषमा लेखिएको “विश्राम" शब्द सायद उसका लागि लेखिएको होइन । गजबको कुरा त ऊ बिना अवरोध यसरी नै खटिरहन पाउने हो भने निकै सन्तुष्ट देखिन्छे । उनको काममा कसैले अवरोध पुर्याएको उसलाई मन पर्दैन । तर पनि ऊ रिसाउँदिन। मात्र दुखेसो पोख्छे र चित्त दुखाउँछे, त्यो पनि यदाकदा मात्र । उसको चित्त दुखाइले कसैलाई पनि छुन सक्दैन । किनकि परिवारका कुनैपनि सदस्यलाई घर व्यवहारको चिन्ता छैन । सबै आाफ्नै धुनमा व्यस्त छन् । बिहान पाँच बजे घरको सबै धन्दा सकेर उसले मलाई भन्दा अघि छोराबुहारीलाई ओछ्यानमा चिया पुर्याउने गरेकी छ । ऊ आफूले सम्पन्न गर्ने गरेका दैनिक क्रियाकलाप निर्वाधरुपमा सम्पन्न भएको हेर्न चाहन्छे। उसलाई कुनै पनि काम निप्टाउन कसैको सहयोग चाहिँदैन । हुनत उसलाई बानी परिसकेको छ । उबेला भर्खर यस घरमा भित्रिँएर बुहारी हुँदा सासुको बोलबाला हुने प्रचलन थियो। समय परिवर्तन भएसँगै वर्तमान अवस्थामा आइपुग्दा सासुको होइन , बुहारीहरूको बोलबाला हुन थालेको छ । समयको यो अनौठो परिवर्तनले उसलाई कहिले पनि आफ्नो हाँकोडाँको चल्ने अवस्थामा पुर्याएन । यस अर्थमा यो कालखण्डका केही सिमित महिलाहरूलाई अभागी भनिदिए पनि हुन्छ । तर पनि उसले आफूलाई कहिले पनि अभागीको श्रेणीमा राखिन । उसले आफूलाई भाग्यमानी सम्झन्छे । उसकै शब्दमा भन्नुपर्दा “यो त एउटा अवसर हो । यही अवसरका कारण सासु र बुहारी दुबैको सेवा गर्न पाइएको छ। "
मलाई लाग्छ, उसको सबैभन्दा ठूलो विशेषता नै यही हो । उसले जीवनमा घट्ने र घटिरहेका सबै घटनालाई एकदम सकारात्मक सोचले हेर्ने गर्छे । उसले आफूलाई भाग्यमानी भनिरहँदा मलाई भने भाग्यमानी ऊ होइन म हुँ भन्ने लाग्छ । किनकि ऊ भित्र नकारात्मक सोचाइ छँदैछैन । उसले गुनासो गर्न पनि जानेकी छैनन् । उसलाई कुनै पनि विषयले दु:ख र पीडा दिन सक्दैन । उसलाई निर्विघ्न भएर कर्म गर्न पाए केही पनि चाँहिदैन । उसलाई लाउने खाने कुराको पनि शोख छैन । यस्तो जीवन साथी पाउन तपस्या गर्नुपर्छ । मैले बिना तपस्या उसलाई पाएँ । त्यसैले भाग्यमानी ऊ होइन म हुँ । काम गर्नुको पनि एउटा सिमा हुन्छ। कुनैपनि प्रतिक्रिया विहिन भएर काममा मात्र खटिरहेका कारण मलाई, उसलाई एउटा शक्तिशाली र मजबुत मेसिनसँग तुलनागर्न मनलाग्छ ।
यता मलाई भने आफूले गर्न लागेको काममा कसैले अवरोध पुर्याइदियो भने एकदम छिटो रिस उठ्ने गर्छ । हुनसक्छ लोग्ने र स्वास्नी बीचको सबैभन्दा ठूलो अन्तर यही रहेछ । एकजना सहनशील र अर्को अबुझ, बज्र स्वाँठ र घमण्डी ।
माघको ठन्डीका कारण राती धोएको कपडा सुक्यो होला भनेर मलाई विश्वाश थिएन । आखिर ती कपडा अलिअलि चिसो भएपनि लगाउनै पर्छ किनकि मसँग थप जगेडा कपडाहरू छैनन् । मैले कपडा लगाउँदा थाहा पाएँ , सर्ट पाइन्ट कत्तिपनि चिसो थिएन । यो कसरी सम्भव भयो ? मलाई आश्चर्य लाग्यो । उसले हााँस्दै भनी “ तिमी निदाए पछि गोठको चुल्होमा कोइला सल्काएर चिसो कपडा सुकाएँ , सजिलै सुकेछन् । " कपडा त सजिलै सुक्यो तर उसको पसिनाले भिजेको शरीर र चिसिएको मन भने कहिले सुक्ने होला !
ऊ मेसिन जस्तै एकोहोरो काम मात्र गर्दिन । उसलाई कुन काम कसरी गर्नुपर्छ भन्ने पनि राम्रोसँग थाहा छ । उसले गर्ने हरेक काम निकै सुझबुझका साथ सम्पन्न गर्छे ।
यी त घर भित्रका कामहरू हुन् । उसले खेत बारी अधियाँ दिने कुरामा पनि सहमति दिने गरेकी छैन । गाई ,भैँसी र बाख्रा नपालौं भन्दा पनि मान्दिन । भएको खेतीपाती पनि स्वयं हेर्ने गरेकी छ । घरमा मेरो उपस्थिति एकजना साक्षीको रुपमा मात्र हुने गरेको छ । छोरा बुहारीले सघाउने कुरा इतिहास बनिसक्यो । उहिले हामी छोरा बुहारी भएको समय पछि , प्रायः छोरा बुहारीले बाबुआमालाई काममा सघाएको हामीले थाहा पाएका छैनौं । मलाई लाग्छ बाबु आमालाई सघाउने अन्तिम पुस्तामा हाम्रो पुस्ताको नाम अङ्कित हुनसक्छ ।
यस्तै विषयमा टोलाउँदा टोलाउँदै निम्तो मान्न निस्कनलाई निकै ढिलो भइसकेको थियो । तर पनि म एउटा सानो झोला भिरेर सम्धीका घरतिर लागेँ ।
विहेको अघिल्लो दिन, अर्थात् लिङ्गाचौकाको दिन, म निर्धारित समयमा सम्धिका घर पुगेँ । बिहानको अलमलले खासै असर पुर्याएन । त्यहाँ दुई-चार जना निम्तालुहरू आइपुगेका थिए । अचेल बास बस्ने गरि निम्तो मान्न जाने प्रचलन हराइसकेको छ । विहेमा जाने मान्छेहरू सोझै पार्टी प्यालेस पुग्छन् , भोज खाएर फर्कन्छन् । हामी दुईचार जना पाहुना भने अलि टाढाबाट आएको कारण बासबस्न बाध्य थियौं । सम्धिनी भने निकै च्याँठ्ठिएर घरी यता घरी उता दगुरिरहेकी थिइन् । रातीको दश बज्दा पनि खाना तयार हुन सकेको थिएन । हामीलाई भोक लागिसकेको थियो । जम्मा चार जना पाहुनालाई खाना खुवाउन उनलाई भने महाभारत थियो ।
“ खाना बनाउने मान्छे, भाँडा माझ्ने मान्छे हिजैदेखि बन्दोबस्त गर्नुस् भन्दा सुन्ने कान लगाएको होइन । अब म एक्लैले कसरी भान्साको काम गर्ने ? म सक्दिन । " उनी आफ्नै लोग्नेसँग गुनासो गर्दै थिइन् । रातीको दश बजेपछि सन्धिसँगै उनी पनि बल्ल भान्सामा पसिन् त्यो पनि फन्किदै र रिसाउँदै ।
मैले मेरी श्रीमतीलाई सम्झिएँ । उसले भए यो चार पाँच घण्टाको अवधि भित्र बिना गुनासो कति काम निम्ट्याइ सकेकी हुन्थी ! मलाई लाग्यो, सबैका श्रीमतीहरू ऊ जस्तै नहुने रहेछन् । मेरी लाटी त साँच्चै मेसिन रहिछ !
चितवन ।