१. प्रारम्भ
कृष्ण बजगाईं (२०२४) ले निबन्ध लेखनमा समय, धन र बल खर्च गरेको अवस्था छ । उनका ‘युरेशियाको स्पर्श’, ‘भाया साक्रा’, ‘दाइबुचु’, ‘उमिहोतारू’ र ‘युङफ्राउ’ नियात्रा प्रधान निबन्ध सङ्ग्रह लेखन प्रकाशनमा आएका छन् । उनमा निबन्धदेखि बाहेकका कथा, लघुकथा, बालकथा, हाइकु–सङ्ग्रह गरी अठार पुस्तकाकार कृतिहरू साहित्यको बजारले पाएको छ । यहाँ कति पाठहरू पाठ्यपुस्तकमा परिसकेका कारणले नवीन चिनारीको जरुरी छैन । यहाँ ‘युङ्फ्राउ’ (कुमारी हिमाल) का नियात्राको स्वाद लिइएको छ । सुरुमा महापुरुषका जीवनी पठन भएका छन् । इतिहास पनि मिसिएका कारणले कतै धैर्यशाली पाठकको अभाव खड्कने भय पनि छ तर उत्तर भागमा मनग्गे सरलता बाँच्छ ।
२. ० ‘युङफ्राउ’ का निबन्धमा एक अवलोकन:
निबन्धमा कलम चलाउने लेखक– निबन्धकार गद्यका शिल्पकार हुन्छन् । निबन्धमा चिन्तन, जीवन सापेक्ष अनुभूति र वर्तमान समयको गति साथसाथै घुम्दै रहेका हुन्छन् । उच्च बौद्धिक निबन्ध लेखनको ढाँचालाई नेपाली साहित्यमा बालकृष्ण सम, कुमारबहादुर जोशीप्रभृति लेखक चिन्तकले उठाए । कृष्णचन्द्रसिंह प्रधानले अर्को इँटा थपे, हास्य–व्यङ्ग्यको ढाँचालाई केशवराज पिडाँली, भैरव अर्याल, रामकुमार पाँडेजस्ता सर्जकले उठाए भने सँस्मरणको ढाँचालाई पारसमणि प्रधान तथा श्यामप्रसाद शर्माले अग्रगति दिए । कवितामामय निबन्ध लेखनको ढाँचामा लक्ष्मीप्रसाद देवकोटा, वानीरा गिरि, रामलाल अधिकारी, कृष्ण ज्ञवाली आदिले एउटा यात्रा गराएका हुन् । यसभित्र नियात्रा (निबन्ध यात्रा) अझैँ रोचक फाँट छ । लैनसिंह बाङ्गदेल, तारानाथ शर्माबाट अगाडि बढेको यात्रामा निर्मोही व्यास, सुधा त्रिपाठीजस्ता नियात्राकारको कलम चलेको हो । सबै ढाँचामा निबन्ध लेखनका साधक बालकृष्ण पोखरेल, चूडामणि रेग्मी र माधवप्रसाद पोखरेल प्रभृति निबन्धकारको योगदान अझैँ भव्य छ । संस्मरण, बौद्धिक चिन्तन, नियात्रा र हास्य स्मरण मिसिएको स्वाद अझै फरक हुन्छ । अहिले विदेशी भूमिमा बसेर नियात्रा लेख्ने नियात्राकार कृष्ण बजगाईंमा प्राचीनको मोह, संस्कारको जर्गेना र नियात्राको रन्को उस्तै–उत्रै मात्रामा मिसाएर रचना गर्ने शिल्प पाइन्छ ।
सुकरातलाई सम्झनामा लिने कारणहरू धेरै छन् जसमा उनको सत्य बोल्ने र नडराउने स्वभाव एक नागरिकका लागि आवश्यक चरित्र हो । उनी जे देख्थे त्यही बोल्थे कुनै शासकसँग डरभर राख्दैनथे । जसको सम्मानमा चेला प्लेटोले उनका विषयमा कलम चलाए । सुकरातले रूढिको विरोध गरे, तर धर्मको विरोध गरेको आरोप लाग्यो । हकी स्वभावका सुकरातलाई सुधारको हुटहुटीले छोडेन । गाउँमा घुम्दा गोबरका गुइँठा बनाउन छोड, घरमा झ्याल राख, चर्पीमा दिसा गर, केटालाई झैँ केटीलाई स्कुल पठाऊ भन्ने सुकरातको काम कहिल्यै पुरानो हुनेछैन । महामानव सुकरातलाई सलाम गरेको छु भनी नियात्राकार सुकरातलाई थुनेको जेलभित्र चियाँउदा नित्रामा भन्छन् । ग्रिसको इसापूर्वको इतिहासमा सुकरात चम्किला तारा हुन् । शासकले सुकरातलाई थुनेको एउटा गुफा जस्तै जेलका विषयमा लेखिएको निबन्ध नियात्राको उदाहरण हो । ‘ढुङ्गेडाँडालाई काटेर ओढार बनाई जेल हालेका’ भन्ने स्थानसम्म घाममा तातेर पुग्नु नै सोक्राटिस (सुकरात) को सम्मानमा मगज र शरीर खर्च गर्नु हो । धर्मका विरूद्धमा बोलेको आरोप धर्मगुरुले लगाए, मुद्दाको फैसलामा पाँच सय जना सदस्यको जुरी थियो । तीन सय साठी जनाले मृत्युदण्डको पक्षमा र एक सय चालिस जनाले मृत्युदण्डको विपक्षमा मत दिए भन्ने लेखिएको छ । गोविन्दराज भट्टराईको उपन्यास ‘सुकरातका पाइला’ प्रकाशित छ । जसमा सुकरातकै स्वभावका दानी, उदार र सहयोगी प्राध्यापकको भूमिका देखाइन्छ । उनी अनन्तलाई पैसा दिएर कर्मशील बन्न उकास्दै थिए । संसारभरि सुकरातका बारेमा अनेक डिस्कोर्स आएका छन् । यहाँ बजगाईंबाट एउटा थप भएको छ । इसापूर्व ३९९ मा सत्तरी वर्ष पुगेका नागरिकलाई मृतयुदण्ड दिने शासकलाई समयले गतिलो झापड दिएको छ । सत्तासीनले हेम्लक विष पिउन लगाई मारेका सुकरातको प्रकाशले प्राचीन ग्रिसको उज्यालोभित्र चन्द्रमाको दा लागेझैँ देखाउने उक्त नियात्रालाई पाठ्यक्रमले रोज्नेछ ।
एउटा निबन्ध एरिस्टोटलका बारेमा लेखिएको छ । अनुकरणको व्याख्या गर्दै उनले काव्यको वर्गीकरण गर्दा लेखेका रहेछन्ः दुःखान्तक, सुखान्तक, रौद्रस्तोत्र, बाँसुरी वीण आदि आखिर अनुकरणका प्रकार हुन् । तर तिनीहरू विषय, माध्यम र विधिमा बेगल हुन्छन् ।’ उनै महान् विचारकको लाइसियम (प्रवचनगृह, पाठशाला, उपदेश कक्ष) मा प्रवेश गर्न घामको ताप नभनी, गोडा दुखेको याद नगरी धाउन्ति गर्दै पुगेका समयमा खण्डहर भएको लाइसियम हेर्दै गरेको पाइन्छ । त्यो लाइसियम पेरिपटाटिक स्कुलको अर्को नामबाट चिनिएर प्रसिद्ध भएको बताइन्छ । घुम्दै डुल्दै पढाउने ठाउँ भन्ने अर्थ जनाइन्छ । तुलनात्मक रूपमा अगाडि लागेर भट्याउँदै हिड्ँने गुरुजी, पछि लागेर टिपोट गर्ने छात्रहरू रोचक पठनपाठनमा थिए होला आज अनलाइन शिक्षाको युगमा हामी छौँ । एरिस्टोटलका चेलाले नाटकका विषयमा टिपेको गुरुको गुरुमुखार बिन्दबाट झरेको वाणीमा यस्ता शब्द छन् । ‘दुखान्तक यस्तो गम्भीर कार्यको अनुकरण हो, जो आफैँमा परिपूर्ण हुन्छ । त्रास र करुणाको उद्बोधनबाट मानसिक विकारको उचित विरेचन हुन्छ ।’
प्रकृति विशाल पुस्तक हो, प्राचीन ग्रिसमा गुरु चेला प्रकृतिको अध्ययनमा रमाउँथे । हाम्रा ऋषिहरू प्रकृतिकै सापेक्ष रहेर अध्ययन–चिन्तनमा बढी हुन्छन् । यहाँ सुकरात, प्लेटो, अरिस्टोटल, अलेक्जेन्डर द गे्रट हुँदै लङ्गिनस, क्रोचे, इलियट तथा रिचर्डससम्मको गुरुकुल यात्रा हाम्रो आस्थामा रहन्छ । भग्नावशेषका रूपमा देखिएका व्यायामशाला, स्नानगृह, एपोलो लाइसियम, यी सबै रोमन शासकले हस्तपेक्ष गरेका समयभन्दा अगाडिका सभ्यता थिए । ‘सूर्यको किरणले आच्छादित भएकाले एपोलोको केश सुनौलो र चम्किलो देखाइएको छ । सूर्य हिन्दुहरूका देवता हुन् ।’ यसमा गरिएको अनुमानले हिन्दूधर्म र प्राचीन ग्रिसेली धर्ममा समानता रहेका प्रमाण खोज्ने काम निबन्धले गरेको छ । अप्रत्यक्ष रूपमा हामी सबै एरिस्टोटलका चेला हौँ । एरिस्टोटलका चेला अलेक्जेन्डर द गे्रटको निधनपछि एथेन्स स्थित शासन विरोधी चेतनाले राज गर्दा चेलाका सम्बन्धले गुरुलाई त्रास दिएको र भागेकै शैलीमा एरिस्टोटल मामाघर गएका भनिन्छ ।
एक्रोपोलिस (अग्लो डाँडामा स्थित सहर) एक निबन्धमा एथेनकी देवी एथेनाको स्थिति निरीक्षण गर्न सकिएको छ । शासक फेरिए, मन्दिरलाई चर्च बनाए । अर्को चरणमा अर्को शासकले त्यसैलाई मस्जिदमा रूपान्तरण गरेको अवस्था, आज त्यसको भग्नावशेष हेर्न सकिन्छ । यसमा अलिकति इतिहास, अलिकति युद्ध, धर्ममा व्यापक रूपान्तरणको हेपाइँका घटना घटित छन् । अर्को पाठमा प्राचीन रङ्गमञ्चलाई चर्चमा रूपान्तरण, प्राचीन डायोनाइसस रङ्गमञ्चको अवस्था निरीक्षणमा रहेको बुझिन्छ । यहाँ प्राचीन सभ्यताको जानकारी प्रत्यक्ष–साक्षात्कार बाटै गर्ने प्रयास रहेछ । अर्का एउटा पाठमा जिउस देवताको सम्मान गरिन्छ । सातौं आश्चर्य मध्येको एक जिउस देवताको मन्दिर, त्यहाँ मूर्ति र मन्दिर नभएको स्थिति, अग्ला पिलर भने प्रतीकका रूपमा देखिएका भन्ने टिपोटले सम्झनालाई इसापूर्व छेटौं शताब्दीमा पु¥याउँछ । लामो समय लगाएर बनाइएको, इसापूर्व छैटौं, शताब्दीमा बनाउन सुरु गरिएको जिउस देवताको प्राचीन मन्दिर माया लाग्ने अवस्थामा अडिएका पिलरमा सीमित रहेछ ।
‘ग्रिक पौराणिक कथा अनुसार एक्रोपोलिस डाँडा देवताको वासस्थान हो । यहीँ प्राचीन ग्रिसका शक्तिशाली देवी एथेनाको मन्दिर ।’ यहाँबाट अर्को निबन्ध ‘एथेन्समा देवताका छिमेकी’ बारेको प्रारम्भिक पाठ भेटिन्छ । रोमान्टिक कवि साहित्यतर्फको अर्को नियात्रामा लर्ड वाइरन उल्लेख हुन आएका छन्, उनको योगदान एक विशेष प्रकरण हो । उनी न्याय–अन्याय बुझेर कदम चाल्थे । बेलायतबाट ग्रिसका लागि ऋण दिलाउने काममा मध्यस्थता गर्दै ग्रिसबाट लगिएका कति प्राचीन सामग्री बेलायतबाट फिर्ता गराउने हक अधिकारका विषयमा डटेर बोल्ने व्यक्तित्वको प्रदर्शन निडर भई गरेको बताइन्छ । ओटोमन साम्राज्यको अत्याचारको विरोधमा क्रान्तिकारीहरू आन्दोलनमा लाग्दा बाइरनको साथ पाएका थिए । लर्ड बाइरन अत्यन्त स्वाभिमानी र सक्रिय निडर र निश्छल पात्रमा चर्चित रहेका छन् ।
नेपालमा मनमोहन अधिकारीजस्ता नेता र भानुभक्त आचार्यजस्ता कविका नाममा कति स्थानमा पाठशाला, सडक र धर्मशाला खुलेका छन् तर होटेल र सिनेमा खोलेर उनका नामको अपमान् गर्नु उचित छैन । त्यहाँ पनि प्लाका क्षेत्रमा बाइरन होटेल खोलेर कविको अपमान् भएको पाइएको एउटा तितो यर्थाथ माथि तिखो टिप्पणी गरिएको छ । हेर्दाहेर्दै एथेन्सको क्षेत्र अलिक गाउँझैँ लाग्ने, पुरानै शैलीमा घरहरू बनाइने, भत्किएमा मरमत गर्दा पुराना शैलीमा आएको हो भने नेपालको रानीपोखरी भित्रको देवालय पनि सोही रितमा बनाइयो । सांस्कृतिक, रङ्गमञ्चीय योगदानका प्रदर्शन–संरक्षकका नाममा स्मारक बनाउने संस्कृति स्तुत्य हो । त्यस्ता स्मारकमा चोराजिक नामको स्मारक एक रहेछ । यस्तो नामको चोराजिक स्तम्भ अन्य देशहरू बेलायत तथा अस्टे«लियामा पनि बनाइएका छन् । यो खबर त्यति पुष्ट भने छैन । धर्मका नाममा द्वन्द्व र लडभिड गर्ने महाजनहरू संसारभर हुन्छन् । त्यस स्थानमा क्रिश्चियन भित्रका खेमाहरूका भिडन्तमा एक दृष्टि पुगेको निबन्धको यो पृष्ठ धर्मका अतिवादीको आलोचनामा खर्च हुन्छ । मानवतावादी भएको दावी गर्ने किस्तान भित्रको उपधाराको भिडन्त आजसम्म छँर्दैछ ।
पर्यटकले सार्वजनिक स्नानगृह हेरेका छन् । अन्य विषय पहिलेको इतिहास कोर्नतिर मोडिएको छ । किस्तानहरू आलोचित हुनुपर्छ । ओडारभित्र लुकेर पनि बाँच्न नपाउने ओस्लामा बिना लादेन एक छन् । प्राचीन अगोरा (ग्रिक अगोरा) मा प्रवेश गरिएको छ । अगोरा (बजार, सभा, मिटिङ स्थल) मा पर्यटकको भिडभाड छ । सबैलाई अनुकूल पारेरै बजार बनाइन्छ, खुल्ला ठाउँको अगोरा, त्यहाँ सांसदहरू पनि जम्मा भएर गफ र बहस गर्ने गर्दारहेछन् । अदालत, प्रहरी प्रशासन सबैको केन्द्र अगोरा हेर्न आउनेहरूको मूल लक्ष्य प्राचीन संस्कारको पठन गर्ने प्रक्रिया हो ।
“त्यसै ठाउँमा महान् दार्शनिकहरूको प्रवचन सुन्न पाइन्थ्यो । सुकरात र प्लेटोको विचार र स्वस्थ्य तर्क–वितर्क त्यहीँ घन्किन्थ्यो ।” यति प्रसिद्ध ठाउँमा पुग्न पाउने रहर प्रयास तथा सफलता महत्वका विषय हुन् । राजा ओटोले शासन गरेपछि ग्रिक अगोराले मर्मत पाएको, उत्खनन भएको पक्ष खुल्छ । सपिङ सेन्टर (द स्टोवा अफ एटालोस) जस्ता प्राचीन सम्पदा हेरिएका छन् । नेपालका सपिङ सेन्टर, सपिङ मल, गोर्खा स्टोर, बराह ज्वेलरी स्टोर यसै इतिहासमा मिल्न आएझैँ लाग्छ । एउटै भवन भित्र तरकारी, फलफूल, चामल, दाल, रक्सी, चेवनप्रास देखिएको बिग मार्ट (भैँसेपाटी ललितपुर) मा कपडा मात्र देखिँदैनन् ।
कुनै समयमा त्यस सपिङ सेन्टरमा पुगिएछ भने म्युजियमको रूपको पहिलो तला देखिनेछ । त्यहाँ जितुवाले बनाएका चर्चहरू हेरिनेछन् । त्यहाँको हेफिस्टस मन्दिरलाई चर्च बनाइएको देखिनेछन । छेउमा प्रोटेस्टेन्ट क्रिस्तानलाई गाड्ने चिहानजस्तो देखिनेछ । एउटा भग्नावशेषमा रहेको सूचनापाटी देखिनेछ । जसमा बाह्र देवताहरूका वेदी रहेछन् । ती बाह्र देवतामा जिउस, हेरा, पोसाइडन, डिमिटर एथेना, एपोली, एरिस, हेफिस्टस, अफ्रोडाइटी, हर्मिज र डायोनाइसिस हुन् ।
त्यहाँको मन्दिर अवलोकनको क्रम चल्दैछ । हेफिस्टस देवताको मन्दिर हेरिन्छ त्यो पनि मग्न रूपमा छ । दिन तातो, सूर्यको किरणले काम राता हुँदै छन् तर हेर्ने रहर भने उत्पे्ररक रहेछ । शासकले विजय मन्दिरलाई चर्च बनाइन्छ ।
नेपालमा कञ्चन शमशेर जबराको सर्वश्वहरणमा रोक्का भएको ललिता निवासको जमिन कति नेताले बाँढेर खाएको इतिहास एउटा प्रमाण हो ।
रोमन अगोरा (सिजर अगस्टस बजार) सम्राटहरूले बनाउन लगाएर आफ्ना नाममा (जुलियस सिजर र अगस्टसले) अगोरा बनाउन लगाएछन् । त्यो मानिसको भेटघाट केन्द्र बनेको बुझाइन्छ । त्यस प्राचीन सभ्यताको स्वरूप आज सग्लो छैन । त्यसमा भग्नावशेष देख्न पाइनेछ र उत्खन्नको कार्य भने सुरू भएको बुझिएको रहेछ । एरिस देवताको मूर्ति पनि भवन वा मन्दिर त्यस्तै स्थितिमा पाइन्थ्यो जो युद्धका देवता मानिन्छन् । एउटा झरना–फाउन्टेन पानी नभएर अलपत्र स्थितिमा देखिन्छ । जित्नेले हार्नेको इतिहास मेटाउन ग्रिसका प्राचीन कलायुक्त देव भवनलाई रोमनले चर्च बनाए । एथेन्स, हेड्रियन लाइबे्ररी अबको टिपोटका विषयमा परेका छन् । होमर महाकविका इलियाड र ओडिसी पनि सम्झनामा पर्छन् । पैदल यात्रा बिस मिनेटको गरेपछि हेड्रियन पुस्तकालय पुगेको अवलोकन कर्ताले सन् १२३ मा रोमन सम्राट हेड्रियनले बनाएको पुस्ताकालय ताकेर गएपछि सग्लो रूपमा उस पुस्तकालयलाई पाउने आशा नहोला तर त्यसको प्राचीन इतिहासमा एक दृष्टि लगाउने मनमा इच्छा राखेर गरिएको प्रयास कति सफल हुने हो । यसमा भाषागत समस्या छैन । ग्रिसमा हेड्रियनलाई सम्मान गरिन्थ्यो । उनले जनताको मन जित्न सकेका थिए । उनी पछिका सम्राटहरूले ग्रिसको खुब दोहन गरेका थिए । पछिका शासकले ग्रिसको भूमिमा प्राचीन धर्ममाथि प्रतिबन्ध लगाएर क्रिस्तान धर्मको भारी बोकाए, लोभमा पारेर वा बलले लाघिएको धर्मलाई राम्रो ठानिँदैन । उपवादमा हेड्रियन भएको बुझिएको छ । पुरातात्विक महत्वका बस्तुहरूको लहरै सुतेको हालत हर्नेहरूले लहरमा लागेर, पैसा तिरेर हेर्दै छन् । यसलाई केको माया हो भनी समीक्षा गर्न पनि कठिन होला ।
‘मार्बलको सय ओटा गोलाकार पिलरमा ठडिएको रहेछ विशाल लाइबे्ररी भवन ।’ त्यस भवनको भित्री भागको एक पर्खाल ठाडै रहेका कारणले पुस्तकको रक्षार्थ एक शक्ति जीवन्त रहेझैँ लाग्नेछ । ‘हेड्रियन लाइबे्ररी एथेन्सको सबैभन्दा ठूलो लाइबे्ररी भएको अनुमान हुन्छ । त्यसको कल्पनाकार प्रशासक–सम्राट ससानो खोपडीभित्र अति ठूलो ऊर्जा पालक रहेछन् ।
हेड्रियन पुस्तकालयका विषयमा जानकारी गराइएको उक्त पृष्ठले सुन्दर नियमको ओकालत गर्छ । दर्शन, साहित्य र सरकारी निकायका पुस्तकहरू पढेर त्यहीँ छोड्नु पर्ने नियम, हाम्रो मदन पुरस्कार पुस्तकालय, ललितपुरमा आज पनि लागू हुन्छ । विभिन्न विषयमा विज्ञबाट एक एक विषयमा प्रवचन हुने, हाम्रो साहित्यसन्ध्या (२०३९) मा आज पनि महिनाको पहिलो शनिवार रत्नराज्य कलेजमा दिनको दुई बजे उक्त प्रवचन र कवितावाचन हुँदै छन् । विभिन्न चिन्तकका भनाइको सार खिँचेर लेखिएको उक्त पृष्ठले पुस्तकालयलाई विचारको प्रसूतिगृह मान्ने विचारक नर्मन कन्जिन्स स्मरणमा छन् । आज पनि साहित्य सन्ध्यामा रामविनय श्रेष्ठ र रमेश पोखरेलको सक्रियता छ ।
समीक्षाको शैली निबन्धभरि पाइन्छ । सम्राट हेड्रियनलाई सम्मान गर्न उनको नाममा शिलालेख राखिएको भव्य विषय हो भने पछिका प्रशासक र नागरिकले त्यस ठाउँमा नयाँ काम गरेको देखाउन वरिपरि चर्च बनाए, नागरिकलाई सनातनी धर्मबाट विचलित गराएर बलले क्रिस्तान बनाए भन्ने सन्दर्भ दुःखको विषय हो । भुटानी शासकले नेपाली मूलका नागरिकलाई लेप्चाकै धर्ममा लाग्न, गोरुको मासु खान बलले लगाएको तर नमानेपछि कुटपिट, लछारपछार, बलात्कार र देशनिकाला गरेर मेची नदीको पुलमूनि फालेर अलपत्र पारेपछि भुटानी शरणर्थी नेपालको भू–भागमा ठाउँ ठाउँमा कष्टको जीवनमा बाँच्न बाध्य छन् । शिल्प हुनेहरू बाहिरी देश जान पाएर गए । नेपालमा मानव तस्करले कति सग्ला नेपालीलाई बनावटी भुटानी बनाएर बाहिर पठाउन थालेको कालो इतिहास नमेटिने अवस्थामा पुग्दै छ ।
टर्कीको ओटोमन साम्राज्यको अधीनमा परेको ग्रिसले अर्को झापड खाएको विषय समीक्षामा पर्छ । क्रिस्तानका चिह्न मेटाउन मुसलमानहरू लागि परे, पुस्तकालयका कति कोठा व्यक्तिका आवासगृह बने कतैँ मस्जिद बने टर्की शासकको पनि पतन भएपछि अर्को शासकले उक्त ठाउँमा सैनिक ब्यारेक बनाए । रोमन सम्राट हेड्रियनका नाममा बनाइएकोे हेड्रियन गेट (आर्च) उस्तै कलात्मक हुनु उनका कलापे्रमको एक चिह्न हो । बेलायततिरको सम्झनालाई फर्किएर हेर्दा हेड्रियन पर्खाल विशेष कुरो हो ।
‘सिन्टाग्मा स्क्वाएर’ केन्द्रमा छ । निबन्धमा यात्रा छ, नियात्रा भनिन्छ । अहिले नियात्राकार ग्रिस पुगेका छन् र ओमोनिइया स्क्वायरमा उभिन्छन् । गाडी र मानवको भिडभाड, गेटमा, स्वस्तिक चिन्ह्न भएको सङ्ग्रहालय बाहिरबाट देखिन्छ । जिज्ञासु पात्रले स्वस्तिक चिह्न जापान, जर्मनी जस्ता धेरै टाढाको देशमा प्रयोग भएको स्मरण गरे । क्रमशः हेर्दै जाँदा सिन्टाग्मा स्क्वायर पुगिन्छ । त्यस समयमा ओटो नामका राजाको स्मरण गरेर उनको अवस्थाप्रति एक समीक्षा गरिन्छ र आन्दोलन गरेर जनताले सन् १८४३ मा राजाबाट प्रदत्त संविधान र अधिकार पाएको इतिहास प्रमुख विषय बन्न आउँछ । राजा स्वयम् विदेशी भएको, अर्थोडक्स चर्चको नियम नमानेको तथा विदेशी ऋणमा गहिरो गरी देश डुबेको आरोप जनताले राजालाई लगाएका थिए । सिन्टाग्मा चोक संसद भवन भएका कारणले हेर्ने इच्छामा परेको रहेछ । भवनको सामुमा सैनिकको मूर्ति लडेको छ र पोसाकले प्राचीन युगलाई सम्झाउने छ । दुई सैनिक पहरा दिएर उभिएका छन् । घाममा कठोर अनुशासन पालन गर्नु नै हाम्रो धर्म हो भनी ठान्छन् । उनीहरू दुवैले आँखा झिम्मसम्म गरेनन् भनिन्छ । अरू सैनिकले पछाडिबाट आएर सैनिक सालिकलाई सलामी अर्पण गर्दा रहेछन् । त्यसपछि नयाँ पालो अरू सैनिकबाट ग्रहण गरिन्छ ।
सिन्टाग्मा चोक सरकारको काम मन परेन भने विरोध गर्ने ठाउँ त्यसको भूमिमूनि भूमिगत रेल स्टेसन, स्टेसन अगाडि पार्क र पे्रमी–पे्रमिका भेट्ने स्थल पनि रहेछ । तातो घामको वास्ता छैन पर्यटकको भिडभाड छ । ओलम्पिक खेल जसको पुरानो स्टेडियमको एक सन्दर्भ एक निबन्ध चिन्तनमा पढिन्छ । संसारका सबै राष्ट्रहरूका बिचमा भाइचारा कायम गर्ने प्रयोजनले यो कदम चालिएको बुझाइन्छ । खेलाडीहरू देशदेशका बिचको रिसराग बिर्सिएर एउटै भान्सामा खान बस्छन् । यो चरण प्राचीन ग्रिसवासीको धार्मिक अनुष्ठान सहितको कदम भएपनि आजको आधुनिक रूपमा त्यो अनुष्ठान नभएको किटान हुन्छ । प्राचीन समयमा ओलम्पिक भन्ने ठाउँमा सुरू भएको खेल (एथेन्सबाट तीन सय कि.मि. टाढा) यो खेलको आजको उन्नति देख्दा त्यसमा विजय गर्ने खेलाडीले सुन र पैसा जीवनभरलाई पुग्ने गरी पाउँछन् । सुरूमा पुष्पमाला र रिबन पाउँदा मात्र खुसी हुने खेलाडीको नाम आज पेले, मेराडोना, मेस्सी भन्न पाउने हामी पनि प्रफुल्ल हुन्छौँ । यी निबन्धमा इतिहासको हकडक नभएकाले नियात्रा टाक्सिएको छैन ।
एक हजार दर्शक अटाउने रङ्गशाला पानाथेनाइक स्टेडियमको प्राचीन भव्यता माथि रोमन सम्राट थियोडियसले एथेन्सवासीका परम्परा जतिमा रोक लगाए । यो दुःखद समाचारको समवेदना उठान हुन्छ । त्यसको करिब पन्ध्र सय वर्षपछि पुनर्जन्म भएको ओलम्पिक खेल आजको मित्रता अभिवृद्धिको स्रोतजस्तै छ । त्यस अवसरमा मार्बल जडान भएको उच्च कलापूर्ण रङ्गशाला सांस्कृतिक सम्पदा गौरवको प्रतीक हो । त्यस भित्रको सङ्ग्रहालय हेरिन्छ । अग्निदेव र प्रमिथियस, मसाल प्रज्ज्वलन, प्राचीनताको प्रतीक आगो हाम्रो लागि भगवान् हुन् । खेलको नाता देवी देवतासँग रहने हेरा देवी सम्झनामा आउने, हर्मिजमाथि हाम्रो पनि श्रद्धा छ । तिर्खा र घाम सहने शक्ति दिने रङ्गशालामा पुग्दा केटाकेटी स्वभावले दगुर्न पे्ररित गरेको संस्मरण पढिन्छ ।
नियात्राको ‘एकदिनमा ग्रिसको तीन टापु’ निबन्धले यात्राको स्वाद भरिदिन्छ । यो जहाज र समुद्रको दृश्यावलोकनमा फ्लिसुवोस मरिना पोर्ट सुरूको बिन्दुमा रहन्छ । समुद्रको नाम एजियन लेखिन्छ । जहाजको यात्राले हाइड्रा टापु हेर्ने मौका दिन्छ । पर्यटकलाई लोभ लाग्ने स्थान रहेछ । यात्रामा टापुमा टाँगा चढिन्छ । जिसस क्राइस्टलाई काठमा टाँगेर मृतयुदण्ड दिइएको काठ हेरिएको छ । उक्त टापुमा साहित्यिक गतिविधि र लेखनपे्ररणाको स्रोत देख्दा यात्रा सफल हुन्छ । इजिना, पोरोस र हाइड्रा एकै दिन हेरिए । नदीका देवता एसोपोसकी छोरी इजिनाको नामबाट उक्त टापुको नाम जुराइएको किवदन्ती पनि छ ।
अति सुन्दर टापु इजिनासँग रोमान्स हुने मिथहरू भेटिँदा रहेछन्, देवताहरू हिन्दूधर्मका देवताजस्तै सुन्दरीको रूपमा लोभिएर हत्ते हाल्दारहेछन् । हाम्रा कृष्ण भगवान्का खेल्ने साथीहरू सोर सय गोपिका थिए । आठ त पत्नी नै थिए । बारुदको पहिलो पटक खुट्टामा असर गर्छ र मानव शरीर विकलाङ्ग बनाउँछ । हामी पनि त्यसमा प¥यौँ भने र एक खुट्टो बिग्रियो भने हाम्रो जीवनको यात्रा कठिन हुने अनुमान–संस्करणमा जीउ थर्थराउँछ । मौनताको गम्भीर भाव बोक्ने कुर्सीका विषयमा लामा अनुच्छेदहरू आएका छन् । एक यात्री अगाडि पर्छ जसको खुट्टो कुर्सीकै जस्तो बनेको देखिन्छ । कति दुःख भयो भनी अनुमान गर्न सकिँदैन । भावनाभित्रै पीडा गुम्सिएछ ।
स्विरल्यान्डको यात्रा जेनेभा तालसित जोडिन्छ । सपरिवार बोटको यात्रा तालभित्र रहँदा मन कति प्रसन्न छ । नजिकमा पानीको फोहोरा माथि पुगेर झर्दा खम्बाझैँ देखिने अनुभूति भएको रहेछ । ताल विशाल रहन्छ । छ सय वर्ग किलो मिटर क्षेत्रफल, स्विजरल्यान्ड र फ्रान्सको साझा भूमिभित्रको ताल यात्रामा पारितिर पहाड, झरेका ससाना नदी र झरना, मनमोहक दृश्यभित्र वरुण देवको स्मरण यो अलौकिक आनन्दको स्रोत हो । हाम्रो फेवा ताल पोखरामा सगर्व उपस्थित रहन्छ । जेनेभा तालका समीपका गाउँ र सहर कवि, कलाकारले प्रेम गरेका स्थान रहेछन् । यात्रु चढाउने र उतार्ने बोटको यात्रामा लौसान पुगिन्छ । सबै उमेरका मानवको मनोरञ्जन तालले प्रदान गर्दै गरेको एक यात्रामा जीवन भने त्यस्तो हुँदैन । जीवन उकालो र भिरालो हुन्छ । वाइन बनाउने फ्रेन्च वाइनको सम्मान, इपेस गाउँ, पारिलो ठाउँका मिठा अङ्गुर तथा त्यसको उत्पादन अङ्गुरको वाइन चाखिएछ । कृतिस, सुयस र सञ्जुका साथको यो निबन्धमा नियात्राको ढकपल्लाले इतिहासलाई खिचेको छ । नियात्रा–प्रधान निबन्ध यस ढाँचामा लेखिएका भए उत्तम हुनेछ ।
जेनेभा ताल र रूसोको सम्बन्ध, त्यस ठाउँको अवलोकन, ‘दिमागको सट्टा हृदयलाई विश्वास गर’ भन्ने रुसो ठूला चिन्तकसँग तालको निलो जल, रूसोको सालिक, ससानो बँगैचा, कृत्रिम टापु (रूसो टापु) र यसको मोहमा निबन्धकार भित्रै पसेको अभिव्यक्ति रहन्छ । साँस्कृतिक सम्पदा र त्यसको विकास, रूसो तथा उनको टुहुरो र दुःखपूर्ण बाल्यकाल, इच्छाशक्ति अथाह, त्यसले रूसोको जन्मघरतिर तान्छ र म्युजियम लिटरेरी रूसो, सम्म पुगिन्छ । त्यो उनको जन्मघर भएको निचोडमा आउँछ । रूसो र उनीबारे लेखिएका पुस्तकका ठेली छन् । फ्रेन्च भाषा प्रयोगमा आउँछ । त्यहाँ रूसोबाट रचित कृतिका नाम अङ्कित छन् । उनका कृतिले रूसीक्रान्तिमा नागरिकलाई पे्ररणा दिएको बुझिन्छ । रुसोलाई सम्मान गर्ने अनेक प्रतीकहरू सजिएका रहेछन् । प्रतीकमा उपन्यासकार, सङ्गीतज्ञ रुसो जीवन्त छन् । रूसोलाई सम्झेर उनी जन्मिएको घरमा केही क्षण बिताउने पात्रको निबन्ध यात्रामा जीवनी र संस्मरण, अलिकति भ्रमणको यात्रा मिसिन खोजेका छन् । चिन्तनप्रधान निबन्धझैँ पारिन्छ टेढोमेढो प्रसङ्गमा उनका सन्तान पाँचैओटाले आश्रममा आश्रित रहेको विषय अहिले अनौठो लाग्ला ।
‘युङफ्राउ’ शीर्षक भएको एक कृतिको अर्थ भेटिन्छ–‘स्विट्जरलेन्डकी कुमारी’ सँग शीर्षकभित्र यसको कुमारी हिमाल भन्ने अर्थबोध हुनेछ । सुन्दर बैँसालु युवती जस्तो हिमाल हेर्न रेल, केवलकार, लिफ्टजस्ता साधनको सहारा लिनुपर्ने रहेछ । सेताम्मे कुमारी हिमाल हेर्दा मन पुलकित हुँदै जाने, आफ्नै देश हिमालको धनी ठहरिने, हाम्रो देशमा पैदल गएर हिमाल आरोहण गरिने, स्विट्जलल्यान्डमा लिm्टमा चढेर हिमाल हेरिने, चिसो भने उस्तैउस्तै हुने, पहिले फोटो खिच्न कृष्णमान (छुनुमान) श्रेष्ठको निवास घाउनुपर्ने, अहिले हातहातमा मोबाइल, मुहार पुस्तिकामा सजाउन हतार हुने, हिउँका डल्ला हानाहानको कौतुक खेल हुने रहेछ । नियात्राले निर्देशन दिन्छ ः ‘अलेच्’ हिमनदी, झन्डा समाएर खिचिने फोटा, पर्यटन उद्योगको विकसित रूप, ‘युङफ्राउ’ को छाप लगाएर पठाइने पत्र, हामीले आफ्नो देशमा गर्न सकेका छैनौँ भन्ने भाव यसमा गुनसोसम्म रहन्छ । तर आफूले देशबाट भाग्नुपरेको वा पलायनको कारण भने उल्लेख नभएपछि डायस्पोराको सजीव चेतना छैन, नियात्रामात्र बढी देखिन्छ । लाउटर ब्रनेन् उपत्यका, प्रकृतिको काखमा बसेको सानो गाउँ, त्यस उपत्यकासँग सम्बन्धित ‘द लर्ड अफ द रिङस्’ उपन्यास सम्झनामा आउँछ । यसमा आधारित सिनेमा पनि बनेको कुरा छ । त्यस कृतिले ऊर्जा दिएको र कृतिको लागि कच्चा पदार्थ त्यस उपत्यकाले दिएको छ । वृद्धवृद्धा, केटाकेटी यात्रामा सरिक भएको रमाइलो हेरिएछ । हामी मानवलाई फुर्सद मिलाएर हिँड्ने सोख पनि छ । झरनाको सम्मान गरिएको देश र उपत्यका – लाउटरब्रनेन् उपत्यकामा बहत्तर झरना छन् भनिन्छ । नेपालमा कति झरना छन् गनिएका छैनन् ।
एउटा नियात्रा आइन्सटाइन बारेमा तयार छ । जिज्ञासु नजर दौडाएर आइन्सटाइन म्युजियम, टिकट काटेर गरिने अवलोकन, आइन्सटाइनको बेडरूम, उनीबारे जान्ने इच्छा पूर्ण गराउने विभिन्न स्रोत खोजमा छन् । उनलाई प्रसिद्ध वैज्ञानिक भनी संसारले चिन्छ । सूत्र दिने उनी एक संसार प्रसीद्ध वैज्ञानिकका बारेको यो नियात्रा पाठमा उनको कार्य सफलता बारेमा जानकारी दिने स्रातेहरू खोजिन्छन् । उनले काम गरेका संस्थाको सूची हेरिन्छ । आइन्सटाइनका विषयमा लेखिएको पाठले नारीप्रति उनको झुकाउ थाहा दिने छ । सन् १९२१ को नोभेल पुरस्कार उनले पाए । कसैले दिएका राजनैतिक पद यिनले लिन मानेनन् । यो उनको व्यक्रिगत व्यक्तित्वको परिणाम हो ।
‘बर्न हिस्टोरिकल म्युजियम’, फोटो खिचाउने रहर, वर्णनशैलीको उपयोग, उनी यहुदी वर्ग वा जातका प्रसिद्ध पात्रु यहुदीहरूको वैज्ञानिक क्षमताले सबैतिर त्रास पलाएको साहित्यमा ‘हिटलर र यहुदी’ उपन्यासको स्मरण गर्दा हिटलरले मारेका यहुदीहरू टिठ लाग्ने अवस्थाका तथा असहिष्णु स्वभाव सम्झनाको केन्द्रमा, विश्वेश्वरप्रसादको उपन्यासभरि यहुदी लखेटिएको कारण–कार्य बुझिन्छ । सत्ताले दिने सुविधा नलिने यी यहुदीको चाला महान् छ । अर्को एक निबन्धमा लात्ते भकुन्डोका विषयको खेलमा हुने रुचि, अरुचि, यसको मूल सञ्चालक संस्था, त्यसमा नेपालको सहभागिता र विश्वकपको सम्बन्धको विषय चर्चित रहन्छ । ‘जुरिचमा दुई दिन’ ले स्विजरल्यान्डलाई सम्झाउँछ । फुटबललाई सम्मान गर्छ । जुरिच नदी सहरको बिच भागमा रहेछ । सहरले नदी फोहोर पार्दैन, कति श्रेष्ठ सभ्यता हो । हाम्रा विष्णुमती, वागमती मुत्रमती, बिष्टामती बनेका छन् । संसारका असभ्य मानिसमा हामी नेपाली पनि छौँ, यसमा ससानो गुनासो गरिएको छ ।
स्विजरल्यान्ड बारेको एक हप्ताको भ्रमण केन्द्रमा पर्छ । जुरिच सहरको घुमघाम, चर्चहरूको अवलोकनमा रोमन शैलीका चर्च, लिम्मट नदी र त्यसको पानी, ऊर्जाशील वातावरण, लिन्डहोफ डाँडो नेपालका राजा पृथ्वीनारायाण शाहको टाकुरामा रहेको गोरखादरवारझैँ रोमन सैनिकको क्याम्प रहेको अग्लो स्थल, जुरिच सहरका साहसी महिलाको सम्मानमा महिलामूर्ति, नदीकै किनारको चर्च (ग्रोसमुन्टर चर्च)ले धार्मिक स्थलहरू प्रायः नदीको आश्रममा रहेको प्रमाण पुष्टि हुने बुझिन्छ । भोल्तेयरको इतिहास र दादावाद (सन् १९१६ को लगभगमा खराब चरित्र बोकेको बुर्जुवा समाजविरोधी कदम) सुरूभएको प्रसङ्गपछि एक हप्ते यात्रालाई समापन गरिएछ । युरोप र भारत जोड्ने भास्को दा गामाको समाधि स्थल पोर्चुगलको यात्रामा आवद्ध निबन्धले भास्कोका विषयमा प्रशस्त जानकारी गराउँछ । उनको साहसले युरोपसँग भारत जोडिएको मार्ग खोजेको इतिहास बुझिन्छ । उनले मार्ग खोजिदिए, पोर्चुगालीलेभन्दा युरोपका अन्य देशवासीलाई धेरै कुरामा समन्वय गर्न सहज भएको छ । उनले लिएको पानी जहाजको लामो यात्रा गर्ने उनका सहयात्री कतिले ज्यान गुमाए भन्ने विषयमा लामो लस्करले दर्शन गरेर सन्तोष लिन्छ र उनको समाधि स्थल मोनेस्ट्री भित्रको चर्चमा समाधिस्थ यात्री सम्मान गरिन्छन् । चर्को घाम, कठिन यात्रा, स्मारक खोजकर्ताका नामका, त्यसमा विशेष प्रकारको एक भव्य स्मारक हेरिएको बताइन्छ । ढुङ्गाको स्मारक जलयात्रा गर्न तयारझैँ देखिने बताइन्छ । मुर्स क्यासलको अवलोकन अर्को पाठले गराउँछ । त्यसको पर्खाल पनि चढिएछ । यो पाठ पोर्चुगलसँग आवद्ध रहेछ । यसै क्रममा पेना प्यालेस पनि हेरिएछ । तिनको शासनको इतिहास पनि एक रैखिक ढाँचामा कोरिन्छ । फरक फरक सांस्कृतिक कलायुक्त प्यालेस भव्य देखाइन्छ । भूमि समाप्त भएर समुद्रको सुरूआत हेरिन्छ, पोर्चुगलको त्यो भागमा ट्याक्सी चढेर पुगिने रहेछ–पृथ्वीको अन्तिम छेउ निरीक्षणमा उदाउँछ । स्तम्भ, पर्खाल, एट्लान्टिक महासागर जोडिएका रहेछन् । पोर्चुगलको काबो दा रोकादेखि पारि अमेरिका रहन्छ । निबन्धमा त्यो सम्झना निबन्धकारले जीवन्त बनाएका छन् । पोर्चुगलको राजधानी लिस्बोन सम्झँदा पानीको स्मरण गरिन्छ । भारत आएका पोर्चुगिजहरू नेपाललाई सम्मान गर्थे, पछि आएका बेलायतीहरू विस्तारवादी चरित्रका हुन् ।
लन्डनमा रहेका संसार भरिका मानवको भेटलाई यातायातको देन मानिएको छ । अर्जुनजस्तै वाणप्रयोक्ता रविन हुडको संस्मरण, उनी अन्यायका एक्ला विरोधी भएको प्रमण खोजिन्छ । हाम्रो मन र हरियालीको सम्बन्धका विषयको निबन्ध ध्यानको समकक्षी हुन्छ । क्याम्पिङमा पालभित्र सुतेपछि बेग्लै आनन्द, सबै मानव समान हुनेछौँ । नाङ्गै नुहाउने जापानी भूमिको पोखरी पनि समानताको खोजीमा बनेको रहेछ ।
यो घाट रुचाउने कुमार नगरकोटी छन् एउटा कलात्मक चिहान क्षेत्रः नेक्रोपोलिस (चिहान भएको सहर) जसले मृतकबारे जानकारी दिनेछ । लन्डनको मुटुमा रहेको वेस्टमिन्सटर स्टेसन जहाँ विन्सटन चर्चित, नेल्सन मन्डेला, महात्मा गान्धी आदि महापुरूषका भव्य स्मारक (सालिक) हेर्न पाएको गौरवको यात्रा गरिन्छ । अर्को पाठ रविन हुडको चरित्र अत्याचारका विपक्षमा उभिनु हो, जो चलचित्र, नाटक र क्रान्तिकारी गीतमा उपस्थित हुन्छन् ।
क्रिस्तो रेई जान लिस्बोनको सडकमा बस चढेर गइन्छ, टागस नदी हाम्रो सप्तकोसीझैँ पानी दिएर गुन लगाउँछ । बिजुली र सडक भएको गाउँ आल्मदा पुगिन्छ, क्राइस्ट द किङ वा क्रिस्ट महाराजा–जिजस क्राइस्टको पूर्णकदको विशाल प्रतिमा हेर्ने लक्ष्य हो । भानुभक्तलाई निकै ठूलो आकारको पित्तल मूर्तिमा गेजिङ बजार (सिक्किम) मा राखेझैँ ठान्ने यो अनुमान भित्र धेरै अग्लो स्तम्भमा क्राइस्टलाई सजाइएको दृश्यमा पुगिन्छ । त्यसमा धार्मिक आस्थाको अर्थ दोस्रो विश्वयुद्धमा क्राइस्टले पोर्चुगिललाई रक्षा गरेको भन्ने लगाइन्छ । त्यहाँबाट टागस नदी तल देखिने रहेछ । नेपालको पोखराको साराङकोटमा शिवमन्दिर जैनधर्मीले के अर्थले हो त्यस्तै ठुलो निर्माण गरेका छन् ।
एउटै भवनभित्र विवाह, उत्सव, मृत्युपछि समाधिस्थल भएको ठाउँ संसारमा अनेत्र छ वा छैन तर बेलायतमा वेस्टमिन्स्टर आबे भनिने भवन हेरिएको छ । राजा, प्रसिद्ध नेताहरूका खरानी त्यहाँ गाडिएका छन् । त्यहाँको पोएट्स कर्नर कविको तीर्थस्थल । त्यस्तो ठाउँमा पाइला राख्न पुग्नु साहित्यको सम्मानमा उभिनु हो । महान् नाटककार शेक्सपियरको सालिकमा श्रद्धाअर्पण गरेको सम्झना छ ।
क्याम्पिङको अनुभव लिएका नियात्राहरूमा संस्मरण प्रधान ढाँचा अनुकूल हुनेछन् । भर्चुअल सम्बन्धका निबन्धले आधुनिक विज्ञानलाई छुन्छन् । बेलायत यात्राको यस नियात्राले अनुभूतिको स्वाद, क्याम्पिङ जाने रुचि, तनावबाट अलि कति भाग्ने उपाय, निकै टाढाको साइट, कारले आफैँ दिशाको निर्देश गर्ने ठाउँ, यसबाट चित्तवृत्ति शुद्ध हुने आशा, प्रकृतिसितको निकटता, अनलाइनसँग नजोडिने समय मिलाउनेहरूको अनुभव साटासाट हुन्छ । डिजिटल डिटोक्स (सम्पर्कबाट छुटकारा) एउटा पार्कमा वनभोज गएको स्वाद, आफूलाई समुद्र, तारा, रुख र गहुँसित संवाद गर्न मिलेको अनुभव निबन्धकारले गरेका छन् । रूसोले प्रकृतितिर फर्क भनेझैँ प्रकृतिकै बिचबाट बोडियम क्यासल अवलोकनको अनुभूभि साटासाट हुने रहेछ । सर एडवर्डले सन् १३८५ मा बनाएको क्यासल (दरबार) को पुरानो इतिहाँसतिर कलम एकोहोरिन्छ ।
यी सबै कुरा हेर्ने आँखाको क्षमता गज्जब छ । रहस्यका गुफामा लुकेका धनी र अपराधी, लुटाहा–शोषकका विरोधी रबिन हुडको विरोध गर्ने शैली तथा विरोधका समयमा उनले खेलेको भूमिका एक पटक हेर्दा खतरा लाग्दै जान्छ । मध्यकालमा आफ्नो धन लुटिएपछि उनले गरिबको समर्थन र शोषकको विरोधमा ठुलो जोखिम उठाएका थिए जसको सालिक नटिङ्घम क्यासलको प्राङ्गणमा अवस्थिछ छ । रबिन हुड धनीलाई तर्साउने प्रतीक हुन् । धनुवाण बोकेको सालिक अझै जीवित छ । उनी कथा, कविता, नाटक, सिनेमा भित्र एक विद्रोशी पात्र भएर मध्ययुगदेखि आधुनिक युगसम्म सर्दै जाँदा हाम्रो स्वस्थानी व्रतकथाका शिवका सहयोगी तथा गरिबका सहयोगी पात्र नेपालमा सत्य रूपमा आउन समय लाग्ला ।
निष्कर्षः
निबन्ध युङफ्राउ सेतासेता हिमालसँग नजिक रहन रुचाउने एक नेपाली युवकको पारि देशको अनुभूति हो । यस सङ्ग्रहका नियात्रामा मूलतः प्राचीन संस्कृति र साहित्यकार कलाकारलाई सम्झनामा लिएर उनका समाधिस्थलको निरीक्षण गरिएका अथवा सालिक वा सङ्ग्रहालय हेरिएका निबन्ध कलाकारको मोहका विषयमा टेकेर उभिन्छन् । दोस्रो तहका र फरक विषयका निबन्धले कुनै प्रसिद्ध पुरूषका विषयमा झुकाउ राख्छन् र तिनको जीवनी झल्काउँछन् । तेस्रो प्रकारका निबन्धहरू प्रसिद्ध हुन नसकेको ओझेलमा परेका मानव, स्थान, धर्म, रमणीय मैदान तथा सांस्कृति सम्पदासँग आवद्ध निबन्ध पनि छन् । साधारण निबन्ध घरभित्र बसेर लेखिन्छन् । बौद्धिक साधना गर्न पुस्तकालय पुगिन्छ तर यी नियात्रा प्रधान निबन्धमा समय, धन र बल खर्च हुन्छन, किनकि त्यस मठ वा चर्च वा सङ्ग्रहालयमा पुग्नुपर्दा यातायातमा शरीर गल्छ । डलर चाहिन्छ र अहिलेका व्यस्त समयमा घटौती वा कटौती हुन्छ । बजगाइँले यी सबै कुराको एकमुष्ट उत्सर्ग गर्नु भनेको हिम्मत, त्याग र लोभ हीनताको फलिफाप हो ।
धरान