१.सम्मुख:-
विक्रमसंवत् २०१३ साल जेष्ठ २० गते तनहुँ जिल्लाकाे केशवटार सुकौरामा जन्मिएका केशवराज भट्टराई साहित्य आकासमा केशवराज आमोदीको नामले सुप्रसिद्ध छन् । हाल चितवन जिल्लाको रत्ननगर नगरपालिका वार्ड नंबर १३ माधवपुरलाई आफ्नो स्थायी बसोबास बनाएर साहित्य साधनामा तल्लिन रहेका महाकवि आमोदीका दर्जनौं कृतिहरू प्रकासित भैसकेका छन् ।
विभिन्न साहित्यिक संस्थासँग आवद्ध आमोदी दर्जन भन्दा बढी साहित्य संस्थाबाट पुरस्कृत र सम्मानित भैसकेका छन् । विद्यार्थी अवस्थादेखि साहित्य साधनामा निरन्तर क्रियाशील आमोदी विभिन्न साहित्यिक पत्रिकाको सम्पादन समेत गरेका छन् । हिमाल रुन्छ (उपन्यास) २०४७,अरण्य रोदन (खण्डकाव्य) २०५४,सत्ता साधन ( मुक्तक सङ्ग्रह) २०५८, गजल दीपिका (शोधकाव्य) २०६०, कर्मभूमि (ऐतिहासिक खण्डकाव्य) २०६०,जल तरङ्ग (गजल काव्य) २०६०, बहर वाटिका (गजल सिद्धान्त र प्रयोग) २०६९, प्लिज म अहिले टेन्सनमा छु (निबन्धसङ्ग्रह) २०७१,जल तरङ्ग (सिद्धान्त र प्रयोमा आधारित गजल काव्य) २०७२ लगायत अनगिन्ती सिर्जना प्रकाशित भैसकेका छन् । साहित्यको जुनसुकै विधामा पनि कलम चलाउने गरेका आमोदीको यहाँ भने उषा अनिरुद्ध महाकाव्यको सामान्य वर्णन गर्ने प्रयास गरेको छु ।
२. प्रस्तावना :
भनिन्छ कुनै पनि महाकाव्यको प्रारम्भको पंक्तिहरूले त्यसमा अन्तर्निहित सम्भावना एवं उद्देश्यलाई सङ्केत गरेको हुनुपर्छ । जसरी भनिएको छ, त्यसरी नै उषा अनिरुद्ध महाकाव्यका सुरुका पङ्तिमा सोही बमोजिमको प्रस्तुती देख्न पाइन्छ । मन प्रसन्न हुन्छ । गहिराइमा पुगेर रसास्वादन गरिहाल्ने प्रवल इच्छा जाग्रत हुन्छ, त्यो पनि भाका हालेर अनि भाका फेरी फेरी।
कुनै यज्ञ सम्पन्न गर्नकालागि कर्ताको निधारमा टीका लगाएर यज्ञमा हुनसक्ने सम्भावित विघ्नबाधाको खातिर सर्वप्रथम मङ्गलाचरण मार्फत मङ्गल कामना गर्ने गरिन्छ । महाकाव्य लेखन प्रक्रिया पनि त्यस्तै एउटा यज्ञ हो । यसर्थ एउटा धार्मिक यज्ञमा जस्तै महाकाव्य थालनीमा पनि मङ्गलाचरण र उद्देश्य सहितको प्रस्तावना लेख्ने प्रचलन रहिआएको छ । यस उषा अनिरुद्ध महाकाव्यमा महाकवि केशवराज आमोदीले पनि सोही परम्पराअनुसार वैदिक मंमगलाचरण र सुन्दर ढङ्गले प्रस्तावना प्रस्तुत गरेर महाकाव्यलाई न्याय मात्र गरेका छैनन् महाकाव्य लेख्न जमर्को गर्ने पछिल्लो पुस्तालाई समेत उचित मार्गदर्शन गरेका छन् ।
३. महाकाव्यको स्वरूपमा उषा अनिरुद्ध :
यज्ञ सञ्चालन गर्ने पण्डितहरू सबै एकनासका हुँदैनन् । कुनै पण्डित दक्ष हुन्छन्, कुनै कर्मकाण्डको हत्यौडी मात्र जानेका । महाकाव्य यज्ञ यस्तै धार्मिक यज्ञ सम्झिनु पर्छ । संस्कृतमा मात्र होइन, नेपाली भाषामा पनि धेरै महाकाव्य लेखिएका छन् । कति महाकाव्य उच्चकोटीको बनेका होलान् , कति ठिकै बने होलान् । कति रीत पुगेका र उत्कृष्ट महाकाव्य पनि होलान्, कति सामान्य बने होलान् । तर उषा अनिरुद्ध महाकाव्यका महापण्डित केशवराज आमोदी भने त्यस्ता महापण्डित हुन् जसले साहित्यिक कर्मकाण्ड हतार हतारमा र रीत पुर्याउनका लागि मात्र गर्दैनन् । उनले साहित्यको जुनसुकै विधामा कलम चलाए पनि पूर्णरुपमा काव्यिक सिद्धान्त अपनाएर साहित्य सिर्जना गर्ने गर्छन् । उनले सिर्जना गर्ने गरेका सबै प्रकारका काव्य, आख्यान, निबन्ध , गजल वा समीक्षालगायत सबै साहित्यिक विधाहरूमा विधागत सैद्धान्तिक गुणहरू पाइन्छन् । त्यसैले आमोदी साहित्यका सर्वाङ्गीण विधामा विधिपूर्वक कलम चलाउने एक होनहार साहित्यिक महापण्डित र सर्जक मानिन्छन् । यो उनको लेखकीय क्षमताको दह्रो प्रमाण हो । महाकाव्य “ उषा अनिरुद्ध " त्यसै मध्येको एउटा उच्चकोटीको महाकाव्य हो ।
साहित्यिक दृष्टिकोणले उषा अनिरुद्ध महाकाव्यको विषयवस्तु, ऐतिहासिक तथ्य र कविको मनोकल्पनामा आधारित भएकोले यसको कथावस्तु युगानुकूल बनिन गएको छ । उषा अनिरुद्धको अपूर्व प्रेम कथालाई महाकविले यहाँ महाकाव्यका माध्यमबाट अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । यो महाकाव्य साहित्य जगतमा एक उत्कृष्ट कृति सावित भएको छ । यसमा महाकाव्यको भावपक्ष मात्र होइन कलापक्ष पनि उत्तिकै बेजोड र सुन्दर छ। उषा अनिरुद्ध महाकाव्यको विवेचना गर्ने सामर्थ्य नभए पनि सामान्य वर्णन गर्ने जमर्को गरेको छु ।
४. सर्गबद्धता-
सर्गबद्धताको दृष्टिकोणमा उषा अनिरुद्ध महाकाव्य पूर्ण र पौराणिक कथामा आधारित विशिष्ट श्रेणीको महाकाव्य हो । यसमा रचित काव्य सिर्जना सर्गबद्ध छन् । यसको कथावस्तु बिस सर्गमा विभाजित गरिएको छ ।
५. छन्द –
छन्दका दृष्टिले पनि उषा अनिरुद्ध महाकाव्यका लक्षणहरूको पूर्णरूपले पालन गरिएको महाकाव्य बनेको छ । संस्कृतका काव्य विज्ञहरूका अनुसार एक सर्गमा एक छन्दको प्रयोग वा बहु छन्दको प्रयोग गर्न सकिने मान्यता अनुरुप सोही पथलाई आत्मसात् गरी महाकाव्यको रचना गरिएको छ । यसैगरी महाकाव्यको सिद्धान्तलाई अक्षरश: पालना गर्दै महाकवि केशवराज आमोदीले प्रत्येक सर्गको अन्तमा छन्द परिवर्तित गरेर महाकाव्यको मूल्य र मान्यतालाई पूर्णरूपमा अवलम्बन गरेका छन् । जुन वर्तमान अवस्थामा लेखिएका केही महाकाव्यहरूमा हतपत्ति देख्न पाइँदैन । यसको लागि महाकाव्यकार आमोदीलाई विशेष धन्यवाद नदिई रहन सकिन्न ।
महाकाव्यको अष्टादश सर्गमा एक मात्र छन्दको प्रयोग गरिएको छ भने अधिकांश सर्गमा बहु छन्द प्रयुक्त छन् । उदाहरणको लागि द्वितीय सर्गलाई लिन सकिन्छ । यस सर्गमा वसन्ततिलका छन्दलाई मुख्य छन्द र अर्को छन्द भुजङ्गप्रयातको प्रयोग गरिएको छ । अन्तिम श्लोकमा मालिनी छन्दबाट सर्ग परिवर्तन गरिएको छ । उषा अनिरुद्ध महाकाव्यको छन्दलाई सर्गानुसार यसरी विवेचना गरिएको छ ।
६. सर्गको स्थापना र सार्थकता
प्रथम सर्ग:- महाकविले प्रस्तावनालाई नै प्रथम सर्ग मान्दै तोटक छन्दको प्रयोग गरेर ३९ श्लोकबाट प्रथम सर्गलाई विश्राम दिएका छन् । अन्तिम परिवर्तित एक श्लोक शार्दूलविक्रीडित छन्द रहेको छ ।
द्वितीय सर्ग:- मुख्य छन्द वसन्ततिलका, सर्गान्तमा भुजङ्गप्रयात र परिवर्तित छन्दमा मालिनी छन्दको प्रयोग गरिएको छ। यस सर्गमा ४२ श्लोक छन् ।
तृतीय सर्ग:- मुख्य छन्द अनुष्टुप, सर्गान्तमा शालिनी र परिवर्तित छन्द अनुष्टुप छन्द समाविष्ट छ। यस सर्गमा ४८ श्लोक छन् ।
चतुर्थ सर्ग :– मुख्य छन्द वसन्ततिलका, परिवर्तित अनुष्टुप छन्द र सर्गान्तमा वसन्ततिलका प्रयोग गरिएको छ । यस सर्गमा कुल ५५ श्लोक छन् ।
पंचम सर्ग: - शिखरिणी छन्द मुख्य छन्द, मध्ये भाग र सर्गान्तमा पञ्चचामर र इन्द्रवंशा तथा श्लोक परिवर्तित छन्दमा वंशस्थ छन्दको प्रयोग भएको छ । यस सर्गमा कुल ५५ श्लोक रहेका छन् ।
षष्ठ सर्ग:- थालनीमा शार्दूलविक्रीडित छन्द एवं पञ्चचामर, वंशस्थ, शिखरिणी, अनुष्टुप, मन्दाक्रान्तासहित वसन्ततिलका छन्दको प्रयोग गरिएको छ । यस सर्गको प्रसङ्ग परिवर्तित छन्द भने शार्दूलविक्रीडित रहेको छ । यसरी षष्ठ सर्गमा जम्मा ५५ श्लोक छन् ।
सप्तम सर्ग:- शिखरिणी छन्द मूल छन्द रहेको यो सर्गमा प्रसङ्ग परिवर्तित छन्द स्वागता रहेको छ । यस सर्गमा जम्मा ५२ श्लोकहरू रहेका छन् ।
अष्टम् सर्ग:- मूख्य छन्द मन्दाक्रान्ता,यस बाहेक वियोगिनी,मालभारिणी, सुन्दरी र इन्द्रवज्रा छन्दको प्रयोग गरिएको छ भने प्रसङ्ग परिवर्तित छन्दमा मालिनी छन्द रहेको छ। अष्टम सर्गमा कुल ५९ श्लोकहरू छन् ।
नवम् सर्ग:- मुख्य छन्द मन्दाक्रान्ता, चित्रलेखा, पञ्चचामर छन् भने प्रसङ्ग परिवर्तित अन्तिम श्लोकमा शिखरिणी छन्दको प्रयोग गरिएको छ । नवम् सर्गमा कुल ४४ श्लोक समावेश छन् ।
दशम सर्ग: – यो सर्गमा शार्दूलविक्रीडित, मालिनी , स्रग्धरा छन्दको प्रयोग गरेर प्रसङ्ग परिवर्तित अन्त्यको श्लोकमा शार्दूलविक्रीडित छन्द प्रयोग गरी ५३ श्लोकबाट यो सर्ग सिंगारिएको छ ।
एकादश सर्ग:- मुख्य छन्द शार्दूलविक्रीडित र मन्दाक्रान्ता तथा परिवर्तित छन्दमा शार्दूलविक्रीडित प्रयोग भएको यो सर्गमा ४८ वटा सुन्दर श्लोकहरू समावेश छन् ।
द्वादश सर्ग:- वसन्ततिलका र शार्दूलविक्रीडित छन्द द्वारा सिंगारपटार गरिएको यस सर्गमा परिवर्तित छन्द मालिनीले सर्गको बिट मारिएको छ । यस सर्गमा ४९ वटा श्लोक छन् ।
त्रयोदश सर्ग:- यस सर्गमा मुख्य छन्द मन्दाक्रान्ता, पञ्चचामर र शार्दूलविक्रीडित छन् । परिवर्तित छन्द तोटक रहेको छ। यस सर्गमा जम्मा ५६ श्लोकहरू छन् ।
चतुर्दश सर्ग:- मुख्य छन्द वसन्ततिलका रहेको छ । यस बाहेक मन्दाक्रान्ता, उपजाति, स्वागता, मालभारिणी, मौक्तिकमाला छन्दहरू छन् । अन्त्यमा परिवर्तित छन्द तोटक छन्दले बिट मारिएको यस सर्गमा जम्मा ५६ श्लोकहरू छन् ।
पञ्चदश सर्ग :- मुख्य छन्द मन्दाक्रान्ता एवं वसन्ततिलका र शार्दूलविक्रीडितद्वारा सुसज्जित यस सर्गको परिवर्तित छन्द उपेन्द्रवज्रा रहेको छ । श्लोकको संख्या ६० वटा छन् ।
षोडश सर्ग: - मुख्य छन्द मन्दाक्रान्ता बाहेक उपजाति,अचलधृति/गीत्यार्थ , भुजगशशिभृता, चन्द्रलेखा, मदनललिता, शशिवदना, द्रुतविलम्बित, (१९ श्लोक) शार्दूलविक्रीडित,कुसुमविचित्रा, विद्युन्माला, स्रग्विणी, वंशस्थ, मन्दाक्रान्ता छन्दको प्रयोग गरिएको छ । यस सर्गमा सर्वाधिक छन्दहरूको प्रयोग गरिएको छ । प्रसङ्ग परिवर्तित छन्दमा मालिनी छन्द छ । यस सर्गमा श्लोक संख्या पनि सर्वाधिक ९३ श्लोक छन् ।
सप्तदश सर्ग :- मन्दाक्रान्ता छन्दबाट सर्ग प्रारम्भ गरिएको यस सर्गमा शालिनी र पञ्चचामर छन्द छन् । परिवर्तित छन्द मालिनी रहेको यस सर्गमा ६२ श्लोकहरू छन् ।
अष्टादश सर्ग: - मूल छन्द शार्दूलविक्रीडित रहेको यस सर्गको अन्तिम श्लोकमा मन्दाक्रान्ता छन्दले सर्गको अन्त्य गरिएको छ । यस सर्गमा ६२ श्लोक छन् ।
एकोनविंश सर्ग:- वसन्ततिलका र मन्दाक्रान्ता छन्दमा लेखिएको यस सर्गको अन्त्यमा इन्द्रवज्रा छन्दको प्रयोग भएको छ । श्लोक संख्या ६४ छन् ।
विंश सर्ग: - मुख्य छन्द मन्दाक्रान्ता र शार्दूलविक्रीडित द्वारा अलङ्कृत विंश सर्ग र महाकाव्यको अन्तिम सर्गमा जम्मा ४६ श्लोक छन् ।
यसरी महाकाव्यमा कुल श्लोक संख्या ११२६ रहेकोछ । भने महाकाव्यमा सजाइएका सुन्दर छन्दहरूको संख्या २९ रहेको छ ।
७ . मंगलाचरण-
उषा अनिरुद्धमा महाकवि केशवराज आमोदीले मङ्गलाचरणको परम्परालाई पूर्णतः निभाएका छन् । उनले ग्रन्थको प्रारम्भमा ईश्वर साक्षी राखेर राष्ट्रवन्दना गर्दै यस महाकाव्यको शृंखलामा आबद्ध गरेका छन् । जसलाई मन्दाक्रान्ता छन्दमा सिँगारिएको छ ।
८. प्रस्तावना -
महाकविले प्रस्तावनामा प्रश्नात्मक शैलीको प्रयोग गरेर अत्यन्त सुन्दर तरिकाले महाकाव्य रचनाको स्पष्ट कारण दिएका छन् । जसका कारण महाकाव्यका पाठकहरू अलमलमा पर्नु पर्दैन । जसमा महाकाव्यको सार सुन्दर तोटक छन्दको प्रयोग मार्फत ऐेना हेरे जस्तै छर्लङ्ग बनाइदिएका छन् ।
९. प्रकृति वर्णन-
उषा अनिरुद्ध महाकाव्यमा प्रभात, सन्ध्या, सूर्य, पर्वत, नदी, तलाउ , बिभिन्न ऋतु, लता, वृक्ष, बाटिका आदिको प्राकृतिक दृश्यको वर्णन अत्यन्त सुन्दर र कलात्मक ढङ्गले चित्रण गर्न महाकवि सफल भएका छन् । अतः प्रकृति वर्णनको दृष्टिबाट उषा अनिरुद्ध महाकाव्य कसौटीमा पूर्ण रूपले खरो उत्रिएको देखिन्छ ।
१०. वंश वर्णन -
श्रीकृष्णको वंशको विस्तारसँग वर्णन गरिएकोछ । साथमा द्वारकाको वर्णनले महाकाव्यले पाठकलाई द्वारकाको सुरम्य स्थलमा पुर्याएको अनुभूति दिन्छ । यहाँपनि महाकविको वर्णन शिल्पको प्रशंसा नगरि रहन सकिन्न ।
११. लोक विख्यात कथानक-
लोक विख्यात कथानकलाई मध्यनजर गर्दा उषा अनिरुद्ध महाकाव्य उत्कृष्ट काव्य सिर्जना बनेको छ । किनकि यसमा जुन उषा अनिरुद्ध कथाको वर्णन गरिएको छ उपरोक्त कथा नेपाली समाजको जनजिब्रोमा झुन्डिएको र नेपाली गाउँघरमा भट्याइने भजन बालन र मञ्चन गरिने नाटकमा समेत प्रस्तुत गर्ने गरिएको छ । पौराणिक कथाहरूमा सुन्ने र सुनाउने गरिएको छ । यसले युग-युगान्तरसम्म जन मानसमा उच्च स्थान बनाइ रहनेछ ।
१२ रस-
उषा अनिरुद्धमा शृंगार रसको प्रधानता भएपनि अन्य नौ वटै रसको उचित र यथेष्ट प्रयोग गरिएको छ । यस महाकाव्यमा वीररसको प्रसङ्गमा ओजगुण युक्त, श्रृङ्गाररसको प्रसङ्ग आउँदा माधुर्य गुणले भरिपूर्ण भएका श्लोकहरू छन् । यतिमात्र होइन यसमा मनोरम भाषाको रसपान गर्न पाइन्छ । यमक , अनुप्रास अनि उपमा , रूपक अथान्तरन्यास , उत्प्रेक्षाजस्ता अलङ्कारको पनि सुन्दर छवि पाइन्छ । अतः रसको दृष्टिकोणबाट पनि उषा अनिरुद्ध महाकाव्य लाखमा एक मान्न सकिन्छ ।
१३. अलङ्कार
महाकाव्यमा अलङ्कारको प्रयोग यसरी गरिएको छ कि, झलक्क हेर्दा मात्र होइन, श्लोकका भावमा डुब्दै गर्दा उषा अनिरुद्ध महाकाव्यका प्रत्येक श्लोकहरू विभिन्न रङ्गका सुगन्धित र सुन्दर फूलका थुँगाले गाँसेको आकर्षक माला जस्तो देखिन पुगेको छ । जसको अनुभूति महाकाव्य अध्ययन गर्दैगर्दा मन प्रशन्न भएबाट यसैपनि थाहा पाउन सकिन्छ । यिनै अलङ्कारका कारण प्रस्तुत महाकाव्यका हरेक श्लोकहरू अत्यन्त रसानुकूल भाव सहित प्रस्तुत भएका छन् । त्यसैले प्रस्तुत गरिएका अलङ्कारका सबै प्रकारका भेदहरूले महाकाव्य विशिष्ट श्रेणीको बन्नपुगेको हो । काव्यमा अलङ्कार भर्ने उत्कृष्ट शिल्प शैली र महाकविको लेखनकलालाई चानचुने सम्झन मिल्दैन ।
१४. नायक –
कविले काव्य परम्परामा जस्तै अमूल्य रत्न श्रीकृष्णको वंशका महान श्रीकृष्णलाई नायकत्व प्रदान नगरी उनका नाति अनिरुद्धलाई नायकत्व प्रदान गरेपनि कथामा अन्याय भएको भान कतैबाट पनि नहुनुलाई महाकविको उच्चस्तरीय लेखन क्षमताको प्रशंसा नगरी रहन सकिन्न । धीरोदात्त नायकका रुपमा श्रीकृष्णलाई प्रस्तुत गरिएपनि उषा अनिरुद्धका नायक अनिरुद्धलाई प्रधान पात्रको रुपमा प्रयोग गरेर महाकविले आफैमा एउटा सुन्दर प्रयोग गर्न सफल भएका छन् ।
१५. उपसंहार :
स्पष्टरुपमा अर्थ, धर्म, काम र मोक्ष जस्ता विषयलाई महाकविले धर्म फलको रूपमा स्वीकार गरेका छन् । उषा अनिरुद्धमा यदि प्रयत्न गरि खोजी गर्ने हो भने यसभित्र नाटकीय सन्धि, प्रकृति एवं कार्यको अवस्था समेत उचित तवरले प्रस्तुत गरिएको पाइन्छ ।
उषा अनिरुद्धमा नाटकीय सन्धिको स्थानमा आदि, मध्य र पर्यवसानलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । आरम्भबाट द्वारका वर्णनदेखि अनिरुद्धको जन्मसम्म ग्रन्थको आरम्भ मानिएको छ । नवम र दशम सर्ग कथाको खलनायक वांणासुरको नियन्त्रण रहनु कथाको मध्य भाग मानिएको छ । यसैगरी अन्तिम नायक नायिकाको परिणयमा पुगेर अन्तिम संर्गबाट पर्यवसान गदै उषा अनिरुद्ध महाकाव्यको समापन गरिएको छ ।
यस अर्थमा अन्त्यमा उषा अनिरुद्ध महाकाव्य लाई आधुनिक नेपाली साहित्यमा युगप्रवर्तक महाकाव्य मान्न सकिन्छ । द्वन्द्व वा युद्धलाई हरतरहले अनुत्पादक र निग्रहणीय ठान्दै शान्ति र प्रेमले नै मानव-जीवन आलोकमय बनाउन सकिने दिगन्त सन्देश दिईएको छ । समग्रमा प्रस्तुत कृति पठनीय र संग्रहणीय बनेको छ । यस्तो अमूल्य कृति पाठक समक्ष प्रस्तुत गरेकोमा महाकवि केशवराज आमोदीलाई हार्दिक बधाई दिन चाहन्छु ।
कालिका चितवन ।