17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुदिता

निबन्ध केशव पाठक July 19, 2024, 2:46 pm
केशव पाठक
केशव पाठक

एकाएक यसरी ‘मुदिता’ नामकी पात्रसँग भेट्दा म छक्क छु । यी मुदितालाई भेटेपछि बिर्सिसकेकी अर्की मुदिताको याद आइरहेको छ । मेरो मानसपटलमा कुनै दिन ‘मुदिता’ नामले यसरी दस्तक देला वा यो विषयमा केही लेखुँला यो कल्पनाभन्दा बाहिरको कुरा हुन लागेको छ ।

मुदिता नामकी पात्र मेरो स्कूले जीवनको सहपाठी थिई । त्यतिखेर मुदिता नामको मौलिकता र त्यसको अर्थ बारे मलाई कुनै चासो पनि थिएन । बस, मुदिता श्रेष्ठको नाम ‘मुदिता’ थियो । उ क्षेत्रपाटी बस्थी म टंगाल गैरीधारा बस्थें । पद्मोदय स्कुलमा सँगै पढ्थ्यौं । पढाइमा हामी औसत थियौं । उ र म दुवैजना वादविवाद, हाजिरीजवाफ र कविता लेखन विषय आयो भने फुर्किन्थ्यौं जस्तों लाग्छ । यद्यपि यी तीनवटै विषयमा हामी अब्बलचाहिँ थिएनौं निश्चित छ ।

आज प्रशान्त महासागरको पश्चिमी तटको पनि भित्री भाग मेक्सिकोको पुर्टो भालार्टा भन्ने ठाउँमा भेटिएकी यी मुदिता २०४२ सालमा मसँगै एसएलसी दिएकी ती मुदिता थिइनन् । समुन्द्र किनारामा भेटिएकी यी मुदिता अमेरिका बस्ने नेपालीकी छोरी थिइन् मभन्दा झण्डै ३० वर्ष कान्छी । मेरो सहपाठी मुदिता र यी मुदितामा बस एक कुराकोमात्र मेल थियो, त्यो हो नाम ।

पुर्टो भालार्टाको फेमस ‘लास क्यालेटस बिच’ सँगैको जंगलमा यत्रतत्र पाइने करबिरको बोटमुनी भेटिएकी मुदिता इन्स्टाग्राम इन्फ्लुयन्सर हो । अमेरिकाबाट एक्लै पुर्टो भालार्टा घुम्न पुगेकी उसले मलाई सानो भिडियो खिचिदिन अनुरोध गरेपछि उसको नाम अनि परिचयसँगै यो निबन्धको प्लट बन्न पुगेको थियो । उसले ‘आइ एम मुदिता रिषभ फर्म युस’ भनेसँगै म मुदिता नामसँग नोस्टाल्जिक बन्न पुगेँ ।

‘मुदिता !’
मैले नामलाई अझै ठम्याउन खोजें । उसले ‘एम यु डि आइ टि ए’ भनेर स्पेल नै गरिदिई । अब भने निश्चित भएँ । मैले ‘मुदिता भनेको के हो थाहा छ तिमीलाई ?’ उसले सिधै इन्कार गरी । पुर्टो भालार्टामा भेटिएकी मुदिताको प्रशंग भने यस निबन्धमा यत्ति हो । मैले उसको मोबाइलबाट केहि सट छोटा भिडियो अनि केही फोटो खिचिदिएँ । उसले धन्यवाद् भनी ।

पुरानो ‘मुदिता’ जसको अनुहार म आजका दिनमा खासै याद गर्न पनि सकिरहेको छैन, ४० वर्षअघिको कुरा हो । उसको नाममात्रले झस्काएको हो आज मलाई । मैले आफ्नो जीवनमा मुदिता नामका पात्र भेटेको आजसम्म यिनै दुईजना हुन् ।

म मुदितासँगको प्रशंगहरू याद गर्ने प्रयासमा छु । एकपटक सायद ०४० सालतिर होला, पद्मोदय स्कुलका तर्फबाट हाजिरीजवाफका खेल्न मुदिता र म बुढानीलकण्ठ स्कूल पुगेका थियौँ । बडो बिजोगले हारिएको थियो । थोत्रो जर्मन बस चढेर अरू केही साथीका साथ स्कुल फर्किँदा प्रअ सरले नराम्ररी गाली गरेको यादचाहिँ स्मरण भयो ।

यो निबन्ध लेखिरहँदा र मुदितालाई सोचिरहँदा लाग्छ, मुदिताका कारण मेरो जीवन राजनीतिसँग साक्षात्कार भएको थियो । सायद मुदिताका पिताजी भुमिगत नेता थिए । नेताकी छोरी भएकाले मुदिता पनि कतै कतै राजनीति गर्ने खालकी थिई भनेर अहिले अनुमान गर्न सक्छु यतिखेर तर त्यतिबेला अत्तोपत्तो केहि पनि थिएन ।

मलाई म्याक्सिम गोर्कीको ‘आमा’ पुस्तक मुदिताले दिएकी थिई । कसरी ? कुन प्रशंगमा ? त्यो किताब उसले मलाई दिएकी थिई भन्ने कुरा मैले सम्झन प्रयत्न गरिरहेको छु तर आइरहेको छैन । आमा किताब मैले दोहोर्याएर पढेको थोरै किताबमध्ये एक हो । त्यो किताबको एउटा पात्रबाट म यतिसम्म प्रभावित थिएँ कि मैले लामो समय आफ्नो नाम नै ‘केशव पाभेल’ भनेर राखेको थिएँ ।

केशब पाभेलको नाममा केहि थान रचनाहरू छापिएका पनि छन् । केही पुराना साथीहरूले अझै मलाई ‘पाभेल’ भनेर नै बोलाउँछन् । पछि त्यो पुस्तक एउटा साथीले लिएर फिर्ता गरेन । तर मेरो मानसपटलमा आजका दिनमा पनि आमाभित्रको पाभेल पात्र र उसको बुबाको कालो कुकुर अमिट छाप बनेर बसेको छ।

०४२ सालको मंसिर लागिसकेको थियो सायद तर यकिन भने छैन । हामी एसएलसीको तयारीमा थियौं । त्योबेला माघमा एसएलसी हुन्थ्यो । हामीमध्ये धेरैको अंग्रेजी विषय कमजोर थियो । हामीले सोरखुट्टे उकालोभन्दा माथि सरस्वती क्याम्पसअगाडि एक ल्याङ्गेज सेन्टरमा अंग्रेजी कोचिङ पढ्न थाल्यौं । स्कुलका २० जनाजति साथीहरू थियौं यसरी कोचिङ पढ्ने ।

एकदिन शुक्रबार हुनुपर्छ, दिउँसोको कोचिङ सक्किएपछि मुदिताले हामीमध्ये केही मिल्ने ५ जनालाई कतै जान अफर गरी । ‘एकदमै राम्रो ठाउँमा जाने हो’ भन्दै त्यहाँ किन जाने भन्ने विषयमा पछि भन्छु भन्दै लगी । मुदिताले सोरखुट्टै, नयाँबजार हुँदै विष्णुमती खोलाको किनारा पुर्याई । विष्णुमती वारी झुपडीजस्तो मन्दिर थियो जुन अहिले पनि छ। त्यो गुरू नानक मन्दिरबाट ओर्लिएर हामी खोला किनार किनारै अलिकति हिँड्यौं ।

सय मिटरजत्ति हिँडेपछि दाहिनेपट्टी सानो झुपडीजस्तो घर थियो । बाँसका झाँगहरू अरू के के रुख तथा झाडीजस्तो लाग्ने त्यो ठाउँ निकै अनकंटार लागिरहेको थियो । मुदिताले निकै सस्पेन्समा राखेर हामीलाई त्यहाँ लगी । हामीले सायद सोच्यौं एसएलसी परीक्षासँग सम्बन्धित विषयमै उसले केही भन्न वा गर्न खोजिरहेकी छे वा हामी लहैलहैमा गयौं केही पनि नसोची । हामी सँगै गएका बाँकी ४ जना साथीको नाम यतिखेर याद गर्न सक्दिन । ती चारैजना पुरूष थिए अनि एकजना साथीको टुपी थियो यत्तिसम्म याद छ। मुदितामात्र महिला थिई ।

बाँसको फाटकजस्तो ढोका खोलेर हामी भित्र छिर्यौं । भित्र घरको आँगनमा केही मानिस थिए । केहि पुरूष केहि महिला अनि केही हामीजस्तै साना उमेरका युवाहरू पनि थिएजस्तो लाग्छ । त्यो वातावरणमा हामी केही अल्मलिएका थियौं । आँगनमा रहेका केही मन्छेमध्ये एकजनासँग मुदिताले हामीलाई उसको बुबाभन्दै परिचय गराई ‘बसन्तमान श्रेष्ठ’ भनेर ।

यसपछि अब पालो आयो मुदिताको बुबाको । बडो ह्यान्डसमझैँ लाग्ने मुदिताका बुबा निकै मिठो बोल्दा रहेछन् । तिमीहरूले पढ्नु पर्छ अनि ठूलो मानिस हुनुपर्छ भन्दै पढ्न र ठूलो मान्छे हुनका लागि एउटा ठूलो अभियानमा हामी लगाउँछौँ भनेर उनले हामीलाई २० मिनेटमै प्रभावित बनाए । देशविदेशका कथा तथा पात्रहरुका नाम जोडेर फुरुङ्ग बनाए । ‘ठूलो मान्छे बन्ने यो अभियानमा लाग्न खुशी छौ त बाबुहरु भने ?’ मुदिताले सुरूमै हात उठाएर हामी खुशी छौँ भनी । हामीले मुदिताकै कुरामा हो मा हो गर्यौं । त्यतिखेर किन हो मा हो गरियो ? मलाई आज सम्झिदा पनि अचम्म लागिरहेको छ । के के न पाइएला भनेझै फुरूङग पनि बनियो । बालसुलभ अबस्थाको फुरूङ्गपन थियो होला सायद ।

मुदिताको बुबाले बोलेपछि त्यहाँ हामीलाई चिया र बिस्कुट खुवाइयो । एकएक पुरिया थिनआरारोट विस्कुटसँग खाएको कालो चियाको याद अझै जस्तात्यस्तै रेछ । हामी चिया बिस्कुटमा भुल्यौं । त्यसपछि भित्रबाट केही मान्छे बाहिर आए । हामीलाई मुदिताको बुबा बसन्तले ती मान्छेहरूसँग चिनाए, ‘उहाँ प्रख्यात साहित्यकार पारिजात’ । ‘तिमीहरूले शिरीषको फूल किताब थाहा पाएका छौ नि ? हामीहरूलै एकैसासमा ‘छौं ‘ भनेका थियौँ । ‘त्यो किताब उहाँले लेख्नु भएको हो ।’ एक राम्रीझैं लाग्ने अधबैंशै महिला उनको परिचयसँगै मुस्कुराइन् ।

बसन्तमानले फेरी अर्का पात्रलाई चिनाए ‘उहाँ हाम्रो देशको मुहार फेर्न हिँडिरहनु भएको निर्मल लामा’ । एक अधबैंशे चिटिक्क परेका पात्रले ‘नमस्ते बाबुहरु’ भने । अरू दुईचार मान्छेलाई त्यहाँ चिनाइयो ।सम्भवतः तीमध्ये एकजनाको नाम गणेश थियो । बाहुनवयका ती मान्छेले हामीसबैसँग हात मिलाएका थिए ।

मलाइ याद छ, मैले मेरो जीवनमा याद गरेको पहिलो हात मिलाई उनीसँगै हो । त्यसपछि निर्मल लामाको बोल्ने पालो आयो ।यतिखेर सम्झेसम्म लामाले भने, ‘बाबु नानीहरू, यो अभिायनको नाम ‘चौम’ अर्थात् ‘चौथो महाधिवेशन’ । यो अभियानमा हामी सदस्य बन्नेछौं अनि हामी राम्रो देश, राम्रो शिक्षाका लागि सक्रिय हुनेछौँ । हामीसबैजना पारिजात दिदीजस्तै विशिष्ट बन्नेछौँ । तर यो कुरा हल्ला गर्न भने हुँदैन। राम्रो काम कुरा गर्न लागेको थाहा पाए भने मानिसहरूले हामीले अप्ठेरो पार्न सक्छन् । त्यही भएर हल्ला नगरी अभियनमा सक्रिय हुने र तिमीहरूले बिस्तारै आफूजस्तो साथीहरूलाई सदस्य बनाउने । है ?’

निर्मल लामाले आफ्नो अभियानमा एकैछिनमा हामीलाई सुलुक्कै हुले । हामी पनि के कसो अत्तो न पत्तो बिनै ‘हस’ भन्दै गयौँ । मलाई लाग्छ जब जब ‘हस्’ भन्ने बेला आउँथ्यो हामी मुदिताको अनुहारतिर हेर्थ्यौं । मुदिता प्रफुल्ल भएर ‘हस’ भन्थी । हामीले पनि उसँगै ‘हस’ भनेका थियौं । निर्मल लामाले बोलेपछि हामीहरूलाई स्टिलको गिलासमा अर्को पेय दिइयो चिसो । अरेन्ज फ्लेवरको ‘स्क्वास’को त्यो स्वाद आजपर्यन्त मेरो मुखमा झुण्डिएको छ।

यसपछि अभियानमा लाग्ने भनेर सबैको हातामा एक एकवटा सदस्यता कार्ड दिइएको थियो । मुदिताले नै हामी सबैको नाम भनेको हुनपर्छ । हामीलाई नामै नसोधी हाम्रो नाम बोलाएर कुर्सीमा बसिरहेकी पारिजातको हातबाट त्यो कार्ड दिइयो । हामीले पनि आज्ञाकारीझैं बनेर कार्ड लियौं । सेतो कागजको त्यस कार्डमा हेर्न हुने वा याद हुने केही कुरा थियो भने देब्रेपट्टी माथिल्लो कुनामा रहेको हँसिया र हथौडा थियो ।

हामीलाई त्यहाँ न यो चिन्हको बारेमा केही भनिएको थियो न यो चिन्ह के भन्ने हामीलाई थाहा नै थियो । चिया र स्क्वासमा भुलेका हामी त्यो कार्ड लियौँ अनि बाउ उमेरका मानिसहरूसँग फेरि एकपटक हात मिलाएर फर्कियौँ । मुदिताको बुबाले हामीलाई त्यसरी दिएको कार्ड कसैलाई नदेखाउन र सुरक्षित राख्न भन्दै कानेखुशी गरेका थिए सबैसँग । मुदिताका बुबाले एसएलसीको बेलासम्म आरामले पढ्ने अनि मात्र यो अभियानमा तिमीहरू सक्रिय हुने पनि भनेको आद आयो ।

त्यसपछि दुइमहिना हामी लगातार सोरखुट्टे उकालोको त्यो कोचिङ क्लासमा गैरह्यौं । यो अभियान र कार्डका बारेमा हामीले त्योबीचमा केही कुरा गरेको याद छैन । मुदिताले पनि यो बारेमा एकपटक पनि कुरा गरेको मलाइ याद छैन । माघको ३ गते एसएलसी दिइयो । पकनाजोलको एक स्कूलमा हाम्रो सेन्टर परेको थियो ।

त्यो सेन्टर मुदिताको घर नजिकै पर्थ्यो । अन्तिम दिन अर्थशास्त्रको जाँच थियो, मुदिताको बुबा पनि स्कुल आएका थिए । उनले जाँचपछि मलाई भेटेर अब अभियानमा सक्रिय हुनुपर्छ भने । मैले ‘हस’ भनें । जाँच सक्किएको खुशीमा घरघर हिँडियो । जाँच सक्किने दिन मुदितासँग हाम्रो भेट भएन । त्यसपछि मुदितासँग मेरो कहिल्यै भेट भएन । साँच्चै भनौँ भने आज यी मुदितासँग भेट नभएको भए ती मुदिताको यादसम्म आउने अबस्था थिएन ।

एसएलसी सकिएसँगै म सर्लाहीतिर लागें । पिताजीको पोस्टिङ सर्लाही भएकाले हामी सपरिवार सर्लाही लाग्यौं । जेठ हो कि असारतिर रिजल्ट आयो, मलाई अर्थशास्त्र विषय लागेको थियो । पिताजीले मिलाएर मैले कम्पार्ट सर्लाहीमै दिएँ । पछि मार्कसिटलगायत सर्टिफिकेट लिन पद्मोदय गए पनि मुदिता वा अरू साथी कुनै साथीसँग भेट भएन । न मैले सम्झें न उनीहरूले नै मलाई कुनै दिन सम्झिए ।

यसरी मुदिताका कारण म जीवनमा पहिलो पटक कम्युनिस्ट पार्टीको सदस्य बनेको थिएँ । पारिजातको हातबाट लिएको चौमको सदस्यता पत्र लिँदा मैले कम्युनिस्ट पार्टीको सदस्य बनेको पत्तो पाएकै थिइन । तर पछि यही कार्ड बिरगन्जको हरिखेतान क्याम्पसमा स्ववियु चुनावमा मैले भजाएको थिएँ । राम्रो काम लागेको थियो ।

पुर्टो भालार्टाको जंगलको बीचमा रहेको होटेल म्यारियोटमा बसेर यो संस्मराणात्मक निबन्ध लेखिरहँदा मलाई मुदिता कहाँ होली ? कस्ती भै होला ? ज्यूँदै छे होला कि बिती सकी कि ? राजनीतिमा छे कि ? के होला भन्ने यावत् प्रश्न उठिरहेको छ । उसको बुबा बसन्तमान श्रेष्ठको नाम राजनीतिमा कतै पनि आएको मलाई याद छैन । अब,यहाँबाट नेपाल पुगेपछि एकपटक मुदिताको घर पुग्ने विचारमा छु । आफ्नो ब्याचका अरू साथीहरूसँग एकपटक भेटुँ भन्ने पनि सोच आएको छ ।

(मुदिताको अर्थ :अरूको सुखमा सहभागि हुने र सुखद अनुभव गर्दै हर्षित हुने)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।