म कृष्ण दाइको कथा सुनाउँदै छु।
सन् २०१९ को हेलोइनको दिनको कुरा गर्दै छु। अक्टोबर ३१ को कुरा गर्दैछु। यस दिन कृष्ण दाईले आफ्नो रामकहानीको मलाई सुनाउनु भएको थियो। हामी ह्युस्टनको एक इण्डियन स्टोरमा ग्रोसरी गर्दै थियौ र कुराकानी पनि गर्दै थियौ। म कृष्ण दाइलाई भेट्न पुगेको थिए, उहाँको ह्युस्टनको हम्बल स्थित घरमा केही दिन बस्नेगरी। मेरो बसोबास पनि ह्युस्टनमा नै थियो।
कृष्ण दाइले भन्नु भयो, “नौ दस वर्ष पहिले झन्डै यो ज्यान गएको, बुझ्यौ भाइ। मेरो रातिको ड्युटी थियो। एउटा पाकिस्तानी साउको गैस स्टेसनमा काम गर्थ्ये। यस्तै रातिको १२ बजेको होला, गैस स्टेशन बन्द गर्नै तरखरमा थिएँ। तर बन्द गर्नु पूर्व पसल सफा गरेर, फोहरहरू पसल बाहिर रहेको फोहर फाल्ने कन्टेनरमा हालेर जानु पर्ने नियम भएकोले म फोहर फाल्न त्यो कन्टेनर छेउ पुगेको थिए। दस वर्ष जति पहिलेको कुरा हो यो।”
मैले प्रश्न गरें, “के भयो र त्यस्तो, दाइ?” झन्डै यो ज्यान गएको भन्ने कृष्ण दाइको भनाइले मलाई उहाँको रामकाहानी जान्न उत्सुक पारेको थियो।
कृष्ण दाइले भन्नु भयो, “कन्टेरमा फोहर फालेर पसलतिर जान थालेको थिएँ कसैले मलाई पछाडिबाट एक मुक्का प्रहार गर्यो। अनि पेस्तोल मेरो टाउकोमा टाँस्दै अंग्रेजी भाषामा भन्यो- कैस रजिष्टरको साँचो झिक। झिकिनस भने तेरो ज्यान लिन्छु। छिटो गर नत्र तेरो ज्यान अहिले, यत्तिखेर नै जानेछ।”
आफ्नो भनाइ जारि राख्दै कृष्ण दाइले भन्नु भयो, “एक त रातिको समय त्यसै पनि उज्यालो कम थियो। त्यसले मेरो टाउकोमा पेस्तोल राखे पछि त झनै केही पनि देख्न छाडें जस्तो भयो। चारैतिर अन्ध्यारो नै अन्ध्यारो महसुस भयो। के गरौ, के नगरौ भन्ने भएर दिमागले सोंच्न छाड्यो। बरू नेपालतिरको याद आउन थाल्यो। घर परिवार याद आउन थाल्यो। मनमनै भने- म पढ्न होइन, मर्न भनेर अमेरिका आएको रहेछु। बेकारमा अमेरिका आएँ, नेपालमा भएको भए, जेजस्तो काम गरेर पनि त्यहाँ नै बसेको भए, ज्यान जोगिएको अवस्था हुन्थ्यो। यसरी मर्नु पर्ने अवश्था हुन्थेन। मर्न पनि कस्तो गरी लेखेको, विदेशको भूमिमा? पराया स्थानमा। फेरि सोंचे म मरे भने मेरो आमाबाले, मेरो परिवारले मेरो मुख पनि हेर्न पाउने छैनन किनभने अमेरिकाबाट नेपालसम्म लाश लग्ने व्यवस्था कसले मिलाउने? त्यति ठूलो खर्च कसले बेहोर्ने? मेरो बाको आम्दानी अति नै कम छ। १२ क्लास बल्ल बल्ल पढाउन सक्ने मेरो आमाबाले कसरी अमेरिकाबाट मेरो लास लग्ने व्यवस्था कसरी मिलाउनु होला? बेकारमा अमेरिका आउने निर्णय गरे। बेकारमा विदेश पुगेर, पढेर, दुइ चार पैसा कमाउने विचार गरें। किन विदेश आउने ठूलो भूल गरें। हैत, म कस्तो उल्लू? कति अभागी? यस्तै सोंचिरहेको बेलमा मेरो टउकोमा पेस्तौल तेर्छ्याउने तो डांकाको हातमा मैले जोडले हाने, आफ्नै दुबै हातले हाने। त्यो डाँकाको हातमा रहेको पेस्तौल आकासतिर उछिट्टिएर भूंइमा झर्यो। कुन दिशमा, कता झर्यो न त त्यो डांकाले चाल पायो न मैले नै। त्यो डांका र मेरो बीचमा कुस्ती झै हुन थाल्यो। उसले मलाई बेस्सरी हिर्काएर, मलाई भूँइमा झारेर, पेस्तौल खोज्ने दाउ गर्यो। तर मैले उसँग कुस्ती खेलेझै गरि रहें। उसलाई छोडिन। हामी बिच करिब दस मिनेट कुस्ता कुस्ती भए पछि उसले मलाई छाडेर भाग्यो। उ भाग्न विवश भएको थियो किनभने कुनै व्यक्ति गैस स्टेसनमा केही खरिद गर्न टुपलुक्क आइ पुगेको थियो र उसको कारको हेटलाईट हामीमा परेर हामीले फाइट गरेको देखिएको थियो।”
मलै हत्तारिंदै भने, “त्यो डांकासँग किन फाइट गर्नु भएको त? त्यसरी फाइट गर्न हुँदैन नि। त्यसरी लुट्न आउनेहरूलाई उनीहरूले माग्ने बित्तिकै साँचो, पैसा, जे जे माग्छ त्यो दिनु पर्छ। उनीहरूसँग फाइट गर्न हुँदैन। गैस स्टेसनका साउहरुले पनि डांकाहरुलाई पैसा, साँचो दिनु तर उनीहरूसँग फाइट नगर्नु भनेका हुन्छन। तर तपाइँलाई ज्यान जोखिममा राखेर डांकासँग फाइट गर्नु भयो। त्यसरी गर्नु हुँन्थेन।”
म पनि न अमेरिका पुगेको एक वर्ष भइसकेको थियो। अमेरिकामा, गैस स्टेसनमा काम गर्दा के कस्ता सावधानीहरू अपनाउनु पर्छ, के कसरी काम गर्नु पर्छ भन्ने अनुभव मैले पनि बटुलिसकेको थिएँ। कलेजको खर्च जुटाउन मैले पनि गैस स्टेसनमा काम गर्न थालेको थिएँ।
कृष्ण दाइले भन्नु भयो, “म अमेरिका आएको अहिले दस वर्ष पूरा भयो। तर त्यो बेला, जुन बेला गैस स्टेसनमा मलाई त्यो डांकाले मार्न थालेको थियो, म अमेरिका आएको केवल ६ महिना भएको थियो। अमेरिकामा, गैस स्टेसनमा काम गर्दा के कस्ता जोखिमहरू आइ पर्छन मलाई राम्रो गरी थाहा थिएन। कलेज देखि गैस स्टेसन, गैस स्टेसनदेखि कलेज गर्दामा नै जीवन बितिरहेको थिए। मान्छेसँग खासै सम्पर्क हुन्थेन, त्यसैले धेरै कुरा थाहा पाउन सकेको थिन। अब त धेरै कुरा थाहा पाएँ।”
“मैले अहिले पनि मेरो सेल फोनमा सेभ गरेर राखेको छु। त्यो डांकासँग मैले फाइट गरेको भिडियो हेर्नु हुन्छ?”, यति भनेर कृष्ण दाइले सेलफोन खल्तीबाट झिक्नु भयो र मलाई त्यो भिडियो देखाउनु भयो।
करिब पन्द्र मिनेटको त्यो भिडियो मैले अति उत्सुकतापूर्वक हेरें।
“कृष्ण दाइ तपाइँ कसरी यति आँटिलो र बहादुर हुनु भयो?”, भिडियो सकिनु पनि मेरो मुखबाट यो प्रश्न झ्वाट्ट निस्किनु पनि एकै पटक भयो।
कृष्ण दाइले भन्नु भयो, “साउको सम्पत्तिको रक्षा गरिदिए भने ऊ खुसी होला र मेरो जागिरले निरन्तरता पाउला। यो सोंचले गर्दा नै त्यो डांकासँग मुठभेड गर्ने जोखिम मैले लिएँ। नत्र किन जिऊ ज्यान फाल्न जान्थे।”
लामो साँस फेर्दै कृष्ण दाइले फेरि भन्नु भयो, “अमेरिका आएर यो स्थितिमा पुग्न मैले कम संघर्ष गरेको छु? संघर्षको एउटा ठूलो पहाड नै नाघेर आएको छु, बुझ्नु भयो, विश्व भाइ।”
मैले प्रश्न गरे, “अनि त्यो घटना पछि, त्यो गैस स्टेसनमा काम गर्न छाड्नु भयो त, कृष्ण दाई?”
“के को छाड्नु? त्यो गैस स्टेसनमा करिब तिन वर्ष काम गरें। त्यहाँ काम गरिरहँदा नै अन्डरग्र्याड गरें। पछि पेट्रोलियम इन्जिनियरिंग पढ्न इन्भरसिटी अफ ओक्लोहोमामा भर्ना भए। त्यहाँबाट पेट्रोलियम इन्जिनियरिंगमा मास्टर डिग्री लिएँ। नेपालबाट अमेरिका आउना साथ ओक्लहो सिटी आएँ, त्यहाँबाट नै सम्पूर्ण अध्ययन पूरा गरे। करिब १० वर्ष जति ओक्लहोमा सिटीमा बसें। जागिर पाएर हुस्टन आए पछि भने ओक्लहोमासिटीको बसाइ समाप्त भयो। तर ओक्लहोमा सिटिमा बस्ताखेरिको याद भने अहिले पनि ताजा छ।” यति भनेर कृष्ण दाइ केही बेर शान्त रहनु भयो। त्यस पछि केही बेर हाँस्नु भयो पनि।
“एउटा अर्को पनि अनौठो अनुभव छ ओक्लहोमा सिटीको त्यो गैस स्टेसनमा काम गर्दा खेरिको। सुनाऊ?”
“हुन्छ, सुनाउनु होस, कृष्ण दाइ।”
“त्यो डांकाले मेरो टाउकोमा पेस्तौल तेर्छाएको छ महिना पछिको कुरा हो।”
“के भएको थियो छ महिना पछि, कृष्ण दाइ?”
“राति ११ बजे, मैले काम गरिरहेको त्येही गैस स्टेसनमा पैसा लुट्न फेरि आइ पुगेको थियो, अर्को डांका।”
“त्यो सँग पनि पहिलेको डांकासँग गरेझैं मूठभेड गर्नु भयो, कृष्ण दाइ?”
“के को गर्नु? त्यो डांकाले कैस रजिष्टरको साँचो माग्यो। साँचो दिएँ। त्यसले पैसा जति सबै झिक्यो। करिब ७०० डलर जति थियो। त्यो लिएर भाग्यो।”
मैले हाँस्दै भने, “कृष्ण दाइ, त्यो डांकालाई भाग्न दिनु भयो त?”
कृष्ण दाइले भन्नु भयो, “भाग्न दिएँ।”
केही सम्झेझैं गरी फेरि भन्नु भयो, “फोन गरेर पुलिसलाई भने त्यो डांकाले लुटेको त्यो खबर। त्यो गैस स्टेसनको साउलाई पनि भेन त्यो घटनाबारे। पुलिस आयो। धेरै कुराहरू मसँग सोध्यो। मैले एक एक भने। पुलिसले गैस स्टेसनमा राखिएको क्यामाराबाट डांकाले पैसा लुट्दा खिचिएको फोटोहरू डाउनलोड गर्यो। यसरी पुलिस कार्यबाही पूरा भयो।”
“एउटा अर्को रोचक कुरा सुनाउँ?”, कृष्ण दाइल हाँस्दै भन्नु भयो।
“सुनाउनु होस कृष्ण दाइ।”
“पछिल्लो चोटी गैस स्टेसन लुट्न आउने त्यो डांकालाई पुलिसले समात्यो नि।”
“कसरी समात्न सक्यो त?”
“गैस स्टेसनमा राखिएको सेक्युरिटी क्यामराले खिचेको फोटोको आधारमा।”
“एँ।”
“अनि अर्को पनि एक रोचक कुरा सुनाउँ छु, विश्व भाइ तपाइँलाई।”
“के हो त्यस्तो रोचक कुरा कृषण दाइ? म सुन्न तयार छु।”
“छ महिना पहिले जसले मेरो टाउकोमा पेस्तौल तेर्छ्याएको थियो, त्येही मोरो डांका फेरि दोस्रो पटक पनि त्यो गैस स्टेसनमा नगद लुट्न आएको रहेछ”, कृष्ण दाइले भन्ने क्रम जारि राख्नु भयो, “पाप धुरीबाट कराउँदो रहेछ भनेको ठीकै रहेछ।”
मैले भने, “हो कृष्ण दाइ। भनाइ पनि कहिले काहिँ यथार्थ हुँदो रहेछ।”
“कृष्ण दाइले भन्नु भयो, “तर एउटा दु:खद घटनाको शुरुवात भयो नि त्यो डांकाले मेरो टाउकोमा पेस्तौल तेर्छ्याएको त्यो घटना पछि।”
“के भयो, कृष्ण दाइ?”
“पेस्तौल तेर्छ्याएको त्यो घटना पछि म बेला बेलामा राती सपनामा त्येही पेस्तौल तेर्छ्याएको घटना देख्छु। अनि ज्यादै डराएर निद्राबाट ब्युँझिन्छु पनि।”
“हो र कृष्ण दाइ?”
“हो विश्व भाइ।”
“कहिले राती सपनामा त्यसरी पेस्तोल तेर्छ्याएको दृश्य देखेपछि काँपछु र जोड जोडले कराउँ छु छेउका कोठमा सुतेका व्यक्तिहरू ब्युँझिने गरी। त्यस्तो मलाई धेरै पटक भएको छ।”
“हो र दाइ?”
“हो भाइ।”
कृष्ण दाइले थप्नु भयो, “अचेल कतै गएको बेला, त्यहाँ बास बसेर राती सुत्नु पर्ने अवस्था भएमा, जसको घरमा आफूले सुत्नु पर्ने हो, त्यो परिवारलाई मैले पहिले नै भनिदिने गरेको छु।””
“के कुरा भनिदिने गर्नु भएको छ, कृष्ण दाइ?”, मैले प्रश्न गरे।
कृष्ण दाइले भन्नु भयो, “सपनामा काँप्ने, रुने, जोडले कराउने मेरो बानी छ। मलाई त्यस्तो हुनु सामान्य कुरा हो। मलाई त्यस्तो अवस्थमा देखेर वा सुनेर कृपया नडराउनु होला भनेर आफू पाहुना लाग्न गएको परिवारका सदस्यहरू मलै पहिले नै भनिदिने गरेको छु।”
“ए हो र, कृष्ण दाइ?”
“पहिले पहिले त मैले राति सपनामा कराएको सुनेर धेरै व्यक्ति डराए। अनि म सुतेको ठाउँमा हेर्न आए पनि। कत्तिले त मलाई घचघच्याएर उठाए पनि”, कृष्ण दाइले थप्नु भयो।
“हो र?”
“हो।”
म र कृष्ण दाइले निकै बेर मुखामुख गरेउँ। वातावरण निकै शान्त रह्यो।
कृष्ण दाइले केही सम्झेझैं गरी भन्नु भयो, “अमेरिका आउन र यहाँ बस्न अति सहज भएझैं नेपालतिर धेरैलाई लाग्छ। तर त्यस्तो होइन रहेछ। नेपाली वा प्रवासीहरूले अमेरिकी जीवन जिउनका लागि ठूलो मूल्य चुकाउनु पनि पर्ने रहेछ। अरूको लागि त्यस्तो नभए पनि मेरो लागि भने त त्यस्तै भएको छ।”
कृष्ण दाइलाई सोध्न मसँग थप प्रश्न थिएन।
म स्वंले पनि स्थिरता पाउन सकेको थिन। मैले पनि काम गर्दै पढ्दै गर्नु परेको थियो। कहिले त हप्ताभरि काम गर्नु पर्थ्यो। कलेजबाट फर्केर पनि साँझ काम गर्नु पर्थ्यो। मेलै पनि अमेरिका बस्नुको ठूलो मूल्य चुकाइ रहेको थिएँ। नेपालमा भने मान्छेहरू अमेरिकामा रुखमा डलर फल्छझै सोंच्ने गर्छन।
अमेरिका