18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रङ्गलाल शर्माको बिम्ब प्रतिबिम्ब'प्रति सतही अनुचिन्तन

कृति/समीक्षा केशवराज आमोदी July 20, 2024, 3:18 pm
केशवराज आमोदी
केशवराज आमोदी

Concrete and artistic expression of the human mind in emotional and rythmic lauguage.
- Watls Dunton.
जीवनको आरोह र अवरोहजन्य अनुभूतिको लयात्मक भाषिक रागात्मक अभिव्यक्ति नै कविता हो । बाल्य , तरुण , प्रौढ र वृद्धत्व गरी जीवनका चार अवस्था भएझैं साहित्य सृजनका लागि पनि कविता , नाटक , निबन्ध र आख्यानजस्ता चार विधाहरू प्रमुख मानिन्छन् ।जीवनका तहहरुलाई भावनामा समाहित गर्न कुनै पनि साहित्यिक विधा , उपविधा वा प्रविधाहरूलाई कविले स्वेच्छानुकूल चुनी साहित्यको अध्ययन मनन चिन्तन वा निदिध्यासन गर्न सक्दछ ।
वि. सं. २००८ माघ २६ गते पिता पुष्पलाल शर्मा र माता मनमाया देवी आचार्यका पुत्र-रत्नका रूपमा भारत स्थित असमको रामपुर-६, महलमा रंगलाल शर्माको जन्म भएको हो । हाल खैरहनी नगरपालिका-८ पर्सा , चितवनमा बसी शैक्षिक , सामाजिक र साहित्यिक क्षेत्रमा समययापन गर्दै आइरहेका छन् ।नेपाली भाषा , साहित्य , कला र संस्कृतिलाई मन पराउने , असमेली , बङ्गाली , हिन्दी भाषाका ज्ञाता , अतीव मिलनसार , सहृदयी र व्यवहारकुशल रङ्गलाल शर्माले अङ्ग्रेजीमा स्नातक तहसमम्को शिक्षा हासिल गरेका छन् । भण्डारा मा वि , डेजी बो. स्कुलहरूको अध्यापनको अनुभव सँगाल्दै राजमार्गको नजिकै उत्तरतर्फ आफैले मदरल्यान्ड एकाडेमी स्थापना गरी सञ्चालन गरी आइरहेका छन् ।
किशोरावस्थादेखि नै कविको हृदयमा वीजरूपमा कविता भए पनि बाह्यरूपमा प्रस्फुटित सत्तरीको दशकबाट भएझैं लाग्दछ ।कविता लेख्दै आकृति पुस्तिकाका पृष्ठहरू प्रक्षेपित गर्दागर्दै कृति नै तयार भएको बोध भएपछि कृति प्रकाशनतिर अग्रसक देखिन्छन् । यद्यपि कवि रङ्गलालजीसँग मेरो पुरानो मित्रता वा सम्बन्ध नभए पनि खैरहनीतिर हुने कुनै साहित्यिक कार्यक्रममा समागम भएबाट घनिष्ठता बढ्दै गएको हो ।
सम्प्रति कवि रङ्गलाल शर्माद्वारा संरचित सुन्दर आवरणले सुसज्जित 'बिम्ब प्रतिबिम्ब' ( कवितासङ्ग्रह , नभम्बर २३ ) म अध्ययन गरिरहेको छु । कविले आरम्भिक पृष्ठमा नै कृतिलाई सादर आफ्ना स्वर्गीय माता-पितामा समर्पण गरेका छन् ।क्रमश:
विनय आशुको शुभकामना , विष्णु पन्थीको वक्तव्य , हरि प्रसाद गजुरेलको 'व्यक्ति एक व्यक्तित्न अनेक , भीम धमालाको 'प्रकाशकीय' र स्वयंम् कविको 'लेखकले भन्नपर्दा' द्वारा कृति र कृतिकारको बारेमा धेरै प्रकाश पारिएको पनि छ । म समालोचक त होइन तर पढेपछि पाठकीय आचरणमुताबिक धेरथोर मौखिक वा लिखित रूपमा मनका कुरा प्रकट गर्ने बानी बसालिरहेको हुनाले कृतिका बारेमा एकदुई कुराहरू राख्ने जमर्को गर्दै छु ।
'बिम्ब प्रतिबिम्ब' गद्यशैलीमा आधारित कविता सङ्ग्रह हो ।यसमा सांस्कृतिकताप्रतिको सम्मोह , धार्मिक नैतिक-निष्ठाप्रतिको आचरणशीलता र वार्तमानिक राजनीतिक भ्रष्टाचरणप्रतिको भर्त्सना र युवाहरूको आधुनिकताप्रतिको अन्धानुकरणप्रतिको धूमिलबिम्बप्रति प्रक्षेपित उज्यालो किरण , रक्षा अस्तित्वको , बिम्ब प्रतिबिम्ब , लहडेहरूको यथार्थ , जीवनका रूपहरू , देशको माटो बोल्छ , चेतनाको परिदृश्य र आमाजस्ता भानामय चिन्तनपरक विचार र दर्शनले ओतप्रोत ६३वटा रचनाहरू रहेका छन् । राष्ट्रप्रेमले आच्छन्न व्यङ्ग्यात्मक कवितांशको नमुना-
कति मिठो क्षण लाग्यो
कति गौरव क्षण लाग्यो
कति सम्पन्नताको महसुस भयो
जब सम्पूर्ण सदन एक भयो
बहसै बहसमा गुन्जिने त्रास थियो
साच्चै अब त हाम्रो मन ढुक्क भयो
लिम्पियाधुरा , कालापानी , लिपुलेक नेपालकै हुने भयो !
-बिम्ब प्रतिबिम्ब , रक्षा अस्तित्वको...,पृ ।
जसरी छन्दको कविता बनाउँदा समसामयिक नेपाली व्याकरणको हिज्जे कत्ति नबिगारी छन्द , रस , अलङ्कार , रीति , ध्वनि , वक्रोक्तिहरूको सुन्दर प्रयोग गर्नुपर्दछ त्यसरी नै गद्यशैलीमा कविता बनाउँदा पनि बौद्धिक-जगत् लाई ाआलोडित गर्ने गरी सरल र सरस भाषाशैलीमा स्वाभाविक , सटीक र सम्यक् बिम्ब , प्रतीक , उपमा र विलक्षण शब्द-संयोजनको प्रचुर प्रयोग गरिनुपर्छ । उदाहरणस्वरूप जनतालाई गफैगफको चिची र पापामा भुल्याई सत्तामा पुगी राष्ट्रको ढुकुटी रित्याउनेहरूप्रति लक्षित यथार्थ र सुन्दरताले भरिएको कवितांश प्रस्तुत छ-
कहिले कहिले मनको छाल आउँदा
मनमा उतार-चढाव बढ्दा
दृश्य अदृश्य समस्या निराकरण गर्नुपर्दा
स्तब्ध शान्त तालमा
ढुङ्गा फ्याँक्दाजस्तो पानीमा लहर आउँछ
केही समय तरङ्गित हुन्छ
त्यस्तै,
लहडे मान्छे बेतालका
पानीमा लहर आएझैं एकछिन
बेतुकका पाना भर्ने काम गर्छन् ...
- ऐ. लहडेहरूको यथार्थ , पृ. ३७ ।
कवि रङ्लाल शर्माले कविताका अक्षर अक्षरहरूमा जीवनका जीवनका जिजीविषाहरुका चित्रहरू कोरेका छन् । रापतीका कलकल र छलछलका कल्लोलसमान सकारात्मक चिन्तन र सद्विचारका प्रवाहहरू उच्छलित गरेका छन् । यति सुन्दर कृति सहजरूपमा उपलब्ध गराउने कविवरका आगामी कृतिहरू अझै सुन्दर र परिस्कृत भएर आऊन् । आरोग्यमय र यशोऽभिवृद्धिको कामनासहित आफ्नो पाठकीय विचार यही टुङ्ग्याउँछु ।

रत्ननगर नगरपालिका , चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।