17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुदूर पश्‍चिमतिर...!

नियात्रा अर्जुन यावा July 23, 2024, 10:30 am
अर्जुन यावा
अर्जुन यावा

साहित्यकार ताना शर्मालाई उनका रचनाहरूमा धेरै अघि चिनेको हुँ। तर, उनले हिँड़ेका उकाली-ओह्रालीहरू हेर्दै कुनैदिन हिँड़ौँला भन्ने कहिल्यै सोचेको थिइन मैले। पहिले टीभीमा, पछिल्लो समय फेसबुकमा हेरियो धेरै ‘रियालिटी-शो’हरू। त्यस्तै ‘शो’हरूमा सुन्ने गरिन्थ्यो सुदूर पश्‍चिम नेपालका बारेमा। त्यहाँका जाति र भाकाहरू। गीतहरू। यसपाली पुगेर आउन सकियो। नयाँ ठाउँ हेरियो। नयाँ कुरा देखियो। नयाँ मान्छेहरूसँग भेटियो। केही नयाँ अनुभव बटुलियो।

16 र 17 जून, 2024-को दिन ‘डिलाशैनी गाउँपालिका, बैतड़ी’-को मुख्य प्रवर्धनमा ‘राष्ट्रियता संरक्षण अभियान, बैतड़ी’-ले आयोजन गरेको थियो ‘दोस्रो चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य कोष्ठी’। स्थान थियो- डिलाशैनी गाउँपालिका-06, गोकुलेश्‍वर, बैतड़ी।

13 जूनः सिक्किमबाट गजलकार दिदी जीविका अश्रु र म हिँड्यौँ 13 जूनकै दिन। निरन्तर परिरहेको पानीले राष्ट्रिय राजमार्ग-10 अवरुद्ध हुने चिन्ता थियो मनमा। बिहान 10 बजीको बस चढ़ेको केही समयपछि सारिकाले बाटो बन्द भएको खबर दिएकी थिइन्। नभन्दै मल्ली र चित्रेबीचमा टिस्टाले सड़कको आधिपाटै झार्न लागेको रहेछ। धन्न, रित्तो बस पार गराइयो सबै यात्रुलाई पैदल हिँड़ाएर। काँकरभिट्टादेखि बिहान 11 बजीको मात्रै बस पाइने जीविका दिदीलाई जानकारी थियो। भोलिमात्रै हामी गाड़ी चढ्ने। तर पहाड़को बाटो, कतिबेला बन्द हुन्छ, भन्नै नसकिने। त्यसैले आजै आइपुगेका थियौँ काँकरभिट्टा। भोलि आधा दिनसम्म त्यसै बितिरहेको थियो। लाग्यौँ हामी बिराटनगर। दिदीका दिदी-भेनासँग एकरात पाहुना बन्यौँ। हामी पहाड़मा बस्नेहरूका लागि त्यहाँ गुगल अप्डेटअनुसार 42 डिग्री तामक्रमले निक्कै गाह्रो बनाएको हो। तर, हामीमा सुदूर पश्‍चिम हेर्ने चाहको तापक्रम त्यो भन्दा माथि थियो।

14 जूनः बिराटनगरदेखि सोझै इटहरी सुन्सरी पुग्यौँ। काँकरभिट्टाबाट बिहान हिँड्ने बस यहाँ दुई बजी आइपुग्ने हिजै जानकारी लिएका थियौँ। बसपार्क पुगेर दिदीले लिनुभयो बस टिकट। फर्किँदा समय मिल्ला-नमिल्ला भन्ने लागिरहेको थियो। त्यसैले सहकर्मी भाइ देवले भन्नुभएका किताबहरू खोजिराखौँ भनेर पुस्तक पसल खोज्नतिर लाग्यौँ। पुस्तक पसल सजिलै नभेटिने, भेटिएपनि चाहिएका पुस्तकहरू झट्ट नपाइने समस्या सबैतिर उस्तै रहेछजस्तो लाग्यो। पुस्तक पसलको खोजीकै क्रममा बरु ‘शब्दसार, द्वैमासिक डाइजेस्ट’-का व्यवस्थापक श्री जगदीश सापकोटासँग भेट हुनसक्यो, परिचय भयो। ‘शब्दसार’-को दशौँ अङ्क पनि थमाइदिनुभयो उपहार। जीविका दिदीले अघिदेखि सम्झना गरिरहनु भएको थियो साहित्यकार अर्जुन शर्माको। भेट्नलाई सम्पर्क गर्नु थियो। मोबाइल नम्बर जगदीश सरले नै उपलब्ध गराइदिनु भयो। त्यसपछि भेट्यौँ अर्जुन शर्मासँग अनि लाग्यौँ तीनैजना विक्रमश्री सरलाई भेट्न। विक्रमश्री भन्ने बित्तिकै इटहरीमा नचिन्ने थोरै नै रहेछन्। हामी सोझैँ उहाँको वनस्पतीय उद्यान ‘मेट्रिक्स’ पुग्यौँ। हामीसँग भएको दुई-अढ़ाइ घण्टाको समय त्यो उद्यानमा रहेका अनेकथरिका ओषधिका पौधाहरू, बोट-बिरुवाहरू, फलफूलादि हेर्नलाई थोरै भइदियो। विक्रमश्री एकजना आर्ट इञ्जीनियरिङ कन्सोल्टेन्सी। उहाँ आफै कुशल कारिगर। उहाँको कलाका नमुना घरआँगनदेखि त्यति फराकिलो उद्यानमासमेत जताततै देख्न सकिने। छोटो समयमा पनि विक्रमश्रीज्यूले हामीलाई धेरै कुराको जानकारी गराउनु भयो, धेरै ज्ञानका कुरा बाँट्नु भयो। अन्तमा घरमा पुर्‍याएर जलपान र फलसेवनपछि बिदा लियौँ। कुनैदिन जुरेछ भने त्यहाँ पूरै दिन बिताउने रहर छ।

अँ, झण्डै भुलेछु- यो वनस्पतीय उद्यानमा विक्रमश्रीज्यूका परममित्र नाटककार श्री गोपाल देवानसँग पहिलो भेटको अवसर जुरेको थियो। जीविका दिदीको दोस्रो भेट होला। फोटो खिचेर उहाँसँग बिदा हुनअघि उपहार दिनुभएको थियो उहाँको ‘दमनको राप’ नाटकसङ्ग्रह।

हामी चड़ने बस झण्डै एकघण्टा नै अबेर गरेर आइपुग्यो। हिँड्नअघिनै हुनुपर्छ दिदीले सम्पर्क गरिसक्नु भएको थियो अग्रज साहित्यकारहरू तीर्थराज पाण्डेसँग। उहाँहरू धनगढ़ीबाट अत्तरिया पुगेर पर्खनुहुने भयो। त्यहाँदेखि बस छोड़ेर उहाँहरूसँगै उत्तर दिशा लाग्नुपर्ने रहेछ। ठाउँ-ठाउँमा खुल्ला आकाशमुन्तिर हामी चढ़ेको बस रोकिन्छ। हामी दिशापिसाब जान्छौँ। एकले अर्काको अनुहार देख्दैनौँ। म नयाँ ठाउँको दृश्यावलोकन कै लागि भए पनि निस्कन्छु। बसले दिनभरि नै यात्रा जारी राख्यो। साँझ पर्‍यो। रात पर्‍यो। हाम्रो यात्रा जारी नै छ।

15 जूनः बिहान 6 बज्दा हामी बर्दाघाट पुगेका रहेछौँ। “घनश्याप ‘परिश्रमी’ सरको घर यतै हो भाइ” जीविका दिदी भन्नुहुँदै थियो। यहाँदेखि एकघण्टामा बुटवल पुगिने रहेछ। हामी बसबाट ओर्लिनुपर्ने अत्तरिया पुग्नलाई अझै 10 घण्टा लाग्ने। यसअघिको यात्राका समय एकजना सहयात्रीको मृत्यु भएको “मोक्ष धाम यतै त हो”, दिदीले चिनाउनु हुँदैथियो मलाई। तीर्थ सरले घण्टा-घण्टामा फोन सम्पर्क गरिरहनु भएको थियो अनि हाम्रो गन्तव्यको दुरुत्व र अनुमानित समयको सूचना दिइरहनु भएको थियो। घरिघरि “लु छिटो है। यहाँदेखि पनि पूरै 10/12 घण्टा लाग्छ। बाटो धेरै छ” यस्तै के के भनिरहनु भएको थियो। अघिबाटै पाएको जानकारीमा दुई-चार घण्टाको कुरा थियो। अहिले 10/12 घण्टाको कुराले हामी स्पष्ट थिएनौँ। तर, परिस्थिति के भने चाहेर पनि हामी छिटो गर्न सक्नेथिएनौँ। लागिरहेथ्यो, ‘चालकले एक्सिलेटर चापेको चापेकै गरुन्; कसैलाई दिसापिसाब केही नआइदियोस्। भोक-तिर्खा कसैलाई नलागिदियोस्।’

निरन्तर गुड़िरहेको बसबाटै हामी रमिता हेरिरहेछौँ। “भाइ, अस्ति यात्रा संस्मरणमा लेख्या थेँ नि गोरुसिङ्गे, हो यै हो”, दिदी भन्नुहुँदै थियो। अस्ति पढ़ेका कुराहरू कति सम्झनामा छन्, कति उड़ेर गइसकेका थिए।

घड़ीले नौ बजेको सङ्केत गरेको थियो। यतिबेला आफ्नो अनुमान बताइरहनु भएको थियो तीर्थ सरले- “दुई बजीसम्म त आइपुग्ने रहेछ।”

दिदीलाई यात्राका समय हुनैपर्ने भनेको घरीघरी केही न केही खाइरहनु हो। शारीरिक कतिपय अस्वस्थताका कारण पनि त्यसो हुनसक्छ। मलाई भने त्यति रहर नलाग्ने। राप्ती हो कि कुन एउटा नदीको छेउछाउतिर पुगेका थियौँ। दिदीले स्थानपरिचय पनि गराउनु भएको हो। अहिले ठ्याक्क सम्झना हुनसकेन। बसमा माछा फ्राइ ल्याएछ। अस्ति बिराटनगर गइरहँदा बाटोमा ‘माछा फ्राइ’ लेखिएको देखेपछिको खाने रहर आज पूरा गरियो। तर सोचेजस्तो होइन माछा।

“बाटो कहाँ पुगेर टुङ्गिन्छ? गाउँदेखि शहर कि शहरदेखि गाउँ?” त्यतिकै सोधिपठाएको थिएँ कुन्नि कुनबेला। दिदीले के जवाब दिनुभयो, त्यो पनि बिर्सिएँ।

हामी राप्ती नदी तरेर दाङ, अर्घाखाँची हुँदै बुटवल पुग्दा बिहान 11 बजेको रहेछ। बर्दाघाटबाट एकघण्टा लाग्छ भन्ने अनुमानलाई बाटोमा लागेको चक्काजामले गलत प्रमाणित गरिदियो।

कहीँकतै पढ्दै आएको, त्योभन्दा धेरै सुन्दै आएको कर्णाली तर्दैथियौँ हामी। दिउँसो 3ः55 बजी “अब चाहिँ हामी सुदूर पश्‍चिम लाग्यौँ है भाइ, यो कर्णाली हो” दिदीले भनिरहनुहुँदा मलाई भने बुद्धिसागरको ‘कर्णाली÷ब्लुज’-को सम्झना आइरहेको थियो। 4ः45 बजी बल्ल पहलमानमोड़ पुगेका हामी त्यसपछि भेटेका थियौँ सायद गोदावरी नदी।

बेलुकी 6 बज्नलाग्दा हुनुपर्छ, बल्ल पुगेका थियौँ अत्तरिया। गर्मी कति थियो, त्यसको वर्णन गर्नै गाह्रो। केहीक्षणको विश्रामपछि दुईवटा वाहनमा लाग्यौँ उत्तर दिशा दार्चुला ताकेर। जीविका दिदी अर्कै वाहनमा पर्नु भयो। म परेँ ‘फगुनी’ (रानाथारू भाषीको पहिलो उपन्यास)-का सर्जकको वाहनमा। साथमा हुनुहुन्थ्यो गणेश नेपाली, तीर्थराज पाण्डे र ‘तेल भिसा’-का कवि सुरेन्द्र अस्तफल। यहाँ पनि मलाई स्थान परिचयको समस्या भएन। मेरा लागि चारैजना ‘गाइड’।

हामी खानीडाँड़ा पुग्दा सात बजेको थियो। तर, सूर्यास्त भएकै थिएन। अत्तरियाबाट दार्चुला पुग्न कति समय लाग्छ भन्नेकुरा जवाबमा हामी निश्‍चित भएका थिएनौँ। अत्तरियामा यही कुरा तीर्थ सरलाई सोधेको थिएँ।

“कत्ति हो कत्ति लाग्छ। हजूरहरूले धेरै ढिला गर्नुभयो। भोलिमात्रै पुगिन्छमऽऽऽ” भन्नुभयो। तर उहाँको भनाइमा मिठास अर्कै थियो। खासमा लवज अर्कै। पहिले त सोचिरहेको थिएँ, उहाँहरूले पश्‍चिमको डोटेली, थारु, राउटे अथवा कुनै स्थानीय भाषाशैलीको नकल गरिरहनु भएको छ, ठट्यौलीमै हामीसित कुरा गरिरहनु भएको छ। “हामी जान्या हूऽऽऽम्” जस्तै जस्तै ‘हूऽऽऽम्’ लगाएर बोलिरहनु हुँदा त्यसो लागेको रहेछ। वास्तवमा त्यो उहाँहरूले बोल्नुहुने लवज नै रहेछ। काँकरभिट्टादेखि आएको महेन्द्र राजमार्गलाई हामीले अत्तरियादेखि छाड़िसकेका थियौँ। यतिबेला नेपाल राष्ट्रिय राजमार्ग-03, महाकाली हाइवेमा हाम्रो वाहन गुड़िरहेको थियो।

रातिको 8ः20 मा बुडर डोटीको जोरायल गा.पा.-2 मा पुगेका थियौँ। दुवै वाहन रोकिएका थिए। दिदी र मैले मौका पायौँ ‘कफलकटेश्‍वर दुध डेरी’-को-बोर्डअघि फोटो किच्ने। बुडर अर्थात अङ्ग्रेजीको ‘बोर्डर’ रहेछ। कुनै समय यो ठाउँ भारत-नेपालको बोर्डर थिएछ। बुडरको मुख्य बजारमा त्यहाँको विशेष खाद्य ‘खीर’ खाने सबैको इच्छा थियो। तर रात धेरै गइसकेको हुनाले पाइएन। खीरको खोजी भइरहँदा मलाई भने इन्द्रबहादुर राईको ‘खीर’ कथाको सम्झना आइरहेको थियो। रातको दश बज्नै लाग्दा सायद गन्यापधुरा-1, साहुखर्क, ड़ेलधुरा पुगेका थियौँ। त्यहीँ खायौँ खीर, जुन खीर इन्द्रबहादुर राईले भनेजस्तै ‘चिनी हालेको गुलियो दूध-भात जस्तो’ मात्रै थियो।

डोटी बुडर, डड़ेलधुरा, बैतड़ी हुँदै हामी दार्चुला प्रवेश गरेका थियौँ। यो जान्न पाउँदा मात्रै पनि मनमा ढुक्क लागेको थियो, हामी गन्तव्यमा पुगेको बुझेर। तर, होइन रहेछ। दार्चुलाको भौगोलितका निक्कै फिँजिएको रहेछ। हाम्रो यात्रा त बाँकी नै थियो। रातको 11 बजीतिर बागबजार (बाघखोर) छेउछाउजस्तो लाग्छ अहिले सम्झँदा, हामी डड़ेलधुराको तुफान डाँड़ामा बास बस्ने भयौँ। होटलहरू सबै बन्द भइसकेका भए पनि भाग्यले ‘माली होटल एण्ट लज’-को दैलो थोरै खुल्ला थियो। सुत्न जाने तरखरमा रहेका दाइ-भाइहरूले हाम्रो भोक-तिर्खा बुझिदिए।

समुद्र जलस्तरदेखि अनुमानित छः हजार फिटभन्दा पनि उँचाइमा रहेको भन्ने बुझियो डड़ेलधुराको तुफान डाँड़ा। निक्कै चिसो छ भन्ने सुएको थियो। तर, हामी पुग्दा सायद 22/25 डिग्री थियो तामक्रम, अर्थात तातो निक्कै।

16 जूनः बिहान चाँड़ै यात्रा शुरु गर्ने रातिकै सल्लाह थियो। तर पदम सर उठ्न अबेर लाउनु भयो। आधिरातसम्म सवारी साधन चलाउनुले निक्कै थकान लागेको हुनुपर्छ। थकानकै अवस्थामा पनि राति जीविका दिदीको औषधि आफ्नो वाहनमा छुटेको हुनाले पुराउन जाने तरखरमा हुनुहुन्थ्यो। दिदीहरू बस्नुभएदेखि हामी सायद 1-2 किलोमिटर टाढ़ा थियौँ। “अहिले एकपटक नखाँदा भाकै छ। बिहान खाउँला, के भो त” भन्नुभयो सायद दिदीले।

हामीभन्दा पछाड़ि रहनुभएकी दिदीहरूको वाहन बिहान सबैरै निस्किसकेको हुनाले अगाड़ि गइसक्नु भएछ। फेरि पनि छुट्यो दिदीको औषधि।

स्कूलदेखि विश्‍वविद्यालयसम्म पढ़ेको साहित्येतिसाहकार, समालोचक, निबन्धकार ताना शर्मालाई। अहिले सम्झना गराइरहनु भएको थियो चारैजनाले। उनको ‘बेलायततिर बरालिँदा’ खुब सम्झनामा आयो।

“उ त्यो देखिँदै गरेको घनघसियाको डाँड़ै डाँड़ा हिँड़ेका हुन् ताना शर्मा।” तीर्थ सरले भन्नुभएको थियो।

“त्यही बाटो भएर उनी पोखरा जान्थे, अत्तरिया झर्थे।” गणेश सरले थप्नुभएको थियो।

“कताको पोखरा, कताको बैतड़ी। यत्तिका टाढ़ाबाट पोखरा कति दिनमा पुग्थेहोलान् उनी हिँड़ेर?” मनमनै सम्झिरहेको थिएँ।

तीर्थ सरले बाटोमा एकठाउँ भन्नु हुँदै थियो, “यतातिर त ‘गुना’ देखिन्छ नि..।”

अब यो गुना के होला? भन्ने लागिरहेको थियो। उहाँले नै अर्थ्याइदिनु भएको थियो, “डोटेली भाषामा गुना भनिन्छऽऽऽ। ‘लङ्गुर’-लाई ‘गुना’ भनिन्छऽऽऽ।”

नेपाल एकीकरण हुनुभन्दा अघिसम्म यहाँ डोटी राज्य थिएछ। भन्नुहुँदै थियो, “एकदमै शक्तिशाली राज्य थियो डोटी। बैतड़ी, अछाम सबै डोटी राज्यमै आउँथ्यो।”

हिजैदेखि सबैजना राष्ट्रविकासका कुराहरू गरिरहनु भएको थियो। साहित्य विकासका कुरा गरिरहनु भएको थियो। म सबैका कुरा सुनेर मक्ख थिएँ।

यतिबेला डड़ेलधुराको तुफान डाँड़ाबाट दम्साइलो ओह्रालिएको थियो सड़क। केहीक्षणपछि ‘माता भगवती देवीको मन्दिर’ भन्नुभएजस्तो लाग्छ, पुगेका थियौँ। तर, प्रवेशद्वारमा लेखिएको थियो- ‘श्री उग्रतारा माताको दरबार’, सायद मैले गलत सुनेको थिएँ। मूलबाटो छोड़ेर दुई मिटनजति देब्रेतिर लागेपछि पुगिँदो रहेछ मन्दिर। मलाई दर्शन गर्ने इच्छा भएर पनि हाम्रो गन्तव्य टाढ़ा र समय कम भएको हुनाले केही भन्न सकेको थिइन। उहाँहरूले नै ‘एकैक्षण पसौँ’ भन्नुहुँदा यो मन निक्कै नै खुशी थियो। पुग्यौँ मन्दिर। दर्शन गर्‍यौँ ढोकाबाटै। पुजारीले मन्दिर भर्खरै खोल्नुहुँदै थियो। मन्दिरको फन्को मारेर अवलोकन पनि गर्‍यौँ। सामूहिक फोटो लियौँ। त्यसपछि लाग्यौँ आफ्नो बाटो। मन्दिरको अघिल्तिर निक्कै ठूलो मेला प्रत्येक वर्ष लाग्नेगरेको जानकारी गराइरहनु भएको थियो राणा सरले। तर कुन समय? त्यो अहिले मेरो सम्झनामा छैन।

बिहान केही नखाई निस्केका हामी 6ः30 बजीतिर डड़ेलधुराको अमरगढ़ी-7, पोखरा पुगेछौँ। बल्ल छर्लङ्ग भएँ, ताना शर्मा हिँड़ेर पुग्ने पोखरा त यहाँ पो रहेछ।

“तपाईँको क्याफेमा चिया पिउँनुपर्छऽऽऽ। पैसा तिर्न पर्दैनऽऽऽ। आफ्नै त हुन्ऽऽऽ।” यस्तै केही भन्नुहुँदै थियो तीर्थ सरले गणेश सरलाई। एसो हेरेको चिया पसलको नाम ‘गणेश क्याफे’ रहेछ। छेउमा सानो अक्षरमा लेखिएको थियो- ‘प्रो. गणेश भण्डारी’। तर पिइसकेपछि चिया नपिएको भए पनि हुनेथिएछ जस्तै मान्दै हामी अघि बढ्यौँ।

बिहान 7ः40-मा खोड्पे पुगेका रहेछौँ। यहाँदेखि दाहिनेतिर गइयो भने 108 किलोमिटर टाढ़ा पर्दोरहेछ बझाङ। हाम्रो बाटो देब्रितिर गइरहेको थियो। 24 किलोमिटर टाढ़ा रहेछ पाटन। 8ः50-मा पुग्यौँ। यो पनि बैतड़ीको घनघसियामा पर्दोरहेछ सायद। पाटन पुग्ने बित्तिकै दुईवटा बाटो रहेछ। चारैतिर सफा, चिटिक्कै। दाहिनेतिर सड़कको भित्तामा लेखिएको रहेछ-‘हाम्रो पाटन शहर कसले सफा गर्ने?’ त्यसको तलतिर लेखिएको रहेछ- ‘सक्छौँ सफा गरौँ, नसके फोहोर नगरौँ।’ देब्रेतर्फ बनाइएको रहेछ गेट, जहाँ लेखिएको थियो- ‘पाटन नयाँ शहरमा पाटन नगरपालिका बैतड़ी यहाँहरूको हार्दिक स्वागत गर्दछ।’ तर हामी जानुपर्ने रहेछ दाहिनेतर्फ। बल्ल भेटियो हिजैदेखि छुट्टिनु भएको जीविका दिदीको टोली। केहीक्षणको विश्राम र पुनः चिया पिएपछि निस्कियौँ। अस्तफल सरसँग वाहन साटेर जीविका दिदी हामीसित आउनुभयो। सायद औषधि पनि खानुभयो।

गोठालापानी सदर मुकामको सिन्स (?) लेक हुँदै हामी अघि बढ़िरह्यौँ। यात्रामा चर्चा-परिचर्चाहरू चलिरहेकै थियो। तीर्थ सरले फेरि अर्को शब्द भन्नु भयो- ‘मुन्यैटो’। अर्थ ‘मजेत्रो’ रहेछ। घर-परिवार, नोकरी, काम, जिम्मेवारी यस्तैयस्तै चर्चा चलिरहरेको समय राणा सरले भन्नुहुँदैथियो, “बिहे गर्ने चलन नभएको भए कस्तो हुन्थ्यो होला? सोच्नुभाको थियो कहिले?”

म सोच्दै थिएँ यो वाक्य चाहिँ संस्मरण लेखेँ भने छुटाउँदिन। उहाँहरू बोलिरहनु हुँदा घरीघरी ‘बड्डा’ शब्द प्रयोग गरिरहनु भएको थियो, ठट्यौली प्रकारले। साथीहरूलाई हाम्रोतिर ‘औ बुढ़ो’ भनेजस्तै। तर त्यसको अर्थ यही हो भनेर बुझिन। ठाउँ-ठाउँमा रोकिँदै फोटो खिच्दै यात्रा जारी नै थियो। खोचलेक पुग्नअघि बाटोमा अस्तफल सरहरूको वाहन रोकिएको देख्यौँ। वाहनको हेण्डलमा समस्या भएछ। त्यसअघि बाटोमा एउटा बसले हाम्रो वाहनलाई साँघुरो सड़कमा चस्स छोएर गएको थियो। धन्न ठूलो क्षति पुर्‍याएन। खोचलेकमा निकैबेर पर्ख्यौँ। वैकल्पिक उपायको प्रयास सरहरूले गरिरहनु भएको थियो। पछि वाहन ठीक गरेर उहाँहरू आउने बुझेपछि हामी पनि हिँड्यौँ। दिनको ठीक 12 बजी हामी गोकुलेश्‍वर जिल्ला पुलिस कार्यालय पुगेका थियौँ, जहाँबाट गोकुलेश्‍वरको सीमा आरम्भ हुँदोरहेछ। त्यसको 15 मिनटपछि हामी गोकुलेश्‍वरको दार्चुला र बैतड़ीको सीमा ‘चौलानी’ नदी तरिरहेका थियौँ। अथवा हाम्रो यात्रा बल्ल टुङ्गिएको थियो।

अत्तरियादेखि उकालो चढ्दा निक्कै त शितल अनुभव गरेका थियौँ। तर आज चौलानी किनारैमा थियौँ। कतिले भन्दैथिए, गुगलले मौसम तामक्रम ठीकसँग देखाउँदैन। दुई-चार डिग्रीको फरक पर्छ। यतिबेला हामीलाई 38 डिग्री देखाएको थियो। निक्कै नै तातो। राणा सरका परिचित एसबीआई म्यानेजरलाई भेट्न गयौँ। निक्कै समय एसीमा पसिना सेलायौँ। त्यसपछि बल्ल फर्किएर ‘अपी-नाम्पा’ होटल पुग्यौँ। कस्को नाम हो? भन्ने लागिरहेको थियो। वास्तवमा दुईवटा हिमालको नाममा रहेछ ‘अप्पी’ र ‘नाम्पा’। केहीबेर बिसायौँ र पुगेका थियौँ कार्यक्रम स्थल।

हामी पुग्दा कार्यक्रमका तीन मुख्य आकर्षणमध्ये अन्तिम ‘चर्मण्वती स्वच्छचा अभियानमा हाम्रो प्रतिवद्धता’ सञ्चालनमा थियो। सहभागीहरू थिए- विजयसिंह थामी, सन्तोषप्रकाश जोशी र भगतसिंह ठेकरे। यी तीनैजना तीन अलग-अलग गाउँपालिकाका मेयर रहेछन्। महादेव अवस्थीद्वारा खुबै कुशलतापूर्वक मध्यस्थता गरिएको यस ‘छलफल’-मा दार्चुला र बैतड़ीको माझमा बगिरहेकी चौलीनी नदीलाई लिएर चर्चा चलिरहेको थियो। ‘मान्छेमा भौतिक विकासको चेत आएता पनि अहिलेसम्म आध्यात्मिक चेत भने विकास हुनसकेको छैन’ कसैले भनिरहनु भएको थियो। चौलीनी नदीको पौराणिक नाम रहेछ ‘चर्मण्वती’।

छलफलमा भनिँदैथिए-
“नदीहरूलाई आधार गरी सभ्यता विकासको नामाकरण गरिएको छ। जलसित सम्बन्धित हुन्छ सभ्यताको विकास। उदाहरणका लागि ग्रीस, रोम आदि राष्ट्रको सभ्यतालाई हेरौँ। सांस्कृतिक सीमारेखासित महत्त्व राख्ने हुन्छ सभ्यताको विकासले।” पुरानमा उल्लेख गरिएअनुसार हिमाल पग्लिएर ‘चर्मण्वती’ नदी बगेर आएको रहेछ, जो चामलको चौलानीजस्तै रङको देखिने हुनाले कालान्तरमा ‘चौलानी’ भन्न थालिएको बुझियो। केवल 110 किलोमिटर लामो चौलानी नदी कर्णालीमा गएर मिसिँदो रहेछ।

अर्का वक्ताले भनिरहेका थिए-
“यहाँ मालिकार्जुन धाममा मेला लाग्छ, गोकुलेश्‍वर मेला लाग्छ, चर्मण्वती मेला लाग्छ। धार्मिक र सांस्कृतिक मेलाहरूले समाजको आर्थिक विकासमा सहयोग पुर्‍याउँछ। हामीसित जोड़िएका खानपिन र संस्कार-संस्कृतिलाई हामीले जोड़ दिनुपर्छ।”

अझ भनिँदैथियो-
“स्थानीय इतिहास र महत्त्व बोकेका स्थानहरूको उत्खनन हुन जरुरी छ।”

“देवड़ा’ हाम्रो संस्कृति हो, पर्व होइन। यसलाई चिनाउनु/बुझाउनु छ।”

“स्थानीय साहित्य लेखिएका छन्। इतिहास लेखिएका छन्। तर हामी कतिले पढ़ेका छौँ?”

“स्थानीय साहित्यकारहरूले आफ्नो स्थानबारे अझ साहित्य सिर्जना गर्नु पर्छ।”

“आज पनि महिलाहरूले ऋचा उच्चारण नगर्नु भनिन्छ।”

मध्यस्तताकर्मीको एउटा प्रश्‍नको जवाबमा एकजना मेयरले भनिरहेका थिए, “मान्छेलाई कानूनले मात्र नपुग्दो रहेछ।” सन्दर्भ थियो चौलानीलाई फोहोरमुक्त राखिनुपर्ने। फोहोर गर्नेहरूलाई कसरी बुझाउनुपर्ने भन्ने प्रसङ्ग उठेको थियो।

कार्यक्रमका तीन विशेष आकर्षणबाहेक पनि पूर्वार्द्धको कार्यक्रममा तीनवटा कार्यपत्र राखिएका थिए। डा. जीवन रानाको ‘रानाथारु संस्कृति’ र पदम-बड़ालको ‘शौका, व्यासी समुदायको भाषा, संस्कृति’ सुन्न भ्याइएन। कार्यक्रमको उत्तरार्धमा प्रस्तुत पृतबहादुर विष्टको ‘राउटे जनजातिको संस्कृति’ सुन्ने र बुझ्ने अवसर प्राप्त भयो। तर सुनेर अचम्म के लाग्यो भने नेपालमा अहिले पनि यी जातिहरूले ‘हामी वनका राजा हौँ, वनका राजालाई कुनै नागरिकताको खाँचो पर्दैन’ भनेर राष्ट्रिय परिचय-पत्र नै लिएका रहेनछन्। नेपालमा राउटे जातिलाई सरकारले 40 वर्षअघि बसोबासो गर्न अनुमति दिएको रहेछ। यद्यपि, अहिलसम्म पनि नागरिकता लिएका रहेनछन्।

कार्यक्रमको उत्तरार्धमा छोड़िएको दोस्रो छलफल- ‘साहित्य र सिमाना’ अन्तमा राखिएको थियो। नारा जोशी, जीविका अश्रु, डा. अरुणप्रताप सिंह भदौरिया र डा. पीताम्बर अवस्थीको सहभागिता रहेको थियो भने पदम बड़ालले सहजीकरण गरेका थिए। ‘साहित्य र सिमाना’ एउटा राम्रो प्रयास थियो। तरै पनि सोचेअनुरूप नभएको हो कि भन्ने लागिरहेको थियो।

कार्यक्रम सक्दा-नसक्दै धेरै दिनदेखि नपरेको पानी एकैचोटि हावाहुरीसँगै परेको थियो, थोरैबेर। निक्कै अत्त्यायो हामीलाई।

17 जूनः आजको मुख्य कार्यक्रम हो ‘समापन समारोह’। तर, हिजो बेलुकीको कार्यक्रमपछि होटलको ‘हल’मा रचना वाचनको कार्यक्रम थियो। आफूलाई भने चार दिनदेखिको रात-दिनको यात्राले लगाएको थकान र गर्मीले गर्दा 11 बजीदेखि बस्न सकिएन। साथीहरू कतिले कुरा गर्दै थिए ‘बिहान 2/3 बजीसम्म कविता वाचन र गायन चलिरहेको थियो’। त्यसैले सायद कतिजना त कोठाबाट निस्कन अबेर गरिरहेका थिए। केही अबेर गरेरै होटलदेखि झण्डै एककिलोमिटर टाढ़ा अवस्थित कार्यक्रम स्थल पुग्यौँ दिदी र म, पसिनासरि भएर। त्यस्तो अवस्थामा पनि सड़क छोड़ेर उकालिँदै गर्दा झ्याम्म परेको रुख र रुखको फेदमा रहेको चौतारोमा फोटो खिच्न छोड़ेनौँ पालैसित।

कार्यक्रममा केही रहल प्रस्तुतिहरू पनि थिए। त्यही क्रममा एउटा कविता वाचन गरिदिएँ। अरूका रचनाहरू पनि सुन्यौँ। केही स्थानीय ‘हुड्केली’ सङ्गीत सुन्यौँ, नृत्य हेर्‍यौँ। खासमा हामीले त्यहाँसम्म पुगेर हेर्नुपर्ने कुराहरूमध्ये यो पनि मुख्य थियो। कार्यक्रमको अन्तमा सम्मान-पुरस्कार तथा उपहारहरू थिए। जीविका दिदीलाई ‘द्वारिका देवी ठकुरानी स्मृति नारी रत्न सम्मान’-ले अलङ्कृति गरिएको थियो भने यो कलमकारलाई पनि प्रेस स्वतन्त्र सेनानीको सम्मानमा स्थापित ‘रामबहादुर चन्द स्मृति पत्रकारिता सम्मान’-ले अलङ्कृत गरिएको थियो। यतिबेला आयोजक पक्षका सन्तोषप्रकाश जोशी (अध्यक्ष, डिलासैनी गाउँपालिका), प्रमुख अतिथि प्रा.डा. हेमराज पन्त (उपकुलपति, सुदूरपश्‍चिम विश्‍वविद्यालय), हेमबाबु लेखक (अध्यक्ष, राष्ट्रिय संरक्षण अभियान) र अरू धेरैलाई सम्झिरहेको छु।

बिहान 10ः30 बजीको काठमाडौँ जाने बसमा नारायणगढ़सम्मको टिकट लिएका थियौँ। कार्यक्रमबाट त्यहीअनुसार बिदा लिएर निस्कियौँ। तर बसको यात्रा दिउँसो एक बजी मात्रै शुरु भयो।

18 जूनः दिउँसो 1ः30 बजीतिर आइपुग्यौँ चितवन। जाँदा किन्न नसकिएका किताबहरू एकचोटी खोज्ने भयौँ। दिदीले पुर्‍याउनु भयो ‘सम्पूर्ण किताब’ पुस्तक पसल। कति र कुन किताब चाहियो? चारवटा स्टलमा किताबै किताब रहेछ ‘सम्पूर्ण किताब’-को। देव भाइसँग वाट्सएपमा सम्पर्क गरेर केही किताब ल्याउन सकेँ। ढुक्क लाग्यो। आफूले भने सरस्वती प्रतीक्षाको ‘स्व’ मात्रै किनेँ। जीविका दिदीले अघिबाटै सम्पर्क गरिसक्नु भएको थियो सुरेन्द्र अस्तफल र गणेश शर्मासँग। अस्तफल सर हामीभन्दा एकदिन अघि नै निस्कनु भएको थियो दार्चुलाबाट। आइपुग्नुभयो। उहाँहरूले नै बसपार्कसम्म बाइकमा पुर्‍याइदिनु भयो। एकएक कप चिया पिएर छुट्यौँ हामी।

19 जूनः हिजो चितवनबाट बेलुकी 4/5 बजी हिँड़ेको बस आज बिहान छःबजीतिरै ल्याइपुर्‍यायो काँकरभिट्टा। कतै अलमल नगरी पानीट्याङ्की गयौँ र चढ्यौँ गाड़ी। बाटैमा खबर आयो, ‘बाटो बन्द छ’। बागपुल आइपुग्दा बाटो खोलिएको बुझियो। तर हामी रिक्स नउठाउने भयौँ। चालक भाइ निक्कै गफाड़ी। नाम ‘हेनसेम भाइ’। आफैले बताएको। हाम्रो वाहन मोड़ियो कोरोनेशन ब्रीज तरेर जानलाई। हेनसम भाइ भन्दै थिए “विदेशमा हुनेको बूढ़ी र सिक्किमको हाइवेको विश्‍वासै हुँदैन।” हामी हाँस्यौँ, गमेनौँ। वाहन लाभातिर लाग्दै थियो। म भने पहिलोचोटि हिँड़िरहेको थिएँ यो बाटो। गान्तोक आइनपुगी पानीले स्वागत जनाइरहेको थियो।

अँ, विशेष मेरो समयको अभाव एकातिर अनि प्रचण्ड गर्मी अर्कातिर। त्यसैले बल्ल त आइपुगेको भनेर 73 किलोमिटर टाढ़ा रहेको दार्चुला (नेपाल) र धार्चुला (भारत)-को सीमाक्षेत्रसम्म घुम्ने रहर अनि समय मिले मालिकार्जुन धामको दर्शन गर्ने दिदीको इच्छालाई घाँटी निमोठेरै आयौँ। थाहा छैन, त्यो रहर, त्यो इच्छा कहिले पूरा हुने हो।

राङ्का बरबिङ, गान्तोक, सिक्किम, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।