आज गुरुपूर्णिमा । गुरुको स्मरण र आराधना गर्ने दिन । धनराज गिरी मेरा गुरु नभए पनि अर्थशास्त्रमा एम ए गरी गुरुकर्मबाट नै ४२ वर्ष बिताएका हजारौं चेलाचेलीलाई गणित र तथ्याङ्क शास्त्रलाई दिल अर्पेर निस्पृह भावले उनीहरूको भविष्य उज्यालो बनाइदिने कार्य सुसम्पन्न गरेका निष्काम कर्मसेवी र उदार भावनाका सत्पात्र हुन् । उनका सुकर्मप्रति सद्भाव प्रकट गर्ने इच्छा जाग्रत भइरहँदा र वाल्मीकि साहित्य सदनले निर्विषा ( कवितासङ्ग्रह ) र पाखण्ड पुराण ( हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रह ) यी दुवै कृतिहरूमा केन्द्रित हुने गरी लोकार्पणीय र समीक्षात्मक कार्यक्रम भव्यरूपमा गर्ने मनसाय बनाउँदा नबनाउँदै देशभित्र र बाहिरका साहित्यप्रेमीहरूमा कोमल भावुकताबस कृतिकार स्वयंले पुस्तक उपहार दिंदै फोटो खिंचाउँदै यत्र-तत्र वितरण गरिरहदाका अवस्थामा उनका यी रहरिला क्रिया-कर्मलाई नौलो प्रयोग मानेर खुशी मानाइरहिएकै छ ।
वि. सं. २०१५ साल भाद्र ९ गते मकवानपुर हटिया दाबिलेमा धनराज गिरीको जन्म भएको हो । उनी राष्ट्रिय निकुञ्ज सौराहसँगै जोडिएको बछ्यौलीमा बसी आकृति पुस्तिकाका माध्यमबाट विश्वविचरण गर्ने साहित्यिक तर लहडी ( मनमौजी ) यायावर हुन् ।यात्राका क्रममा नेपाली र हिन्दी फिल्मी गीतहरू गाएर मनोरञ्जन दिने हँसिला , रसिला र कँसिला धनराज गिरी शैक्षिक क्षेत्रमा मात्र होइन साहित्यका गजल , मुक्तक , निबन्ध , कथा , संस्मरण र नियात्राजस्ता विधाहरूमा तुरुन्त लेख्नसक्ने बेगशाली साहित्यकार हुन् ।
यिनका हालसम्मका कृतिहरूमा 'राष्ट्रै टुहुरो भयो ( छन्दात्मक कवितासङ्ग्रह-२०५४ ), अर्थात् ( मुक्तकसङ्ग्रह-२०५८ ), गजलामृत ( गजलसङ्ग्रह-२०६० ), कुन्साङ काका ( नानी गजलसङ्ग्रह-२०६२ ), पुष्पलता सामाजिक शान दैवी वरदान ( गीतिकाव्य-२०६२ ) , ढल्दैन स्वाभिमान कसै गरे पनि ( गजलसङ्ग्रह-२०६४ ) , शराह र सौराह ( संयुक्त गजलसङ्ग्रह-२०६६ ) , अनन्त पाइला ( उपन्यास-२०६९ ), सँगी ( गजलसङ्ग्रह-२०७३ ), जरुवाजल ( गजलसङ्ग्रह-२०७५ ),साथी ( लघुकथासङ्ग्रह-२०७६ ), निर्विषा ( कवितासङ्ग्रह-२०८१ ) र पाखण्ड पुराण' ( निबन्धसङ्ग्रह-२०८१ ) उल्लेख्य मानिन्छन् ।लेखेर सम्मान-पुरस्कार कति पाए उनै जानून् । यिनका अतिरिक्त फुटकररूपमा विभिन्न पत्रपत्रिकामा प्रकाशित देखिन्छन् ।
पाखण्ड पुराणको पाठकीय चर्चा जोडतोडले भइरहेको छ । हुनु पनि पर्छ । निबन्ध र कथाको मिश्रणले पनि कृतिमा नवीनता , उत्सुकता , समसामयिकता , मधुरता र हार्दिकता भरिएको छ । वक्रोक्तिको बेमिसाल प्रयुक्तिले व्यङ्ग्यात्मकताको हुरीले धुरीमा पुर्याएको छ । यस सन्दर्भमा निर्विषा' ( कवितासङ्ग्रह ) अलि पछि चर्चामा परेजस्तो लागेर एक दुई कुराहरूमात्र राख्न मनसाय बनाएको छु ।
यसमा १३८ वटा शीर्षकका कविताहरू सङ्कलित छन् र इन्दिरा , पञ्चचामर , शार्दूलविक्रीडित , दिक्पाल , मन्दाक्रान्ता , भुजङ्गप्रयात , स्रग्धरा , स्रग्विणी , शिखरिणी , तोटक , विधाता ,वसन्ततिलका र अनुष्टुपजस्ता पिङ्गल मुनिकृत १३ वटा छन्दको प्रयोग रहेको छ । ८३३ वटा श्लोकहरूको समाविष्टिले कृतिको आकार निर्धारण गरेको छ । गति र यतिको कुरो छाडे पनि छन्द कतै बिग्रन दिइएको छैन ।
यिनका रचनाहरू सरल र सरस भाषामा हुन्छन् , छोटा मिठा खिरिला पदविन्यासहरूको रहर लाग्दो उखान र अनुप्रासीय तुक्काहरूले व्यङ्ग्यका कसिला मुक्काहरू बर्साइरहेका हुन्छन् । उनको लेखकीय विशेषता नै वक्रोक्ति हो । उनका सृजनाहरू अभिधा , लक्षणा र व्यञ्जनाका वक्रोक्तिमा प्रवाहित भइरहने हुँदा बौद्धिक पाठकहरूले औधी चखिला घोचिला पेचिला र तिख्खर मानेर प्रशंसा गरिरहेका हुन्छन् । त्यसो त वक्रोक्तिको अनेक अर्थ हुन्छ । यसले काव्यिक अलङ्कारसित गहिरो नाता जोडेको छ र त वक्रोक्तिका वारेमा साहित्य दर्पंणमा आचार्य विश्वनाथ भन्दछन्-
अन्यस्यान्यार्थकं वाक्यमन्यथा योजयेद्यदि ।
अन्य: श्लेषेण काक्वा वा सा वक्रोक्तिस्ततो द्विधा ।
जहाँ कसैको अन्यार्थक वाक्यलाई कोही दोस्रो व्यक्तिले काकुद्वारा अन्य अर्थमा घुमाइदिएमा दुई प्रकारको श्लेषवक्रोक्ति र काकुवक्रोक्ति हुन्छ । एउटालाई भनिएको कुरो अर्कोले अर्को अर्थ लगाएमा मनोरञ्जनको ठाउँमा भान्ति वा संशयले वातारण बिगारिदिन्छ । 'धरान' भन्न नपाउँदै 'धनराज नगर'तिर अर्थ मोडिएमा श्रोतामा पर्ने वक्रोक्तिका अनुप्रासमा सहोक्ति विनोक्ति समासोक्ति विशेषोक्ति जप्दै जानुको उपादेयता रहदैन । 'आगो' बाट आमोदी र गोकर्णले तात्कालिक व्यक्तिबोधको अर्थदेला तर सार्वकालिक रहन सक्दैन । यो प्रसङ्ग यति नै ।आगे वक्रोक्तिकारको जो मर्जी ।
धनाराज गिरीका कतिपय शब्दहरू वक्रोक्तिमै रहने हुनाले मलाई आनन्दको शिखरमा पुर्याउँछन् । विविध विषय , विविध लय , विविध रस , विविध भाव विचरणानुकूलय्क्त वक्रोक्ति र विविध बिम्बमयताको रस-प्रवाह जहींतहीं सम्भव पनि हुदैन ।एउटा उदाहरण दिएर पसङ्ग छोट्याउँछु । जस्तै-
मौरी हुन् मधु चाह गर्छ मनले यायावरी वागमा
रोजे फूल अनन्त सन्त वनमा वैशाखमा माघमा
दानी वीर र धीर कर्ण घरमा सञ्चारमा गीतमा
प्यारा हुन् कविजी उदाहरण हुन् मोती बने शीतमा ।
-ऐ. हे रात दे काव्य दे , प़. ८४ ।
त्यस्तै प्रीतिप्रणयले भरिएको सुकोमल र श्रुतिमधुर कविताका केही हरफहरू राखेर प्रकरणलाई खुम्च्याउँछु-
तिमी साधना हौ तिमी सिर्जना हौ
तिमी स्वप्न मेरी तिमी अर्चना हौ
तिमी शब्द मेरो तिमी अर्थ मेरो
तिमी साथ प्यारी उज्यालो कटेरो । ऐ. तिमी , पृ. १४२
वक्रोक्तिको छनक-
सगर्व गर्व जानकी सगर्व गर्व कालिका
कमाल वेदको सखा अनेक देव बालिका ।' ऐ. गर्व , पृ. १०
यहाँ जानकी कालिका र बालिकालाई वेदका 'सखी' नभनेर 'सखा' भनिएकोले मेरो समझ बाहिरको लिङ्गसङ्गतिमा आएको वक्रोक्ति म ठम्याउन सक्दिन।
नयन भित्रको खुल्छ चेतना
सकल ज्ञानको भुल्छ वेदना
सकस लोकको हे मुमा सुनी
चरर चर्किएँ थर्कियो गुनी । निर्विषा , नमन शारदा , पृ. ९ ।
रचेता , पाठक वा समीक्षक कोही शारदा वन्दना गरिरहेको छ ।मस्तिष्कलाई नयन-बिम्बका रूपमा अगाडि सारेर ऊ ( कर्ता ) भन्छ- ' हे शारदा ! ( तिम्रो नाम लिएपछि ) नयनभित्रको चेतना खुल्छ । सम्पूर्ण ज्ञानको वेदनालाई भुल्छ ( वेदनाले ज्ञान भुल्ने हो कि ! ज्ञानले वेदना भुल्ने हो ? ) सकस ( दु:खले पीडित ) लोकको (ले) हे मुमाको पुकार सुनी म चरर चर्किएँ । ( अर्को ) गुनी थर्कियो । चर्किएँ ( प्रथमपुरुषको क्रियापद )द्वारा वेदना अभिव्यक्त नगर्दै थर्कियो ( तृतीयपुरुषको क्रियापद )को प्रयुक्तिको वक्रोक्तिले गुनी स्वयं कर्ता नै हो भन्ने अर्थ म लाउन सक्दिन ।
अन्त्यमा पाखण्ड पुराणका पंङ्क्ति पंङ्क्तिमा प्रयुक्त अनुप्रासिक सौन्दर्य निर्विषामा कतै कुनै श्लोकमा छ कि भनी हेरें पाइन । कविका हृदयमा तरङ्गित भावनाका उच्छालहरूसँगै तरङ्गिंदा सारै आनन्द पनि लाग्यो । यति सुन्दर कृति मुफ्तैमा उप हार पाएकोले खुशी पनि लाग्यो । किताब पढिसकेपछि प्रभाववाद र मनमौजीका सुन्दर कृतिहरू पढ्न बाँकी रहेका साथीहरूलाई एकचोटि पढिदिन आग्रह गर्दै लेखनी बिसाउँछु ।
रत्ननगर चितवन ।