एकजना साथी छन् मेरा। उनी भनिरहने गर्दछन्, “हेर राजु, प्रेम जोसँग जहाँ पनि हुन् सक्दछ।” उनीसँग म सहमत थिइन् क्यारे ती दिनहरूमा।
म सोच्दथें, “ना बाबा ना, प्रेम त एकफेर हुन्छ। एउटीसँग हुन्छ। भइराख्छ। भइरहन्छ।”... म सोच्दथें क्यार ती दिनहरूमा।
अर्का एकजना साथी छन् मेरा। उनी भनिरहने गर्दछन्, “सँगालेर राख्नु पर्छ खुसीहरू। बाँड्दै हिँड्ने होइन।” उनी आफ्नो प्राचीन प्रेमलाई खुसीको नाम दिएर दङदास भई हिँडिरहेका छन्। राधाको रूप लावण्यमा जगद्गुरु कृष्ण लट्ठ..। क्या मिलेको चट्ट। बिछट्ट।
हृदयको वाचालता, बौद्धिक बहस या विचारहरूको ताल-बेताले अभिव्यक्तिबिच कहीँकतै म पनि रुमल्लिरहें क्यार..!
सोचिल्याउँदा सोचिरहने गर्दछु कि “मुला झल्लु। तेरो प्रेम इस् प्रेम, तेरो भावुकता इस् भावुकता। तेरो अभिव्यक्ति भुत्राको अभिव्यक्ति।” म पनि रुमल्लिरहें क्यार..।
कालो आँखा भएका लाटोकोसेराहरूले कालो रात र रातो सिउर भएका भालेहरू रातो बिहान ल्याइरहे। साइत निकालिरहे, तिनको लेखाजोखा गरिरहे। घडी, पला, नक्षत्र,..हिसाबकिताब गरिरहे। मान्छेहरू त्यसैअनुरूप दगुरिरहे (छन्)।
तर लाटोकोसेरो जब निन्द्राबाट ब्युँझियो- तब रात भइरह्यो।
भाले जब निन्द्राबाट ब्युँझियो- तब बिहान भइरह्यो।
..चलिरह्यो- एउटा शाश्वत सत्य।
..टाँगिरह्यो- एउटा आस्थाको वस्त्र, मानस खोपडीमा।
जीवन उपयोगिताको कठोर ठिङुरामा गुजारिरहें मैले आफूलाई, घिच्च्याइरहें त्यतातर्फ। कहिले पेट भर्ने रहर, कहिले आन्द्रा तृप्त पार्ने चेष्टा।
कहिले दौडिभाग्ने आवेग। कहिले दिन बियाँल्ने अनेक उत्कण्ठा।
कहिले भागी हिँड्ने मन। कहिले लखेटिरहने मस्तिष्क।
जीवन एउटा ठाडो भीर अनि दैनिकी एक बोझिलो भारी र काँखीको गन्ध।
जीवन दूर भागिरहने क्षितिज र दिनचर्या भास्सिरहने पैताला र आँखाहरू।
अरूकै गीत र गाथा.., अरूकै स्वर र भाका...।
तर लगातार गुन्गुनाइरहेछु म-
‘रेट्न सकेन सारङ्गीले पनि, ए लौ.. बिझिरहने काँडा भयो जिन्दगानी!’
***
मनुष्य भइकन पनि मैले आफ्नो जन्मसिद्ध रागात्मक वृत्ति त भुसुक्कै भुल्दिएछु क्यार। क्या विधि खस्रोपन नि यो मेरो। क्या ठेट्ना वैशिष्ठयता नि मेरो। अहिले एकफेर खुसुक्क आफूलाई चड्काएर ‘आत्थो आत्थो’ ओकल्दै तातो पानीले भरिएको चिसो गिलास मुसार्दै सम्झिन्छु, “हो त, साँच्चै। चिसो थियो उसको वक्षस्थल।”
ऊ भन्थी, “तैंले मेरो वक्षस्थल भित्रको सुकुमार मन भेट्टाइनस्। तीनले सँगालेको मातृत्व देखिनस्।” प्रेमिकाका वक्षस्थलमा मातृत्व? त्यो असजिलो प्रश्नको सजिलो उत्तर त्यतिखेर मैले.. मैले भेट्न सकिन। परिणामतः उसले मलाई प्रेमपत्रको नाममा आरोपपत्र थमाएर भनि, “ गन्तव्य एकै भए पनि अबदेखि हाम्रो यात्रा फरक।..बिल्कुलै फरक।”
आधा ठिहिरो र आधा सिरेटो त्यसपश्चात् अलग भए।
धिपधिपे साँझ र धमिलो लालटिन फेरि देखिएनन् प्रेमको गल्लीहरूतिर।
झुसिल्किरा पुतली बन्न पाएनन् यस अर्थमा। फूलहरू शोकमग्न होलान्।
प्रेम ओइलायो..। हृदय मुर्झायो।
मेरो मात्रै कि उसको पनि?
..प्रेमको पुस्तकमा ओइलाउन पाएन एक थुङ्गो फूल।
थुङ्गो - मधुर वर्षातको !
थुङ्गो - अनन्त आकाशको !
थुङ्गो -..!
***
स्वीकारे मैले उसको प्रस्ताव।..सकिनँ। सिउँडी घारीमा पसिगयो एक टुक्रा उज्यालो।
फेरि पढेँ उसको प्रस्ताव।..स्वीकारेँ।...तर, तर फेरि सकिनँ..।
सिउँडी घारीबाट निस्किगयो एक टुक्रा उज्यालो !
फेरि पढेँ..पढेँ..! र फेरि पनि सकिनँ। यो सिलसिला चलिरह्यो..।
अन्ततः त्यो एक टुक्रा उज्यालो अब सिउँडी घारीतर्फ देखिँदैन यतिबेला।
सिउँडीका काँडाहरू यद्यपि जूनताराका झल्लारी छाता ओढेर सङ्घर्षमय संसारको भीडमा रुङिरहेका छन् अरे..! पत्ताउनै मुस्किल।
आफ्नै वास्तविकता एक मोर्चा, आफ्नै वास्तविकता एक युद्धमैदान।
लडाई आफैँसँग; जीत आफ्नै, हार पनि आफ्नै।
हतियार पनि आफैँ। र, लडाकू..?
***
शब्दहरू रेखाशास्त्रमा परिणत भए, रेखा गणितमा रूपान्तरित भए।
र, बन्यो; त्यो प्रेम, त्यो प्रेमपत्र - एक अबस्ट्रयाक्ट अंकगणितीय कोलाज।
र, बन्यो; त्यो प्रेम, त्यो प्रेमपत्र - वाक्य र अर्थमा सन्निहित अभिव्यञ्जनाको अमूर्त शब्दहरूको चाङ।
मानिस स्वभावतः आफ्नो भावनाहरूलाई आफूकन मात्र सीमित राख्न सक्दैन। म सकिरहेको छैन। नत्र ‘भावना कला हो’ भन्दै कलाकारहरू आफूलाई किन पोखी हिँड्थे ?
भरिएपछि पोखिनुपर्छ, ठिक छ..। पीँधमा एक टुप्पो सियो छिद्र पारिरहनु र भरिरहनु पनि त कला होला? कलाको साध्य हुनुपर्छ भन्ने त छैन होला। यदि छ भने आनन्द र चिन्तनलाई कसरी सूत्रपात गर्ने? हो, हो..साध्य बेगरका प्रेमहरूमा म परिरहे। रहिरहे।
यतिका अनुभवले यहि बताउँछ कि कला वस्तुतः अनुभव रहेछ अनि एक प्रेरणा पनि- सिर्जनाका निमित्त।
सिर्जना त्यो एक प्रेम। सिर्जना त्यो एक कविता।
सिर्जना त्यो एक प्रेम र कविता बीचको न्यानोपन।
सिर्जना-त्यो एक जीवन। सिर्जना त्यो एक मृत्यु।
सिर्जना त्यो एक-जीवन र मृत्यु बीचको चिसो आलिङ्गन।
प्रेम?
प्रेम, सर्वकालिकता?
प्रेम,अवधारणा?
प्रेम, अनुभूतिजन्य भावनाको तीव्रता?
***
यदाकदा शहरका गल्लीहरूमा उसको गन्ध पाउँछु।
मेरो नाकले भन्छ ‘ऊ यहीं कहीँ छे’।
मेरो आँखाले यताउता खोजेर भन्छ, “छैन हो छैन, यता कतै छैन।”
मन बाठो भइटोपल्छ र प्वाक्क बोल्छ, “तँ आफ्नो मस्तिष्कबाट उतारी फ्याँक उसको गन्ध।”
त्यसपछि नाक नाक खुम्चाउँछ। आँखा परेला चिम्साउँछ। मन दङ्ग पर्छ। छाती भुक्क फुल्छ। र, मस्तिष्क प्वाक्क परिरहिन्छ...।
खुट्टाहरू फेरि गति समात्छन्। र, हातहरू पुनः लय पक्डन्छन्।
सहर साँझ बनिदिन्छ र आकाश मेरो छायाँलाई लुकाउँदै लैजान्छ।
***
एउटा साथी छे। उसको न कुनै व्याख्या गर्न गइरहेको छु म, न तुलना।
न कुनै प्रणालीगत कथन, न मुल्याकंन नै।
उसको विचार एकाङ्गी र सौन्दर्यको परिकल्पनाले मलाई हायलकायल बनाउँछ।
ऊ भन्छे, “म राम्री मान्छे हो, मैले घरको ऐना फुटाइदिएँ।” त्यति कुराले मलाई उससँग उठबस गराइराख्छ।
न बहिष्कारजन्य भाव छ हामीबिच, न समन्यवतमक्ता जस्तो केही।
न परावर्तन कतैको, न प्रकाश कहीँदेखि।
छौँ त्यही पनि उज्यालो। छौँ त्यही पनि घमाइलो लसपसमा।
यतिलाई ‘प्रेम’ भन्नु? भन्छु। ‘प्रेम यति मात्र पनि हो।’
म खोकिरहेको हुन्छु, ऊ आउँछे र भन्छे, “ पानी तताएर खा।”
हामी हिँडिरहेका हुन्छौँ र उ अडिग उभिएर भन्छे, “अँगालो बन्धन हो।” म अँगालो हालौँ क्यारे भनेर सोच्दै थिएँ।..एउटा साथी छे मेरो।
“लाजको घुम्टो ओढी, तिमी माया यसै लुकाऊ छेउ..” गीत बजिराख्छ। ..