18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कृष्ण बजगाईंको 'नग्न स्वप्न' भित्रको विचरण

कृति/समीक्षा शुक्रराज कुँवर August 3, 2024, 12:33 am
शुक्रराज कुँवर
शुक्रराज कुँवर

नेपाली साहित्यको भण्डारमा आफ्नो ६ वटा लघुकथासङ्ग्रह दिइसक्नु भएका मूर्धन्य साहित्यकार कृष्ण बजगाईंको छैठौँ लघुकथासङ्ग्रह नग्न स्वप्न सौभाग्यवश हात पर्‍यो । लघुकथाहरु पढेँ ,एकएक गरि पढेँ अझ भनौँ शब्द शब्द छामेर पढेँ । अब्बल कृतिहरु सृजना गर्नुहुने वहाँको कृति उपर समिक्षा टिप्पणी गर्न मेरो बुताले भ्याउँदैन तैपनि कथाहरु पढिसकेपछि केही न केही नलेखी बस्न मनले मानेन पनि र मेरो क्षमताले जति बुझ्न टिप्न सक्यो त्यत्ति चाहिँ लेख्ने साहस गरेँ ।

'समयबोध'लघुकथाले पाठकलाई भविष्यको कल्पनामा सयर गराउँदा गराउँदै वर्तमानमा ओराल्छ, किनकी भविष्य उसको वशमा हुँदैन ।वर्तमान नै उसको समय हो उसको धरातल हो । 'बाध्यता' आर्थिक अभावमा पिरलिएको आममान्छेको कथा हो । अर्थिक अभावले मनोरोग सृजना गर्छ र कसरी मान्छे दुष्कर्म गर्न बाध्य हुन्छ भन्ने कुरा उजागर गरिएको छ । स्वास्नी स्वास्नी भईन , छोराछोरी छोराछोरी भएनन् , आफन्त आफन्त रहेनन् , सायद जीवनदेखि हारेको मान्छे हाडछालाले भरिएको बुढो शरीर अस्पतालको बेडमा तेर्साउँदा मनमा खेल्ने ऊहापोहले सपनामा देखेको कुरा बिपनामा ठ्याक्क मिल्नु 'महासंयोग' नै हो । शुरुदेखि अन्त्यसम्म कौतूहलताले भरिएको 'फन्दा'ले पाठकलाई फन्दामा पार्दै बाँधेर राख्छ । एउटा बदनियत भएको मान्छे आफै फन्दामा परेको कथा छ । 'पहिचान' मर्मिक छ एउटा देश हराएको , पहिचान गुमाएको ,उज्ज्वल भविष्यको खोजीमा विदेशमा भौतारिरहेको मान्छेको पीडादायी कथा हो । 'अपमृत्यु' मा व्यङ्ग्य र हास्य मिसिएको छ । साहित्यले गर्जो नटर्ने हुँदा अन्त्यमा म पात्रलाई नै मारेको दिन भिसा आइपुग्नु रोचक लाग्छ । 'भिसा' पढदै जाँदा आफ्नै देशका राजनैतिक जनावर , कर्मचारीका कुकृत्यहरु झलझली आँखा अगाडि नाच्छन् । समापनमा सपना देख्न पनि भिसा हान्नु पर्ने तितो यथार्थले मन चसक्क हुन्छ । आफ्नै श्रीमती आफैलाई नासो फिर्ता गरे जस्तै गरेर भुसतिघ्रे जानु रहस्यमयी लाग्छ 'नासो' कथामा । कथाले वैदेशिक रोजगारका अँध्यारा पाटालाई सामाजिक विकृतिको रुपमा उप्काउने प्रयास गरेकोछ । 'भरोसा' मा खुसी हराउँदाको पीडा र त्यस बिचमा पाइने आड भरोसाको कुरा छ भने 'जुत्ता' मा जुत्ता र जुत्ती बिचको द्वन्द रोचक र यथार्थ लाग्छ । व्यङ्ग्य मिश्रित यो कथाले जति चुरीफुरी गरे पनि आफ्नो धरातल बिर्सनु हुन्न भन्ने कुरा देखाउँछ ।

'लज्जा' आजको जल्दोबल्दो कथा हो । मानिसहरु यान्त्रिक बन्दै गइरहेकाछन् । विपरीत लिङ्गीहरु सन्तान नजन्माउने तर लिभिङ टुगेदरमा बस्ने वा एक सन्तान मात्र जन्माउनाले भविष्यमा मानव सृष्टि नै खतरामा पर्नसक्ने कुरा उठाइएको छ भने अर्को तर्फ समलिङ्गी विवाह बढदै जानु एउटा लज्जाको विषय बनेकोछ । मनमा शान्ति नभए पछि सायद 'भ्रान्ति' आउँछ । हृदय हराएको मान्छेले कुकर्म गर्छ , देख्नेले पनि त्यस्तै देख्छन् र उसमा भ्रान्ति उत्पन्न हुन्छ उ आफूलाई होइन अरुलाई पागल देख्छ । 'लालच' ले दह्रो व्यङ्ग्य हानेकोछ, नेपाली राजनीतिमा मासु चिउरा रक्सीमा बिक्ने लठ्ठकहरुलाई कसिलो झटारो हानेकोछ । यसले नेपाली राजनीतिको फोहरी खेल हुबहु उतारेकोछ । 'मर्मान्वेषक' मा धोकेबाज, आततायी या विश्वासघातीको पराकाष्ठा नमूना देख्न पाइन्छ । कथा अत्यन्त रोचक छ । 'प्रतीक्षा' भित्र लोग्ने स्वास्नी बिचको कटु सम्वन्ध पाइन्छ जसको मूल जड़ नै प्रतिक्षा हो । कथा पढदा यस्तो लाग्छ जिन्दगी नै प्रतीक्षाको पुलिन्दा हो । 'परामर्श' मा एउटा काउन्सिलिङ सेन्टरले दिएको परामर्श उचित नै लाग्छ अपितु परामर्श दिँदा विचार पुराउनु पर्ने कुरा कथाले भन्छ । भूत र वर्तमानको जाँतोमा पिसिएको एउटा जीवनदेखि हार खाएको मान्छेको कथा हो 'भूत' जहाँ उसलाई विगतले चिमोट्छ , वर्तमानले तर्साउँछ ,यहिँ ऊहापोह बिच उ जीवन विसर्जन गर्छ । 'भाइरल' मा लोग्ने स्वास्नीको विपरीत चरित्र छ । लोग्नेको सिर्जनशीलतमा अंकुश लगाउँदै स्वास्नी असामाजिक तवरले भाइरल बन्छिन् जसको कारण लोग्नेलाई भाइरल ज्वरो आउँछ । समापनले पाठकको ओँठमा हाँसो ल्याउन्छ । 'गमन'मा पात्रहरुको छली चरित्र पर्दाफास भएकोछ । जैसी कर्नी वैसी भर्नी हिन्दी कहावत चरितार्थ हुन्छ । 'उपवास'ले अनावश्यक रुपमा व्रत उपवास बसी ढोङ गर्ने महिलाहरु प्रति कटाक्ष गरेकोछ ।

'प्रभाव' लघुकथा काल्पनिक लाग्दा लाग्दै यथार्थ पनि लाग्छ । कथाभित्र एउटा साहित्यकारकी श्रीमतीको गलत मनोदशाको सुन्दर चित्रण छ । 'तीव्रता' तीव्र गतिमा अघि बढ़छ । पश्चिमा संस्कृती जस्तो यथार्थ घटना जस्तो पनि लाग्छ तर कथाले युटर्न लिएर पाठकलाई मुस्काउन वाध्य बनाउँछ र उपन्यास लेख्ने कुराले उत्तिकै रोमाञ्च पनि पैदा गर्छ । 'होस' मा बेहोस भएको मानिसले देखेको सपना पनि यथार्थ हो र होसमा आउँदा अस्पतालको खर्च सम्झेर बेहोस हुने अवस्था पनि यथार्थ हो । 'मूर्खपुर' त झन वर्तमान नेपालको ठ्याक्कै मिल्ने ऐना हो काटिकुटी एउटै । नेताहरुको लागि मात्र गणतन्त्र आएको र यो राजनीति गर्नेहरुका लागि स्वर्ग र जनताका लागि नरक बराबर भएको जस्ता गणतन्त्रका विकृतिहरु 'गणतन्त्रको जन्त्र ' मा उल्लेख छ । गणतन्त्रको सँचो नेताको हातमा छ र जनता उनीहरुले फलाक्ने मन्त्रमा लठ्ठिएका छन् । 'नक्कली' मा सबै कुरा नक्कली लाग्छ । जति कामकुरा हुन्छन् देखावाका लागि मात्र हुन्छन् , नक्कली लग्छन् तर सपना यथार्थ देखिन्छ त्यो किन नक्कली देखिन्दैन ? गम्भिर प्रश्न छ । 'रुपान्तर' मा सम्भ्रान्त र निम्न वर्गीय महिलाको कुरा छ । सम्भान्त महिलाहरु मोजमस्तीका लागि आफूलाई सजिलै रुपान्तर गर्न सक्छन् भने निम्न वर्गीय महिलाहरु पनि ब्याकफोर्स पाएमा हक अधिकारको लागि तत्पर हुन्छन् । राजनीति पूर्णकालिन पेसा भएको छ 'इलम'मा । अरुतिर असफल भएकाहरु राजनीतमा सफल भएकाछन् र उनीहरुको घरबार पनि मजाले चल्छ । आफ्नो 'अभीष्ट' पूरा भए पछि त जस्तोसुकै क्रान्तिकारी पनि स्खलित हुन्छ । यो कथित नेपाली क्रन्तिकारीको हुबहु चित्र हो । 'ताप' मा जल्नु अघि आफूले पठाएको छायाछवीमा सुन्दरीको छायाले उनलाई पनि कति ताप दियोहोला आँसु झार्नु अघि सोच्नु पर्थ्यो कि ?

'संसजक' बुझ्नलाई अलि गाह्रै छ । जहाँ त्यो तेस्रो अमुक व्यक्ति उनीहरु दुवैको प्रेमिका भएर आएकी छे र त्यसको घानमा अबोध बच्चा परेको छ र पनि उनीहरु खुसी छन् । 'सहजीवन'पढदा जीवन एउटा रङगमञ्च जस्तै लाग्छ ,सबैले आ-आफ्नो भूमिका निभाउने हो । 'डेटिङ' झटकापूर्ण छ ,दाँतमा ढुङ्गा लागे जस्तै ।

"लोग्ने भन्ने जात सबै उस्तै हुँदा रहेछन्" एउटी बहुगामी महिलाले यत्ति भन्दा केही फरक परेन तर तेही कुरा प्रहरीकी श्रीमतीले भन्दा शङ्काको बादल मडारिन्छ । नारीको चरित्र भगवानलाई पनि थाहा हुन्न भन्छन् 'बहुगामी' लघुकथाले पर्दा पछाडिको अदृश्य खेल खोतल्न खोजेको छ ।

'विपरिणाम' के सोचेँ मैले के भयो अहिले भने जस्तै भएको छ लोग्नेलाई भने व्यवहारले लोग्ने कहिले मर्छ जत्तिकै गर्ने तर अर्की ल्याउने तारतम्य मिलाएको रहेछ भन्ने गलत बुझाइले पनि जलन हुने कुरा देखाइएको छ । 'अभिनय' एउटा गलत संस्कार उजागर गरेको कथा हो जहाँ घरका परिवार नै रोगी बुढाको मृत्यु कुरेर बस्छन् तर आफू दु:खी भएको अभिनय गर्छन् अन्त्यमा बुढा बौरँदा डाँको छाडेर रुन्छन् र उनीहरुको अभिनय पर्दाफास हुन्छ । 'अन्तिम इच्छा' पढदा बुढीले घरकालाई धोखा दिएर पूर्व प्रेमी सँग बसउठ गर्ने नाटक गरेकी हुन कि जस्तो लाग्छ जो उनको अन्तिम इच्छा पनि हुन सक्छ । लघुकथा 'अशान्ति ' र 'बुद्धि' भित्र सरकारी अकर्मण्यता, असहयोग छलछाम आदिले अशान्ति मच्चाउने तर उनीहरु त्यही अशान्ति भित्रै आफ्नो दुनो सोझ्याउँछन् , जय नेपाल भागसान्ती गर्छन् । 'आइमाई'ले जतिसुकै नारीवादी कुरा उठाए पनि अथवा पुरुष सँग जतिसुकै मनमुटाव भएपनि आइमाईले आइमाईलाई विश्वास गर्न सक्दैनन् आइमाईको शत्रु आइमाई नै हुन्छन् भन्ने कुरा उजागर गरिएको छ ।

जारले डाह उठ्ने गरी जारको बढाइचढाइ गरेपछि बचरी वर्तमान पत्नीलाई 'डाह' हुने नै भयो । यस्तो त सहन गर्न गाह्रै पर्ला नारी जातीलाई । 'अन्जाम' मा एउटा पृथक अदभुत शहरको परिकल्पना गरिएको छ ,कथा पढदा त्यस्तै भएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ । 'हरित सहर' मा आफूले जथाभावी रुखविरुवा काटेर आगो बालेको र चोरी शिकार समेत गरेको कारण उत्पन्न सन्ताप सपनामा देखिन्छ । सपनामा देखे अनुसारकै जरीवाना तिर्न कथाकार तैयार हुन्छन् । यसको अर्थ वातावरणीय चेतना छ । 'मनस्कान्त' कसिलो व्यङ्ग्य मिश्रित लघुकथा हो । जतिसुकै गाली विरोध गरेपनि मुखमा माड परेपछि तैँ चुप मै चुप । 'मास्क' रहस्यमयी छ । कल गर्ल सायद आफ्नै मान्छे थियो । 'छल' यौन विषयक कथा हो । यौनकर्मीबाट हुने छल र धोकाढडी र ब्याल्कमेलिङ जस्ता गम्भिर विषय उठान गरिएका छन् भने साहित्य क्षेत्रमा तथाकथित साहित्यकारको कर्तुत र जीविकोपार्जनका लागि लेख बेच्नु पर्ने दरुण बाध्यता 'घोस्ट राइटर' मा छ । 'भ्रमी' धेरै पढेको विद्वान तर असफल मानसिक सन्तुलन गुमाएको साहित्यकारको कथा हो जहाँ उसको मनोदशा बिग्रेको छ ।

'रहस्य' मा लघुकथाकार माथि नै व्यङ्ग्य छ । रहस्य लुकाउने पुरा कथा नै नलेखी कौतूहलता पाठकलाई नै छाडिदिने प्रवृत्तिले पक्कै अबुझ पाठकले कस्तो अधुरो लेखेको भन्छन् नै । 'लाइसेन्स 'चोटिलो छ, अन्तिम वाक्यले नै सम्पूर्ण कथा बोकेको छ । दूषित नेपाली राजनीतिको ऐना भन्दा फरक नपर्ला ।

'समस्यापुर' पढ़दा त्यो समस्यापुर राज्यफनेपाल नै हो भन्ने भान पर्दछ । अति नै सुन्दर ढङगले व्यङ्ग्य पनि गरिएको छ । जति समस्या पर्छ उति नै फाइदा हुन्छ यहाँ कसिलो झटारो छ । अन्त्यमा समस्यै समसयाको जंजालमा परेर लेखकलाई उम्किन गाह्रो भएको कहालीलाग्दो कथा छ । ' घात' नेपाल राष्ट्रको एउटा विस्मयकारी कालखण्डको विम्व हो । उनीहरुले साहाराको लागि हात मागे बन्दुक थमाइदिए सोवापत उनीहरुले सत्ता दिलाइदिए र आफ्नो गरिखाने हात नै गुमाए । मार्मिक यथार्थ लाग्छ । जल्दोबल्दो विषय हो । 'ऐना' ले पनि नेपाली राजनीति भित्रको तितो यथार्थलाई ऐना जस्तै छर्लङ्ग देखाएको छ , सोच्न बाध्य पार्छ । 'नग्न स्वप्न' भित्र एउटा सुन्दर सपना बोकेर राजनीतिक पार्टीको जलुसमा होमिएको केटो पक्राउ परेर जेल पर्दा सबै नाङ्गिएको देख्दा उसको सपना हस्तमैथुन गरे जस्तै स्खलित भएका छन् ।'गरिबपुर' मा टाठाबाठा नेताहरुले कसरी गरिबलाई खेलाउँछन् र आफ्नो दुनो सोझ्याउँछन् । गरिबहरु आफ्नो पनि त दिन आउलानी भन्दै खोक्रो सपना हेरेर प्रतिक्षा गरी बस्छन् तर उनीहरुको सपना सपनामै सीमित हुने कुरा छ । 'निद्रा' मा पनि समकालिन नेपालको जल्दोबल्दो विषय उठान गरिएकोछ । यहाँ लुटेरा फटाहहरुले लुट्नु लुटि सके तर जनता भने चिर निद्रामा छन् ,चेत छैन जाग न जाग भन्दा उल्टै खेदो गर्छन् । 'दिग्भ्रम' अकस्मात टुप्पोबाट पलाएकोले अरुलाई सानो कदको देख्नु दिग्भ्रम हो । राजनीतिमा छलछाम नगरी केही हुँदैन , निष्ठाको राजनीति गरे आफै नाङ्गो भइन्छ भन्ने कालो पक्ष पनि कथामा छ । 'नाता' भन्दा पनि एकआपसको सम्बन्ध र व्यवहार प्रमुख हो वास्तवमा यही नै नाता हो र त्यसैले त म पात्रलाई पछुतो परेकोछ । चञ्चल मन 'इरादा' अनेक हुन्छन् । मनलाई नियन्त्रण गर्न कठिन हुन्छ यो अनियन्त्रित भयो भने सास्ती पाउने त शरीरले नै हो । चुत्थै देश भए पनि राष्ट्रप्रेम मर्दैन भन्नेकुरा शरणार्थीमा देखाइएको छ । शरणार्थी बन्नुको पीडा र देशको हबिगत कामा एकसाथ अटाएका छन् । 'डब्लुडब्लुडब्लु डटकम ' रोचक छ । यसभित्रको सम्वादले धेरै प्रचार र हल्लीखल्ली हुने साहित्यिक सृजनाहरु झुर हुन सक्ने र हल्लाको पछि नलाग्न सुझाएको छ । कथाको समापन पनि अत्यन्त आकस्मिक छ । बिचरा ब्लुडब्लुडब्लु भन्न मन लाग्छ ।

जम्माजम्मी ६१ वटा कथाहरुले सजिएको लघुकथाकृति 'नग्न स्वप्न' लघुकथाको क्षेत्रमा एउटा अब्बल कृति हो । विदेशी भूमि (बेलायत) आफ्नो कर्म थलो भएता पनि मातृभूमि प्रतिको माया र चिन्ता उनको कथामा बग्रेल्ती पोखिएका छन् । जनताहरु चिर निद्रामा छन् , जाली फटाहाहरुले देश खाइ सके जाग न जाग भन्दा पनि विदेशमा बसेर उपदेश दिन्छस् ? भन्ने पीर पनि छ । यो यथार्थ हो तर जहाँ भए पनि देश दुखिरहन्छ । सबै कथाहरु उच्च कोटीका छन् । पढीसक्दा पनि स्वादिष्ट खाना खाएर पछिसम्म हात मगमगाए जस्तै कथाहरु मगमगाउँछन् । लघुकथा कसरी लेखिन्छ ? भन्दा पनि लघुकथा कस्तो हुनुपर्छ भन्ने कुरा प्रत्येक कथाले बोल्छ । कथामा मिठास छ, भिन्नै अर्ग्यानिक लेखन शैली छ । पढदा कसैले वाचन गरेर सुनाएको जस्तो पनि लाग्छ । आफ्नोपन छ । बाैद्धिकता छ कथामा । कथाहरुले विशेषगरीकन नेपाली राजनीति भित्रको विसङ्गती, विकृति, बेथितीहरुलाई मज्जाले उदाङगो पारेको छ । समस्यापुर पढदा त देश कहिल्यै बन्दैन जस्तो लाग्छ । कथाले हुबहु चित्र उठाएको छ । सबै कथाहरुमा भरपुर कौतुहलता छ । पाठकहरुलाई बाँधेर राख्न लेखक सफल भएकाछन् । कथा पढिसक्दा एउटा छुट्टै अनुभूति हुन्छ । दोहोराएर पढन मन लाग्छ । साङ्गोपाङ्ग रुपमा भन्नु पर्दा 'नग्न स्वप्न' लघुकथा कृति लघुकथा पारखीहरुका लागि एउटा गतिलो बाैद्धिक खुराक हो । एकपल्ट पढनै पर्ने कृति हो ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।