छोरी भनेर राख्छु भन्दा
मान्छे जसरी त हेरेनन्
अहिले म यो घरमा आउँदा
के तिमीले ममा आफू देखिनौ ?
के भगवानसँग नजिकिन्छेउ भनेर हो,
मलाई मन्दिरमा छिर्न न दिएकी ?
आफ्नै संस्कृतिलाई सराप्नेले
मलाई किन छाउघरमा छोडिदिएकी?
के तिमीले ममा आफू देखिनौ ?
त्यही समाजको गालीबाट भागेकी तिमी
अहिले मलाई बोक्सी भन्छेउ किन ?
त्यो थिचिएको आवाजको बोली फुट्दैन किन ?
दिनरात रोएका ति आँखाले
मलाई त्यही अवस्थामा देख्न सकिनौ ?
के तिमीले ममा आफू देखिनौ ?
म मर्दा मेरो लागि एक शब्द पनि बोलिनौ ?
काँच चर्किने मनका कुरा सुनिनौ ?
आफ्नै भएर पनि मेरो पीडा बुझिनौ
कि तिमीले ममा आफू देख्न सकिनौ ?