18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्जुन चामलिङ ‘यावा’ र उनका कृतिहरू

कृति/समीक्षा विमला जोशी प्रधान July 25, 2024, 11:44 pm
विमला जोशी प्रधान
विमला जोशी प्रधान

पत्रकारिता र साहित्य दुवै क्षेत्रलाई बराबर अघि बढ़ाई नेपाली भाषा-साहित्यलाई उच्चता प्रदान गर्ने दिशामा अर्जुन चामलिङ ‘यावा’ – को योगदान अवस्मरणीय रहेको पाइन्छ। दुइ दशकदेखि भारतीय नेपाली साहित्यका फूलबारीमा हुरी-बतास, तुफान, दुःख, संघर्ष, उतार-चढ़ाउहरू झेल्दै अनवरत रूपमा कलम चलाउँदै आउने प्रगतिवादी साहित्यिक स्रष्टाको नाम हो अर्जुन चामलिङ ‘यावा’।

एक श्रमजीवी पत्रकार भएर पनि व्यस्त समयबाट समय निकालेर साहित्यको सेवा गर्नु कुनै चानचुने कुरा होइन। यसो सम्झिँदा हामीलाई असम्भव लागे तापनि साहित्यकार ‘यावा’-को निम्ति सम्भव बनेको छ। उनले आफ्नो भारतीय नेपाली साहित्यको आकाशमा आफूलाई निर्भीक, निःस्वार्थ, योग्य र सफल पत्रकारको रूपमा परिचित गराएका छन्। यस्ता होनहार युवा साहित्यकार ‘यावा’-को जन्म २८.५.१९८१ मा पिता स्व. जीवन राई र आमा स्व. शिला राईको कोखबाट भएको हो। राङका पूर्व सिक्किममा जन्मिएका युवा साहित्यकार श्री अर्जुन चामलिङ ‘यावा’ विद्यार्थीकालदेखि नै साहित्य सिर्जनामा लागिपरेको पाइन्छ।

‘यावा’-को पहिलो रचना सन् १९९८ मा ‘हिमगिरी’, साप्ताहिक नेपाली पत्रिकामा ‘जिन्दगी’ र ‘साथी’ दुईवटा कविता प्रकाशित भएका थिए। साथसाथै आकाशवाणी गान्तोकबाट दिसम्बर १९९७ मा कविता प्रसारित भएदेखि यता उनको कलम चलेको हो भनेर भन्न सकिन्छ। ‘यावा’-का प्रकाशित कृतिहरू –
(क) ‘अस्तित्व’ (कथा संग्रह) सन् – २००५
(ख) ‘अवलोकन’, (समीक्षात्मक टिपोटहरू), सन् २०११
(ग) ‘आतुर शब्द’ (पू.हि.सा. अकादमीको सामुहिक कविता सङ्कलन) सन् – २०१७
(घ) ‘पूर्वोत्तर’ काव्य सृजन (पू.हि.सा. अकादमीद्वारा प्रकाशित कविता सङ्कलन) सन् – २०१८
(ङ) ‘बितेका कुराहरू’ (लेख सङ्कलन) सन् – २०१९
(च) ‘अनुभूति यात्रा’ (संस्मरण) सन् – २०२४

यसरी ‘यावा’ एक वरिष्ठ पत्रकारका साथै कुशल कवि, कथाकार, कार्यक्रम सञ्चालक एवं रेडियो प्रस्तोता हुन्। पत्रकारिता र साहित्य दुवै क्षेत्रलाई बराबर अघि बढ़ाई नेपाली भाषा-साहित्यलाई उच्चता प्रदान गर्ने दिशामा उनको योगदान अवस्मरणीय रहेको पाइन्छ। सर्जक ‘यावा’-को कृति ‘बितेका कुराहरू’ जीवनीपरक लेख संग्रहमा जम्मा सातवटा लेखहरू समावेश गरेका छन्। आमा, पापा, कोर्टबाउ र राङका स्कूल, स्व. धनपति पाण्डे, श्री बुद्धिमान राई, राङकामा साहित्य र अभियान साहित्य समिति, राङका : हिजो र आज।
लेखक श्री ‘यावा’-ले यस कृतिमा सङ्कलित सातवटा लेखहरू जो बितेर गएका दिन-प्रतिदिन दैनिक जीवन जगतमा घटेका घटना जो एक इतिहास भएर रहेका छन्, त्यस्ता व्यक्तित्वहरू जसले गाउँलाई अथवा समाजलाई आँखा देखाउने काम गरी नयाँ युग र नयाँ बाटो खनेको इतिहास वर्णन गरिएको छ। राङकाको इतिहासमा कहिल्यै नमेटिने छाप छोड़ेका व्यक्तित्वहरू कोर्टबाउ अथवा श्री शंखमान राई जसले राङकालाई शैक्षिक, सामाजिक र आर्थिक सबै क्षेत्रमा विकासको जग बसाल्ने एउटा धरोहरको रूपमा मान्न सकिन्छ भन्ने किटान यहाँ कोर्टबाउ र राङका स्कूल नामक लेखद्वारा जान्न सकिन्छ।

त्यसरीनै श्री बुद्धिमान राई जसले पूर्ण धैर्य, इमानदारी, समर्पित भाव र सहनशीलतासितै लगनशील, मेहनती र जिम्मेवार नागरिक बनेर गाउँको सुख-दुःख, गाउँको सुविधा आवश्यकता हरेक कुरासित नजिकमा रहेर साना-ठूला, बुढ़ापाका सबैसित नजिकमा रहेर पञ्चायत अथवा गाउँको सरकारको पद सम्भालेर लामो समयसम्म आफ्नो समय दिएका थिए। सन् १९७५ मा पहिलो पल्ट पञ्चायत बनेका बुद्धिमान राईले सन् २०१७ सम्ममा लगभग ३० वर्ष पञ्चायतको रूपमा बसेर गाउँका सेवा पुऱ्याएका थिए। यस्ता जिम्मेवार पुरूषले गरेको कामका वर्ण यस लेखद्वारा उजागर गरेका छन्।

लेखक श्री ‘यावा’-ले राङकामा साहित्य र अभियान साहित्य समिति लेखमा गान्तोक नजिक रहेको राङकाको नेपाली साहित्य सन्दर्भमा राङकाको साहित्य इतिहास वर्णन गरेका छन्। प्रकाशनको आधारमा श्री गोविन्द गौतम, श्री शरण र श्री अडछुक भोटियाको सन् १९८० मा प्रकाशित ‘शितका थोपाहरू’ सामुहिक कविता संग्रह हो। त्यसैको हाराहारीमा सन् १८८०/८२ (यहाँ सायद प्रिन्टिङ मिस्टेक भएको छ, यहाँ १९८०/८१ हुनुपर्छ) सन् १९८०/८१ मा अरूण राईका दुइवटा कृति प्रकाशित भएको अनुमान लगाइएको छ। सन् १९९०-९१ मा जगत राईद्वारा सम्पादित ‘हाम्रो परिवेश’ प्रकाशन शुरू भएको हो, त्यससमय मिनु देवी छेत्री (खड़का)-को ‘तिम्रो गोरेटोमा आँखा बिछाई’ कविता संग्रह सन् १९९६, कमल कुमार बुङछेनद्वारा सम्पादित ‘सिम्मा’ राई भाषाको पत्रिका सन् १९९७ मा प्राप्त छन्। त्यसपछि सन् २००० मा मनोज कुमार बुङछेनको कविता संग्रह ‘किन रून्छ यो मन’, उमेश राई ‘अभागी’ र अर्जुन चामलिङ ‘यावा’-द्वारा सम्पादित त्रयमासिक ‘सिकारू मञ्च’ सन् २००४, निर्मल कुमार बुङछेनको कथा संग्रह ‘जीवन यात्रामा’ सन् २००४ , अर्जुन चामलिङ ‘यावा’-को ‘अस्तित्व’ कथा संग्रह सन् २००५, इम्मानुएल राई ‘गिफट’-को ‘अथाह’ कविता संग्रह सन् २००६, आशवीर राई ‘लहर’ र विकास श्रेष्ठ (नाम्ची)-को ‘नौलो सुस्केरा’ कथा संग्रह सन् १९९५/९६ अनि उमेश राई ‘अभागी’ –को ‘युद्ध आत्मबोध र परिधि’ कविता संग्रह प्रकाशित भएका थिए। यही समय सन् २००० तिर नै पहिलो पल्ट ‘युवा साहित्य प्रतिष्ठान’ सिक्किमको राङका शाखा स्थापना गरिएको थियो। यसरी लेखक ‘यावा’-ले राङकाको साहित्यिक गतिविधि यस शीर्षकमा उल्लेख गरेका छन्।

लेखक ‘यावा’-ले ‘राङका हिजो र आज’ शीर्षकमा राङकाको शैक्षिक, आर्थिक, सामाजिक कुराहरूमा उत्तरोत्तर प्रगति भएको टिप्पणीहरूलाई विस्तारमा केलाएर पुस्तकमा समावेश गरेका छन्।¬
लेखकले आफ्नो कृति ‘बितेका कुरूहरू’ नामक लेख संग्रहमा आमा-पापाका स्मरणलाई ताजा गरी पस्किन सफल भएका छन्। मेक्सिम गोर्कीको ‘आमा’ – झैं म मेरी आमालाई अजर अमर बनाउन चाहन्छु। मेरी आमाप्रतिको असिम प्रेम र आत्मिय सम्बन्ध सद्भावना सधैं बाँचिरहोस्, प्रेमको झरना बनेर बगिरहोस्, हरेक पाठकको हृदयमा भन्ने आफ्नो धारणा राखेर ‘आमा’ शीर्षक दिएर पाठकसमक्ष राखेका छन्। आमा पापाको वियोगको चोट, समयसापेक्ष, अनुभूतिहरूको उद्बोधन संवेदनशील मन-मस्तिष्कले ग्रहण गरेर अर्थ मार्मिक लेखमा सृजनात्मक सौन्दर्य भरेर यस पुस्तक तयार गरेका छन्। उक्त आमा पापाका कथामा नुनिलो, अमिलो वार्तालाप सँगसँगै आमा पापाबाट प्राप्त देखरेख, स्याहार-सुसार, अर्ती-उपदेश लालन-पालन, सुझाव, आशीर्वचन इत्यादि हासिल गरेका कुराहरू हरेक शब्दहरू माला गुँथेर मार्मिक ढंगमा पाठकसमक्ष पेश गरेका छन्।

त्यसरीनै लेखक अर्जुन चामलिङ ‘यावा’-ले अर्को कृति ‘अस्तित्व’ कथा संग्रह सन् २००५ मा प्रकाशित गरेका छन्। उक्त कृति लेखक ‘यावा’-को प्रथम कृति मानिन्छ। ‘अस्तित्व’ कथा संग्रहमा जम्मा २० वटा कथाहरू सङ्ग्रहीत भएका छन्। आमा, दोबाटो, म विवश थिएँ, हरिको कथा, भाग्य, एउटा सपना, ऊ फेरि कहिले आउला, विवशता, हाम्रो साइनो दोहोरिने छैन, अर्को दीयो फेरि निभ्यो, आमाको सपना, क्षितिज पारीको मेरो गाउँ, अस्तित्व, दुई थोपा आँसु मीरालाई, पुरानो रेलिङ, दुई मलामी एक जन्ती, उ फेरि कहिले आएन, आज एप्रेल फस्ट, साथीको चिट्ठी, कालो चश्मा। बीसवटा कथा समाविष्ट भएको पुस्तकको आवरण चित्रले किताबभित्रका अनमोल अमृतका छिटाहरूको रहस्य दर्शाएका छन्। सम्पूर्ण कथाहरूले आफ्नै गाउँले परिवेश, समाजभित्र भइरहेका घटनाहरूलाई कथामा आधार बनाएर स्पष्ट पारेका छन्। कथाकारले आफ्नो सरल भाषा प्रयोग गरेका हुनाले कथा उच्च स्तरीय भएको देखिन्छ। कथाहरूमा देखाइएका दृश्यहरू, चरित्र-चित्रण मनभित्र चसक्क भिज्ने किसिमका छन्। साथै शिक्षामूलक तथ्यहरू पाउन सकिन्छ।

‘यावा’ – को अर्को कृति ‘अनुभूति’ यात्रा संस्मरण सन् २०२४ मा प्रकाशित भएको पाइन्छ। यस कृतिमा नेपाल र भारतका केहि स्थानमा भएका साहित्यिक यात्राका जम्मा नौवटा रचना सामेल गरेर लेखकले नियम नियात्रा संग्रहमा, इन्द्रबहादुर राई, बैरागी काइँला र त्रिफला, काठमाड़ौं यात्रा, सम्झानामा डोनापौला, पोखरा धम्पुससम्म, दशगजा पारिको यात्रा, मेरो दिल्ली यात्रा, पटनाको दोस्रो भ्रमण, धरान यात्राका दुइ दिन, श्रम संस्कृति, पार्कदेखि बुढ़ासुब्बा र भेड़टारसम्म। यात्रा संस्मरण अथवा नियात्रा लेखन उति सरल र सहज हुँदैन नै जस्तो लाग्छ। यात्रा वृतान्त लेख्नु एउटा विषय हो, तर यात्राले दिएको ज्ञान, अनुभव र स्मृति पटलमा बसेका अवस्मरणीय छापलाई साहित्यिक अभिव्यक्तिका साथमा साना साना कुराहरूलाई पनि समेटेर कलात्मक ढंगले प्रस्फुटन गर्नु एउटा साधना पनि हो। अलग अलग समयमा अलग अलग ठाउँमा भिन्न-भिन्न परिचित, अपरिचित व्यक्तित्वहरूसितको भेटघाट, सान्निध्य, बैचारिक आदान-प्रदान, वरिष्ठ साहित्यिक विभूतिहरूसँगको सार्थक भेटघाट, विषयगत परिचर्चा, साहित्यिक विमर्श र विचार गोष्ठी, नयाँ मित्रगणसँगको परिचय इत्यादि रोचक कुराहरू यस संस्मरण संग्रहमा संग्रहित भएको पाउँछौं।

यसरी अर्जुन चामलिङ ‘यावा’ – ले सन् २००५ देखि ‘अस्तित्व’ नामक कथा संग्रह पाठकसमक्ष राखेदेखि यता २००५/६ देखिनै ‘परालिबलि’ नामक संस्था खोलेर महासचिवको भार सम्भाल्दै साथै ‘अभियान साहित्य समिति’-लाई पनि डोहोऱ्याउँदै आएका छन्। वर्त्तमानमा पत्रकारिता जस्तो ब्यस्त जीवनमा रहेतापनि भारतीय नेपाली भाषा साहित्यलाई जीवनको अभिन्न अङ्ग मानेर आफ्नो जीवन यात्रा निर्वाह गरिरहेका छन्। जीवनको सार्थकता सकारात्मक सोच र परोपकार मान्ने ‘यावा’ – को एकाधिक कथाहरू जीवन दर्शनमा आधारित पाइन्छ। साहित्यका विविध विधामा उनको कलम क्रियाशील र सृजनशील रहँदै आएका छन्। साहित्यलाई माया गर्नु भनेको आफ्नो आमालाई माया गर्नु समान हो। हामीले प्रतिभाहरूलाई बाहिर बाहिर हेरेर चिन्न सकिँदैन। अर्को साधारण बोली, व्यवहारभित्र अर्कै महान् विशेषताहरू, गुणहरू लुकेर बसेका हुन्छन्।

अन्तमा अर्जुन चामलिङ ‘यावा’ – का मेहनती हातहरू थप सशक्त रहून्। उनका जाँगरिला हातहरू अघि बढ़िरहून्। अझै यस्ता खोजपूर्ण कृतिहरू प्रकाशित भइरहून् भन्ने शुभकामना व्यक्त गर्दछु।

नागरी फार्म, दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।