18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनु विज्ञातिको ‘अक्षर रेखा’ भित्र कोरिएका रेखीय भावहरु

कृति/समीक्षा शुक्रराज कुँवर July 27, 2024, 1:58 pm
शुक्रराज कुँवर
शुक्रराज कुँवर

तारा भट्टराई उर्फ अनु विज्ञाति नेपाली साहित्यकाशका उदीयमान तारा हुन् । उनको लघुकथा कृति ‘अक्षर रेखा’ पढने सुअवशर प्राप्त भयो । साहित्य प्रतिको उनको अनुराग, झुकाव, लगाव अथवा समर्पणको गहिराइ उनका आफ्ना कुराबाट मापण गर्न सकिने रहेछ । ‘शब्द रेखा ‘ उनको पहिलो साहित्यिक कृति एउटा विन्दुको रुपमा देखापरेको छ । विन्दुबाटै रेखाको शुरुवात हुन्छ अथवा रेखाहरु तन्किदै जान्छन् । साहित्यरुपी रेखाहरु उनको कलमबाट कोरिँदै जानेछन् र उनी एकदिन स्थापित साहित्यकार बन्नेछिन् । यो मेरो विश्वास हो र साथसाथै शुभकामना पनि हो । उनको लघुकथासङ्ग्रह शब्द रेखा भित्रको पहिलो लघुकथा ‘फिर्ता’ ले तिनचारवटा कुरा फिर्ता मागेको छ । पहिलो प्रधानाध्यापकको पुरस्कार फिर्ता, दोस्रो छात्राको जरिवाना र सरको तलब फिर्ता र तेस्रो प्रधानाध्यापकको बोली फिर्ता । कथामा कामकुरो एकातिर कुम्लो बोकि ठिमी तिर भने जस्तै प्रधानाध्यापकको द्वैध चरित्र छ र उनी शैक्षिक जगतमा विद्यमान विकृतिको प्रतिनिधि पात्र हुन् । ‘छाप’ ठट्यौलो पाराको छ । साथीसाथी बिचको फत्तुर गफ ,हाँसो ठट्टा पस्किँदा पस्किदै समापनले गम्भिर बनाउँछ , पाठकमा एउटा छाप छोडन सफल छ ।

‘बिन्दास जिन्दगी’ चल जोगी फटकार छाला जहाँ जाला त्यही खाला भनेजस्तै परिवारिक झैझमेलामा फस्न नचाहने युवकको कथा हो । उसको दृष्टिकोणमा एकलो जीवनयापन उसको लागि बिन्दास जिन्दगी हो । ‘लेखक’ मा पहिचान नखुलेको टपर्टुय्याँ लेखकको कुरा उठाइएको छ भने ‘फरक’ मा सासूबुहारीको कुरा छ । बुहारी प्रति बुहार्तन गर्ने सासूको छोरीप्रति फरक व्यवहार छ । यहाँ विभेद देखिन्छ । ‘स्वदेश प्रेम’ र देश प्रेम’ मा मातृभूमि प्रतिको माया दर्शाइएकोछ । ‘बौद्धिक बुख्याँचा’ व्यङ्ग्यात्मक छ । सत्ता वरिपरि विवेकहीन बुख्याँचाहरुकै राज छ जो आफूलाई बौद्धिक सम्झन्छन् । ‘बिरामी’ र ‘मानसिकता सामाजिक कथा हुन् । वास्तवमा आडम्वर प्रस्तुत गर्नु एउटा सामाजिक बिमार हो तर त्यो समाजले बुझ्दैन त्यस्तै मानसिकतामा पनि पुरुषप्रधान मानसिकताले नारीमाथि गरिने अत्याचार र लैङ्गिक विभेद प्रस्तुत गरिएको छ जुन तुच्छ लाग्छ । मानिसले सम्पन्नता सँगसँङ्गै केही चिज त गुमाइरहेकै हुन्छ । पैसा सबथोक हो र सबथोक होइन पनि । रवि मखमली ओछयानमा सुते पनि निन्द्रा किन्न सक्दैन । संसारमा कोही मान्छे पूर्णरुपेन सुखी हुँदैन ‘इच्छा’ कथामा यही आशय छ । ‘अधर्म’ ले पश्चीम नेपालमा विद्यमान कुरीति छाउपडी प्रथाको भद्र बिरोध गरेको छ र कथित धर्मको नममा अधर्म भइरहेको छ भन्ने सामाजिक चेतना जगाउने कार्य गरेको छ । ‘ठुलो मान्छे’मा नेता तथा राजनीति प्रति व्यङ्ग्यवाण छ । नेता बन्नलाई पढन पर्दैन भन्ने तितो यथार्थ छ जुन वर्तमान राजनीतिको द्योतक पनि हो ।

‘स्पेसल गेष्ट’ मा छोराले आमाबाबुाई पाठ पढाउँछ । आखिर आमाबाबुले जस्तो संस्कार सिकाउँछन् बालबच्चाले पनि त्यही सिको गर्छन् भन्ने कुरा कथामा देखाइएकोछ । सङ्गतगुणाको फल भने जस्तै नगरपालिका छेउको चमेनागृह सन्चालन गर्ने बाबुमा उल्टो छाप परेको देखिन्छ । सजिलै पैसा कमाउने राम्रो जागिर’ को बाटो सायद उसले पहिचान गर्यो र छोरालाई नपढ भन्छ । ‘स्टोर किपर’ मा पाप धुरीबाट कराएकोछ । समाजको हेर्ने दृष्टिकोण र सोचाइ ‘मान्यता’ भित्र मुखरित भएकोछ । ‘खोप’ ले स्वास्थ्य जस्तो संवेनशील क्षेत्रमा पनि फोहरी राजनीती हुने कुरा देखाएकोछ जुन कोरोनाकालिन समयको सबैले भोगेको समस्या हो भने ‘आवरण’मा कथित महन्तको मुखौटो उदाङ्गो पारिएकोछ । ‘प्रयोग’मा एउटा लेखकको चर्तिकला छ, उ जुन थालमा खाना खान्छ त्यही थालमा छेद गर्छ । गाउँ र गाउँलेहुलाई उ प्रयोग त गर्छ तर पछाडिबाट लात पनि हान्छ । ‘प्रमुख पद’मा सहायक पदजति महिलालाई दिएर प्रमुख पद पुरुषले हत्याएको प्रति व्यङ्ग्य छ । मकै पोल्नेले गिट्टी कुट्नेलाई ” हामीले पनि पुरुषलाई प्रमुख पदमा राख्न पाए त “भन्ने कुराले धेरै अर्थ राख्दछ । उमेर सङ्गै जिम्मेवारी बोध हुँदै जाँदा बुबा हजुरबुबाले गरेको त्याग पनि बोध हुने कुरा ‘ उमेर र बुवा’ मा छ । ‘सालीको कृति’मा साहित्य जगतमा पनि आफ्ना मान्छे र मेरा मान्छे भनेर फरक व्यवहार गरिने अथवा खुट्टा तान्ने प्रवृत्ति हाबी रहेको कुरा उल्लेख छ । छिनछिनमा बोली फेर्ने झोले कार्यकर्ता नेताका दास हुन् , उनीहरु नेताको निर्देशनमा बाँदरनाँच नाच्छन् , बोली फेर्दै हिडछन् जो स्याल हुइयाँ भन्दा पनि दोस्रो दर्जाको लाग्छ ,कथा ‘कार्यकर्ता’ यसै भन्छ । ‘सन्त्रास’ मा रोग महामारी आदिको सन्त्रास माथि मानिसले विजय प्राप्त गर्न सके पनि सामाजिक रोगको रुपमा रहेको डर , धाकधम्की छलकपट आदिको सन्त्रास रहिरहने कुरा प्रति हजुरबुवा चिन्ता व्यक्त गर्छन् । ‘मूल्या्कन’ मा सासू बुहारीको प्रसङ्ग उठाएर जबसम्म मान्छे कसैको लागि सहज हुन्छ तबसम्म उ आँखामा राखे पनि नबिझाउने हुन्छ तर जब उ विद्रोह गर्छ उ निकम्मा ठहर्छ भन्ने कुरा देखाइएकोछ ।

‘आमाको स्मरण’मा छोरीले कम खाँदा पनि आमालाई चिन्ता पर्छ यहाँ आमाको ममता झल्कन्छ । एउटा जागिरे , उ माथि सबैको अपेक्षा रहन्छ र आफ्नो कर्तव्य पूरा गर्दा गर्दै उ नाङ्गो हुन्छ तर उसलई आपद् पर्दा साथमा कोही रहन्नन् । स्वार्थी समाजको नमूना हो कथा कर्तव्य । ‘लोभी’ भित्र कुरौटे समाजको कुरा छ साथै जसलाई उनीहरु लोभी देख्छन् उ नै उनीहरुको साहरा बनेर आउँछ । सादा जीवन यापन र जीवन जिउन जान्नु पर्दछ भन्ने कुरा उठाइएकोछ । पैसा तिर्नु पर्ने भएपछि पलभरमै शाकाहारी भएको नाटक गर्ने सचिवको कर्तुत रमाइलो लाग्छ ‘शाकाहारी’ मा । ‘नारी शक्ति’मा घरलाई स्वर्ग बनाउनमा नारीको ठूलो हात रहन्छ भन्ने कुरा देखाइएकोछ , नारीलाई देवीसँग तुलना गरिएको छ । बिना पाठक लेखकको कुनै अस्तित्व हुँदैन तर ‘अतिथि’ भित्र कथित लेखक साहित्यकारहरुको मपाईँत्व झल्कन्छ । ‘दुरुपयोग’ मा भ्रष्ट हाकिम र उसको कालो कर्तुत छ । तल्ला तहका कर्मचारी माथि हैकम जमाएर अफिस बजेट झ्वाम पार्ने उसको प्रवृत्ति छ । ‘दोस्रो पति ‘ मा महिलाको विद्रोह दुस्साहस दुवै देखापर्छ यो पुरुषप्रधान समाजको लागि च्यालेन्ज पनि हो ।

‘बौलाहा’ मा पनि एउटा विद्रोह छ । कथाको समापनमा उसको कुराले धरै अर्थ बताउँछ । खुसी कसैले दिएर हुने कुरा होइन आफ्नो कममा आफै रमाउनु सक्नुपर्दछ ,खुसी हुन सक्नु पर्दछ भन्ने कुरा खुसी भित्र छ । संस्कारी ज्वाइँ पायौँ भनेर गमक्क परेका बुढाबुढी ज्वाइँले जनै ‘फेर्ने कि लगाउने ‘भन्दा खस्रक्क पर्छन् । कथामा पुरानो संस्कार र आधुनिक पुस्ताको आनिबानी देखाइएकोछ । ‘भर्चुअल प्रेम’ सामाजिक सञ्जालको गलत प्रयोगले कसरी घरबार बिग्रन्छ भन्ने कुराको प्रतिनिधिमूलक कथा हो । यसले अहिलेको जल्दोबल्दो समस्यालाई उठान गरेकोछ । बच्चाहरु झुठो बोल्दैनन् जे देख्छन् त्यही बोल्छन् । ‘सम्मान’ भित्र एउटा अवोध बालकको प्रश्नले दिमाग हल्लाउँछ । ‘बराबर अस्मिता’ स्त्री पुरुषको सह अस्तित्व माथि आधारित छ । आकाशलाई थुके आफ्नै मुखमा छिटा भन्ने कथन चरितार्थ भएकोछ लघुकथा ‘दलाल’ मा । ‘विजय’ मा लघुकथा प्रतियोगितामा विजयी भएको भ्रम र कथाकारको अनावश्यक तुजुक देखाइएको छ ।समापनले रहस्य खोतल्दा खिस्रिक्क पर्ने अवस्था उत्पन्न हुन्छ जुन रोचक लाग्छ । ‘घेराबन्दी’ मा एउटा इमान्दार कर्मचारी र समाजका अगुवा भनिने छदमभेषी व्यक्तिहरुको टकराव छ । हेर्दा दूधले नुहाएको जस्ता देखिने व्यक्तिहरुको कालो कर्तुत देखाइएकोछ । ‘अपराधी’ ले अरुको आत्मा मार्नु अपराध हो भनेकोछ । यहाँ अविदेताले आफ्नी सासूलाई भन्दै गर्दा आफ्नै आङमा भैँसी हिडेको देख्दिनन् । ‘अन्धविश्वास’मा अन्धपिश्वासको रटान लगाउने निर्णायक नै अन्धविश्वासी भएको देखाइएकोछ । यसबाट कथनी एकातिर करणीअर्को तिर गर्ने प्रवृत्ति प्रति कटाक्ष गरिएकोछ । लघुकथा ‘सहयोग’ र ‘भाइरल’ मा व्यङ्ग्य छ । मानिसाई आपद् पर्दा पनि सहयोग गर्न भन्दा फोटो भिडियो खिचेर अनुचित लाभ लिने हिजोआजको युट्युवे संस्कृति प्रति कटाक्ष छ । भाइरलमा साहित्यको स पनि नबुझ्ने मानिसले गरेको कमेन्ट हाँसो उठ्दो लाग्छ । जमाना भ्रष्टाचाको छ । जस्ले हान्यो उसले जान्यो । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनु यहाँ बुद्धिमानी मानिन्छ । ‘सरकारी सम्पत्ति’ ले कटाक्ष गर्छ । ‘प्रेमदिवस’भित्र प्रेमको वास्तविक अर्थ छ । फोटो पोस्टाएर मात्र हुँदैन , प्रेम अन्तरमनमा हुन्छ प्रदर्शनमा होइन भन्ने कुरा छ । दइले भाइलाई एकरुपमा हेर्छ तर भाइको यथार्थ अर्कै हुन्छ । सित्तैमा खाने बहानाबाजी गरे जस्तो बुझिन्छ ‘सचेत ग्राहक’ मा । एकातिर वेटरको गल्ती जस्तो देखाएर साहु तर्साएको पनि हुन सक्छ । तिजको तडकभडक आमाको आशीर्वाद अगाडि फिका परेको कुरा ‘आमाको आशीर्वाद’मा छ ।

छोरीहरुलाई महङ्गा सारी भन्दा आमाको स्नेहले भरिएको सारी अनमोल लाग्छ । ‘लोकसेवा’ पढाइबाट वाक्य भएको केटोको जागिर खाने मन जसले उसलाई केही देओस । सिलेबसको रटान भन्दा उसलाई लोकसेवाको रटान उपयुक्त लाग्यो सायद पढेर के नै पाइएला र भन्ने लाग्योहोला । मन हुने सङ्ग होइन धन हुने सङ्ग दोस्ती बढाउनाले स्वार्थ सिद्धी हुने सोच राख्ने वर्गको कथा हो समझदार । यहाँ धनलाई पुज्नेहरु यत्रतत्र भेटिन्छन् । कुरा भन्दा काम ठुलो अर्थात मान्छे कामले ठुलो हुन्छ भन्ने तथ्य ‘ठुलो’ घुमथाले पेस गरेकोछ । ‘कार्यकर्ताको ताली’ हस्यले भरिपूर्ण छ । भेँडा कार्यकर्ता बुझ्दै नबुझी नेताले जे गर्यो त्यही गर्छन् भन्ने व्यङ्ग्य पनि छ । ‘तालिम’ नलिइ प्रमाणपत्र पाउने कस्तो तालिम हो? रामविलासलाई यस्तै लाग्यो होला सायद। सरकारी कर्यालयमा माथि देखि तलसम्मको बेथिति तालिम भित्र झल्कन्छ । पूर्वाग्रही लघुकथामा आफूचाहीँ काम गर्न नसक्ने तर मातहतका कर्मचारीलाई जस नि नदिने र पूर्वाग्रह पनि राख्ने हाकिमको कथा छ जसले कार्यालयमा अन्यौल सृजना गर्छ । आफूले कमाउनु पर्दाको अवस्था कमाइको मूल्यमा छ ।निश्चय पनि पसिनाको कमाइ बाबुको पैसामा ढलिमली गरे जस्तो हुँदैन । ‘नयाँ मिस’ मा एकोहोरो प्रेम र जलन दुवै देखाइएकोछ भने ‘बुझाइ’मा महिला नै महिलाको शत्रु हुन्छन् भन्ने देखाइएको छ । एकातिर महिला हक अधिकार र नारी सशक्तिकरणको कुरा गर्ने तर पद पाए पछि नारीकै उपेक्षा गर्ने प्रवृत्ति माथि कथा बोलेको छ । अपराध गर्नेहरु नै चर्को भाषण गर्छन् । ‘भाषण’ लघुकथाकी पात्र मन्त्री ज्वाला समकालिन नेपाली राजनीतिका प्रतिनिधि पात्र हुन् र वृद्धाको चडकन जन आक्रोश हो । ६२ वटा लघुकथाहरुले सजाइएको अनु विज्ञातिको लघुकथासङ्ग्रह ‘ अक्षर रेखा ‘ साहित्य पोष्ट उत्तम आख्यान पुरस्कार २०८० को टप टेन भित्र पर्न सफल कृति हो । यसैबाट यसभित्र समावेश भएका कथाहरुको वजन र तिनको गहनता आँकलन गर्न सकिन्छ । उनका कथाहरुमा विशेषगरी समाजमा विद्धमान रहेका विकृति विसङ्गति , विभेद ,राजनीति, साहित्य जगत , राष्ट्र राष्टरियता , महिला हिँसा ,नारीका आवाज आदि विषयवस्तु बनेर मुखरित भएका छन् । कथाहरु अब्बल छन्, कुनै न कुनै रुपमा पाठकको मन चस्स छुन सफल छन् ।
धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।