18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनको कमारो

निबन्ध चिरञ्जीवी दाहाल July 31, 2024, 3:23 am
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

यो मेरो रहर हो या वाध्यता मैले बुझ्न सकिरहेको छैन । न यसलाई म आफ्नो जिम्मेवारी हो भन्न सक्छु ! यो मेरो तोकिएको लक्ष्य पनि होइन जुन, आर्थिक वर्षभित्र पुरा गर्नु छ । विशेष गरि मेरी अर्धाङ्गिनी र घर परिवारका अन्य सदस्यहरूलाई मैले काममा नसघाएर एकसुरे बनेर कलम चलाउने गरेको त्यति मन पर्दैन । होइन, काम सघाउँदै लेख्न बस्ने हो भने उनीहरूले मलाई गर्ने व्यवहारमा केही भिन्नता देखिन्छ । मलाई सोझै अल्छी भनेर प्याच्च नभने पनि उनीहरूको अनुहारको भावभङ्गीको त्यो चित्र मैले स्पष्ट देख्ने गरेको छु । उनीहरूको विचारमा मैले पनि केही मान्छेले जस्तै केही न केही आम्दानी हुनेे काम गर्नु पर्थ्यो । कमसेकम सामान्य बन्द व्यापार गरे हुन्थ्यो भन्ने उनीहरूको इच्छा हो । हरेक मान्छेको इच्छा फरक फरक हुन्छ । मेरो इच्छा भने जिन्दगीमा लामो समयसम्म दु:ख गरिसकेको कारण शारीरिक परिश्रम गर्ने भन्दा बाँकी जीवन आरामसँग बिताउने रहर छ ।

सायद बारीमा मकै छर्ने समय नभइदिएको भए उनीहरूले मेरो आवश्यकता महशुश गर्ने थिएनन् । यो पनि मलाई थाहा छ । बारीमा मल बोक्न र छर्न, जोताइका लागि ट्रैक्टरको बन्दोबस्त गर्न, मकैको बीउ जुटाउन, मकै रोप्न र जिलाउन उनीहरूले मात्र नभ्याउन सक्छन् । मेरो सहयोग थपिने हो भने मकै छर्ने काम केही सहज र सरल ढङ्गबाट सम्पन्न हुन सक्थ्यो । मेरो असहयोगी व्यवहार देखेर घरपरिवारका कुनै पनि सदस्य मसँग सन्तुष्ट छैनन् । मलाई लाग्छ, उनीहरू सन्तुष्ट हुनुपर्ने कारण पनि छैन । बरु असन्तुष्ट हुनुपर्ने कारण भने म आफैंले सिर्जना गरिदिएको छु । उनीहरू मलाई सोझै निषेध गर्न पनि सक्दैनन् । अन्य केही घरमुलीले जस्तै मैले पनि उनीहरूको निरीह अवस्थाको लाभ उठाइरहेको छु ।

वास्तवमा परिवार भनेको संसारको सबैभन्दा स्वार्थी संस्था रहेछ । हरेक परिवार, व्यक्ति व्यक्ति बीचको स्वार्थमा टिकेको हुने रहेछ । परिवारको एकजना सदस्यको मात्र स्वार्थ पुरा नहुने हो भने पनि परिवारमा मनमुटाव सुरु हुन्छ । देशको शासन सम्हाल्ने र परिवार नामको संस्था सम्हाल्ने व्यक्ति नालायक हुन मिल्दैन । यति मात्र होइन, उसले कुनै सदस्य प्रति फरक व्यवहार र पक्षपाती हुन पनि मिल्दैन । पक्षपाती मात्र त्यसको छनक पनि दिनु हुँदैन । यदि यसो भएमा त्यस परिवारको अथवा देशको अधोगति सुरुहुन्छ । यो अधिकांस मान्छेले देखेको र भोगेको वास्तविकता हो ।‌ मबाट पटकपटक भुल होइन गल्ती भइरहेको छ । यो वास्तविकतासँग म पूर्ण जानकार छु । यति जान्दाजान्दै पनि अझै म जुरुक्क उठेर बारीमा पुग्न सकिरहेको छैन् । किनकि मेरो मनले मलाई बारीमा जाने आदेश पटक्कै दिएको छैन ।

कुनै सामन्तले केही खाना खुवाएको भरमा गरिब मजदुरलाई सित्तैमा काम लगाए जस्तै मेरा जहान केटाकेटी पनि निरन्तर बिना पारिश्रमिक काममा खटिइरहेका छन् । हुनत आफ्नै घरको कामगर्दा पारिश्रमिक लिने परिपाटी हामीकहाँ विकसित भएको छैन । सायद उहिले देखि यसप्रकारको चलन चलिआएको भए वर्तमान अवस्थामा पनि यही प्रथा कायम हुने थियो । यदि यस्तो भइदिएको भए परिवारका प्रत्येक सदस्यलाई काम गर्ने थप जाँगर र हौसला प्राप्त हुन सक्थ्यो । सबै काममा खट्ने हो भने केही न केही कृषि उत्पादनमा वृद्धि हुन्थ्यो । हरेक घरमा बढेको उत्पादनले राष्ट्रिय उत्पादन वृद्धिमा पनि यथेष्ट टेवा पुग्न सक्थ्यो । यस्तो कुरा म जस्तो सामान्य नागरिकले सोचेर मात्र नहुने रहेछ । यो त राज्य सत्ताले सोच्नु पर्ने विषय हो । सायद यसप्रकारको सोचाइ कसैमा देखिदैन ।

के सबै घरमुलीहरू म जस्तै गैह्र जिम्मेवार हुन्छन् ? वास्तवमा मकै छर्ने, कोदो रोप्ने, धान रोप्ने र घरका अन्य महत्वपूर्ण काममा परिवारका अन्य सदस्यहरू जस्तै म पनि सँगै खट्नु पर्ने होइन र ? यदि कुनै कारणले म खट्न नसक्ने हो भने, घरमा मेरो निर्देशन र सरसल्लाहले प्रमुख भूमिका निभाउन सक्नु पर्थ्यो । हुन त जसले काममा हात बढाउँन सक्दैन, त्यस्तो व्यक्तिले अर्कालाई निर्देशन गर्नुको के सार ! म चुकेकै हो, तर कसरी र कहाँनिर चुक्न पुगेँ म आफैँलाई थाहा छैन । मैले अरूसँगै काम गर्न नसके पनि कम्तीमा मेरो सल्लाह र सुझावले उनीहरू सन्तुष्ट हुन सक्थे । तर मलाई भने सामान्य सरसल्लाह दिन पनि असहज लागिरहेको हुन्छ । जब संयुक्तरूपमा काम गर्ने समय आउँछ , प्रायः म अत्यन्त व्यस्त भएको स्वाँङ पार्ने उर्छु । मेरो विचारमा कुनै पनि मान्छे व्यस्त हुँदैनन् । व्यस्त छु भन्नु त जिम्मेवारीबाट पन्छिने बाहाना मात्र हो ।

आफू गैह्र जिम्मेवार बन्दै गएको बुझ्दा बुझ्दै पनि म निकै महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको देखाउन मोबाइलको नोट खोल्छु । कलम र कापी पल्टाएर मात्र लेख्नु पर्ने भए म एउटा निबन्ध पनि लेख्न सक्ने थिइन् । मोबाइलमा लेख्ने हो भने सुतेर लेख्न पनि सकिन्छ ,बसेर लेख्न पनि सकिन्छ । म जति पनि लेख्छु मोबाइलको सहाराले मात्र लेख्छु । मैले आजसम्म जति लेखेँ यही मोबाइलमा मात्र लेखेँ । यसरी लेख्दा सडकमा हिड्दा हिड्दै मनमा नयाँ विचार जन्मिएछ भने खल्तीबाट मोबाइल झिक्दै सडक छेउमा ठिङ्ग उभिएर त्यसको सार भए पनि मोबाइलको नोटमा टिप्न सकिन्छ । सायद यो मोबाइल नामको यन्त्र म जस्तै अल्छीहरूका लागि बनाईएको हुनुपर्छ । त्यसो हो भने अचेल अधिकांश मान्छेहरू म जस्तै अल्छि छन् ? होइन भने सारा मान्छे मैले जसरी मोवाइलसँग खेलिरहेको नदेखिनु पर्ने हो ।

मेरो मनले भनिरहेको छ, यो सालभित्र जसरी पनि एउटा निबन्ध सङ्ग्रह प्रकाशित गर्नुपर्छ । त्यसका लागि मेरा केही शिर्षकका निबन्धहरू समेत तयार भइसकेका छन् । पुस्तकको नाम राख्ने झन्झटबाट म मुक्त भइसकेको छु । किनकि मैले पुस्तकको न्वारान समेत गरिसकेको छु । कभर डिजाइन समेत तयारी अवस्थामा राखेको छु । यस पटकको आफ्नो कृतिमा पहिले जस्तै मुखबन्ध मार्फत आफ्ना भनाइहरू लेखिसकेको छु । छुट्टै भूमिका लेखनको लागि कुनै सुप्रसिद्ध लेखकलाई अनुरोध गरौं या आफ्नो आत्मकथा “मुमूर्षा"मा जस्तै आफ्नै लेखनीको मुखबन्धलाई भूमिका मानिदिउँ ? मेरो मनमा एउटा द्विविधा उत्पन्न भएको छ। त्यसैले म अलिकति अलमलिएको छु ।

यसै बीच मेरो बारीमा ट्रैक्टर आएर जोत्नेदेखि लिएर मकै छर्नेसम्मको सबै कार्य सकिसकेको जानकारी पाउँछु । मेरो अनुपस्थितिमा पनि उक्त कार्य एकछिन पनि रोकिएन । म गएको भए पनि सबै काम सम्पन्न गर्न लगभग त्यति नै समय लाग्ने थियो । मलाई लाग्छ बारीमा मेरो उपस्थिति हुनु र नहुनुमा खासै फरक नपर्ने रहेछ । त्यसो भए म बारीमा अनुपस्थित रहँदा मैले के बिराएँ ? अचेल अधिकांश मान्छेलाई यस्तै लाग्ने गर्छ । म मात्र होइन यो देशमा नेताले बारीको काम गर्नुहुन्न । साहित्यकार , पत्रकार, कर्मचारी, शिक्षक, विद्यार्थी, समाजसेवी कसैले पनि बारीको काम गर्ने प्रचलन छैन । कृषि बाली उत्पादन गर्ने तोकिएका मान्छे पनि छैनन् । लाग्छ अब हामी कृषि पेशाबाट विमुख हुँदै गइरहेका छौं । जेहोस् बारीको काम सकिएको खबरले मेरो मन हलुका हुन्छ ।

आखिर यही वर्ष भित्र निबन्धसङ्ग्रह प्रकाशित गरिसक्नुपर्छ भन्ने पनि त छैन ! यही साल निबन्ध सङ्ग्रह बजारमा ल्याउन नसके न मैले पाउन लागेको पुरस्कार उम्किएला भन्ने पनि छैन । पुस्तक प्रकाशन नगरे कुनै निकायलाई जरिबाना बुझाउनु पर्ने पनि होइन ! पुस्तक प्रकाशित भए के हुन्छ वा नभए के हुन्छ ? यसको यथार्थ जवाफ मसँग छैन । तर पनि मेरो मनले उक्साइरहेको छ , बाँकी केही थान निबन्ध जतिसक्दो चाँडो लेख्नुपर्छ । पुस्तक जसरी पनि यही साल प्रकाशित गर्नुपर्छ । मनले यसरी उक्साएको छ कि प्रकाशन खर्चको बन्दोवस्त मैले गर्नु पर्दैन मेरो मनले गरिदिन्छ !

आजभोलि मेरो मनले नित्य यही भनिरहेको छ । मान्छेको मन पनि गजबको हुने रहेछ ! कहिलेकाहीँ मान्छेको मन र एउटा सानो बच्चा मलाई उस्तै लाग्छ । यदाकदा मनले सानो बच्चाले जस्तै असम्भव कुराको माग गरिदिन्छ । जसरी मेरो मनले माग गरिरहेको हुन्छ । जुन कुरा न खरिद गरेर पाइन्छ , न खोसेर पाइन्छ, न त अैँचोपैँचोको रुपमा पाइन्छ ! तैपनि मनले, चाहेको वस्तु माग गर्न छोड्दैन । मान्छे भने प्रायः मनको माग सम्बोधन गर्ने कोशिस गरिरहन्छ । हरेक मान्छेलाई मनले शासन गरेको हुन्छ क्यारे ।

मलाई यसरी लेख्ने आदेश कसले दिइरहेको छ ? म निकै गम्भीर बनेर सोच्न बाध्य हुन्छु । मलाई लाग्छ यो मेरो मनको आदेश हो । सायद यही कारणले मेरो मनले मलाई निबन्ध लेख्ने आदेश दिइरहेको छ । म निकै व्यस्त बनेर मनको इच्छा पुरा गरिदिने उपक्रममा लागेको छु । मलाई लाग्छ मनको आदेश मान्छेले हरतरहले पालना गर्ने गरेको छ । संसारका सबै मान्छेहरू आ-आफ्नो मनको कमारो हुने रहेछन् । मनले मान्छेलाई चोर्न, ढाँट्न र छल्न समेत उत्प्रेरित गर्छ । भ्रष्टाचारका निमित्त उक्साउने गर्छ । अनि त्यही मनले निबन्ध लेख्न आदेश दिनु कुन चाहिं ठूलो कुरा भयो !

म मनको आदेशानुसार दिनभरी लेख्ने कार्यमा व्यस्त हुन्छु । दुर्भाग्यवश कुनैदिन एक पेज पनि लेख्न सक्दिन । कुनैदिन दुई तीनवटा निबन्ध पनि तयार भइरहेका हुन्छन् । कहिले अचानक बजेको मोबाइलको घन्टीले मेरो एकाग्रता भङ्ग गरिदिन्छ । कहिले भने मेरो आसपासमा हुने गरेका केही साहित्यिक र गैह्र साहित्यिक गतिविधिहरूको कारण लेखनकार्य अधुरो हुने गरेको छ । मैले निकै तिब्र गतिमा धेरै लेखेँ भने मेरो मनले मलाई भन्छ, “निकै गजबले लेखिस् , थकाइ लाग्यो होला । आज त भट्टीमा गएर मजाले घुट्काए हुन्छ यसले थकाइ हराउँछ । ” मनको माग त पुरा गर्ने कोशिश गरिन्छ भने मनको सल्लाह कसरी नमानौं ? मेरो मनको सल्लाह मलाई यथोचित लाग्छ । म भट्टीमा जान्छु । धेरै लेख्न सकेको खुसियालीमा मजाले सड्काउँछु । जब भोलिपल्ट चार लाईन पनि लेख्न सक्दिन , मन भतक्क भत्किन्छ । फेरि त्यही मनले सल्लाह दिन्छ । “ मन बुझाउन भट्टीमा जानुपर्छ ।" नभन्दै दुई चार गिलास तानिसकेपछि मन बहलाउन सकिन्छ । ” यसरी लेख्न सकेको दिनमा खुशीयाली मनाउन म भट्टीमा जाने गरेको छु । लेख्न नसकेको दिनमा पनि मन बुझाउन भट्टीमा जाने गर्छु । आज म धेरै लेखेको खुशियाली मनाउन पनि होइन, लेख्न नसकेको पीडा भुल्न पनि होइन , बिना कारण भट्टीमा गएको छु । यसको लागि मेरो मनभित्रको लहडले उक्साइ रहेको हुन्छ । यही मनले पिउने बानी नियमित बनाइदिन खोजिरहेको छ । त्यसो भए जसरी बिग्रिएको मन पनि भट्टीमा सुधार हुने भएपछि रक्सी पिउने ठाउँलाई किन भट्टी भन्नु परेको होला ? यसर्थ भट्टीलाई भट्टी होइन उपचार केन्द्र भनिदिएको भए जात्ती हुन्थ्यो । किनकि अचेल मैले आफ्नो बहकिएको जिन्दगीको उपचार त्यही भट्टीमा गर्ने गरेको छु ।

यसै बीच म एउटा प्रसङ्ग सम्झन्छु, “ मेरो एकजना साथीको छोरो सुस्त मनस्थितिको छ । ऊ पानी परेको दिन स्कूल जाँदैन । घाम लागेको दिन पनि जाँदैन र बादल लागेको दिन पनि स्कूल जाँदैन । उसको मनले यस बाहेकका दिनमा उसलाई स्कूल जाने सल्लाह दिन्छ क्यारे । समग्रमा उसले हरेक दिनको वातावरणलाई खोट लगाउने गरेको छ । त्यस दिनको मौसम उसले खोट लगाएजस्तै ‌नभए पनि उसको मनमा हरेक दिन एउटा न एउटा बाहाना‌ उब्जन्छ ।‌ जसरी पनि स्कूल नजाने !

यो अल्छीहरूको सिद्धान्त हो । यसै बमोजिम मैले पनि हरेक घटनापछि रक्सी पिउनु उचित हुन्छ भन्ने निष्कर्ष निकालेको छु ।‌ त्यस दिन पनि म दिउँसै भट्टीमा पुगेँ । मेरो हातमा निकै बास्नादार रक्सीको गिलास छ । सायद निकै स्वादिष्ट हुनुपर्छ । मलाई राम्रोसँग थाहा छ,रक्सी पिउनु स्वास्थ्यका लागि हानिकारक छ। मलाई मेरो मनले रक्सीको गिलास उठाएर पिउन भन्छ तर मष्तिष्कले पिउन हुँदैन भनिरहेको छ । मैले एकैसाथ दुईवटा आदेश पाइरहेको छु, मन र मस्तिष्कको । मैले एकैपटक दुबै आदेशको पालना गर्न सक्दिनँ । मस्तिष्कको कुरा पनि सुनिरहेको छु । मनको कुरा पनि सुनेको छु । निकै बेरको अन्तर्द्वन्द पछि अन्तत: मैले मनको आदेश पालना गर्ने निर्णय गर्छु । मैले ठाडै मस्तिष्कले दिएको आदेश उल्लङ्घन गरेँ । मष्तिष्कको आदेशको ठाडै अपहेलना गरेँ । मैले पिएकै कारण मेरो मन निकै खुशी हुन्छ । मस्तिष्कले चित्त दुखाए झैं लाग्छ । मन भित्रको खुशी मेरो मुहारसम्म आएर पोखिन्छ । अन्ततः म पनि निकै खुशी हुन्छु, टन्न पिएर खुट्टा लर्बराउँदै घर पुग्छु ।

जब घरको आँगनमा पुग्छु, मेरी अर्धाङ्गिनीको मुखमण्डलमा एक किसिमको चिन्ताका रेखाहरू छरपस्ट देखिन्छन् । छोरा बुहारीको अनुहारमा आक्रोशको ज्वालामुखी छचल्किरहेको हुन्छ । मेरी सानी छोरी, जसको मुहारमा भने न चिन्ता थियो न आक्रोश। उसको मुहारमा स्पष्टसँग भय र त्रास देखिन्थ्यो । त्यो सम्भाव्य घट्ना र दुर्घटनाको भय एवं त्रास थियो । मैले पिएको रक्सीका कारण सबैको मुखमण्डलमा एकै प्रकारको भाव देखिनु पर्नेमा अलग अलग प्रकारका भावहरू प्रष्ट देखिएका थिए । त्यही रक्सीले हरेक मान्छेलाई खुशी, चिन्ता, आक्रोश र भय गरी चार प्रकारका भिन्न मनोभाव हरू दिएको देखियो । यता केही बेर अघिसम्म मेरो अनुहारमा देखिएको खुशी अचानक गायव हुन्छ । अब म भित्र उत्पन्न खुशी एकाएक भय र त्रास मिश्रित गम्भीरतामा परिणत हुन पुग्छ । यसपछि म, न त खुशी हुन सक्छु न दु:खी नै हुन सक्छु । मैले आज थाहा पाएँ मान्छेको मुहारमा खुशी र दुःखको मात्र भाव नदेखिने रहेछ । अर्को एउटा तेस्रो भाव पनि हुने रहेछ मिश्रित भाव । जुन आज मेरो अनुहारमा देखिएको थियो ।

त्यसबेला मेरो अनुहार मुसा नमार्ने प्रतिज्ञा गरेर काशी नुहाउन निस्किएको बिरालोको जस्तै थियो । जसरी बिरालोले अब आइन्दा मुसा नमार्ने प्रतिज्ञा गरिरहेको छ । एउटा राजनीतिको अम्मलीले भ्रष्टाचार नगर्ने कसम खाइरहेको छ। एउटा कर्मचारीले घुस नखाने वाचा गरिरहेको छ । ठिक म पनि त्यही पथ पछ्याउँदै भोलिदेखि रक्सी नखाने कसम खाइरहेको छु ,त्यो पनि आफ्नो कान समातेर ।

सधैं जस्तै म आज पनि परिवारको हेराइमा एकपटक पुनः स्खलित हुन पुगेको छु । उनीहरूको नजरबाट निकै तल झरेको छु । यो पहिलो पटकको घटना होइन । मेरो बेइमानी मनले मलाई पटक पटक यसरी नै धोका दिइरहेको छ । म रातभरी ओछ्यानमा निदाउन सक्दिन । केही पेग रक्सीको नसामा लठ्ठिएको मेरो मस्तिष्कले मलाई केही पनि सल्लाह दिन सकिरहेको छैन । सायद ऊ सल्लाह दिनसक्ने अवस्थामा नहुनसक्छ ! वा उसको आदेश नमानेका कारण उसले मलाई पुन: सल्लाह दिन नचाहेको हुनसक्छ । मेरो आफ्नै मनले बारम्बार धोका दिएपछि अर्काले धोका दियो भनेर म कसरी भन्न सक्छु ?

म बिलखबन्दमा पर्छु । यता र उता कोल्टे फेर्दै म निदाउने असफल प्रयास गरिरहेको छु । मनमा अनेक प्रकारका तानाहरू चलिरहेको हुन्छ । यदाकदा कुकुर भुकेको र स्याल रोएको आवाज बाहेक केही पनि सुन्न सकिरहेको छैन । म देखिरहेको छु , हरेक दिन साँझ पर्नासाथ निदाउने रात, आज पनि मस्तसँग निदाएको छ । सायद आजसम्म रातलाई निन्द्रा नपरेको थाहा पाएको छैन । हुनसक्छ रातले मैले जस्तै रक्सी पिएको छैन । त्यसैले त रात मजाले निदाइ रहन्छ ।

मैले जस्तै रातले पनि अनगिन्ती कथा र कहानी लेखिसकेको छ । रातका कति कहानीहरू मैले पनि पढेको छु, सुनेको छु कति देखेको पनि छु । प्रायः रातले हत्या, हिंसा र बलत्कारका कथा कहानीहरू लेख्ने गर्छ । चोरी चकारी र डकैतीका कथाहरू लेख्छ । सत्ता समीकरण र सत्ता फेरवदलका कथाहरू, कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी पर्व , नमिता सुनिता काण्ड लगायत अनेकौं चर्चित र विनासकारी कथाहरू रातले लेखेका कथाहरू हुन् । जब म रातले सिर्जना गरेका कथा कहानी पढ्छु मन झसङ्ग हुन्छ, जीउ सिरिङ्ङ हुन्छ । रगत उम्लिएर आउँछ । आजसम्म रातले मैले जस्तै मनगढन्ते कथा र कहानी कुनैदिन पनि लेखेको याद छैन, सायद लेख्दैन पनि । रातले जति पनि कथाहरू लेखेको छ, सत्यकथा मात्र लेख्ने गरेको छ । रात हरेक कथा र कहानीको प्रत्यक्षदर्शी र साक्षी पनि बस्छ । दु:खको कुरा, रातले लेखेका सत्य कथाहरूलाई समाजले सत्य माने पनि कतिपय मान्छेहरूले सत्य मान्ने गरेका छैनन् । किनकि केही मान्छेको मन अल्लि भिन्न प्रकारको हुन्छ, यथार्थमा केही मान्छेहरू पेटाहा हुन्छन् । तिनको मनले रातमा लेखिएका हत्या हिंसा, दुर्व्यवहार र बलात्कारका घटनाहरूलाई सायद अपराध मान्दैनन् ।

बिहान झिसमिसेमा सबै मान्छेहरूले ओछ्यान छोड्ने तरखर गर्छन्, रात मान्छेहरू भन्दा अघि नै उठिसक्छ । यता मलाई भने बिहानीपख मात्र झुपुक्क निन्द्रा लाग्छ । मेरो मनले भान्सामा भातको बास्ना नचलेसम्म सुतिरहने निर्देशन दिन्छ । म सिरकले छोपिएर मजाले सुतिरहेको हुन्छु । किनकि म मनको कमारो हुँ । मैले उसका हरेक निर्देशनहरू अक्षरस: पालना गरिरहेको हुन्छु ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।