18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रङ टर्न

कथा हिमाल लिम्बु July 31, 2024, 3:34 am
हिमाल लिम्बु
हिमाल लिम्बु

सदा झैँ म आफ्नो कक्षामा प्रवेश गरेँ । सात कक्षाका छात्रछात्राहरूले सर्कसका तालिमप्राप्त गजराज झैँ मलाई अभिवादन गरे । त्यो अङ्ग्रेजी साहित्यको पिरियड थियो । मैले ‘जङ्‍गलमा रङ टर्न’ (Wrong Turn in the Jungle) भन्ने कथा पढाउँन थालेँ । त्यो कथा पढाइ सिप तथा बोध अभिवृद्धिबाट लिइएको एउटा पाठ (Reading Text) थियो । त्यस कथाले विद्यार्थीहरूलाई बाँच्नको लागि सङ्‍घर्षशील बन्ने प्रेरणा दिँदै जीवन जिउने नैतिकता सिकाउथ्यो । म कथा सुनाउँदै थिएँ । त्यसै बेला अन्तिम बेन्चमा बस्ने एउटा केटा जुरुक्‍क उठ्यो । कपाल ठाडठाडो भएको त्यो छात्र रिसले चुर भएको थियो । उसले आँसु झार्दै गुनासो गर्‍यो, " इस्क्युज मी सर, यो केटाले मेरो कान तान्छ । जहिल्यै मेरो कान समाएर रगड्छ ।" उसले छेउमा बसेको साथीलाई "यसले हो सर" भन्दै देखायो । म समस्या बुझ्न उनीहरूको छेउमा गएँ ।
त्यो सानो केटाले कुरा थप्दै भन्यो, "सर, मेरो कान हेर्नुहोस् न । साह्रै दुख्दैछ ।" मैले उसको दाहिने कान चेक गरेँ । रातो भएको थियो । छाम्दा तातो थियो । ऊ सँगै बस्ने साथीसँग असाध्यै रिसाएको थियो । मैले नियालेर हेरेँ । त्यो पीडक केटाको गुन्द्रुक जसरी घुँघरिएको कपाल थियो । पढाउँदा पढाउँदै डिस्टर्ब गरेकाले मलाई पनि झनक्‍क रिस उठ्यो । उसले सहपाठीको कान तानेकाले उसको पनि कान तान्‍न मैले मेरा हात पसारेँ । एकाएक म रोकिएँ । त्यो कान तान्‍ने केटा अनुहार र शरीरको हावभाउमा विनम्रता देखाउँदै प्रस्तुत भयो । मैले उसलाई उसको मनोभावना पूरा गर्न अनुमति दिएँ । "आइ एम सरी सर । यो मेरो बानी हो । कान नतानीकन म बस्नै सक्दिनँ ।"
"कसको कान तान्‍ने गर्छौ बाबु ?" मैले हकाँर्दै सोधेँ ।
"कहिले आफ्नै तान्छु । कहिले साथीको तान्छु सर ।"
ती केटाहरूको समस्याको समाधान के होला मैले तत्कालै सोच्न सकिनँ । मलाई लाग्यो त्यो केटाले मसँग झुठो बोल्दै थियो । कान तनाइले पीडित विद्यार्थीतर्फ म फर्केँ र प्रश्‍नवाचक नजरले हेरिरहेँ । उसले पनि मसँग आँखा जुदाउँदै बोल्यो, "धरोधर्म हो सर । यसले मेरो कान जहिल्यै तान्छ ।" प्रसङ्‍गतः मलाई एकजना सुविख्यात फुटबल खेलाडीको सम्झना आयो । उसले खेल भैरहेको समयमा प्रतिद्वन्द्वीको कान टोकेर सानो चोक्टा चुँडालेको थियो । मनोवैज्ञानिक वा व्यवहारिक समस्या हो ? त्यो बालकको मनोवैज्ञानिक समस्या भएको मैले भन्ठानेँ । मैले उसलाई प्रश्न गरेँ, "तिमीलाई किन कान तान्‍न मन लाग्छ ?"
उसले सहजरुपले जवाफ फर्कायो, "किनभने चाहिँ मलाई थाहा छैन । तर मलाई कान देखेपछि तानुम् तानुम् लाग्छ सर ।"
उसको कुरा सुनेर कक्षाभित्रका साथीहरू गलल हाँसे । मलाई पनि हाँस नउठेको त होइन तर एउटा अध्ययनको रिपोर्टको यादले मेरो उठ्दै गरेको हाँसो दबियो । त्यस रिपोर्टअनुसार मानिसको कान र मस्तिष्कबिच अन्तरसम्बन्ध हुन्छ । कानको लोती र आसपासको भागमा हलुकासाथ मालिस गर्‍यो भने ध्यानकेन्द्रित हुन मद्दत गर्दछ । यही कारणले त्यो बालकले आत्मसंयमका लागि यस्तो हर्कत गर्दै थियो । जुन आदत बन्यो र बेलाबेला अफ्ठ्यारोमा फस्ने गर्दथ्यो । मेरो मनमा एउटा विचार आयो । मैले एउटा खेस्रा कापीको कागज च्यातेँ । त्यसलाई डल्लो पारेर उसको हातमा थमाइ दिएँ । उसको दाहिने हात लेख्‍ने काममा व्यस्त भैरहन्थ्यो । देब्रे हातले साथीको कान तान्‍न भ्याइहाल्थ्यो । यस्तो स्वचालित बानी हुनाले मैले उसलाई देब्रे हातमा कागजको डल्लो अठ्याउँन भनेँ । उसले त्यसै गर्‍यो । कान तान्‍ने बानीदेखि ऊ पनि आजित भैसकेको थियो । मेरो समाधानको उपाय क्षणिक र आलोकाँचो जस्तो थियो । त्यसबाट छुटकारा पाउने दीर्घकालीन उपाय के हुन सक्थ्यो ? यो प्रश्नले मलाई घचघचायो । मैले बालमनोविज्ञान विषय पढेको थिएँ तर मनोवैज्ञानिक परामर्शदाता जस्तो जानकार थिइनँ म ।

अर्को दिन सधैँ झैँ म त्यो कक्षामा पसेँ । ठाडठाडा कपाल भएको त्यही पीडित विद्यार्थी बेन्चबाट उठ्यो । उसले हर्षित मुद्रामा भन्यो, "सर हिजो राति मैले उदेकलाग्दो सपना देखेँ ।"
"कस्तो सपना प्रल्हाद ?"
"सर मलाई एउटा कनसुत्लोले (earwig) खेदायो । मान्छेभन्दा ठुलो कनसुत्लोको लामो सनासोले झन्डै चेप्यो मलाई ।"
"हाहा हाहा क्या रमाइलो सपना देखेछौ । डर लागेन तिमीलाई ?" मैले हाँसेर जिज्ञासा राखेँ ।
"लाग्यो नि सर । तर बिचमा हिरो आउँनुभो र बचाउनुभो । त्यो हिरो हजुर हुनुहुन्थ्यो सर ।" प्रल्हादले मजा मान्दै भन्यो । उसका साथीहरू पेट मिचीमिची हाँसे ।
"प्रल्हाद तिमीले साह्रै हँसायौ । मैले कसरी बचाएँ तिमीलाई बाबु ?"
"हजुरले मान्छे जत्रो त्यो कनसुत्लोलाई खेदाउनुभयो ।"
"मैले तिमीलाई बचाँएकोमा मलाई धन्यवाद देऊ न त प्रल्हाद ।"
"मलाई सपनामा भएपनि त्यो राक्षसदेखि बचाउनुभकोमा धेरैधेरै धन्यवाद सर । त्यसबेला मलाई अति नै डर लागेको थियो सर ।"
"तिमी यति कायर छौ प्रल्हाद ? जाबो कनसुत्लोदेखि डराउने ! नाथे एउटा सानो किरा होइन र त्यो ?"
"सानो थिएन सर । त्यो धेरै ठुलो किरा थियो । त्यसको रुप मात्र कनसुत्लोको थियो ।"
मैले बिचैमा भनेँ, "दन्तेकथाको राक्षस जस्तो हाहा ! काल्पनिक कथाको सपना देख्यौ बाबु ।"
"त्यसका ठुल्ठुला हातहरू, खुट्टाहरू र पखेटाहरू पनि थिए सर । त्यो उड्न पनि सक्थ्यो र मलाई खेदाउथ्यो । स्पाइडर मेन जसरी हजुर आउनुभो सर ।"
"सुन बाबु, त्यो सपना हो । तिम्रो चाहनाको प्रतिविम्ब हो । डरको प्रतिफल हो । त्यसबाट नडराउनू । ल मलाई साँचो भन तिमीलाई किराहरूदेखि डर लाग्छ प्रल्हाद ?"
"हो सर डर लाग्छ ।"
"यहाँ हेर् त कनसुत्लो !" अर्काको कान तान्‍ने, कोट्याउने केटा जेसनले बेन्चमुनिबाट फुत्त निकाल्यो- कनसुत्लोको प्लास्टिकडमी । त्यो डमी कनसुत्लो देखेर प्रल्हाद झस्किँदै पर सर्‍यो । "फ्याँक् । पर फ्याक् जेसन । दिस इज ए मोस्टर (This is a monster.)।" प्रल्हादले चिच्याउँदै भन्यो । मैले जेसनलाई समाएर अङ्‍गालोमा बेरेँ । "नडराऊ बाबु, यो प्लास्टिकको खेलौना हो ।"
"मलाई साँच्चै डर लाग्छ सर । उसलाई यो टाढा मिल्काउन भन्नुस् न सर ।" प्रल्हादले डरले कुङ्‍लिङ् पर्दै बरबरायो ।
"तिमीलाई बचाउने हिरो यहीँ छ प्रल्हाद बाबु । सपनामा मात्र किन अहिले पनि बचाउँछु तिमीलाई ।" मेरो सान्त्वनाका शब्दहरू सुनेर प्रल्हाद शान्त भयो । मैले जेसनको हातबाट त्यो कनसुत्लोको डमी खोसेँ । यस्ता तर्साउने खालका खेलौनाहरू स्कुल ल्याउनु हुँदैन भनेर सम्झाएँ । जेसनले प्याक्‍क बोल्यो, "सर प्रल्हादले सपनामा कनसुत्ले जस्तो दानव देख्‍नुको कारण मलाई थाहा छ । मैले हिजो हरर मुभिज (horror movies) प्रल्हादलाई सेयर गरेको थिएँ । उसले हेर्‍यो अनि ...।"
"प्रल्हाद तिमीले हिजो हरर मुभिज हेरेका थियौ ?" मैले प्रल्हादको आँखामा हेर्दै सोधेँ ।
"हो सर डरलाग्दा जीवजन्तुहरूका हरर मुभिज हेरेको थिएँ सर ।"
"त्यही कारणले तिमीले डराउनी नराम्रो सपना देखेछौ । त्यो तिम्रो मनमा परेको असरले यस्तो भएको हो ।" त्यसपछि मैले उनीहरूलाई भय र भयवाद के हो भन्ने बारेमा काउन्सिलिङ दिन थालेँ ।
"हरर मुभि हाम्रो डरलाई बढाउनका लागि निर्माण गरिएका होइनन् । बरु हामी कति काँतर छौँ त्यसको टेस्टका लागि हुन् । यस्ता भयभीत पार्ने फेसमास्क, डमी र बुख्याँचाहरू बालबालिकालाई तर्साउनका लागि नभइ आँट दिनका लागि बनाइएका हुन् । हामी मानिस डरको भरमा बाँच्ने प्राणी हौँ । त्यसैले डरदेखि नडराउनू, डरको सामना गर्नु र अघि बढ्नू । यही हो बाँच्नेकला । बुझ्नुभयो नानीबाबुहरू ?" मैले काउन्सिलिङ छोट्याउँदै क्लास अन्त्य गरेँ ।

सबै विद्यार्थीहरूले एकैस्वरमा मेरो प्रश्नमाथि सहमति जनाए । त्यतिबेलासम्म मेरो क्लासको समय सकिएको थियो । मैले 'जङ्‍गलमा रङ टर्न' (Wrong Turn in the Jungle) नामक कथा पढाउन भ्याइनँ । शिक्षककेन्द्रित विधिले भाषण छाँट्दा मैले सजिलै कथा पढाएर सक्थेँ । तर त्यसदिन जीवन्त सहभागितामा आधारित अन्तर्क्रियात्मक शिक्षण विधिले मैले विद्यार्थीहरूलाई बुझाएँ । जुन कक्षाको अनुभव 'क्लासमा रङ टर्न' (Wrong Turn in the Class) को रुपमा सदैव रह्‍यो ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।