आमाको मर्म मैले बुझेकी थिएन जब सम्म मेरो छोरो जन्मेको थिएन । कसैका केटाकेटी नजिकै देखेँ भने म तिनलाई बोलाउने खेलाउने पनि गर्दिन थिएँ । केटाकेटीका लुगा वा जुत्तामा मेरो ध्यान पनि त्यति जाँदैन थियो । “नजाऊ छोडी यो देश, आमालाई रूवाएर....” यो गीत राष्ट्र गीतका रूपमा रेडियो नेपालबाट म केटाकेटी हुँदा कानमा गुन्जने गर्थ्यो । मलाई भने विदेश जाँदा आमा किन रूने, अझ खुसी हुनु पर्ने हैन र भन्ने प्रश्न सोध्न मन लाग्थ्यो । केटाकेटीलाई गीत सकियो प्रश्न सकियो हुन्थ्यो कि क्या हो मैले यो प्रश्न कसैसँग पनि सोध्ने मौकै पाइँन छु । गीत बज्दै गयो होला कति नेपाली विदेशी भए होलान्, यस्ता गीतहरूको त युग नै सकियो तर नेपाली विदेश जाने परम्परामा भने अझै विकास भयो । कति नेपाली गीत सुन्दै आँसु पुछ्तै गए होला कति गीतै नसुनी गए होला ! विदेश जाने नेपालीको तथ्याङ्क त नेपाल सरकारले राखेकै होला तर मलाई लाग्छ नेपालको अहिलेको जनसंख्याको लगभग आधा जति त विदेशी भैसके होलान् । हुन त यो परिवर्तन विकास होला त्यसैले त यसले नेपालीहरूको चित्त बुझेको मात्र हैन लोभ्याको पनि देखिन्छ । मेरो हेर्ने आँखा उस्तो हो कि! नेपालीहरू आफ्नो र आफ्ना परिवारको विकासका लागि देश छोड्नै पर्छ भन्ने सोच राख्छन् जस्तो मलाई लाग्छ ।
विदेशमा नेपालीले राम्रो पढे भने र कुनै विशेष काम गरे भने त्यो उसको उपलब्धी कै रूपमा परिचित हुन पाउँछ जस्तो मलाई लाग्दैन । एउटा युरोपियन वा अन्य विदेशीले त्यही काम गर्दा जति कमाउँछन् त्यति नेपालीले कहिल्यै पाउँदैनन् पनि । तर पनि नेपालमा खास गरी जुनसुकै काम गर्न सक्ने, देश हाँक्न सक्ने कर्णधार युवाहरू यसरी विदेशिँदा नेपाल सरकार भने तिनीहरूसँग कुनै ट्याक्स उठाएर धन्य भई रहेको छ । देशको विकास निर्माणको योजना तिनीहरूकै रेमिट्यान्सले बनाउँछ त्यो पनि कुनै ठगको बाटो गरी विदेश कै बेङ्कमा पुग्छ अरे भनेको पनि यदा कदा सुनेको संझना आउँछ । नेपालमा पढ्न र काम गर्न चाहनेका लागि आवश्यक पर्ने मापदण्ड पुरा गर्न जो सुकैले सक्तैनन् । मापदण्ड पुरा गर्नेको आफ्नो पहुँच टाडै सम्म हुनु पर्छ । यहाँ सबै भन्दा कमाउने ठाउँ सरकारी अफिसमा हो अरे, त्यो पनि भन्सारमा पर्न त कर्माचारी मरी हत्ते गर्छन् अरे । कति हो कति लाखको खेल पनि हुन्छ अरे । तर मैले त्यस्ता निकायमा पुगेका सरकारी कर्माचारी पनि डिभी र पिआर खोजेर विदेशै जान्छन् अरे भन्ने सुनेकी छु । अमेरिकाको डिभी, अस्ट्रेलियाको वा क्यानडाको पिआर अनि युरोपका मुलुकहरूमा स्थायी बसोवासको स्वीकृति पाएका नेपालीहरू त्रिभुवन विश्व विद्यालयमा प्राध्यापक जस्तो गरिमामय ओहोदामा पुगेका भए पनि विदेशमा राम्रो कमाइ हुने र सन्तानको भविष्य बनाउने नाममा यहाँ कहिल्यै नगर्ने कामका लागि गएको उदाहरण पनि भने मैले सुनेकी छु । कतिपय त त्यहाँ गएर खेतीको काम, बङ्गुर पाल्ने काम, ट्रक चलाउने काम र नेपालीले कहिल्यै नगर्ने गाईको मासुको काम गर्न पुगेका छन् भन्ने पनि मैले सुनेकी छु ।
विदेशी बन्ने चाहना हरेक नेपालीको छ । कम पढेलेखेका अरब जालान्, त्यो भन्दा अलि बढी मलेसिया, अलि बढी कोरिया त कोही त्यो भन्दा विकसित मुलुक जालान् तर के सहर के गाउँ सबैतिर विदेश जाने मोहमा विशेष गरी युवाहरूको त लहर नै देखिन्छ । अस्ति केही दिन अघिको कुरा हो महाराजगन्जको बाटो गरेर बजार तिर जाँदै थिएँ, लाजिम्पाटको ओरालोमा मान्छे कति हो कति लाइन लागेर बसेका थिए । केही कागजपत्र पनि तिनका हातमा देखिन्थे । भरे पो थाहा पाएँ त्यहाँ त संयुक्त अरब इमिरेट्सको दूतावास पो रहेछ र त्यो लाइन भिसा आवेदनको लाइन रैछ । त्यस्तै दृश्य होला अमेरिका, अस्ट्रेलिया, क्यानडा जान चाहनेको वा कोरिया, मलेसिया, जापान, इजरायल वा अन्य मुलुकको दूतावास अगाडिको ।
विदेश जाने मोह युवलाई मात्र किन हरेक नेपालीको छ । मलाई त लाग्छ, घाटमा सुतिहरेको र सास जान कठिन भएको नेपाली वृद्धलाई “जीवनमा केही पाए हुन्थ्यो भन्ने लागेको छ?” भनेर कसैले सोध्यो भने, उसले “एक पटक अमेरिका जान चाहिँ मैले पाइनँ” भन्छ होला ! कसैले यदि आदर्शका कुरा गरेर म चाहिँ विदेश जान्न देश बनाउँछु भन्यो भने सोचे हुन्छ कि, त्यो व्यक्ति यहाँ मज्जाले जनतालाई ठगेर अझै धनी हुने क्रममै छ, ठग्न र भ्रष्टाचारी गर्न अझै भेटी रहेको छ वा राजनीति गर्ने मान्छे रहेछ । तर, त्यस्ता मान्छेले पनि गरिब नेपालीका लागि आएको कोटामा आफ्ना छोराछोरी पठाएर अरूलाई आफ्ना छोराछोरीको योग्यताको बयान गरेको पनि मैले नसुनेकी हैन । कति विचरा नेपाली आमा बाबु आफ्ना विदेशी छोराछोरी भएका देशमा पुगेर सुत्केरी छोरी बुहारी स्याहारेर आउने अनि आफन्तहरू सँग त्यसको फूर्ति लाउने पनि जताततै व्याप्त छन् । कसैका घरमा त केही मन पर्यो र आहा भन्यो भने कुन देशको हो बयान नै सुन्नु पर्ने हुन्छ । आफ्ना सन्तान विदेश नजाने बाबु आमाहरूले त्यस्तै देशको बयान सुनेर मुसुक्क मुस्काएको पोजमा बसी राख्छन् । अनि मन मनै गुन्छन्, “जतिसुकै खर्च किन नपरोस् म आफ्ना छोराछोरीलाई त्यही देशमा पठाउँछु” । म मात्रै त्यो आम नेपाली पनबाट कसरी र किन अछुतो हुनु ! फलस्वरूप मैले पनि आफ्नो एउटा भएको छोरालाई विदेश नै पठाएँ ।
मेरो छोरो भर्खरै ११/१२ बराबरको पढाइ सकेर पढ्न विदेश जाने तयारीमा थियो । उसको चाहना अनुसार कै राम्रो र महँगो कहलिएको न्यु योर्कले विश्व विद्यालयले फुल स्कलरसिप (पूर्ण छात्रवृत्ति) दिएर उसलाई त्यो विश्व विद्यालयको आबु धाबी क्याम्पसमा पढ्नका लागि छानियो । उसको छात्रवृत्तिको रकम यति धेरै थियो कि मैले उसको चिन्ता लिनु नै नपर्ने भयो । छोरालाई राम्रो ठाउँमा पढाउन भनेर राखेको मैरो पैसाको गन्ती त्यसका अगाडि नगन्य थियो । अब मेरो पनि खुसीको सिमाना थिएन । खुसी छु तर मुस्काको पोजमा धेरै बेर रहन भने सकी रहेकी छुइनँ । छोरा पठाउने केही दिन अगिदेखि धेरै व्यस्तता बढ्यो । उसैका दैनिकीमा चाहिने साना साना सामानको किनमेलदेखि लिएर उसलाई मन पर्ने कुराको जोहो सम्म गर्न मन लाग्थ्यो । मन पनि कति सम्म लागेछ भने, छोराले यहाँको स्वाद नपाएका बेला यस्ले पो चित्त बुझ्छ कि भनेर यहाँ कहिल्यै नखाने चिउरा समेत पठाएँछु, अहिले सम्म उ मलाई त्यही नाममा जिस्काई राख्छ । जे होस् चिउराले नेपाली पन कहीँ न कहीँ जोगाई रहेको महसुस मलाई हुन्छ ।
छोराको साँझ अझ भनौँ बेलुकाको उढान थियो । बिहानैदेखि घरमा उसलाई विदाइ गर्नका लागि मेरा बुबा आमाहरू पनि आउनु भएको थियो । जनै पूर्णिमाको अघिल्लो दिन भएकाले छोरालाई सबै भन्दा मन पर्ने मासुको परिकार भने मैले बनाएकी थिइनँ । भरे प्लेनमा खाना कस्तो हुन्छ भन्ने सोचेर चाम्रे, भुटेको आलु अनि साँधेको तोरीको गुन्द्रुक कम्ता मिठो थिएनँ अरे तर, मैले निल्न सकी रहेकी थिइनँ, त्यस्तै छोराले पनि सकेको थिएन । मैले उसलाई कहिले काहीँ जाँचका बेलामा निल्न नसक्ता वा हतारका बेला खाना खुवाइ पनि दिने गरेकी थिएँ, त्यो दिन पनि खुवाउने कोशिस गरेँ तर निल्न सकेन । मलाई यो कुरा लेख्ता र उसलाई पढ्न दिएँ भने अहिले पनि मामु अरूलाई नसुनाउनु न भन्छ भन्ने थाह छ । मेरो छोरो कहिलै आमा छोडेर टाडा नगएको अहिले धेरै टाडा संपूर्ण पारिवारिक सम्बन्ध भन्दा पर एक्लै बाहिर जानु पर्दा के भएको होला भन्ने त लागेको हो तर पनि आफ्नो अगाडि अलिकति खाई दिए भरेको खानाको मात्र चिन्ता आफूलाई हुँदैन होला भन्ने सोचेर बल गरेर अलिकति खुवाएँ । मेरो छोरो ठूलो हुन्जेल सम्म ‘मामु’ भन्ने र कतै जाँदा मेरो लुगाको फेर समातेरै हिड्ने गर्थ्यो र उसलाई सँगैका भाइ बहिनीले समेत ‘मामुको पुच्छर’ भन्ने नाम दिएका थिए । एकदिनको कुरो हो, उ सानो हुँदा कै, करिब १ बर्षको हुँदा मैले मेरी आमालाई छोरा जिम्मा लगाएर आधा घन्टाका लागि कहीँ गएकी थिएँ । आधा घन्टापछि आउँदा यस्तरी समातेर बस्यो कि फेरि आमाले छोड्ली भन्ने डर गडेको थियो । अनि घरमा आई पुग्दा ज्वरो पनि आयो । मेरो छोरो एक पटक लगभग ४ वर्षको हुँदा मसँगै धरान गएको थियो, अरु केटाकेटी पनि थिए । बिहे र व्रतबन्धका लागि गएकाले बजार जानु पर्ने आवश्यक्ता पर्यो । अरू केटाकेटी मेरा बाआमासँग रमेर घरै बस्ने भए तर उ भने मसँगै बजार जाने जिद्दी गर्न थाल्यो । कति गर्दा पनि घरमा बस्नै मानेन । रिस उठेर दुई थप्पड पनि लगाएँ तर पनि मानेन । अनि आफूसँगै लगेँ र सक्तो हिडाएँ । धेरै लामो हाम्रो घुमाइमा थाकेँ पनि भनेन मलाई पनि छाडेन । घर आए पछि खाना खुवाई दिएँ अनि खुट्टा मिच्तै सुताई दिएँ । त्यो सम्झना मनमा बार बार आई रहेको थियो, अनि आँखा रसाउँने काम पनि साथै हुन्थ्यो । धेरै किसिमका काम भएकाले र हतार भएकाले आँसु सजिलै लुकाएकी थिएँ ।
उसको उडान साढे ९ बजेको थियो, ट्याक्सी घरको गेटमा साढे ५ बजे नै आई पुग्यो । सामन कुनै छुट्ला र उसलाई त्यसको कमी होला भन्ने डर मेरा बुवाआमा सहित सबैलाई थियो । केही नछुटाई सबै थोक हालेर हामी ट्याक्सी चढ्यौँ । ट्याक्सी चढेर हिड्न थालेको केही बेर पछि यसो छोरातिर ध्यान दिएँ । छोरा “मैले केही त छुटाइनँ नि मामु” भन्दै पासपोर्ट, टिकट, पैसा भन्दै ब्याग छाम्न थाल्यो । हतारिएको जस्तो, हड्बडिएको जस्तो, ओठ पनि सुके जस्तो बोली थियो, त्यसबेला मेरा छोराको । म एकनासले हेरी रहेकी थिएँ र आँसु लुकाई रहेकी थिएँ, सायद छोरो पनि त्यसै गर्दै थियो । त्यतिबेला मलाई धेर सोच्ने फुर्सद थिएन । म जीवनका केही पाठ सिकाउँदै थिएँ उसलाई तर उ त साँच्चै समजदार रैछ, मलाई नै यसो गर्नु, म यसो गर्छु भन्दै सिकाई राखेको थियो । मलाई एकमन लाग्यो कि मेरो छोरो अब हुर्कियो, तर फेरि मेरा आँखामा उ पहिलो पटक स्कुल जाँदाको दृश्य घुम्न थालेको भान भयो । पौने ३ वर्ष हुँदा मैले आफ्नो छोराको भर्ना गरी दिएकी थिएँ । सुरूमा त “म इच्कुल जाने” भन्थ्यो तर २/३ दिनपछि २ दिनको लागि स्कुल बिदा भयो; त्यसपछि त स्कुल पुर्याउँन जाँदा “म इच्कुल नजाने, घलै जाने, उचिनेको अन्दा खाने, इच्कुल चाईँ नजाने” भन्न पो थाल्यो । तर जान्न भनेर बल पनि गरेन, नजाने भन्न पनि छोडेन । अनि स्कुल नजिकै पुगेपछि “मामु म क्लाचमा नजाने, बाहिल माइजु छँगै बस्ने” भन्न थाल्यो । त्यतिकैमा नजिकैको स्कुल थियो पुर्याई हाले र त्यहाँका कर्मचारीलाई सबै सुनाएर जिम्मा लगाएँ । उसकी माइजु त्यहाँका महिला कर्मचारी रहिछन् । मेरो छोरालाई मायाँ गर्दै बोकिन् र मलाई २ घन्टामा आउने सल्लाह दिइन् अनि म उनीहरूले भनेकै समयमा गएँ र घर लिएर आएँ । त्यसरी स्कुल जाने बानी लगाएकी थिएँ; आज उ स्कुल नै जाँदै छ तर म कसैलाई जिम्मा लगाउन नभए पनि मैले जान मिल्ने ठाउँसम्म जान हिँडेकी छु ।
बाटामा बायाँपट्टी पशुपति नाथको मन्दिर आयो । मैले नमस्ते गरेँ र छोरालाई पनि नमस्ते गर्दै मेरो आगामी दिन सजिला हुन् भन्ने आशिर्वाद माग्न लगाएँ र मैले मनमा भए जति सबै आशिर्वाद मागेँ छोराका लागि, म नभएका देशमा छोराले मुठीमा समाउनका लागि । म कुनै पनि अन्धविश्वासमा विश्वास गर्दिन तर परम्परामा विश्वास गर्छु । मैले केटाकेटी जन्मँदा के के गर्नु पर्छ र त्यसपछि उसलाई हुर्काउने बेलामा कस्तो हुन्छ भन्ने जान्नका लागि छोरा जन्मनु अघि नै केही किताब पनि पढेकी थिएँ र ज-जस्ले जे-जे सिकायो ती सबै कुरामा विश्वास गर्थेँ । यसरी विश्वास गरेर कथा सुन्ने क्रममा कतिले त डर पनि देखाउँथे । कस्ले हो भनेको मलाई कुरा याद छ, मान्छे याद छैन, “एउटी आमाले सुतेका बेला थाह नपाएर आफ्नो बच्चो किची अरे!” भन्ने समेत सुनाए । त्यसबेला मैले तिनै पशुपति नाथसँग मलाई छोरा हुर्काउँदा म कहिल्यै बेहोस नहोऊँ भनेर आशिर्वाद मागेँ । मेरो मनमा एक किसिमको डर भने थियो । छोरो राति जन्मियो । स्यानो... केही गर्न नसक्ने बच्चो, डाक्टरले प्याट्ट पिटेर रुवायो र मेरो नजिकै हातको कोक्रो जस्तो बनाएर छातीका नजिकमा राखिदिए । उसका नजिकै सुतेपछि मेरो निद्रा हरायो, कतै निद्रामा बेहोस पो हुन्छु कि भन्ने डर नै लागिरहन्थ्यो । अठार दिन ननिदाउँदा म झस्कने र तर्सने भएँछु । नजिकैका महिलाहरूले सुत्केरीलाई त आँखा पनि लाग्छ, फुक्न गुभाज्यूकहाँ जानुपर्छ भन्ने सल्लाह पनि दिए । तर म आफ्ना बुवाको सहयोगमा डाक्टरलाई देखाउन गएँ र उसले दिएका तागतका औषधी खाए पछि निदाउन थालेँ ।
आज म उसैलाई पठाउन हिडेकी छु । भगवानको आशिर्वादको आवश्यक्ता धेरै छ । मेरो छोराका आँखा अलि राता भएका थिए । उसलाई एक किसिमको डर थियो होला, सुरु सुरुमा स्कुल जाँदाको जस्तै; तर म उसलाई कुनै माइजुको जिम्मा लगाएर २ घन्टै मै फर्काएर ल्याउन सक्ने थिइनँ । उसको पढाइ ४ वर्षको थियो र त्यो ४ वर्ष मेरा लागि धेरै लामो समय जस्तो लागेको थियो र एक किसिमको औडाहा र छट्पट्टी मनमा थियो । मैले गाँठो पारेकी थिएँ त्यसलाई र छोराको मनमा गाँठो परेको औडाहा उसको आँखामा देखिरहेकी थिएँ । राम्रो, उत्कृष्ठ र स्तरीय शिक्षा उसको चाहना हो र विश्वका राम्रा र नामी विश्व विद्यालय जहाँ स्तरीय शिक्षालाई विकासको जरो ठानिन्छ त्यसतामा उसको पढ्ने लक्ष्य पुरा गर्न जानु थियो । यो खुसीको कुरा थियो तर मलाई त्यतिबेला खुसी कम र चिन्ता धेरै जस्तो लागिरहेको थियो । हाम्रो संस्कारमा उ आफ्नो लक्ष्य पुरा गर्न जाँदैछ । छोराले आफ्ना खर्चमा र आफूले चाहेजस्तो विश्वविद्यालयमा पढ्न पाउनु नै ठूलो कुरो हो भन्ने एक मनमा लाग्दा पनि किन मलाई यस्तो अनुभूति भैरहेको थियो । अरूलाई भए त गाली गरेर संझाउथेँ होला! तर आफूलाई त आफूले कुटेको दुख्ता पनि दुख्तैन रैछ । त्यसैले पनि पशुपतिनाथको आशिर्वाद म जस्ता आमाले छोरालाई माग्न अनिवार्य नै रहन्छ । तर मेरो मनमा एक डर, पीर सँगै एक किसिमको रीस पनि थियो । म आफ्नो देशको शिक्षा लगायतका अनेक निकायमा मनका आँखा घुमाउन पुगेँ । कतै आशलाग्दो, भरपर्दो र चित्त बुझ्दो उत्तर भेटिन । जहाँ एउटा राम्रो भनाउँदो स्कुलमा पढ्न सोर्स (source) चाहिन्छ र धेरै पैसा असुल्न चाहनामा राम्रो ठहरिएका विद्यालयहरूले मास्टरको छोरो जति राम्रो भए पनि अयोग्य ठहर्याउने घटना मैले भोगेको सत्य एउटा आफ्नो देशको तितो सत्यले कमलो आँखामा आँसुको टप्को ल्याइदियो ।
कति धेरै चिन्ता र रिसमा डुबेछु छोराले मामु भने पछि पो झस्किएँ । ट्याक्सीबाट उत्रने बेला भइसकेको रहेछ । बिस्तारै ओर्लिएँ, सामान एउटा गुड्काउने ठेलामा राखेर छोरो साथीसँग भेटघाटमा व्यस्त भयो । त्यहाँ अरू केटाकेटीहरू पनि त्यस्तै पढ्नका लागि बाहिर जाने थिए क्यारे आमाहरू अरूले सुन्ने गरी नै रोई रहेका थिए । म आफूलाई त्यस्तो माहोलबाट पन्साउँदै थिएँ । तर छोराको छेउबाट म टाडा पनि जान चाहिराखेकी थिइनँ । आँसु बग्ने जस्तो लाग्यो भने बहाना बनाएर पछाडि फर्कँदै गर्थेँ । मेरो एउटा भाइ पनि त्यहाँ थियो, उ मलाई हेरिरहेको रैछ । उ तिर फर्केर मुसुक्क मुस्काएँ, केही नभए जस्तै । बिस्तारै छोराको सामान अगि बढ्न थाल्यो । छोरो मलाई हेरिरहेको थियो र साथीको बाई मा हात हल्लाउँदै पनि थियो । मुखमा मुस्कान र घाँटीमा गाँठो दुवै उसका अनुहारमा प्रस्टै झल्केका थिए । म उसको ठेला ठेल्न सहयोगका लागि अगि बढे र जान मिल्ने ठाउँ सम्म पुगेँ अनि अडिएर उसको बाटो हेरिरहेँ । लाइनमा केही घुमेर उ अगाडि बढ्यो, म हेरिरहेँ । मलाई लाइन अलि लामो भैदिएको भए पनि हुन्थ्यो भन्ने लागेको थियो तर बिस्तारै ढोका नागेर उ अगि लाग्यो । त्यहाँ पछि मेरा आँखामा देखिने लाइनबाट छोरा अगाडि बढी सकेको थियो र मेरा आँखा त्यही ढोकामा अडिएको थियो । भाइले यताबाट देखिन्छ भनेर एउटा ढोकामा पुर्यायो । त्यहाँ अर्को लाइन रहेछ र त्यहाँ पनि म हेरिरहेँ एक टक लाएर । छोरा त्यहाँको काम सकेर हामीतिरै फर्कँदै अर्को ढोकाबाट अझ भित्र छिर्यो । त्यहाँबाट भित्र भर्याँङ छ, अब माथि चढेर फेरि केही इन्ट्री गर्नु पर्छ भन्ने कुरा त्यहाँ हेरिरहेका मध्ये कसैले भनेको कानमा पर्यो । यसो फर्केर हेर्दा श्रीमान् अब जाऔँ भन्दै हुनुहुँदो रहेछ । म भने कतै अर्को त्यस्तै ढोका छ कि भनेर वरपर हेरिरहेकी थिएँ । जाऔँ अब घरबाटै हेरौँला प्लेन, यहाँ बसेर केही काम छैन, श्रीमान्ले फेरि भन्नु भयो । अनि भित्तामा लेखेको हवाइजहाज उडानको तालिका मोबाइलको क्यामराले खिचेर हिडेँ घरतिर ।
मोटरसाइकलको पछाडि बसेर घर फर्कनु पर्ने थियो र फर्कँदा करिब साढे सात बजेको थियो । मलाई कसैले देख्ने पीर थिएन अनि अगिदेखि थामेका आँसुलाई बग्न छोडी दिएँ । घर पुग्दा सम्म हावाले मेरा आँसु सुकाइदिएका थिए । हावा मात्र हैन काठमाडौँको वातावरणले पनि सुकाउन मद्दत गरेको थियो होला ! घर पुगे पछि मलाई एक किसिमको सुन्यता लागेको थियो र मनमा अनेक कुरा खेलिरहेका थिए । काममा पटक्कै हात लागेको थिएन तर घरबाट कोही बाहिर गएका दिन खाना खानै पर्ने हाम्रो चलन, खाना त खानै पर्यो किनभने मेरो १९ वर्षदेखिको साथी अझ भनौँ २० वर्षदेखि कै घरको अनि जीवनकै रमाइलो अनि मनको नजिकैको साथी बाहिर गएको कुरा थियो । त्यो चलन राम्रै होला तर त्यो दिन मलाई मन र जाँगर दुवैले साथ दिइरहेका थिएनन् । सामाजिक अन्धविश्वास नमानौँ भने त्यो मेरो छोराका लागि थियो ! मेरो छोरो अरू सामान्य केटाकेटी भन्दा सानो छ भन्ने मलाई लाग्थ्यो र खाना पनि पुग्दो खाँदैन जस्तो लाग्थ्यो । म उसलाई मिठो लाग्ने र डाक्टरको सल्लाह अनुसारको पोषिलो कुरा खुवाउने गर्थेँ तर त्यसका लागि निकै संघर्ष गर्नु पर्थ्यो । पाँच बर्षको हुँदा सम्म त उसले खानासँग साइनो नै राखेन । सधैँ उसकी आमा खाना र उसका बीचमा सम्बन्ध सुधार्ने काममा लाग्नु पर्थ्यो । के खान्छ, कसरी खान्छ सबै कुराको ध्यान आमाकै जिम्मामा थियो । कहिले टिभीमा भएका गाडी, प्लेन देखाएर त कहिले आकासमा लाइभ देखाएर कहिले बोकेर त कहिले गीत गाएर खुवाउने जिम्मा लिएकी थिएँ । खाना खान बस्ता एउटा आरी (बाटा) लिएर आउँथ्यो । बाबु यो किन ल्याएको भन्दा सान गरेर बान्ता गर्न भनेर देखाउँथ्यो अनि उसको अभिनय देखेर म दङ्ग पर्थेँ । आरी लिएर बसेका बेला पनि उसको खान्कीको मात्रा पुग्छ पुग्दैन त्यसको हिसाब राखेर खुवाउँथेँ । कत्रो गाँस खुवाउँछे, बान्ता गर्यो भने नखुवाउनु, यस्ता गाली त मैले कति खाएँ खाएँ तर त्यो गालीले मलाई छुँदैन थियो । तर बेला बेला उ पेट दुखेर रुन्थ्यो, हरेक महिना जस्तो डाक्टरका उसलाई लिएर जान्थेँ अनि कसैले नदेख्ने गरी सुटुक्क गुवाज्यू भएका ठाउँमा लगेर फुकाउँथेँ पनि । फुकाउने र फुकाउँदा निको हुन्छ भन्ने कुरामा मलाई अहिले सम्म पनि अलिकति पनि विश्वास लाग्दैन तर त्यसबेला मेरो विश्वासलाई मनले जितेको थियो होला ! कसैले, “यति पढेलेखेकीले पनि त्यस्तो कुरामा विश्वास गर्छन्” भनेर सोध्यो भने, “मलाई छोरो निको हुँनुसँग पो साइनो छ, केही गरी यसैले निको हुने हो भने त मेरै फाइदा भयो नि” भन्ने उत्तर मैले तयार पारेर राखेकी थिएँ ।
मलाई कसैले “तेरो सबै भन्दा मन पर्ने ठाउँ कहाँ हो” भनेर सोध्यो भने म नडराई भन्छु “भान्सा” । हो मलाई भान्सामा बस्न र नयाँ नयाँ किसिमका नयाँ नयाँ स्वादका परिकार बनाउन सारै मन पर्छ । अनि मेरो छोरालाई पाँचवर्ष पछाडि ती खाना खाएर बस्न । अब भन्नु होस् विदेशिने छोरालाई मिठो खुवाउन म कति व्यस्त हुने भएँ होला ? व्यस्त यति धेरै भएँछु कि मेरो हिजो भर्खर जन्मेको छोरो त विदेश जाने भैसकेको थाह नै पाइनँ । कति छिट्टै जाने दिन आई सकेछ । मेरो अन्धविश्वासमा विश्वास पनि छोराकै लागि मात्र हो । त्यसैले उ गएका दिन खाना बनाउनु पनि उसैको लागि हो भन्ने सम्झेर म खाना बनाउन थालेँ । घर नजिकैकी एउटी छिमेकी दिदी खाना बनाएर खानु पर्छ है भन्नका लागि आएकी थिइन् । त्यसैले पुरै खाना करै सम्झेर बनाएँ र खाएँ पनि । खानामा टमाटर मेरो छोरालाई सबै भन्दा मन नपर्ने कुरा थियो, त्यसैले त्यो दिनको खाना टमाटर हालेर बनाएँ अनि मुख जुठो घर चोखो पारेर म भान्साबाट बाहिरिएँ । अनि आकासमा उढेका हवाइजहाज “यो हो, यो हैन” भन्दै हेर्न थालेँ । उसको भनेको समयमै हवाइजहाज उढे पछि कोठामा गएँ र कम्प्युटर खोलेर इन्टरनेटको सहायताले आकासको प्लेन हेर्न थालेँ । प्लेन दक्षिण-पश्चिमको आकासे बाटोबाट अगाडि लाग्यो । पाकिस्तानको माथि पुगे पछि त्यसको उढानमा सिधा नभएर डट् डट् परेको अर्कै खालको धर्को देखिन थाल्यो । मनमा चिसो पस्यो श्रीमान्ले भन्नु भयो, “त्यो ठाउँ मरुभूमि हो र त्यहाँ बालुवा मात्रै छ, अनि हावा धेरै चल्छ, त्यसैले प्लेन हल्लिन्छ” । त्यो व्याख्याले झसङ्ग बनायो किनभने केही महिना अगाडिको कुरा थियो म छोरासँगै आसाम गएकी थिएँ । हामी काठमाडौँदेखि भद्रपुर सम्म प्लेनमा गएका थियौँ, काठमाडौँबाट पूर्व लाग्दा प्लेन बादलमा पस्यो र अलि अलि हल्लियो । छोराले मेरो हात च्याप्प समात्यो । त्यही घटना मेरो दिमागमा आयो र म आँखा चिम्लेर भगवान गुहार्न थालेँ ।
मेरो छोरो गएको आज धेरै वर्ष भयो । तर पनि मनमा र घरमा एक किसिमको खालीपन महसुस भैरहेको छ । घर सुनसान नै भइरहेको छ । मेरा नजिकका हुन् वा टाडाका कसैले पनि मेरो एउटा सन्तान विदेशमा पढ्न गएको छ भन्ने सुने भने मेरा छेउमा आउँछन् र विदेशिने छोराछोरीका अनेक किसिमका नकारात्मक कथा सुनाउँछन् । विदेशिएका छोराछोरीका आमाबाबुका यहाँका अवस्थाका बारेमा सुनाउँछन् । मेरो मन झस्ङ्ग हुन्छ र जतिखेर मौका मिल्छ मेसेन्जरको माध्यमबाट छोरासँग अनुहार हेरेर गफ गरिहाल्छु । मेरो छोरो बेला बेलामा घर आउँछ । पछिल्लो पटक आउँदाको कुरा हो, उसले भन्यो, “मामुले मलाई दिनको एक घन्टा मसँग गफ गर्नु भन्नु भएको थियो त्यो चाहिँ म बिर्सिन्न”; उसका त्यस्तै कुराले मलाई एक किसिम आनन्द दिलाउँछ अनि अरूका छोरा छोरी जस्तो मेरो छोरो अवस्यै छैन भन्ने कुरामा म विश्वस्थ हुन्छ । अनि त्यसतै परिवेशका राम्रा र सकारात्मक कथा सम्झन्छु र चित्त बुझाउँछु ।