17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जनकपुरको यात्रा

नियात्रा प्रज्ञा रिजाल August 3, 2024, 12:32 am
प्रज्ञा रिजाल
प्रज्ञा रिजाल

२०७५ साल तिरको कुरा हो।
मेरो बाबा सरकारी कामले काठमाडौँबाट जनकपुर जाँदै हुनुहुन्थ्यो। आमा र म पनि काठमाडौँबाट हाम्रो घर नवलपुरतिर जान लागेका थियौँ। हेटौँडासम्म सँगै जाने भनी हामी पनि बाबाकै गाडीमा चढ्यौँ। त्यो गाडीमा गुरुजी बाहेक भुषण खरेल अंकल र अर्को एकजना प्रहरी अंकल मात्रै हुनुभएकोले हामी पनि त्यो गाडीमा बसी हेटौँडासम्म जान लागेका थियौँ।
हामी दक्षिणकाली हुँदै हेटौंडातिर जानका लागि हिँड्यौँ। एउटा भञ्ज्याङनेर रोकिएर खाना खाइयो। त्यो ठाउँबाट खुब राम्रा पहाड र हिमाल देखिन्थे। लोभलाग्दो सिस्नोका मुन्टा देखेर सिस्नोको तरकारी पकाएर खाने कुरा पनि चल्दै थियो। पहाडमा पाइने खानेकुरा त्यहाँको चिसो हावापानीमा मिठो हुन्छ भनेर मेरो बाबाले मलाई सम्झाउँदै हुनुहुन्थ्यो। इन्द्रसरोवर भनिने ठूलो मानव निर्मित तलाउ पनि बाटोमा पर्ने रहेछ। हामी भीमफेदी निस्केर हेटौँडातिर लाग्यौँ। मकवानपुर जिल्लाको नयाँ सदरमुकाम हेटौँडा हो भने पुरानो सदरमुकाम भीमफेदी रहेछ। सदरमुकाम अन्यत्र सार्नाले भीमफेदीमा राम्रा र नयाँ घरहरू बनेननछन्, पुराना घरहरू मात्र देखिन्थे।
शहरमा बसेका मान्छेलाई शहर छोडेर गाउँघरतिर हिँड्दा त्यसै पनि रमाइलो हुँदो रहेछ। हरिया पहाड, सफा हावा पाइने बाटो र नदीनाला हेरेर मलाई खुब रमाइलो लागिरहेको थियो। गाउँले जनजीवन मेहनत र इमान्दारीको भरमा चल्ने हुँदा जस्तो देखिन्छ, त्यस्तै हुन्छ। त्यहाँ बनाबटिपना, बेइमानी र झुट हुँदैन। विषादी र विकृति नभित्रिएको वस्तुलाई अर्गानिक भन्ने गरिन्छ। हाम्रो स्वास्थ्य र सभ्यता रक्षाका लागि पनि विषादी र विकृतिरहित अर्गानिक उत्पादनमा जोड दिन जरुरी भएको छ। मलाई गाउँघरका हरेक चिज अर्गानिक लागिरहेका थिए।
हेटौँडा पुगिसकेपछि आमा र म पनि जनकपुर घुम्न जाने सल्लाह भयो। तराई मधेसका ठाउँहरू पहिलोचोटि देख्दा मलाई निकै खुशी लागेको थियो। बाटोमा देखिने चुरे पहाडका थुम्का पनि उत्तिकै राम्रा थिए। रुखविरुवा मासिएर चुरे पहाडहरू नाङ्गा भएको देख्दा भने नरमाइलो लाग्थ्यो। समथर फाँटका बस्ती, खेतीपाती राम्रा देखिन्थे। बाटोमा खानेकुराका अनेक परिकार पाइन्थे। त्यो दिन हामी अमलेखगञ्ज, निजगढ, लालबन्दी आदि विभिन्न ठाउँहरु हेर्दै बेलुका जनकपुर पुगियो। जनकपुरको सिटी स्टार भन्ने होटलमा बास बसियो।
भोलिपल्ट बिहान गंगासागर र धनुषसागर नामका ठूल्ठूला तालमा पुगियो। बाबाले गंगासागरसँग जोडिएको पौराणिक राजा निमीको कथा समेत सुनाउँदै हुनुहुन्थ्यो।
राजा निमिले यज्ञ लगाउन आफ्ना कुलपुरोहित वशिष्ठलाई बोलाएछन्। वशिष्ठले इन्द्रको यज्ञबाट फर्केर आएपछि यज्ञ लगाउँला भनेकोमा राजा निमिले अर्कै पुरोहित बोलाएर यज्ञ गर्न लागेछन्। त्यो देखेर वशिष्ठ ऋषि रिसाएछन्। उनले राजा निमिलाई श्राप दिएछन्। ऋषिको श्रापले राजा निमिको मृत्यु भएछ। राजा निमिको मृत शरीरलाई गंगासागर तलाउको पानीमा मथेर राजाको नयाँ शरीर जन्मिएछ। जसको नाम मिथि राखिएछ। तिनै मिथिको नामबाट जनकपुर क्षेत्रलाई मिथिला भनिएको हो भन्ने किम्वदन्ति रहेछ।
हामी जानकी मन्दिर दर्शनका लागि गइयो। त्यो मन्दिर थरिथरिका भवन, गजुर र कोठा सहितका संरचना कलात्मक तवरले बनाइएको रहेछ। जनकपुर र जानकी मन्दिर नेपाल भारत लगायत संसारभरका हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल रहेछ। जानकी सीताको जन्मस्थल भएकोले पनि यो ठाउँ संसारभर चर्चित छ। भारतको टिकमगढीकी महारानी वृषभानुदेवीले जानकी मन्दिर बनाएकी हुन् रे । त्यतिबेला नौ लाख चाँदीका रुपैयाँ खर्च गरेर बनाएकोले जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिँदो रहेछ। यस मन्दिरमा विवाह पञ्चमीका अवसरमा असंख्य भक्तजन र दर्शनार्थीको भीड लाग्छ रे। अयोध्याका राजकुमार रामसँग सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमीका दिनमा हरेक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने चलन रहेछ। चैतको रामनवमी, बैशाखको जानकी नवमी, बडा दशैँपछिको कोजाग्रत पूर्णिमामा पनि यस क्षेत्रमा विशेष मेला लाग्छ रे। जानकी मन्दिर मैथिली संस्कृति र सभ्यताको राम्रो नमूना नै रहेछ। मुगल शैलीमा बनाइएको जानकी मन्दिरको कला, रङरोगन र ठूलो आँगन देखेर नलोभिने कोही हुँदैन होला। जानकी मन्दिर नजिकै विवाह मण्डप पनि रहेछ। त्यहाँ राम, सीता, जनक, लक्ष्मण आदिका सुन्दर मूर्तिहरू पनि रहेछन्।
जनकपुर घुमाइका क्रममा हामी बाह्रविगाहा भन्ने विशाल मैदानमा पनि पुगियो। विभिन्न मेलाजात्राका समयमा त्यहाँ मान्छेको भीड हेर्न लायकको हुन्छ रे। हामी रेलवे स्टेशन हेर्न पनि गयौँ। जनकपुरमा थरिथरीमा मिठाइँको स्वाद समेत लिने अवसर पाइयो। त्यहाँ एउटा रेलको डिब्बा पनि थियो। रेलको लिक पनि बन्दै थियो। त्यो देख्दा नेपालको तराई मधेश क्षेत्रमा पूर्व पश्चिम जोड्ने रेल मार्ग भइदिए कति सहज हुन्थ्यो भन्ने लाग्यो। जनकपुर देखि जयनगरसम्म रेल सञ्चालन गर्नका लागि काम हुँदै थियो।
जनकपुर बजार प्रवेशका लागि बनाइएको ठूलो गेट पनि उत्तिकै आकर्षक थियो। हलो जोत्दै गरेका राजा जनक र सीताको मूर्ति पनि राम्रो लाग्यो। राजा जनकले सुनको हलोले जमिन जोत्दा सीता फेला परेकी थिइन् रे भन्ने किम्वदन्ती रहेछ।
हामी शिवधनुषको अवशेष रहेको ठाउँ धनुषाधाममा पनि पुग्यौँ। राजा जनककी छोरी सीताले दरबारमा रहेको विशाल शिवधनुषलाई अर्कोतिर सारेर त्यसमुनि लिपपोत गरिछन् रे। त्यसपछि राजा जनकले शिवधनुषमा ताँदो चढाउन सक्ने राजकुमारसँग मात्र सीताको विवाह गरिदिने भनी घोषणा गरेछन्। पछि अयोध्याका राजकुमार रामले शिवधनुष उचालेर ताँदो चढाउन लाग्दा त्यो धनुष भाँचिएछ। अनि राजा जनकको घोषणा अनुसार सीता र रामको विवाह भएछ। धनुषाधाममा रहेको ठूलो पिपलको बोटमुनि त्यहि भाँचिएको शिवधनुषको अवशेष हो भन्दै एकजना स्थानीय व्यक्तिले देखाउँदै थिए। पौराणिक कथासँग जोडिएको शिवधनुषको अवशेष देख्दा पनि रमाइलो र अचम्म लाग्यो।
जनकपुरमा ठूलाठूला पोखरीहरु रहेछन्। ती लोभलाग्दा पोखरीमा माछा पालिन्छन् भनेर भुषण खरेल अंकलले मलाई बताइरहनुभएको थियो। त्यहाँका घरहरुमा पहेँलो गेरु रङ लगाइँदै थियो। सडकहरु फराकिला बनाइँदै थियो। चोकगल्ली सफा गरिँदै थियो। ठाउँ ठाउँमा मिथिला संस्कृति झल्काउने चित्रहरु पनि बनाइएका थिए। मन्दिरहरुमा माइक लगाएर राम भजन घन्काइएको थियो। मान्छेहरु हाँसीखुसी हिँडिरहेका देखिन्थे। मैथिल भाषाका आदिकवि विद्यापति कोकिलको सालिक रहेको चोक पनि हेरियो। यी सबै कुरा हेर्दा मलाई जनकपुर निकै सुन्दर ठाउँ लाग्यो।
जानकी मन्दिर, धनुषाधाम, गंगासागर, धनुषसागर, बाह्रबिगाहा लगायतका जनकपुरका विभिन्न स्थानमा घुमेपछि मनमा निकै आनन्द लाग्यो। मैथिली भाषा, साहित्य र सभ्यताको केन्द्र जनकपुरका महत्वपूर्ण स्थान र मिथिला संकृतिको राम्रो प्रचारप्रसार हुनु पर्छ भन्ने लाग्यो। त्यसो भएमा जनकपुर राष्ट्रिय र अन्तर्राष्टिय क्षेत्रमा पर्यटकीय गन्तब्य बन्न सक्छ भन्ने लाग्यो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।