17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्रिभुवन एयरपोर्टदेखि तारकेश्वर शान्तिधामसम्म

नियात्रा योगप्रसाद उपाध्याय चापागाईं August 10, 2024, 12:21 am
योगप्रसाद उपाध्याय चापागाईं
योगप्रसाद उपाध्याय चापागाईं

बिहानको आठ बजेको छ । केहिबेर पछि झापाबाट रुद्रप्रसाद चापागाईं दाजुले फोन गर्नु भयो "म विमान चडेँँ" ।

एकघण्टाको समय राखेर सिनामङगलबाट निस्किएँ । त्रिभुवन विमानस्थल भित्र कहिल्यै प्रवेश गरेको छैन । गेटमा प्रहरीलाई सोधेर एउटा खादा बोकेर प्रवेश गरेको छु । बाहिरबाट मात्र देखेको एयरपोर्ट भित्र पसेर हेर्दा लम्बाचौडामा उस्तै फैलिएको रहेछ । काठमाण्डौं आएका घरेलु यात्री र अन्तर्राष्ट्रीय यात्री द्वार छुट्टै रहेछन् । विमान अवतरन समय बुझेर कान्तिपुर लेखेको पसलमा चिया खान मनगरेर पसेँ र चियाको दाम सोधेँ । एकसय रुपियाँ रहेछ । पच्चिस रुपियाँमा पाइने चियालाई एकसय ॽ नखाइ फर्किउँ भन्दा पनि इज्जतको सवाल छ । वेटरहरूले भन्लान "हामी वेटरसँग हुने जति पैसा पनि नभएका मान्छे रहेछन्" । पैसा भएकै मान्छे रहेछन भनुन भनेर स्वाँग पर्दै चिया पिएँ । चियाको सन्तुष्टिले एकसय रुपियाँ दिन गाह्रो लागेन ।

चिया पिएर डोमेस्टिक गेटमा उभिएँ । बुद्धएयरको विमान अवतरन गर्यो । दाजु बाहिर निस्कन ढिला गर्नु भयो । विमानबाट ओर्लिए पछि निकै लामो बाटो एयरलाइन्सको बसले गेटसम्म ल्याउँदो रहेछ । गोठाटार बस्दा सुनेको थिएँ- गोठाटारका चापागाईं पुर्खाले गौचरनका लागि नुन छरेर छोडेको सिनामंगल तिरको डाँडालाई महेन्द्र राजाले माटो पुरेर अन्तर्राष्ट्रीय विमानस्थल बनाए पछि अवतरन स्थान बन्यो रे । गोठाटारका रुद्रप्रसाद चापागाईंका पुर्खाको भूमिमा झापाका रुद्रप्रसाद चापागाईंले काठमाण्डौं आएर पाइला टेक्दा आफ्नै भूमिमा टेक्नु भयो भनेर मलाई गर्वबोध भयो । आफुलाई सबैले चापागाईं अभियन्ता भन्ने गरेकोमा जति खुशी लागेको छ त्यो भन्दा खुशी यस कुराले लाग्यो । पुर्खाको योगदानले सबैलाई गर्वबोध गराउँ छ नै । सोच्दा सोच्दै ढाकाको टोपी र कालो कोट लगाएर एउटा हातमा एउटा ब्याग झुण्डिएको, अर्को लुगेज अर्को हातले डोर्याउँदै गरेका मान्छे रुद्रप्रसाद चापागाईं दाजु लम्किएको देखेँ । गेटबाट बाहिर निस्किसक्दा खादा ओडाएर नमस्कार गर्दै भनेँ- दाजु, हजुरलाई काठमाण्डौंमा स्वागत छ ।

अपराह्न हामी बीर अस्पताल पुग्यौ । बीर अस्पतालमा दाजुको दैनिकी उपचार चल्दै गर्दा झापा तिरका बन्धुवान्धवहरूसँग भेटघाट गर्ने क्रम चल्यो ।

सावन महिना, पशुपतिमा कोटीहोम र कथावाचन छ । राधिका दासीजी, प्रतिभा दासीजी, चन्द्रकला सखी तमाम भक्तजनलाई कथा श्रवण गराउँदै छन् । श्रद्धालुको भीड उर्लिदो छ । कथामृत ज्ञानको वर्षाले काठमाण्डौं मंत्रमुग्ध बनेको छ । वास्तवमा भन्नु हो भने काठमाण्डौं तीर्थस्थान हो । राजनीतिले तीर्थस्थानलाई गोलीमारीदियो र राजनीतिको टुँडिखेल बनायो । हामी अस्पताल धाउँदै छौं । परीक्षण चल्दै छ । समय फुर्सदिलो छ । फुर्सदिलो समय हामी काठमाण्डौंको कुनाकुनासम्म जाँदै छौं ।

हामी इलाम धुसेनीकी छोरी नम्रताको निम्तो मान्न गयौं । रुद्रप्रसाद दाजु र नम्रता दाजु बहिनी । दुबै बाल्यकालका कुराले गफमा तल्लिन । खाना खाइसके पछिको यो गफमा म पनि सामेल छु । दाजुको औषधि सेवन गर्नु छ । औषधि सेवन पछि ढुक्कले सुत्न दिनु छ । गफको बिट मारौं । मैले नम्रतालाई भनेँ ।

ज्वाँईबाबु मधुसुदन बिडारीले पटक पटक फोन गरेर बोलाइरहनु भए पछि हामी छोरी सरिताको घर टोखाको झोर पुगेका छौं । सरिता र ज्याँई अमेरिकामा । घरमा ठूलाज्वाँई मधुसुदन बिडारी परिवार साथै नाती राजीब र सम्धिनीहुनुहुन्छ । सम्धिनीले भेटमै दाजुलाई भन्नु भयो- "सम्धीज्यु, आनन्दले बस्नु पर्छ केहिदिन । विदा दिए पछि मात्र जान पाउनुहुन्छ । यहिँबाट अस्पताल जाने । बेलुका फर्किएर आउने । झोरका मठमन्दिर दर्शन गराउ है नाती राजीब । झरना लिएर जानु, गाउँ पनि घुमाउनु ।" राजीबका जन्मदिने आमाबाबु रैनरहेछन् । हजुर आमा र काका काकीको मायामा हुर्किएका रहेछन् । सानै देखि कला प्रेमी । हजुरबालाई नमस्ते भनेर राजीबले बाँसुरी तिरिरि बजाएर मिठो धुन सुनाए ।

झोरका छिमेकी गाउँहरू धेरै रहेछन्- बौंडु, गेलालबारी, दुलालगाउँ, बिडारीगाउँ, फुलबारी, मालुङ गाउँहरू अल्लेको टाउको मुन्तिर पहाड फेदिका गाउँ रहेछन् । यी गाउँहरू पुस्तौं अघिका छन् जस्का पुस्त्यौनी अलिना अधिकारी, बिडारी, लामिछाने, दुलाल, गुरागाईहरू बाहुन समुदायका पुरानो बासिन्दा । नेवार, राई, मगर, भोटे र दलितहरू पनि टोखाली आदिवासी । यहाँ "सातसय टोखा नौसय नर्जा" भन्ने उखान रहेछ । यस्को अर्थ होला टोखामा सातसय धुरी घरको बसोबासो थियो । यि गाउँ पृथ्वीनारायण शाहकाल अघि देखि स्थापित भएका रहेछन् ।

बौडेश्वर, मांकाल, भीरकाली, गुप्तेश्वर देवस्थान र बौडेश्वर छाँगो झोरका वरिपरि रहेका प्राचीन र नव निर्मित देवस्थान र प्राकृतिक सम्पदाहरू यहाँका पर्यटन पर्दछन् । सामाकुसिबाट टोखारोडले यि ठाउँहरू जोडेको छ । पहिला असन, टेउडा एकमात्र यहाँको बजार थियो । झोरबाट साङलाहुँदै ठमेल निस्किएर तीस पाथी चामल बोरामा बोकेर असन लगेर फिजाएर बस्नु पर्थ्यो । त्यस समय साँढेको राज चल्थ्यो । एउटै साँढेले थुतुनो गाड्यो भने दुई पाथी चामलको नाशहुन्थ्यो । चामल बेच्न नसक्दा राती चामल राख्नलाई पाँच रुपियाँ भाडा तिर्नु पर्थ्यो । यतिसम्म सकस पर्थ्यो कि कहिले एयरपोर्ट, कहिले डिल्ली बजार र कहिले कालिमाटीका पसले आउथिए चामल किन्न र चामल असनबाट बोकेर उनिहरूका पसलमा पुर्याइ दिनु पर्थ्यो । चामलको पैसा समात्न लाइन लाग्नु पर्थ्यो । झोरका वयोवृद्ध अधिकारी बुवाले यसरी भन्दै गर्दा सम्झिएँ- मृगस्थली तिर छरपष्ट शिला अभिलेख । गोठाटार तेजविनायक चोकमा ठडिएको शिला अभिलेख । उहिले पशुपतिनाथको नाममा साँढे छोडिन्थिए । साँढेको चरनका लागि आफ्नो जग्गामा नुन छरिन्थ्यो र चरन बनाइन्थ्यो । शिलालेखहरूमा लेखिएको छ । उहिल्यै काठमाण्डौंमा यति धेरै साँढे थिए ।

सुदिप र राजीब दाजुभाइले हामीलाई बौडेश्वर शिवमन्दिर र बौडेश्वर झर्ना देखाउन लिएर गए । रुद्रप्रसाद दाजु हिँडन सक्नुहुन्न भन्ने लागेको थियो । बौडेश्वर जाँदाको रमाईलोले दाजु जाँगरिलो देखिनु भयो । एकछिन पछि रुद्रप्रसाद चापागाईं भनेर माइक बजेको सुनेँ । दाजुको नाम सहयोगी दाता भनेर आएको रहेछ । मैले पनि तीर्थाटन निबन्धको "बाबा" किताप अघि सारेँ । मेरो पनि नाम आयो । बौडेश्वर पुगेर हामी रमायौं । यो खुशी पछि बौडेश्वर दर्शन सकेर दाजुकै इच्छाले शान्तिधामको यात्रा थप्यौं ।

शान्तिधाम तारकेश्वर नगरपालिकामा पर्ने बद्रिनारायण मन्दिर काठमाण्डौंको एउटा तिर्थस्थान रहेछ । बन्द्रिनारायण भगवानको दर्शन सकेर शिशमहल चड्यौं । शिशमहल दाजु र मेरा लागि नौलो लाग्यो । ऐनाको महल, शिशमहल पसेर हामी दाजुभाइ महल भित्र देखिएको ऐनाका कोठा जान खोज्दै छौं । द्वार छैनन् । कसरी जाने त्यो देखिएको अर्को कोठामा ॽ द्वार खै ॽ ढोका खै ॽ धेरैबेर पछि मात्रै हामीले बुझ्यौं ऐना प्रतिफलित भएर धेरै कोठाहरू छन भन्ने भ्रममा परेकारहेछौं । कोठा त हामी जहाँ छौं त्यो मात्र पो रहेछ । राजीबहरू शिशमहल भित्र पहिला पनि पसेका रहेछन् । राजीब र मधुसुदन (भतिजा र काका) यस अघि शिशमहल भित्र बसेर एउटा धुन बनाएका रहेछन् । राजीबले बाँसुरी बजाएर रेकर्ड गरेको शिशमहलको धुन सुनेर म त तीनछक्कै परेँ । कर्ण मधुर थियो राजीबको बाँसुरीको धुन् ।

"टोखाको झोर डाँडागाँउबाट कोरोनाकालमा हाम्रै घरबाट हिमाल देखिएको थियो ।" राजीब बिडारीले सबै ठाउँ देखाउँदै भनेका थिए । सायद यो ठाउँ वैज्ञानिकहरूका लागि पनि विशेष रहेको छ । लकडाउनका समय म काभ्रेस्थली बसेको थिएँ । त्यसबेला मैले पनि अनुभूत गरेको छु "तारकेश्वर नगरपालिकाको यो ठाउँमा बतास चल्नुको कारण के हुन सक्छ ॽ मेरो जिज्ञासा थियो । टोखाको झोरमा राजीबसँग बस्दा त्यस्तै बतास अनुभूत भयो । साउनमा ढल्कीदाको बेला चलेको बतासको निश्चय एउटा न एउटा वैज्ञानिक कारण छ नै ।" राजीब आठ कक्षाका विद्यार्थी रहेछन् । मैले यस विषयमा यो नियात्रा लेख्दै गर्दा उनले "टोखाको ग्लोवल वार्मीङ विषयमा लेख्नु भएको" प्रश्न गरे ॽ मैले सोचेँ "आहा ! कस्तो राम्रो कुरा । के टोखाको ग्लोवल वार्मीङ सम्बन्धमा स्कूलमा चर्चा चलेको छ र ॽ" मेरो प्रश्नको उत्तर दिदै राजीवले भने "जहाँ वरिपरिको वायु प्रदूशित हुदैँन त्यहाँ बतास चल्छ । अर्को पनि एउटा कारण छ, समुद्री सतहबाट जुन वायु सृष्टिहुन्छ त्यो अकास माथिबाट उडदै आएको हुन्छ र अग्ला पहाडले त्यसलाई छेकिदिँदा पनि बतास चल्छ । हाम्रो झोर गाउँ उँचा हुनाले र यहाँको वायुमण्डल पनि त्यस्तै स्वच्छ हुनाले टोखा भरि बतास चलेको हो । हेर्नुस न, सबै गाउँ हरियालीले भरिएका छन् । जीवन-यापनका लागि वातावरणको निकै ठूलो महत्वहुन्छ । मान्छेको बढदो जनसंख्याले गाउँ सहरमा परिणत हुँदै छ । तर विकासको सही अर्थ यो होइन कि- गाउँ सहर बन्नु पर्छ । विकासको सही अर्थ हो- विश्वको बढदो तापक्रमलाई मान्छेले बुझ्नु पर्छ र तापक्रमलाई नियमित अनुकूल राख्नलाई मान्छेले प्राकृतिक बस्तुको हानि पुर्याउनु हुदैँन ।" राजीबको बौद्धिक र वैज्ञानिक विचार सुनिरहौं लाग्यो । मैले राजीबलाई भनेँ-"राजीब ! काठमाण्डौं नेपालको केन्द्र हो । पहाड र छहरा, खोलाहरूले भरेको देश हो नेपाल । र पनि मधेस-तराइको के कुरा, पहाडको बढदो तापक्रम हेर न ! यस्का लागि दोषी मान्छे नै हो । मान्छेले नै वनज सम्पदाको विनाश गर्छन् । पहाड काटछन् । खोलाहरू फोहर पार्छन् । जहाँ पनि फोहर फालेर आफ्नै ठाउँको परिवेश प्रदूषित बनाइ रहेका छन् मान्छेले । भविष्यमा यस कुराको ठूलो जिम्मेवारी तिमीहरूको रहेको छ । तिमीहरूले प्रदूषण मुक्त संसारको लागि प्रयत्न गर्नु पर्छ ।" राजीबले मेरा सबै कुरा ध्यानले सुनेर भने- "ग्लोवल वार्मिङका लागि मानव जाति जिम्मेवारी छ । हामीहरू सबै मिलेर विश्वको बढदो तापक्रम नियत्रण गर्नु पर्छ । वृक्षरोपन र स्वच्छता नै बढदो तापक्रम रोक्ने सजिलो उपाए हो । प्राकृतिक र पौराणिक सम्पत्ति सबैको सम्पत्ति हो भनेर बुझ्नु पर्छ । यस विषयमा हामी सबै सजागहुनु पर्छ ।"

हाम्रो यात्राको अन्त्यमा मैले रुद्रप्रसाद दाजुलाई सोधेँ "दाजु ! यो यात्रामा तपाईंलाई लागेको कुरा भन्नुस त" रुद्रदाजुले यसो भन्नु भयो- "तारकेश्वर नगरपालिका र टोखा नगरपालिका काठमाण्डौं जिल्लाका नगरपालिकाका हिसापले जुन प्रकारको विकास हुनु पर्थ्यो त्यस प्रकारले विकास भएको देखिएन् ।" मैले पुनः कुतुहल राखेँ- "के कुरा पुगेन ॽ" । दाजुले एक शब्दमा भन्नु भयो- "बाटो-घाटो ।" झोरबाट सामाखुसी त बस चल्छ तर झोरबाट टोखारोड भएर सामाखुसी हुँदै रत्नपार्क जाने बस छैन । बाईपास माछा पोखरी भएर चाहिँ रत्नपार्क जाँदो रहेछ । दाजुले भन्न खोजेको कुरा यति मात्र पनि होइन होला । बौडेश्वर मन्दिरको बाटो शान्तिधाम र झण्डापार्क जानलाई खै कहाँ छ सहज बाटो ॽ राजीबहरूले लगेको बाटो त झनसारो भडखालाहरू नै भएको । देवकोटाटोलको मास्तिरको गाउँले बाटो र ढुङ्गाको पहिरो त्यस्तै डरलाग्दो । वरपर सबै ठाउँ पर्यटन क्षेत्र, रमाईलोले पूर्ण र पनि यातायातका लागि बाटाहरू प्रसस्त सहज चाहिँ छैनन् ।

पैदल यात्राले लखतरान परेका हामी चारैजनालाई लिन बेलुकी पाँच बजि कार लिएर ज्वाँईबाबु मधुसुदन आइसक्नु भएको थियो ।

काठमाण्डौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।