वर्षामा
पानी पर्थ्यो
झरी पनि लाग्थ्यो
मेघ मज्जाले गर्जथ्यो
चट्याँग पनि पर्दथे
खोलाहरु बढ्थे
तर
डर लाग्दैनथ्यो
मनभरी अत्यास लाग्दैनथ्यो
वर्षाको पानीमा
हामी मज्जाले भिज्थ्यौं
तर हाम्रा आँखा कहिल्यै भिजेनन्
कब्जियत थिएन पटक्कै
निकाशको पनि कुनै समस्या थिएन
बाधादौडको प्रतिस्पर्धा थिएन
खुल्ला प्रसस्तै हुन्थ्यो
पानी जता जान चाहन्थ्यो
उतै मार्ग प्रसस्त हुन्थ्यो
पहिरो हत्यारो बनेको कम सुनिन्थ्यो
सडकमा खोला त बग्दै बग्दैनथ्यो
धमिलो पानी पनि कमै देखिन्थ्यो
पानी परेपछि
पानी तर्काउँन हैन
बाढी हुल्न मुहानमा पुगिन्थ्यो
कुलामा बाँडिदा बाँडिदै
समाहाबाट झर्दा झर्दै
पानी पुछारका गरामा पुग्नै भ्याउँदैनथ्यो
धानका जरा भिजाउँदा भिजाउँदै
यता चुहुँदा उता चुहुँदा
आरीले घोप्ट्याए जस्तो पानी पनि बाढी बन्नै पाउँदैनथ्यो
झरी पर्नु रमाइलो अवसर हुन्थ्यो
कुलो सोझ्याउँन खोलामा धाइन्थ्यो
माछा समाल्न फाँटतिर लागिन्थ्यो
पाखामा पाहा झैं पछारिइन्थ्यो
खोलामा माछा झैं डाइभ हानिन्थ्यो
बिदामा दिन खोलाकै छेउछाउमा बिताइन्थ्यो
वर्षा
बढो प्रितिकर हुन्थ्यो हाम्रालागि
खोलाहरु मैत्रीपूर्ण
अझै रमाइलो त्यतिबेला लाग्थ्यो
जब दिनभर पानी वर्षन्थ्यो
र हामी विद्यालयबाट पिंडालुको पात ओढेर घर फर्कन्थ्यौं
साँच्चै
त्यो समय
वर्षा भयकर हैन, प्रितिकर हुन्थ्यो !
ब्रिजबन