17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘प्राणप्रतिष्ठा’ लघुकथाकृतिको शल्यक्रिया

कृति/समीक्षा नन्दलाल आचार्य August 15, 2024, 5:31 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

१. पृष्ठभूमि
वर्तमानको सर्वाधिक लोकप्रिय विधा लघुकथा हो । कोरोनाकाल यता थुप्रै लघुकथा लेखिए । थुप्रै चर्चापरिचर्चा भयो । अहिले नेपाली साहित्यमा लघुकथा लेखनको बाढी नै आएको छ । लघुकथा कृति प्रकाशनको होडबाजी नै चलेको छ । अन्य विधाका तुलनामा लघुकथाका पुस्तकहरू बढी नै प्रकाशन भएका देखिन्छन् । थुप्रै लघुकथा कृति साहित्य संसारमा देखा परिरहेछन् । तिनैमध्ये स्वस्तिका सिम्खडाको ‘प्राणप्रतिष्ठा’ पनि एक हो ।
साहित्यमा स्वस्तिका सिम्खडा नामले साहित्य सिर्जना गर्ने यस ‘प्राणप्रतिष्ठा’ कृतिकी सर्जक स्वस्तिका सिम्खडाको नेपाली नागरिकतामा भने नाम सोस्तिका सिम्खडा छ । उनको जन्म २०६१ बैशाख १६ का दिन माता÷पिता हिरा÷छविलाल सिम्खडाकी जेष्ठ सुपुत्रीको रूपमा भएको हो । नेपाली भाषासाहित्यमा बि.एड.सम्म अध्ययन गरेकी स्वस्तिका लघुकथा, कविता र निबन्ध विधामा कलम चलाउँथिन् । उनले फुटकर साहित्य लेखन र लघुकथा प्रतिष्ठान नेपालकी लघुकथा प्रस्तोता भएर साहित्यको सेवा गरेकी छिन् । २०८१ बैशाख १६ गते उनको जन्म दिवस पारेर पहिलो लघुकथाकृति ‘प्राणप्रतिष्ठा’ प्रकाशन भएको छ । उनको २०८० साउन २० गते उन्नाइस वर्षको कलिलो उमेरमा निधन भएको थियो । लघुकथा प्रतिष्ठान नेपालको अगुवाहीमा नन्दलाल आचार्य र लक्ष्मी रिजाल दम्पतीले ‘स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान–२०८०’ स्थापना गरेका थिए । उक्त सम्मान राजविराज खर्सालटोल निवासी मीना साह ‘एन्जल निलु’ लाई २०८१ बैशाख १६ गते हस्तान्तरण गरियो । स्वस्तिकाका समीक्षा र योगेश नामका एक बहिनी र एक भाइ छन् ।
२. बाह्य स्वरूपमा ‘प्राणप्रतिष्ठा’ लघुकथासङ्ग्रह
‘प्राणप्रतिष्ठा’ को अघिल्लो आवरणमा स्वस्तिका स्वयम्को सुन्दर तस्विर छ । आवरणको पछिल्लो भागमा भने स्रष्टाको सङ्क्षिप्त परिचय र भूमिका लेखकहरू– खेमराज पोखरेल, धीरकुमार
श्रेष्ठ, त्रिलोचन ढकाल, रमेन्द्र कोइराला, त्रिपुरा खरेल र देवेन्द्र मिश्रको पुस्तक सम्बन्धी सटीक धारणाहरू समेटिएका छन् । तल्तिर पुस्तकको आइएसबिएन (९७८९९३७–१–६३१९–४) अङ्कित लोगो छ । पुस्तकको आवरण हरियो र निलो रङ मिश्रित सुन्दर छ । यस कृतिका सम्पादक लक्ष्मी रिजाल हुन् ।
‘प्राणप्रतिष्ठा’ लघुकथासङ्ग्रहको वितरक लघुकथा प्रतिष्ठान, नेपाल हो । शब्दाङ्कुर साहित्यप्रधान मासिक, काठमाडौँ प्रकाशक रहेको यस कृतिको सर्वाधिकार नन्दलाल आचार्यमा निहित छ । जम्मा पृष्ठ ६४ं४ छ भने पुस्तकको मूल्य रू. २००।– छ । पुस्तकको प्रमुख वितरक ऐरावती प्रकाशन प्रा.लि., काठमाडौँ रहेको छ ।
३. मूलभाग ‘प्राणप्रतिष्ठा’ लघुकथासङ्ग्रहको
कृतिमा प्रकाशकीय लेखका अतिरिक्त खेमराज पोखरेल, धीरकुमार श्रेष्ठ, त्रिलोचन ढकाल, रमेन्द्र कोइराला, त्रिपुरा खरेल, देवेन्द्र मिश्र, श्रीप्रसाद पोखरेल, टङ्कबहादुर आलेमगर, अनुग्रह राना मगर, नन्दलाल आचार्य, हरिप्रसाद आचार्यका सान्दर्भिक र अनुभूतिजन्य भूमिकाहरू छन् । लक्ष्मी रिजालको सम्पादकीय आलेख छ भने स्वस्तिका सिम्खडाको पुस्तक प्रकाशनको रहर समेटिएको मनोवाद अंशलाई लेखकीय बनाइएको छ ।
‘प्राणप्रतिष्ठा’ सङ्ग्रहमा सङ्गृहीत स्वस्तिकाका लघुकथाहरूले वर्तमान बोलेको भन्दै सम्पादकीय आलेखमा भनिएको छ– “स्रष्टाले ओकल्न नसकेका भावनालाई साहित्यमा रुपान्तरण गर्ने माध्यम भएर आएका छन् ‘प्राणप्रतिष्ठा’ का लघुकथा । सिर्जनामा सर्जकको जीवनप्रतिको सकारात्मक भाव, भोगाइ र अनुभूति यथार्थपरक ढङ्गले आएका छन् । यसका लघुकथा सहज, सरल र सटीक छन् । नवोदित भएर पनि लघुकथाकार स्वस्तिका आफ्नो सिर्जनामा चुर्लुम्म डुबेकी छन् ।”
स्वस्तिकाका लघुकथा सादृश्ययुक्त, स्वैरकल्पनामूलक, विपर्यास दृश्यका विरुद्ध साङ्केतिकता समेटिएका भन्दै खेमराज पोखरेल भन्छन्– “मेहनतले गर्दा शिला पनि देवता भएको सादृश्यमा जीवनको सङ्घर्ष कसरी बुझ्यौ तिमीले ? अचम्म त यो छ कि तिमी स्वैरकल्पनामा लेख्छौ । माटो, खोला, रूख, बिरूवा आदि बोलेर कथानक बुन्छ्यौ । मानवइतर पात्रको प्रयोगले सजाउँछौ तिमी सिर्जनालाई । खोला मिचेर बस्ती बसाएको विपर्यास दृश्यका विरूद्ध साङ्केतिकताले प्रकट हुन्छौ । र, विरोध गछ्र्यौ । कुकार्य गर्ने बदनामीको अखडा भयो संसार भन्दै चिन्तित हुन्छ्यौ । कस्तो दायित्वबोधी चिन्तन तिम्रो !”
स्वस्तिका सिम्खडाको लघुकथा लेखनमा किशोर वयबाट क्रमशः परिपक्व हुने क्रममा रहेका सोच, विचार, कुराकानी, विधि, व्यवहार आदि देखा परेको जनाउँदै धीरकुमार श्रेष्ठ आफ्नो भूमिकामा भन्छन्– “उहाँको लघुकथा लेखनमा सरल, सहज र बोधगम्य वर्णनात्मक शैली छ । केही लघुकथामा संवादात्मक शैलीको प्रयोग छ । ग्रामीण क्षेत्रमा प्रयोग हुने झर्रा शब्द प्रयुक्त छन् । केही लघुकथाले तराईको ग्रामीण परिवेशलाई प्रतिनिधित्व गर्छन् ।”
भूमिका र कथा लेखनले स्वस्तिका विद्वान्, नम्र, विवेकी, सुयोग्य साहित्यकार भएको बुझिन्छ भन्दै त्रिलोचन ढकालको कथन यस्तो छ– “यस ‘प्राणप्रतिष्ठा’ कृतिभित्र स्वैरकल्पनामा आधारित लघुकथाहरू, सामाजिक यथार्थता बोकेका लघुकथाहरू, पारिवारिक विषयवस्तु भएका लघुकथाहरू, मनोवैज्ञानिक प्रस्तुतिका लघुकथाहरू, राजनीतिक विषयवस्तु अँगालेका लघुकथाहरू, विकृतिलाई विषयवस्तु बनाएका लघुकथाहरू जस्ता सुन्दर लघुकथाहरू सङ्कलित भएका छन् ।”
भानुभक्तलाई मोतीरामले चिनाए जस्तै स्वस्तिका सिम्खडालाई लक्ष्मी रिजालले चिनाएको प्रसङ्ग निकाल्दै रमेन्द्र कोइराला भन्छन्– “स्वस्तिका सिम्खडाले माया, सोच, आन्दोलन, भोक, काम, ठगी, केटाकेटीपन, विचार, पौरखजस्ता मनभित्रका विषयलाई लघुकथाको श्रोत बनाएकी छिन् । यसका साथै राजनीति, प्रकृति, यौन, साहित्य, दाम्पत्य, लागु पदार्थ आदि पनि लघुकथाका श्रोत हुन् । मानव मनका भावनाहरु तथा समाजका विकृतिहरूलाई सानै उमेरमा सूक्ष्म रूपले केलाएर लघुकथाको रूप दिनु चानचुने कुरा होइन । त्यसमा सिम्खडा सफल भएकी छिन् ।”
साहित्य र साहित्यकारले कहिले पनि मृत्युवरण गर्दैनन् भन्दै आफ्नो लेखमा त्रिपुरा खरेलको कथन छ– “स्वस्तिका सिम्खडाका लघुकथाहरुको उठान र विकासमा खोट देखिन्न । ‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहका सबै लघुकथाहरु सरलरुपमा सलल बगेका छन् । क्लिष्ट छैनन् । कतिपय लघुकथा आत्मपरक निबन्ध झैँ लाग्दछन् । एकाध ठाउँमा उखानको प्रयोग गरेर कथामा प्राण दिइएको छ ।”
स्वस्तिकाका अधिकांश कथाहरुमा नीतिगत तथा उपदेशात्मक अनुकरणीय महावाणी वाक्यहरु समेत रहेको जनाउँदै देवेन्द्र मिश्र भन्छन्– “समकालीन समाजको ससाना तर महत्त्वपूर्ण परिघटनाहरुको दस्तावेजीकरण भएकोले मेरो विश्वासमा ‘प्राणप्रतिष्ठा’का कथाहरु युगौँयुगसम्म अध्येता–पाठकहरुलाई उपयोगी रही रहनेछन् । स्वल्प जीवनमा संसारै छोडेर जाँदा नेपाली साहित्य संसारले एउटा बहुमूल्य सम्पत्ति गुमाएको मेरो ठहर छ ।”
स्वस्तिका सिम्खडा मनका भावनाहरुलाई अक्षर र शब्दहरुले आकृति तयार पारेर सिङ्गो रुप दिने कुशल स्रष्टा भएको ठहर श्रीप्रसाद पोखरेलको छ । टङ्कबहादुर आलेमगरले स्वस्तिकाका लघुकथामा छुट्टै शैलीको निर्माण भएको सिर्जनामा परिपक्वता रहेको र लेखनमा नूतन शैलीपन भेटिएको बताएका छन् । अनुग्रह राना मगरले ‘प्राणप्रतिष्ठा’ का लघुकथाको आयाम, परिवेश, भाषाशैली, पात्र चयन, घटना विवरण र समापन लघुकथामा हुनुपर्ने तत्त्वभित्र नै रहेको बताएका छन् ।
नन्दलाल आचार्यले स्वस्तिकाको असामयिक निधनमा क्षोभ प्रकट गदै भनेका छन्– “दैवका आँखा तिखा रहेछन् उम्दा फल टपक्क टिप्यो । दुःख यसमै छ; फल छिप्पिन र पाक्न पाएको थिएन । आँखा सामु कलिलो फल टपक्क टिपिँदा चस्स मुटु घोचेको पीडा अझै शान्त छैन ।”
नातामा मामा पर्ने हरिप्रसाद आचार्यले स्नेहबस् भनेका छन्– “तिमीले आँखामा बिझाउने एउटै काम नगरेको, विनम्र र मर्यादित जीवनशैली अपनाएका कारण तिमी हाम्रो मनमा उच्च आशनमा थियौ, छ्यौ र रहने छ्यौ । तिमीले लघुकथाका क्षेत्रमा अनेक काम गरेकी रहिछ्यौ । डायरीका पानामा भरेर संसारलाई सुम्पेकी रहिछ्यौ । यसले तिमीलाई प्राणप्रतिष्ठा गराओस् ।”
स्वस्तिकाले पाउने दशैंको दक्षिणास्वरुप उनको बौद्धिक सम्पत्तिलाई पुस्तकको रुप दिने सौभाग्य मिल्यो भन्दै आफ्नो सम्पादकीयमा लक्ष्मी रिजालको भनाइ छ– “साहित्यमा उनको दूरदृष्टि, मौलिक भावयुक्त शब्द र अग्र्यानिक चिन्तन भेट्दा बटुल्ने हैन पढ्ने मन गरेँ । पढ्दै जाँदा ३३ थुँगा फूलको बोट देखेँ । यसै कृतिले पनि स्वस्तिकाले यस धर्तीमा १९ वसन्त फुलाएको सार्थक हुने देखेर मेरी जेठी नातिनीलाई ‘प्राणप्रतिष्ठा’ गराउने महायज्ञ शुभारम्भ गरेकी हुँ ।”
लेखकीयमा स्वस्तिकाले भनेकी छिन्– “आफ्नै किताब होस्; म अरुको पढ्ने पाठक भए झैँ मलाई पढ्ने अरु पाठक होऊन् भन्ने लोभले मलाई जहिल्यै रन्थन्याउँछ ।”
कृतिमा छोटा आयाम र परिवेशका जम्मा ३३ लघुकथाहरू समेटिएका छन्् । सर्जकले भोगेको संसारकै सेरोफेरोका विषयवस्तुद्वारा ‘प्राणप्रतिष्ठा’ले जीवन्तता भेटेको छ ।
४. ‘प्राणप्रतिष्ठा’ लघुकथासङ्ग्रहको निचोड
‘प्राणप्रतिष्ठा’का लघुकथा सरल, सहज र स्वभाविक हुँदाहुँदै पनि गहन छन् । हरेक सिर्जनाले सशक्त आवाज सम्प्रेषण गरेका छन् । वर्णविन्यासगत सामान्य त्रुटि पनि पाइन्छ । दाँतमै लाग्ने गरी भने होइन । कतिपय कथाले बैद्धिक पाठकको माग गर्दछन् । कतिपयको विषयवस्तु स्पष्ट खुलेको छैन । सबै कथाहरू एकनासे आकारप्रकार र बुनोटका छन् । ‘प्राणप्रतिष्ठा’ ले नेपाली लघुकथा साहित्यमा बलियो छाप छाड्न सक्छ भन्दा अतिशयोक्ति नठहर्ला ।

कृति– प्राणप्रतिष्ठा
विधा– लघुकथा
लघुकथाकार– स्वस्तिका सिम्खडा
सम्पादक– लक्ष्मी रिजाल
प्रकाशन– २०८१ बैशाख १६
प्रकाशित प्रति– ११११
सर्वाधिकार– नन्दलाल आचार्य
प्रकाशक– शब्दाङ्कुर साहित्यप्रधान मासिक, काठमाडौँ
मो.नं. ९८४१–३६२०३०
सम्पर्क– मो.नं. ९८११७७७५४५ (सम्पादक)
मूल्य– रू. २००।–
इमेल– वितरक– लघुकथा प्रतिष्ठान, नेपाल मो.नं. ९८१७७२९५६५
मुद्रण– भागवत प्रिन्टर्स (छापाखाना), विराटनगर, मोरङ
सम्पर्क– ९८४२३७६७८२
प्रमुख वितरक– ऐरावती प्रकाशन प्रा.लि., काठमाडौँ,फोनं.०१४४२१५५५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।