18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘बा’ कस्तो ल्याङ्स गर्नुहुन्छ

कविता विमल लामिछाने August 15, 2024, 5:40 pm
विमल लामिछाने
विमल लामिछाने

म कति व्यस्त छु, मोवाइलमा बोल्दैछु,

फेसबुक र ट्वीटरमा फोटोहरू अप्लोड गर्दैछु

हतार हतार सयौँसँग गम्भीर च्याट गर्दैछु

चटक्क परेका अनुहारहरुको प्रश्ताव पेजमा

टिङ टिङ गर्दै मोवाइल बजिरहेछ

एसेप्ट गर्न भ्याएकै छैन,

तर, बा कस्तो ल्याङ्स गर्नुहुन्छ,

घरिघरि विश्राम गर भन्नुहुन्छ । ।


आफुलाई कमसेकम दिनको दुई घण्टा मोबाइलमा बोल्नु छ,

एक–दुई घण्टा टिकटकमा रम्नु छ, म्यासेज पठाउनु छ ।

भिडियो गेम जित्नलाई ज्यान दिएर खेल्नु छ

आइप्याडका कयौँ गाना स्किप गर्दै सुन्नु छ,

आफूलाई कति भ्याई नभ्याई छ,

तर, बा कस्तो ल्याङ्स गर्नुहुन्छ,

घरि घरि विश्राम गर भन्नुहुन्छ ।।


एउटा मोवाइल तातिन्छ भनेर

अर्को मोवाइलमा रिजर्भ राखेको छु,

श्रीमती माईत गएकै मौका पारेर

मध्यरतमा पनि भिडियो कल गर्नु छ

पूर्व प्रियसीसँग धित मर्नेगरि बोल्नु छ,

च्याट गरेर ताजा फोटा साट्न बाँकी नै छ,

आधा आधा छात्ती खोलेर हाँस्न बाँकी नै छ,

तर, बा कस्तो ल्याङ्स गर्नुहुन्छ,

घरिघरि विश्राम गर भन्नुहुन्छ । ।


संसारभरि के के भइरहेछ ?

टिकटक र इन्ट्राग्राम मात्रै

घण्टामा १२ पटक हेर्नुछ,

बल्लतल्ल रातीको दुई बजे सुत्न खोज्छु

त्यो पनि कानमा इयरफोन लगाएर,

इमेल र ह्वाट्सएप त खोल्न भ्याएकै छैन,

अलिकति पनि टाइम छैन आफूलाई विश्राम गरेर खेर फाल्ने,

हतार हतार छ, कति भ्याई नभ्याई छ,

तर, बा कस्तो ल्याङ्स गर्नुहुन्छ,

घरि घरि विश्राम गर भन्नुहुन्छ ।।

दमक झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।