17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मानुङकोट

नियात्रा भेषराज रिजाल August 17, 2024, 6:46 pm
भेषराज रिजाल
भेषराज रिजाल

दमौली बजारबाट पोखरातर्फ फर्कँदै थियौँ । बजार क्षेत्र छोडिएर मादी नदी तर्नै लाग्दा चोलाकान्त वाग्ले र तुलसी पौडेलले एकै स्वरमा सोध्नुभयो– “मानुङकोटे थुम्को उक्लने हो कि सर ?”
“कता पर्छ मानुङकोट ?” दृश्यावलोकनको प्रस्तावले सबैभन्दा बढी त मलाई नै छुन्छ ।
“हामी माथिको टाकुरो त हो नि मानुङकोट ।” कमल जैसीले गाडी रोकिसक्नुभएको थियो ।
मुन्टो उठाएर हेर्दा पहाडले पनि हामीतिरै आँखा लगाएझैँ लाग्यो । यति नजिकको पहाड नउक्लेमा कसरी पलाउला त मनमा आनन्द र खुसी ? एकछिन छलफल र सल्लाह भएपछि हामी बीच मतो मिल्यो । अनि त्यहि मानुङकोटे सुन्दर थुम्को मनमा राखेर पहाड उक्लन थाल्यौँ हामी ।
अलिकति घुम्तीहरूमा मोडियो बाटो । आँखामा राखे पनि नबिझाउने जस्ता बस्तीका घरआँगन छेउ छोडियो बाटो । चारघरे रहेछ त्यो गाउँको नाम । अलिकति पक्कीसडक पार भयो । डाले घाँस र उर्लुक खरको झाडी छन् बाटो दायाँबायाँ । बाटो धुलौटे भए पनि मन भुलेको छ सुन्दर दृश्यहरूमा ।
यस्तो बाटोमा हिँड्दा मनले अनेक खोजिरहन्छ− थकाइ लाग्दा सुस्ताउने ढुङ्गा माटोले चिनेको चिटिक्कको चौतारी होस् ! प्यास मेटाउन बाटो छेउछाउ कलकलाउँदो सङ्लो पानी बगोस् ! भोक मार्न चाउचाउ, बिस्कुट र प्याकेटबन्द (अ)खाद्य होइन भुटेको मकै, कोदोको रोटी र दही मोही जस्तो अर्गानिक खानेकुरा पाइयोस् ! मनले कल्पेको त धेरै थियो । तर, गाउँ भने लगन र मेहनत बिर्सेर शहरका सस्ता सामान आयातमै रमाएपछि हाम्रो मौलिक संस्कार र सभ्यता कहाँ पुग्ला ? हाम्रो स्वास्थ्य र जीवन रक्षा कसरी होला ? मनमा उखरमाउलो छुटेको छ, आँखामा जलन बढेको छ । आँखा पुछेर मात्र के गर्नु− सपना धमिलिँदा भविष्यको तस्वीर झन् धुमिल हुँदै जाँदो रहेछ ।
बल्लतल्ल घाम डुब्नु पहिल्यै मानुङकोट डाँडामा टेक्यौँ हामीले । तनहुँ जिल्लाको व्यास नगरपालिकामा पर्दो रहेछ यो ठाउँ ।
थुम्कामा शानसित फहराइरहेको छ राष्ट्रिय झण्डा । नजिकै एउटा मन्दिर छ । डाँडाथुम्कालाई रेलिङले बारेर भीरको भय कम गर्न खोजिएको छ । आकास समेत दशदिशा खुलेको यस्तो अद्भूत डाँडामा त उक्लियो । तर यहाँबाट कता फर्केर के हेर्ने त पहिला ?
सन्ध्याको लालीले सिउँदो रङ्ग्याएर त्यहि उल्लासमा चिसो रात कटाउन प्रतिक्षारत हिमाली शिखर हेर्ने वा विशाल फाँटलाई घेर्दै र घुम्दै आइपुगेका नदीहरूको मदमस्त प्रवाह हेर्ने ? मानुङकोट आइपुगेका आन्तरिक पर्यटकहरूको चहलपहलले गमक्क मानुङकोटे सेरोफेरो हेर्ने वा ती सबै छोडेर हर्षको रिमझिम वर्षामा नुहाउने पहिला ? घडीको मसिनो सुई कुद्दा चारैभित्ता गुञ्जाउँदै निस्किएको मधुर आवाज जसरी एउटा हल्का तरङ्गमा सङ्गीतबद्ध भएर दौडिरहेछ छातीको ढुकढुकी । रहरका स्पर्शले छुँदा मनमा अघ्घोरै हर्ष उम्लिरहेछ । हर्षमिश्रित तनावले पिटिरहेछ सुस्तरी सुस्तरी । थाहा भयो, हर्ष हुँदा पनि तनावै पो हुँदो रहेछ मान्छेलाई । तर पर्वाह छैन, यत्तिको तनाव सहन सक्ने भइसकेका छन् मेरो मुटुका तन्तुजालहरू पनि !
हिउँचुलीहरू चाँदी वर्ण फेरिई सुनवर्ण धारण गर्दै थिए । बादलका लस्करहरूले आजको धन्य दिनलाई बधाइसहित विदाइ गर्दै सुदूर दूरसम्म अबिर जात्रा गर्दै थिए । बादलका लम्बेतान पछ्यौरीका कुनै फुर्कामा अबिरका रङ फिका लागे पनि झन् आकर्षक देखिएका थिए ती । मन आकासमा उड्दै बादलु पछ्यौरीको फेर समातेर टाढा जान खोज्दा आफूतिरै तानेँ मैले । म भने मानुङकोटलाई आँखाले छुँदै मनमा सजाउन आत्तिएको छु बेस्करी । मेरो छटपटी साम्य पार्दै आदिकवि भानुभक्त आचार्य बोल्नुहुन्छ छेउको ढुङ्गामा टुसुक्क बसेर त्यतिबेलै–
मानुङको सरि गाउँ उत्तम ठूलो लागेन काहिँ पनि
बस्नालाई रमाइलो अति चिसो आउँछ हावा पनि
घरमा नै बसि फेर हिमालयजिको बाराहिजीको पनि
शुक्ला दक्षिण तर्फ उत्तर दिशा माहिन्द्रि दर्शन पनि !
मानुङकोटे डाँडामा टाँगिएको फ्लेक्सका यी हरफले एउटा इतिहास बोल्छन् । म भने रामायणका श्लोकहरू सम्झिन थाल्छु । अनि सम्झिन्छु प्रिय आदिकवि भानुभक्त आचार्यलाई ।
एकदिन् नारद सत्यलोक पुगि गया लोकको गरुँ हित भनी, ....।
भर्खरै विवाह बन्धनमा बाँधिएर दुरान फर्काउन ससुराली आएका भानुभक्त आचार्य यो रमाइलो थुम्कामा आइपुग्दा हिमाल र आकास थर्किनेगरी गाउनुभएको थियो होला यसरी नै । अहिले पनि भानुभक्त मेरै छेउछाउमा हुनुहुन्छ झैँ लागिरहेछ मलाई । मानुङकोट मुन्तिरको गुणादी गाउँमा रहेछ भानुभक्तको ससुराली । भानुका यिनै हरफहरू पढेपछि पो छर्लङ्ग घाम लाग्यो मनमा । मनमा घाम लाग्नु जत्तिको सन्तोष केही हुँदैन जिन्दगीमा ।
उत्तरतिर हिमशिखरहरू उन्मुक्त हाँसिरहेका छन् । हिमालबाट हुन्हुनाउँदै आइपुगेका सेती र मादीका सुकिला प्रवाह धर्तीका रक्तवाहिनी झैँ लागिरहेछन् । मानुङकोटे थुम्को मुन्तिर दमौलीको विशाल फाँटमा लामबद्ध सिपाही झैँ छ शहरको चमक धमक ।
“उत्तरतिर पुरनकोट, जीता, कुञ्छा, सुन्दरबजार पर्छन् । उः त्यो पहिरो गए जस्तो डाँडा छेउछाउ पर्छ भानु नगरपालिका र भानुभक्तको जन्मस्थान चुँदी रम्घा । लमजुङ हिमाल मुन्तिर घलेगाउँ, गिलुङ, पसगाउँ । अलि वल्तिर बेँसीशहर, करापुटार र भोर्लेटार । मिदिम खोला वारिपारि करापुटार र भोर्लेटार । यिनै गाउँको पुछारमा मिसिन्छन् मिदिम र मादी नदी । चेपे र मस्र्याङ्दी मिसिन्छन् दोर्दी गाउँमा ।” तुलसीले चिनाइरहनुभएको छ लमजुङसम्मका दृश्यहरू ।
“पूर्वतिर तनहुँको अग्लो डाँडो छिम्केश्वरी र नजिकै बन्दीपुरे डाँडो । दक्षिण पश्चिमतिरका डाँडाहरूले रिसिङ र घिरिङ क्षेत्र छोपिएका छन् ।” सहयात्रीका सूचनासँगै नाचिरहेछन् मेरा आँखा पनि ।
“यो ठाउँमा पानीको भने अभाव रहेछ कि !” मानुङकोटे सेरोफेरो हेरिसक्दा केही नपुगेझैँ लागिरहेथ्यो, एकजना स्थानीयसँग सोधेँ मैले ।
“पहिला लाँकुरी भञ्ज्याङमुन्तिर कुवा थियो, गतसालको पहिरोले पुरियो ।” स्थानीयका आँखामा पनि शुष्कता देखियो ।
म निचोरिएँ– पानी नै नभएपछि पर्यटक ओइरिए कसरी व्यवस्थापन गर्लान् बिचरा यी मानुङकोटेहरूले ।
डाँडाको डडाल्नु समातेर अलिक अघि बढ्दा होटलको आँगनतिर जाँदै गरेका केही बहिनीहरू भेटिए । उनीहरू मानुङकोटमा रात बिताउनेगरी काठमाडौँबाट आइपुगेका रहेछन् ।
एकहजार मिटर उचाइको मानुङकोटे थुम्कामा उभिएर मैले उनीहरूको जानकारी जाँच्न खोजेँ– यी हिमाल र सेरोफेरो चिनाइदिनुस् न मलाई पनि ।
“आबुई, हामीलाई पनि थाहा छैन हौ !” हिमाल चिन्ने उत्सुकता देखाउँदै अनभिज्ञता पो प्रकट गरे उनीहरूले त ।
मैले नै चिनाइदिनुप¥यो आखिर– “उः त्यो लमजुङ हिमाल, त्यो मनास्लु, अनि त्यो अन्नपूर्ण, त्यो हिउँचुली र त्यो माछापुच्छ्रे ! तल दमौलीको फाँट र छेवैमा बगेको नदी मादी ! उता दक्षिणतिर नवलपुरको देवचुली पनि देखियो है !
उनीहरूको खुसी फक्रेको अनुहारमा अस्ताउन लागेको घामको सुनौलो चहक र हिमालको सुकिलो मुस्कान झन् खुलेको देखियो ।
पोखरा टेकेको एक महिना हुन लाग्दासम्म मैले पनि राम्ररी हिमाल हेर्न पाएको थिइनँ । आज यी बहिनीहरूलाई हिमाल चिनाउँदै अघाउञ्जरी हिमाल हेरिहेँ मैले पनि । धन्य रहेछ २०८० साल पुस ६ गतेको दिन । मेरो मनमा अघ्घोरै उज्यालो खुसी भरिदियो ।
“मानुङकोट नाम कसरी रहेको होला यस ठाउँको ?” अद्भुत ठाउँको इतिहास जान्न मन लाग्यो मलाई ।
“मनु ऋषि बसेर तपस्या गरेको ढुङ्गा भएकोले मनु लुङ भन्दा भन्दै मानुङ भएको रे !” कतार बसेर भर्खरै फर्केका दीपक आलेको जवाफ थियो यो ।
एकैछिन अघि एक जना स्थानीयको भनाइ थियो– “माना जस्तो ढुङ्गा भएकोले माना लुङ भन्दा भन्दै मानुङ भएको हुनुपर्छ !”
लोकले किम्वदन्ती र कथाका सहाराले आफ्ना गाउँघरलाई अनेक रूप रङले सजाउँछन्, सजाइरहुन् । जे होस्, यो ढुङ्गै ढुङ्गाले सजिएको चुलीलाई लोकले पनि ढुङ्गे (लुङ) आभूषणले सिङ्गार्न खोजेकोमा अन्यथा लागेन मलाई । म यी ढुङ्गामाथि उभिएर बेँसीका सुन्दर तरेली नियाल्नमा मस्त रहेँ ।
“यहाँबाट बिहान कुहिराले छोएिको बेँसी हेर्न पो गजब हुन्छ सर ।” तुलसीले अनुभव बताउँदै हुनुहुन्थ्यो ।
“कुहिराको तुफानी समुद्रमा तैरिरहेका डुङ्गा जस्ता देखिँदा हुन यी डाँडाहरू !” सम्भोगरत रहँदा लोकलज्जाबाट बच्न ऋषि परासरले आव्हान गरेको भुइँकुहिरो अझै डुल्दै रहेछ यो धर्तीमा । एउटा रोमाञ्चक उत्तेजनाले छोएछ मलाई पनि ।
आजको रात यहीँ बसेर भोलि बिहानको त्यो कुहिराको तुफानी समुद्र हेर्न पाए र मन छुने मानुङकोटे चिसो स्पर्श गर्न पाए !
मनमा वेगिएको चाहनाको आँधीलाई वाध्यताका बाँधहरूमा खुम्च्याएर मानुङकोटबाट ओर्लेथ्यौँ हामी । चम्किरहेका आकासका तारा र झुप्राका बत्तीहरूको उज्यालो पछ्याउँदै पोखरा पुग्नुथियो हामीलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।