एकै रातको पानीले जलमग्न हुन्छ सहर,
मानिसका करतुतले बन्द हुन्छ ढल नहर।
गफ ठुला गर्छन् नेता, विकासको छायो लहर,
एकै रातको पानीले सहर माथि बर्ष्यो कहर।।
एक रातको पानीले जलमग्न हुन्छ सहर।।
एकैदिनको घामले ज्वालामुखी बन्छ सहर,
वृक्ष काटि महल रोप्छ, मरु बन्छ हरदिन सहर।
वर पिपलको नाउँ छैन, शीतल बस्ने ठाउँ छैन,
जलका मुहान सुक्दै गए झन्झन् प्यासी बन्छ सहर।।
एकैदिनको घामले ज्वालामुखी बन्छ सहर।।
एकैछिनको हुरीले अस्तव्यस्त पार्छ सहर,
घरका छाना उडाएर नाङ्गेझार बन्छ सहर।
बतासको भैरव चाला, सहर बन्यो नृत्यशाला,
आपतमा राहत छैन, देऊन सरकार मर्ने जहर।।
एकैछिनको हुरीले अस्तव्यस्त पार्यो सहर।।
एकैदिनको होलीले रणक्षेत्र बन्छ सहर,
आफन्तको रगतले रक्तरञ्जित हुन्छ सहर।
उन्मादले होली खेल्यो, कतै कतै गोली चल्यो,
मर्ने बाच्ने ठेगान छैन, मृत्यपाशमा फँस्यो सहर।
एकैदिनको होलीले रणक्षेत्र बन्छ सहर।
भोलाझार, आसाम, भारत