उ बेला पनि तीज आउँथ्यो, रमझम लिएर आउँथ्यो
र खुशी साटेर जान्थ्यो ।
अहिले पनि तीज आउँछ, धुम नचाएर आउँछ
र उधुम मच्चाएर जान्छ । ।
अब तीज हुर्किएको छ, आफ्नै वर्गतमा आउँछ
र हर्कत देखाएर जान्छ ।
अहिलेको तीज कोहीसँग लजाउँदैन,
स्वतनत्रताको नारा घन्काउँदै ठाँटिएर आउँछ
आधुनिकता भन्छ र अर्धनङ्ग भएर आउँछ ।
दिदी र वहिनीकै मन फाटेर टढा भएको देख्दैन
बरु, सारी र पारीका रङ मिलाएर एउटै बनाइदिन्छ ।
अँ हँ मान्दैन उ, उहिलेका कुरा खुइलिए भन्छ,
छिमेकीलाई हेर्छ र बुरुक्क उफ्दिै आउँछ
बरु चोली आधा मात्रै लाउँछ, तर बाटो बडार्दै आउँछ ।।
०
पहिलेको तीज चेली माइती प्रिय भएर आउँथ्यो
अहिलेको तीज टिकटक प्रिय भएर आउँछ ।
गीतका भाका धेरै बटुलेर आउँछ
नयाँ नयाँ भएर आउँछ, रुप फेरि फेरि आउँछ,
नाच्तै नाच्तै आउँछ, हास्तै हाँस्तै आउँछ
तर धज्जी उडाएर जान्छ । ।
०
उ बेला पनि पर्थ्यो पानी, लाग्थ्यो उस्तै झरी
चट्याङ पर्ने गरि गर्जिथ्यो मेघ, खोलाहरु बढ्थे,
मनभरी अत्यास लाग्थ्यो, तरपनि चेली ल्याउनै पथ्र्यो ।
असिना पानीले चेली माइति नै मज्जाले कुटिएपनि
उ बेला भेटिँदा र छुटिँदा हर्षले आँशु झर्थे ।।
अब त हर्ष र विस्मतको कुरै नगरौं
अहिले समय फेरिएको छ, मन दरिएको छ,
भावनामा बग्दैन मन, अब आँशु झर्नपनि सँगै बसेर
चेली माइतिले दुई दुई बोतलको ‘दर’ खानै पर्छ ।।
००
पहिले तीज एक्लो र सानो थियो, घरघर घस्रिँदै आउँथ्यो,
अहिले तीज सामुहिक र ठूलो भएको छ, टोल टोलमा बज्रिदै आउँछ ।।
दर त कति खान्छ कति, दुईमहिना खाएपनि अघाउँदैन तीज
तीनसय वढी होलान् गीत, सबैमा नाच्छ र पनि रमाउँदैन तीज ।
मान्दिँन ! भन्दा पनि जबरजस्ती गर्छ, घाँटी समाएरै आउँछ
अलिकति भएपनि ऋण थमाएरै जान्छ । ।