19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बहाना

कविता अर्जुन दाहाल August 20, 2024, 3:57 pm
अर्जुन दाहाल
अर्जुन दाहाल

मैले पिएको छु,
कैयौं सपनाहरु विपनामा हटाउँदा
इन्तु न चिन्तु भएर लडेको छु म,
त्यसैले मैले पिएको छु ।

हातमा सल्काएको चुरोटको आगो
साक्षी छ मेरो प्रिय
त्यसैले म झुट बोल्दिन,
मैले यी पिलपिल गर्ने आँखाहरु नहेरी
यी आँखालाई नै पिएको छु ।

मेरो पिउनुको कारण
मेरो दुःख होइन प्रिय
तिम्रो दुःख बुझ्ने बहानामा
मैले तिम्रो लागि पिएको छु।
त्यसैले मलाई पिउन देउ,
जाँड खाने सँग बात मार्नु हुन्न
भन्दछ हाम्रो समाजले
त्यसैले मलाई पिउन देउ
निस्फिक्री रूपमा पिउन देउ।

बहाना त यहाँ तिम्रो दुःख हो,
नशाले म मात्तिदा
तिम्रै दुःख बन्न पुग्दछु
अनि देखिन्छन्
तिमीलाई देखाएका सपनाहरु जो
दुःख रूपी अग्निलाई
हवन चढाएर
स्वाहा स्वाहा शब्दले कुर्लदा
जितको शंखनाद गर्दछन।
म सँग पिउने बाहेक
अन्य विकल्प म देख्दिन
त्यसैले मलाई पिउन देउ।
आफ्ना आँखा मात्र होइन
पुरै "म" लाई पिउन देउ
केवल तिम्रो लागि।
केवल तिम्रो खुसीको लागि
मलाई पिउन देउ,
तिम्रै बहानामा मलाई पिउन देउ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।