19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बैकुण्ठ बास

लघुकथा रमेशचन्द्र घिमिरे August 25, 2024, 6:43 am
रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे

कसम खाँदा उनले देश र जनताको नाममा खाए, देउताको नाममा खाएनन् ।
गाउँमा हुने रुढिवादी र अन्धविश्वासी प्रवृत्तिको उनले खुलेरै विरोध गरे । मूर्तिपूजा, धूप, चन्दन यस्ता लन्चुपन्चु कुरालाई उनले वास्ता गरेनन् ।
उनकै सिको गरेर र उनीबाटै प्रेरणा पाएर उनका अनुयायी धेरै भए । भनौँ - एक क्रान्तिकारीले धेरै क्रान्तिकारी जन्माए ।
उनै क्रान्तिकारीको अकस्मात् दुःखद् अवसान भयो । दाहसंस्कारका क्रममा श्रद्धाञ्जली दिनका लागि छोटो शोकसभा पनि गरियो । उनकै अनुयायी अर्का क्रान्तिकारीले भाषणका क्रममा उनको प्रगतिशीलताको कदर गरे, भौतिकवादी सोचको समर्थन गरे, रुढिवाद र अन्धविश्वासका विरुद्धमा उनको विचारको अनुसरण गर्न सुझाए अनि महान् क्रान्तिकारी नेताको अवसानमा आफू दुखित भएको भन्दै झन्नै आँसु चुहाए । तत्पश्चात् दरो मुठी कसे, हात जुरुक्क उचाले अनि शोकलाई शक्तिमा बदल्ने प्रेरणा ईश्वरले दिउन् भन्दै पुकारे र बैकुण्ठ बासको कामना गर्दै शोकसभा अन्त्य भएको घोषणा गरे ।

भोर्लेटार, लमजुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।