त्यै नदी हो, हिमालबाट निस्कँदा
सफा र निर्मल हुन्छ,
त्यै नदी हो, सहरसम्म आइपुग्दा
दूषित र दुर्गन्धित बन्छ |
त्यै मन हो, बाल्यावस्थामा
निर्दोष र निश्छल हुन्छ,
त्यै मन हो, समाजसँग हुर्केर
कपटी र कलङ्कित बन्छ |
त्यै चरा हो, जङ्गलमा छँदा
स्वच्छन्द रूपमा बोल्छ र उड्छ,
त्यै चरा हो, पिँजरामा थुनिँदा
बोल्न र उड्न दुबै भुल्छ |
त्यै मान्छे हो, वितरागी भएमा
स्वतन्त्र भएर हिँड्छ,
त्यै मान्छे हो, आसक्त भएमा
बन्धनको जालोमा पर्छ |
म सहरको नदी भएर फोहोरसँग मिलेछु
समाजको चाला सिकेर कुटिल बन्न पुगेछु
सुनको पिँजरामा छिरेर उड्नै नसक्ने भएछु
विषयलिप्त भएर पराधीन बन्न पुगेछु |
अमेरिका